सशस्त्रभित्र राम्रालाई पाखा, हाम्रालाई हाइहाइ

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलको २५ औं वार्षिकोत्सवमा राम्रालाईभन्दा हाम्रालाई पुरस्कृत गरिएको गुनासो आइरहेको छ । सशस्त्र प्रहरीभित्र राम्रो काम गर्नेभन्दा आईजीपीका भान्से, ड्राइभर, बडीवार्ड र आसोपासेलाई बढुवादेखि पुरस्कृति गर्ने काम भएको आरोप छ ।

वार्षिकोत्सवको अवसरमा सशस्त्रको प्रधान कार्यालयभित्र नेवारी फल्चा बनाउने नाममा बिनाटेन्डर ८० लाखभन्दा बढी रकम हिनामिना गरिएको चर्चा सशस्त्र प्रहरी बलभित्र चल्न थालेको छ । फल्चा बनाउनेहरु सबै मर्मत शाखामा कार्यरत कर्मचारीहरु रहेको र उनीहरुले खाना, खाजासमेत नखाई रातदिन खटेर काम गरेको प्रहरी स्रोतको भनाइ छ । पूर्वडीआईजी कालिदास धौवाजी र निर्माण शाखामा कार्यरत डीएसपी अजित मास्केले सो रकम हिनामिना गरेको तथ्य बाहिरिएको छ । तर, त्यसरी गरिएको हिनामिनाको छानविन कुनै निकायबाट नभएको स्रोतले उल्लेख गरेको छ ।

विगत लामो समयदेखि सशस्त्र प्रहरीभित्र हुने गरेका भ्रष्टाचार र विकृतिका समाचार नआएका होइनन् । देशैभरि रहेका गण र गुल्मको भौतिक संचरना खडा गर्न जग्गा खरिददेखि लत्ताकपाड, हातहतियार र रासन खरिदमा हुने गरेको भ्रष्टाचारमा नेतृत्व मुछिँदै आएको थियो । यसपालि पनि त्यहीं प्रवृत्ति सशस्त्र प्रहरीभित्र मौलाएको छ । जेनजी सरकार बनेपछि त झन् सशस्त्र प्रहरीभित्र विकृति र विसंगतिहरु फैलिँदै गएको आरोप लाग्न थालेको छ ।

प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै देशमा सुरक्षा चुनौती थपिएको छ । सुरक्षा निकायभित्र फैलिँदै गएको नातावाद, कृपावाद र भ्रष्टाचारले गर्दा प्रहरी संगठन नै बद्नाम बन्न पुगेको छ । त्यसले गर्दा सुरक्षामा खटिने प्रहरीहरुमा असन्तुष्टि बढ्न थालेको छ । कतिपय प्रहरीहरु वर्षौंदेखि एउटै ठाउँमा बसिरहनुपर्ने वाध्यता छ भने कतिपयले सोर्सफोर्स र भनसुनको आधारमा मालामाल बन्ने अवसर पाइरहेका छन् । त्यसले गर्दा सुरक्षामा खटिएका प्रहरीहरुको मनोबल गिरिरहेको छ । तर, गृहमन्त्री ओमप्रकाश अर्यालययस्ता विषयमा अनविज्ञ जस्तै भएर बसिरहेको गुनासो प्रहरीहरुले गर्न थालेका छन् ।

सशस्त्र प्रहरी बलभित्रको हालत त यस्तो छ भने नेपाल प्रहरीको त कुरै नगरौं । हालका महानिरीक्षक दानबहादुर कार्की जेनजी सरकारको चाकडी र चाप्लुसीमा व्यस्त छन् भने प्रहरी जवानहरु आ–आफ्नै तालमा लागिपरेका छन् । त्यसले गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भ्रष्टाचार विकृतिहरु फैलिन थालेको छ । सशस्त्र र जनपथ प्रहरीले संगठनलाई चुस्तदुरुस्त बनाउनुको सट्टा नेतृत्वले भँजाएर खाने थलो बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *