पराजित शीर्ष नेताहरुले पार्टी नेतृत्वबाट राजीनामा देलान् त ?

राजनीति समाचार

काठमाडौं । फगुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसँगै राप्रपा र मधेसवादी दलहरुले नराम्रोसँग पराजय भोग्नुपरेको छ । उनीहरुले पराजय भोगेसँगै नैतिकताको आधारमा पार्टी सभापति र पार्टी अध्यक्ष पनि छाड्नुपर्ने नैतिक वाध्यता आइपरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट प्रतिनिधि सभा निर्वाचन हारेसँगै सिंगो पार्टी सखाप बनाएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका म्यादी सभापति गगन थापाले आफूसँगै नेपाली कांग्रेसलाई सती लगेका छन् । उता, २२ वटा दलहरु मिलेको हवाला दिँदै बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमको सुरक्षित ठाउँ रोजेर निर्वाचित भए तापनि उनीसँग मिलेका सबै शीर्ष नेताहरुले नराम्रोसँग पराजय भोगेका छन् । त्यसैगरी राजसंस्था ब्युँत्याउने नारा लगाउन कहिल्यै नथाक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिग्देनले आफूसँगै पार्टी सखाप बनाएका छन् । त्यस्तै मधेशवादी दलको नाममा खोलिएको राजीतिक सटरका प्रोपाइटर डा. सिके राउत, उमेन्द्र यादव, महन्त ठाकुर र प्रभु साहहरुले पनि आफूसँगै दल पनि सिध्याएका छन् ।

अब राष्ट्रियसँगै क्षेत्रीयतावादी दलहरुले आफ्नो विरासत कसरी जोगाउछन् त्यो प्रतिक्षाको विषय बनेको छ । रास्वपाको जनमत हेर्दा यी दलहरुले प्रदेश र स्थानीय तहमा पनि अस्तित्व जोगाउन मुस्किल पर्ने देखिन्छ । पुराना दलहरुको यो अवस्था आउनुमा उनीहरुले जिम्मेवार हुन् । किन कि दलका नेताहरु पदमा पुग्नासाथ नातावाद, क्रिपावाद र संस्थागत भ्रष्टाचारमा लिप्त भएकै कारण जनतामा वितृष्णा छाएको थियो । त्यसकै परिणाम स्वरुप आज ती दलहरुमा केही अधिकांश राष्ट्रिय दल हुनबाट बन्चित हुने देखिन्छ । किन कि उनीहरुले सत्तामा छँदा सधैं आफन्त, आसेपासे र विचौलियालाई अवसर दिएर कमाउधन्दा चालउँदै आएको कारण आज जनताबाट नराम्रो तिरस्कृत भएका छन् । त्यसले गर्दा पुराना दलहरुको राजनीतिक भविष्य चकनाचुर भएको छ । नेपालमा बहुदलीय व्यवस्था आएको ३६ वर्षमा पुराना दलहरुले आफ्नो भविष्य गुमाएसँगै देशको भविष्य पनि गुमाउन पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *