काठमाडौं । त्यसैले भनिएको रहेछ यो देश मुठ्ठीभरको लागि देश स्वर्ग छ । ऐन,कानुन सबैको हकमा बराबरी लागू हुनुपर्ने हो तर मुठ्ठीभरका यस्ता प्रशासक जस्लाई जागिरे जीवनमा सहसचिवदेखि सचिव हुँदासम्म प्रदेश झर्नु परेको छैन,जो सिंहदरबारको चौघेरा छोडेर तल जागिर खान जानै पर्दैन । अनि केही यस्ता निम्सरा सचिव र सहसचिवहरु पनि छन्,जो प्रदेशमा घुमेका घुम्यै हुन्छन् ।
जस्तो हालैमात्र सरकारले एक सचिवलाई दुई सातामै गण्डकी प्रदेशबाट संघमा ल्याएको छ । महालेखा परीक्षकबाट रघुराम विष्ट अवकाशमा गएपछि रिक्त रहेको महालेखा परीक्षकको जिम्मेवारी पाएका हुन् शोभाकान्त पौडेल । उनी हालैमात्र सचिव बढुवा भएका हुन । प्रदेशमा भएका सबैभन्दा कनिष्ठ प्रमुख सचिव स्याङ्जाली भएकै कारण महालेखा नियन्त्रक भएर फर्कने मौका पाएका छन् । शोभाकान्त पौडेल अर्काे स्याङ्गजाली एकनारायण अर्यालको विश्वासपात्र भएकै कारण दुई सातामै संघमा फर्कने मौका पाएका हुन । लेखाका कर्मचारीहरुको सरुवा हुँदैछ,अब भदौं पछि । यसरी कर्मचारी सरुवा गर्दा बोल कबोलमा सरुवा हुँदै आएको तथ्य कर्मचारी वृत्तमा लुकेको बिषय रहेन अब । त्यही कारण उनलाई महालेखामा ल्याइएको हो । उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खगेन्द्रप्रसाद सुवेदी पुगेका छन् ।
सहसचिवबाट सचिवमा बढुवा हुने वित्तिकै पहिलो पदस्थापन नै प्रदेशको मुख्य सचिवको रुपमा गरिदैं आएको छ तर शक्तिशाली सचिवका हकमा यस्ता प्रावधान लागू हुँदैन । जस्तो बैकुण्ठ अर्याल, सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं, हरि पौडेल, एकनारायण अर्याल, रामशरण पुडासैनी, मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर कर्ण उनीहरु कहिल्यै प्रदेश झरेनन् । यी मध्ये कृष्णहरिले मधेसी कोटामै उपसचिवदेखि सहसचिवसम्म भए तर कहिल्यै प्रदेश झर्नु परेन । दक्षिणी राजदुतावास मिलाउने खुबी भएका र बूढानिलकण्ठसँग अत्यन्त राम्रो सम्बन्ध भएका कारण पनि उनी प्रदेश झर्नु परेन । मुख्यसचिव हुँदा भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका बैकुण्ठ अर्याल हुन वा उनै बैकुण्ठलाई मुद्धा मामिला गराएर आफू मुख्य सचिव बनेका एकनारायण अर्याल हुन,कहिल्यै प्रदेश झरेनन् । उनै नारायण कलकत्ताको महावाणिज्यदूत हुँदै सचिवमा बढूवा भए,काठमाडौ महानगरपालिकामा पहिलो पोष्टिङ्ग पाए ।
त्यहाँबाट सामान्य प्रशासन,श्रममन्त्रालय,प्रधानमन्त्री कार्यालय,गृह पुगे गृह हुँदै मुख्य सचिव भए । जबकी एकनारायणकै व्याजी सहसचिवहरू यादवप्रसाद कोइराला र रामप्रसाद थपलिया कोशी र कर्णाली प्रदेशको प्रमुख सचिव भए पछि मात्र संघमा उक्लिएका थिए । उनी पछिका मुख्य सचिव भनिएका कृष्णहरि पुष्करलाई विगतको उनकै जोडबलमा अहिले श्रम मन्त्रालयमा खटाइएको छ । यस्का अलवा नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जेलको चिसो खाइरहेका टेकनारायण पाण्डे, डा. हरिप्रसाद लम्साल, चूडामणि पौडेल, कमलप्रसाद पोखरेल पनि प्रदेश टेक्नु परेन । यस्का अलवा ओली सरकारका प्रिय पात्रका रुपमा हेरिएका रामशरण पुडासैनी,जस्ले हालैमात्र स्टाफ कलेजमा नियुक्ती पाएका छन्,उनी पनि प्रदेश नझर्ने शक्तिशाली सचिवका रुपमा चिनिन्छन । उनीझैं भ्रष्टाचार मुद्धा लागेर सात महिनामै सफाइ पाएका मधुकुमार मरासिनीले समेत एक दिन पनि प्रदेश टेक्नु परेन ।
यस्का अलवा लोकदर्शन रेग्मी दाहिना हुँदा सधै आकर्षक ठाउँमा पोष्टिङ्ग पाएका कान्छा सहसचिव प्रदीप परियार,जो भ्रष्टाचार मुद्धा लागेर निलम्बित छन्,उनी पनि सहसचिव भए पछि सिधै शहरी विकास मन्त्रालयमा पोष्टिङ्ग पाए । त्यहाँबाट राष्ट्रिय योजना आयोग हुँदै रोजेर बालेन साहले काठमाडौं महानगरपालिकामा पुगेका परियार त्यहाँ सात महिना कार्यरत रहँदा समानान्तर निर्माण सेवालाई ठेक्का नदिँदा भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका हुन । अहिले गृहमन्त्री रमेश लेखकका दाहिने हात भएर काम गरिरहेका छवि रिजालका अलवा अहिले लोकसोव आयोगमा रहेकी गीताकुमारी होमागाई, नारायण प्रसाद भट्टराई पनि सिंहदरबारै घुमेर जागिर खान पाउने भाग्यमानी प्रशासकमा पर्दछन्,उनीहरु ।
यस्तै श्रवण कुमार तिमिल्सिना,गृहका सदाबहार सिडियोका रुपमा चिनिने उमेश कुमार ढकाल पनि कहिल्यै नरम अड्डामा बसेर काम गर्न परेन । मधु मरासिनीका भाई शम्भु,शंकरहरि अर्याल,शिवादेवी दाहाल,शैलजा रेग्मीदेखि कोषहरि निरौलादेखि यस्तै,महेश भट्टराई,महेश बराल,नारायण रिसाल,विष्णु कोइराला,भरतमणि पाण्डे,,धर्मेन्द्र कुमार मिश्र,बन्धु प्रसाद बास्तोला,खगेन्द्र रिजाल,रोशनी कुमारी श्रेष्ठ,सुनिता नेपाल,बुद्ध बहादुर गुरुङ्ग,नारायण अर्याल,जीवलाल भुसालदेखि अर्जुन भट्टराईसम्मका सहसचिवहरु कहिल्यै प्रदेश नओर्लिकन संघमै सेवा गर्ने मौका पाएका शक्तिशाली सहसचिवहरुको रुपमा चिनिन्छन्,निजामती वृत्तमा ।
०००