काठमाडौं । प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै देश घण्टीमय बन्न पुगेको छ । सर्वसाधारणदेखि राजनीतिक दलका कार्यकर्ताहरुलेसमेत पार्टीको आन्तरिक विवादका कारण घण्टीमा मतदान गरेको पाइएको छ । त्योसँगै आफूखुसी अध्ययन र कमाउनको लागि विदेशमा रहेका अधिकांश नेपालीहरुले पनि पुराना दलविरुद्ध रास्वपामा मतदान गर्न आफ्ना परिवारलाई दबाब दिएका थिए । सोही दबाब अनुसार एमाले, कांग्रेस र नेकपाका कार्यकर्ता र समर्थकहरुले घण्टीमा मतदान गरेर रास्वपालाई ठूलो दल बनाइदिएका छन् ।
अर्कोतिर कर्मचारी र सुरक्षा निकायले पनि समानुपातिकतर्फको मत रास्वपाको घण्टीमा दिएको पाइएको छ । त्यसकारणले पनि रास्वपा दुईतिहाई हाराहारी बहुमतले विजयी भएको छ । सुरक्षा निकायको समानुपातिक मत घण्टीमा जाने समाचार तामाकोशी सन्देश साप्ताहिकले केही हप्ता अगाडि लेखिसकेको थियो । आज तामाकोशी सन्देशमा प्रकाशित उक्त समाचार प्रमाणित भएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि द्वन्द्वबाट आएको माओवादीले प्रत्यक्षतर्फ १२० सिटमा निर्वाचित भएको थियो भने समानुपातिकतर्फ १०० सिटमा विजयी भएको थियो ।प्रत्यक्ष र समानुपालिक गरी २२० सिटमा जित हासिल गर्न माओवादी सफल भएको थियो ।
२२० सिटसहित ठूलो दल बनेको माओवादीले एकलौटी सरकार बनाएको थियो । सो सरकार ९ महिनाभन्दा बढी टिक्न सकेको थिएन । किन कि नेपाली सेनाका तत्कालीन सेनापति रुकमाङगत कटुवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधान सेनापति बनाउन खोज्दा सेनामा विवाद भएपछि तत्कालीन माओवादी सरकार ढलेको थियो । माओवादी सरकार बहुमतको उन्माद र बिनाअनुभवी उम्मेदवारहरुले जितेका कारण सरकार चलाउने क्षमता नभएर ढल्न पुगेको थियो । बहुमतको सरकार ढलिसकेपछि तत्कालीन संविधान सभाले संविधान बनाउन सकेन । त्यसपछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचन भएको थियो । सो निर्वाचनमा २२० सिटको माओवादी ८३ सिटमा खुम्चिएर दोस्रो दल बन्न पुगेको थियो । त्यसपछि एमाले र माओवादी मिलेर नेकपा बवेको थियो । २०७४ सालको आम निर्वाचनमा नेकपाले दुईतिहाइ हाराहारी मत प्राप्त गरी एकलौटी सरकार बनाएको थियो । त्यो सरकार पनि ४१ महिनाभन्दा बढी टिक्न सकेन ।
त्यसलाई हेर्ने हो भने २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाई हाराहारी बहुमत पाएरठूलो पार्टी बने तापनि पुरा अवधि सरकार चलाउन सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ । किन कि २०६४ सालको निर्वाचन र २०७४ सालको निर्वाचनको परिणामले नै त्यो देखाइसकेको छ । त्यसले गर्दा रास्वपाको बहुमतको सरकार पनि कति वर्ष या महिना टिक्ने हो भन्ने एकिन छैन । किन कि त्यस अगाडिका दलहरुले बहुमत प्राप्त गरेर बनाएका सरकारहरुको इतिहासले त्यस्तै देखाउँछ । उता, २०४८ सालको आमनिर्वाचनमा २०५ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले ११२ सिटमा विजय हासिल गरेको थियो । त्योसँगै नेपाली कांग्रेसले एकलौटी सरकार बनाएको थियो । तर, बहुमतको सरकार बनेको दुई वर्षमै कांग्रेसपार्टीभित्रको आन्तरिक कलहका कारण दुई धारमा विभाजित भएको थियो । कांग्रेसको आन्तरिक विवादकै कारण २०५१ सालमा मध्यावधी निर्वाचन भएको थियो । मध्यावधी निर्वाचनपछि पहिलो दल बनेको नेपाली कांग्रेस दोस्रो दलमा खुम्चिएको थियो । हाल रास्वपाले हासिल गरेको बहुमतको सरकार पनि त्यसैगरी नढल्ला भन्न सकिँदैन । किन कि रास्वपाको पक्षमा पश्चिमाहरु हावी भएका छन् भने पुराना दलहरु दुई छिमेकी मुलुक भारत र चिनको भरमा परेका छन् ।

