सडक निर्माणको गुणस्तरबारे जनस्तरबाट आउने गुनासालाई हामीले गम्भीर रूपमा लिएका छौँ

अन्तरवार्ता राजनीति

नारायणदत्त भण्डारी, कार्ययलय प्रमुख, सडक डिभिजन कार्यालय चरिकोट
पहाडी भू–भाग, बारम्बार हुने बाढी–पहिरो र सीमित स्रोतसाधनका बीच सडक पूर्वाधारको व्यवस्थापन गर्नु कुनै पनि निकायका लागि चुनौतीपूर्ण काम हो। विशेषगरी अरनिको राजमार्ग जस्तो अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएको सडकमा देखिने अवरोधले स्थानीय जनजीवन मात्र होइन, देशको आपूर्ति प्रणालीमै प्रभाव पार्ने गर्छ। सिन्धुपाल्चोक को कोदारीस्थित ‘इको पहिरो’ जस्ता जोखिमयुक्त क्षेत्रका कारण हरेक वर्ष सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।यस्ता चुनौतीबीच सडक डिभिजन कार्यालय चरिकोटले सडक मर्मत, स्तरोन्नति, पहिरो नियन्त्रण तथा पुल पुनःनिर्माणका कामलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताइएको छ। कार्यालयका प्रमुख नारायण दत्त भण्डारीका अनुसार जोखिमयुक्त स्थानको दीर्घकालीन समाधान, रणनीतिक सडकको स्तरोन्नति र स्थानीयसँग समन्वय गर्दै सडकलाई सुरक्षित र दिगो बनाउने प्रयास भइरहेको छ। यिनै विषय—सडकको वर्तमान अवस्था, प्राथमिकतामा रहेका परियोजना, पहिरो नियन्त्रण र भविष्यका योजनाबारे केन्द्रित रहेर तामाकोशी सन्देशको लागि गरिएको कुराकानीको सम्पादित अंशः

चरिकोट सडक डिभिजनअन्तर्गतका जिल्लाहरूमा अहिले सडकको समग्र अवस्था कस्तो छ?
चरिकोटस्थित सडक डिभिजन कार्यालय चरिकोट अन्तर्गत पर्ने जिल्लाहरूमा सडकको अवस्था समग्रमा सुधारोन्मुख भए पनि पहाडी भौगोलिक बनावट, बाढी र पहिरोजस्ता प्राकृतिक जोखिमका कारण चुनौतीहरू अझै पनि छन्। विशेषगरी सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा रहेको ‘इको पहिरो’ लामो समयदेखि सडक व्यवस्थापनका लागि ठूलो चुनौती बनेको छ। २०७२ को भूकम्प पछि पहाड चिरिँदै बनेको यो पहिरो हरेक वर्षातमा सक्रिय हुने र अरनिको राजमार्ग लामो समयसम्म अवरुद्ध हुने अवस्था देखिँदै आएको छ। गत ०८२ साल साउन १८ गते आएको बाढीले इको क्षेत्रमा करिब २५० मिटर सडक प्रभावित बनायो, जसमा झण्डै ५० मिटर सडक पूर्ण रूपमा बगेर गएको थियो। त्यसले गर्दा तातोपानी नाका समेत ठप्प भयो र आयातित खाद्यान्न, फलफूल, लत्ताकपडा लगायतका सामग्री बोकेका सवारीसाधन बाटोमै रोकिए। यसले स्थानीय बासिन्दा मात्र नभई देशको आपूर्ति प्रणालीमै दबाब सिर्जना गर्ने अवस्था बनाएको थियो।

त्यो संकटपूर्ण अवस्थामा हामीले जिल्ला प्रशासन, भन्सार कार्यालय, यातायात व्यवसायी, सुरक्षानिकाय तथा सरोकारवाला निकायहरूसँग समन्वय गरेर तत्काल अल्पकालीन तथा दीर्घकालीन दुवै खालका योजना अघि बढायौँ। अस्थायी मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याइयो, जसले गर्दा तातोपानी नाका पुनः सञ्चालनमा आयो र रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न सके।तर हामीले तत्कालीन समाधानमै सीमित नरही दीर्घकालीन समाधानतर्फ पनि काम अघि बढाएका छौँ। इको पहिरोलाई स्थायी रूपमा नियन्त्रण गर्न विस्तृत प्राविधिक अध्ययन गरी अर्थ मन्त्रालय नेपाल को सहमतिमा करिब ४९ करोड रुपैयाँ बराबरको पहिरो नियन्त्रण परियोजनाको ठेक्का प्रक्रिया अघि बढिसकेको छ। यसले भविष्यमा अरनिको राजमार्गमा बारम्बार देखिने अवरोधलाई धेरै हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।यसै क्रममा डाक्लाङ क्षेत्रमा रहेका तीनवटा पहिरो र घट्टे खोलाको पहिरोको प्राविधिक अध्ययन पनि सुरु गरिएको छ। साथै अरनिको राजमार्गकै अर्को जटिल समस्या मानिने कोठे पहिरो नियन्त्रणका लागि पनि अध्ययन अघि बढाइएको छ।

सडक पूर्वाधार सुधारका लागि बाह्रविसे–कोदारी सडक खण्डको करिब २५ किलोमिटर क्षेत्रमा डिबिएमसहित एसपी एस्फाल्ट लेभलको सडक निर्माण कार्य पनि अघि बढिरहेको छ। यो सडक स्थानीय आवागमनका लागि मात्र नभई अन्तर्राष्ट्रिय व्यापार र पर्यटनका दृष्टिले समेत अत्यन्त महत्त्वपूर्ण मानिन्छ। कालोपत्रे सडक विस्तार हुँदै जाँदा स्थानीयले वर्षौंदेखि भोग्दै आएको धुलो, हिलो र जोखिमको समस्या क्रमशः कम हुँदै गएको छ।त्यसैगरी बाढी–पहिरोले क्षति पु¥याएका पुलहरूको पुनःनिर्माणलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ। मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित सडक समस्याको समाधानका लागि पनि बजेट सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको छ र करिब एक अर्ब रुपैयाँ बराबरको बहुवर्षीय ठेक्काका लागि प्रस्ताव पेश गरिएको छ। हाम्रो प्रयास भनेको सडकलाई सुरक्षित, दिगो र सबै मौसममा सञ्चालनयोग्य बनाउनु हो। त्यसका लागि फिल्डमै पुगेर समस्या बुझ्ने, सरोकारवालासँग निरन्तर संवाद गर्ने र दीर्घकालीन समाधान खोज्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। यही कारण अहिले क्रमशः सडकको अवस्था सुधारहुँदै गएको र डिभिजन सडक कार्यालयप्रति आमनागरिकको विश्वास पनि विस्तारै बढ्दै गएको अनुभूति गरेका छौँ।

सडक विस्तार र स्तरोन्नतिका लागि दीर्घकालीन योजना केबनाइएको छ?
दीर्घकालीन रूपमा सडक सञ्जाललाई सुरक्षित, दिगो र वर्षैभरि सञ्चालनयोग्य बनाउने हाम्रो लक्ष्य हो। त्यसका लागि चरणबद्ध रूपमा कच्ची सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे गर्ने, जोखिमयुक्त स्थानमा रिटेनिङ वाल, ग्याबियन तथा ड्रेनेज प्रणाली निर्माण गर्ने योजना छ। साथै यातायातको बढ्दो चापलाई ध्यानमा राख्दै केही सडक खण्डलाई फराकिलो बनाउने, नयाँ प्रविधि प्रयोग गर्ने तथा वातावरणीय दृष्टिले सुरक्षित संरचना निर्माण गर्ने दिशामा काम भइरहेको छ।

धेरै ठाउँमा सडक निर्माण भएपछि छोटो समयमै बिग्रिने गुनासो आउँछ। गुणस्तर नियन्त्रणका लागि कार्यालयले कस्तो अनुगमन गर्छ?
सडक निर्माणको गुणस्तरबारे जनस्तरबाट आउने गुनासालाई हामीले गम्भीर रूपमा लिएका छौँ। सडक छोटो समयमै बिग्रिनु राम्रो संकेत होइन, त्यसैले निर्माणको सुरुदेखि अन्तिम चरणसम्म गुणस्तर नियन्त्रणलाई विशेष प्राथमिकतामा राखिएको छ। सडक डिभिजन कार्यालय चरिकोट अन्तर्गत सडक निर्माण भइरहेका प्रत्येक परियोजनामा प्राविधिक टोलीमार्फत नियमित अनुगमन गरिन्छ। निर्माण कार्य सुरु भएदेखि नै प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षण, डिजाइन र मापदण्डअनुसार काम भइरहेको छ कि छैन भन्ने कुरा प्राविधिक रूपमा जाँच गरिन्छ।

आवश्यक परे निर्माण सामग्रीको नमुना प्रयोगशालामा परीक्षण गराइने व्यवस्था पनि गरिएको छ।त्यसैगरी निर्माणको प्रत्येक चरण—सबग्रेड, बेस कोर्स, कालोपत्रे लगायतका काममा प्राविधिक स्वीकृति बिना अर्को चरणमा काम अघि बढ्न दिइँदैन। यदि कुनै ठाउँमा गुणस्तरमा कमजोरी देखियो भने तत्काल सुधार गर्न निर्देशन दिइन्छ र आवश्यक परे पुनः काम गराउनसमेत लगाइन्छ।हामीले ठेकेदार कम्पनीलाई पनि सम्झौता र प्राविधिक मापदण्ड कडाइका साथ पालना गर्न स्पष्ट निर्देशन दिएका र्छौँ। निर्माण सम्पन्न भएपछि पनि निश्चित अवधिसम्म निगरानी गर्ने व्यवस्था भएकाले समस्या देखिएमा सम्बन्धित कम्पनीलाई नै मर्मत गर्न बाध्य बनाइन्छ। यसरी अनुगमन र नियन्त्रण प्रणालीलाई बलियो बनाएर सडकलाई टिकाउ र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ।

ठेकेदारले गुणस्तरहीन काम गरेमा के–कस्ता कारबाहीको व्यवस्था छ?
यदि निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको वा गुणस्तरहीन काम गरेको पाइएमा कानुनी र प्राविधिक दुवै किसिमका कारबाही गर्ने व्यवस्था छ। आवश्यक परे काम पुनः गर्न लगाइन्छ, भुक्तानी रोक्का गरिन्छ, जरिवाना लगाइन्छ वा ठेक्का सम्झौता नै रद्द गर्ने प्रक्रिया पनि अघि बढाइन्छ। यस्तो कार्यले निर्माण कम्पनीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्य राखिएको हुन्छ।

सडक निर्माणका धेरै ठेक्का समयमै पूरा नहुने समस्या किन देखिन्छ?
सडक निर्माणका ठेक्का समयमै सम्पन्न नहुनुका विभिन्न कारणहरू हुन्छन्। विशेषगरी पहाडी भू–भाग भएका जिल्लाहरूमा मौसम, भौगोलिक अवस्था र प्राकृतिक जोखिमले काममा ठूलो प्रभाव पार्छ। वर्षायाममा पहिरो जाने, सडक अवरुद्ध हुने, निर्माण सामग्री ढुवानीमा समस्या हुने जस्ता कारणले निर्माण कार्य प्रभावित हुने गरेको छ।त्यसैगरी कतिपय अवस्थामा ठेकेदार कम्पनीको व्यवस्थापन कमजोरी, श्रमिक अभाव, उपकरण व्यवस्थापनमा समस्या, समयमै निर्माण सामग्री उपलब्ध नहुनु जस्ता कारणले पनि ढिलाइ हुने गरेको पाइन्छ। केही परियोजनामा जग्गा अधिग्रहण, विद्युत् पोल वा अन्य संरचना सार्ने जस्ता प्रशासनिक प्रक्रिया ढिलो हुँदा पनि काम प्रभावित हुन्छ।हाम्रो कार्यालयले यी समस्यालाई ध्यानमा राखेर नियमित अनुगमन, समय–समयमा ठेकेदारसँग छलफल र आवश्यक निर्देशन दिँदै आएको छ। उद्देश्य भनेको तोकिएको समयभित्र काम सम्पन्न गराउने हो।

लामो समयदेखि अलपत्र रहेका सडक परियोजनाहरूलाई कसरी टुंग्याउने योजना छ?
लामो समयदेखि अलपत्र रहेका सडक परियोजनाहरू हाम्रो लागि पनि चिन्ताको विषय हो। त्यसैले यस्ता परियोजनाको छुट्टै सूची तयार गरेर प्राथमिकताका आधारमा समाधान गर्ने प्रयास भइरहेको छ।पहिलो चरणमा परियोजना किन अलपत्र भयो भन्ने कारण पहिचान गरिन्छ। यदि ठेकेदार कम्पनीले काम नगरेको हो भने उसलाई काम अघि बढाउन कडा निर्देशन दिइन्छ। यदि प्राविधिक, प्रशासनिक वा बजेटसम्बन्धी समस्या छ भने सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोजिन्छ।आवश्यक परे ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियाबाट पुनः ठेक्का लगाउने विकल्प पनि प्रयोग गरिन्छ। हाम्रो लक्ष्य भनेको यस्ता परियोजनालाई लामो समयसम्म थाँती नराखी सकेसम्म चाँडो सम्पन्न गराउनु हो।

ठेकेदार कम्पनीले काम नगरेमा ठेक्का खारेज गर्ने प्रक्रिया कति प्रभावकारी छ ?
कानुनी रूपमा ठेकेदार कम्पनीले सम्झौताअनुसार काम नगरेमा ठेक्का खारेज गर्ने स्पष्ट व्यवस्था छ। तर व्यवहारमा यो प्रक्रिया केही चरणहरू पूरा गरेर मात्रै अघि बढाउनुपर्ने हुन्छ।पहिले ठेकेदारलाई लिखित चेतावनी दिइन्छ, कामको प्रगति बढाउन समय दिइन्छ र सुधारको अवसर प्रदान गरिन्छ। यदि त्यसपछि पनि काम अघि नबढेमा सम्झौता खारेज गर्ने प्रक्रिया सुरु हुन्छ।यद्यपि ठेक्का खारेज गर्नु अन्तिम विकल्प मात्र हो, किनभने त्यसपछि पुनः नयाँ ठेक्का प्रक्रिया सुरु गर्दा थप समय लाग्न सक्छ। त्यसैले हामी सकेसम्म विद्यमान ठेकेदारलाई नै काम सम्पन्न गराउन प्रयास गर्छौँ। तर आवश्यक परे कडा कदम चाल्न पनि कार्यालय पछि हट्दैन।

पहाडी जिल्लामा पहिरो र वर्षाले सडक क्षति हुने समस्या बारम्बार देखिन्छ। यसलाई कम गर्न के उपाय अपनाइँदैछ?
पहाडी क्षेत्रमा सडक निर्माण गर्दा प्राकृतिक जोखिम ठूलो चुनौती हुन्छ। वर्षायाममा पहिरो, बाढी, भूक्षय र ढुंगा खस्ने जस्ता समस्या देखिन्छन्। त्यसैले यस्ता जोखिम कम गर्न विभिन्न संरचनात्मक उपाय अपनाइँदैछ।जस्तै—रिटेनिङ वाल, ग्याबियन वाल, ड्रेनेज प्रणाली, ढल निकास व्यवस्थापन, स्लोप संरक्षण तथा बायो–इन्जिनियरिङ प्रविधि प्रयोग गरिन्छ। साथै जोखिमयुक्त स्थानहरूको नियमित निरीक्षण गरेर आवश्यक मर्मतसम्भार गरिन्छ।दीर्घकालीन रूपमा सडक डिजाइन गर्दा पनि भौगोलिक अवस्थालाई ध्यानमा राखेर सुरक्षित र दिगो संरचना निर्माण गर्ने नीति अपनाइएको छ।

वर्षायामअघि सडक मर्मत तथा पूर्वतयारी कस्तो हुन्छ?
वर्षायाम सुरु हुनुअघि सडक मर्मतसम्भार र पूर्वतयारी हाम्रो कार्यालयको नियमित कार्यक्रम हो। वर्षा सुरु हुनुअघि खाल्डाखुल्डी पुर्ने, ड्रेनेज सफा गर्ने, पानी निकासको व्यवस्था सुधार गर्ने, जोखिमयुक्त स्थानमा आवश्यक संरक्षण संरचना निर्माण गर्ने जस्ता काम गरिन्छ।यसका साथै सम्भावित पहिरो क्षेत्रको पहिचान गरेर आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिन्छ। यसले वर्षायाममा हुने सम्भावित क्षतिलाई न्यून गर्न मद्दत गर्छ।

आपतकालीन अवस्थामा सडक खुलाउन कार्यालयसँग कस्तो संयन्त्र छ?
आपतकालीन अवस्थामा सडक अवरुद्ध भएमा तुरुन्तै सडक सञ्चालनमा ल्याउन हाम्रो कार्यालयसँग विशेष संयन्त्र रहेको छ। आवश्यक उपकरण जस्तै डोजर, एक्स्काभेटर लगायत मेसिन तयारी अवस्थामा राखिन्छ।त्यसैगरी स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर अवरुद्ध सडक छिटो खुलाउने प्रयास गरिन्छ। हाम्रो प्राथमिकता भनेको यात्रु र स्थानीय बासिन्दालाई कमभन्दा कम असुविधा हुने गरी सडक सञ्चालनमा ल्याउनु हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *