काठमाडौं शाखाले भाडा नतिर्दा सम्पूर्ण पत्रकारहरुको बद्नाम

राजनीति समाचार

काठमाडौं । श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पत्रकार र सञ्चार माध्यमको हकअधिकारको लागि जुट्नुपर्नेमा त्यो नगरी पदाधिकारीहरु आ–आफ्नो दलको प्रचारवाजी, विदेश घुमघाम र पद भँजाएर जीवीकोपार्जन गर्न व्यस्त छन् । महासंघका शाखा, प्रदेशहुँदै केन्द्रसम्मका पदाधिकारी र कार्यक्रसमितिमा श्रमजीवी पत्रकारभन्दा अधिकांश दलका कार्यकर्ता निर्वाचित भएका थिए । महासंघको निर्वाचनमा दलीय गठबन्धनकै कारण श्रमजीवी पत्रकारभन्दा कम पत्रकारिता बढी राजनीति गर्ने दलका कार्यकर्ता बढी निर्वाचित भएका थिए । त्यसले गर्दा टिपिकल श्रमजीवी पत्रकार र सञ्चार संस्थाको मुद्दा ओझेलमा पर्दै गएको छ । महासंघमा निर्वाचित प्रतिनिधिहरुले पछिल्लो समय श्रमजीवी पत्रकार र संञ्चार संस्थाको मुद्दा उठाउन छाडेर व्यक्तिगत फाइदाको लागि पद भजाउने गरेका थुप्रै उदाहरणहरु छताछुल्ला भएका छन् ।

त्यसको गतिलो उदाहरण बनेको छ देशकै सबैभन्दा धेरै साधारण सदस्य रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखा । काठमाडौं शाखाका सात कार्यकालका यताका पदाधिकारीहरुको पालादेखि भाडा नतिरेर त्यस शाखा अन्तर्गतका सम्पूर्ण पत्रकारको धज्जी उडाउने काम गरेका छन् । सात कार्यकालमा ६ कार्यकालका कोही दोहोरिएर अध्यक्षमा निर्वाचित भएका थिए भने कोही एक कार्यकालबाटै बिदा भएका थिए । त्यसमध्ये सातौं कार्यकालकी अध्यक्ष शोभा अर्याल अहिले पनि पदमै छिन् ।

काठमाडौं शाखामा सदस्यदेखि पदाधिकारी हुँदै अध्यक्षसम्म निर्वाचित भएको आडमा उपत्यका प्रदेशदेखि केन्द्रसम्मका विभिन्न पद हात पार्न पूर्व अध्यक्षहरु सफल भएका थिए । केही व्यक्तिहरु अहिले पनि महासंघको केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यमा निर्वाचन छन् । तर, ती व्यक्तिहरुले आफ्नो पदीय धरातल बनाउने महासंघ काठमाडौं शाखाको भाडासमेत तिर्ने हैसियत राखेनन् ।

काठमाडौं शाखाले कार्यालयको भाडा नतिरेकै कारण समाज कल्याण परिषद्ले हालको कार्यसमितिसँग कार्यालयको भाडाबापत ३१ लाख लिन बाँकी रहेको भन्दै पत्र काटेको बताइन्छ । समाज कल्याण परिषद्ले पत्र काटेको महिनादिन नाघिसक्दा पनि काठमाडौं शाखाले कार्यसमिति बैठक बसेर भाडा तिर्नेसम्बन्धमा छलफल गरेको पाइँदैन । कार्यसमितिका नेतृत्व र पदाधिकारीहरु पत्रकारको हकहितमा आवाज उठाउने, कार्यालय व्यवस्था गर्ने, भाडा तिर्नलाई पहल गर्नेभन्दा आ–आफ्नै तालमा हिडिरहेका छन् । सदस्यता नविकरण र नयाँ सदस्य वितरण पनि ओझेलमा परिरहेको छ ।
काठमाडौं शाखाको सदस्यता विवादकै कारण महासंघको गत निर्वाचन ६ महिना पर धकेलिएको थियो । नयाँ सदस्यता वितरण विवादकै कारण महासंघका तत्कालनीन केन्द्री अध्यक्ष विपुल पोखरेल र वरिष्ठा उपाध्यक्ष रमेश विष्टले राजीनामा दिनुपरेको थियो । महासंघमा ६ महिला ढिला गरेर भएको निर्वाचनमा निर्वाचित कार्यसमितिले डेढ वर्ष कार्यकाल पार गर्दा पनि त्यतिबेलाको सदस्यता वितरण विवाद मिलाउन पहल गरेको छैन ।

महासंघका पदाधिकारीबीचको विवादकै कारण कतिपय वास्तविक श्रमजीवी पत्रकारहरु सदस्यता लिनबाट बञ्चित भइरहेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको गठबन्धनबाट निर्वाचित शाखादेखि केन्द्रसम्मका पदाधिकारीहरु पत्रकार महासंघ छिरेपछि दलीय राजनीतिमा रुमलिएर पत्रकारका मुद्दामा गुमनाम बन्न पुगेका छन् । सम्पूर्ण श्रमजीवी पत्रकारहरुको छाता संस्था पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरुको यो हर्कतले सिंगो पत्रकार जगत नै लज्जित बन्न वाध्य भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *