राष्ट्र बैंक मुकदर्शक बन्दा बैंकहरु डुब्दै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । बैंक वित्तिय संस्थाहरु जेनजी आन्दोलनपछि धरासायी बन्दै गएका छन् । बैंक र फाइनान्सहरुले पनि कर्जा उठाउन सकेका छैनन् भने कतिपय सहकारी संस्थाहरु सर्वसाधारणले जम्मा गरेको पैसा हिनामिना गरेर फरार भएका छन् । सहकारी संस्थाका सञ्चालकहरु फरार भएपछि सर्वसाधारणहरु सडकमा पुगेका छन् । सरकारी बैंकहरुले ऋण प्रवाह पनि गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरु धरासायी हुँदा सर्वसाधारणले समयमा भनेअनुसारको ऋण पाउन सकेका छैनन् । मर्जर र गाभिएर ठूला भएका बैंकहरुले कर्जा उठाउन नसकेर धितो लिलामीको सूचना सार्वजनिक गरिरहेका छन् ।

पटक–पटक सूचना प्रकाशित गरे तापनि बैंकहरुले धितो लिलामी विक्री गर्न सकेका छैनन् । सबैभन्दा बढी धितो लिलामीको सूचना प्रकाशित गर्नेमा एनआइसी एसिया बैंक पहिलोमा पर्छ भने दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, तेस्रोमा लक्ष्मी सनराइन बैंक, चौथोमा नबिल बैंक र पाँचौंमा प्रभु बैंक पर्दछन् । त्यसपछि अन्य बैंकहरुले पनि धितो लिलामीको सूचना सार्वजनिक गरिेरहेका हुन्छन् । लगानी गरेको खराब कर्जा उठाउन नसकेपछि बैंकका सिईओहरु फेरबदलमा पर्ने गरेको थुप्रै उदाहरणहरु छन् ।

त्यसको उदाहरण लिन सकिन्छ प्रभु बैंकका तत्कालीन सिईओ अशोक शेरचनलाई । कुनै बैंकका ठूला ऋणी वा सञ्चालकसँग सम्बन्धित व्यक्तिले अर्को बैंकबाट ऋण लिएर पुरानो ऋण तिर्ने वा खराव हुन लागेको ऋणलाई सारेर ‘असल’ बनाउने अभ्यासलाई ‘स्वाप’ भनिन्छ । यस्तै प्रकरणमा फसेका हुन् प्रभु बैंकका तत्कालीन सिईओ शेरचन । यस्तै काण्डमा मुछिएका कारण एनआइसी एसिया बैंकका तत्कालीन सिइओ रोशन न्यौपानेलाई हटाएर सुजित कुमार शाक्यलाई नियुक्त गरेको थियो । त्यसैगरी प्रभु बैंकका सिइओमा अशोक शेरचनलाई हटाएर सुमन शर्मालाई नियुक्ति गरिएको छ । शर्मा लक्ष्मी सनराइन बैंक, माछापुच्र्छे बैंकलगायतका थुप्रै बैंकहरुमा काम गरिसकेका व्यक्ति हुन् । अहिले शर्मालाई प्रभु बैकको सिईओ बनाइएको छ । शर्मालाई सिइओ बनाउनको लागि प्रभु बैंककी सञ्चालक अम्बिका शर्माले पहल गरेकी थिइन् ।

अम्बिका शर्मा कांग्रेस कार्यकर्ता हुन् । उनी कांग्रेसी मात्र नभएर डा. आरजु देउवासँग घनिष्ट सम्बन्ध भएको व्यक्तिको रुपमा परिचित छिन् । बैंकका सिइओहरु प्रायःजसो विभिन्न काण्डमा मुछिँदै आएका छन् । कतिपय सिइओहरु खराब कर्जा लगानी गरेर कमिसन खाएको आरोपमा मुछिन्छन् भने कतिपय सिइओहरु महिला काण्डमा मुछिँदै आएका छन् । प्रभु बैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई पनि महिला काण्ड लाएको थियो । सो काण्डमा उनलाई प्रहरीले पक्राउन गरेर हिरासतमा राखी छानबिन गरेको थियो । प्रहरीको छानविनपछि शेरचन हिरासत मुक्त भएका थिए । हालका सिइओ सुमन शर्मा पनि महिला काण्डमा मुछिएको बैंककै कर्मचारीहरुले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् ।

यी र यस्ता कारणले गर्दा प्राइभेटदेखि सरकारी बैंकसम्म धरासायी बन्दै गएको बैंककै कर्मचारीहरु बताउँछन् । यस्ता गम्भीर विषयमा राष्ट्र बैंक मुकदर्शक बनेको र तीनै बैंकहरुसँग असुलिधन्दा सञ्चालन गरेको आरोप पनि राष्ट्र बैंकलाई लाग्न थालेको छ । मर्जर भएका बैंकका कर्मचारीबीच एक आपसमा समन्वयकारी भूमिका नहुँदा बैकिङ्ग व्यवस्थापन कमजोर बन्न पुगेको बताइन्छ । खराब कर्जा उठाउन नसकेको, ऋण लगाउन नसकेको र धितो लिलामी विक्रि नहुने भएकोले अधिकांश बैंकहरुमा यतिबेला आयस्रोत भन्दा पनि खर्च बढी देखिएको कारणले गर्दा बैंकहरु धरापमा पर्दै गएको बैंककै कर्मचारीहरुले उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *