इरान र अमेरिका युद्धले नेपालस्ता देशमा पेट्रोलियम पद्धार्थको हाहाकार

राजनीति समाचार

निशा ठकुरी
विश्वमा ऊर्जा स्रोतहरू जस्तै पेट्रोलियम पदार्थ, ग्यास र तेल अत्यन्तै महत्वपूर्ण मानिन्छन् । संसारका धेरै देशहरूको अर्थतन्त्र र दैनिक जीवन यी ऊर्जास्रोतहरूमा निर्भर हुन्छ । विशेषगरी एलपी ग्यास घरायसी खाना पकाउन प्रयोग हुने मुख्य इन्धन हो। तर जब अन्तर्राष्ट्रिय स्तरमा युद्ध वा राजनीतिक तनाव हुन्छ, त्यसले ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्ने गर्दछ । हाल इरान र अमेरिकाबीच भएको युद्ध का कारण यसको असर विश्वभरको तेल र ग्यास आपूर्तिमा परेको छ । त्यसले भारत लगायत अन्य देशमा यसको असर देखिन थालेको छ ।

इरान विश्वका प्रमुख तेल उत्पादक देशहरू मध्ये एक हो । मध्यपूर्व क्षेत्रमा रहेको इरानसँग ठूलो मात्रामा तेल र प्राकृतिक ग्यासको भण्डार छ । धेरै देशहरूले अप्रत्यक्ष रूपमा इरान वा मध्यपूर्व क्षेत्रबाट आउने तेल र ग्यासमा निर्भरता राखेका छन् । इरान र अमेरिकाबीच युद्ध हुँदाका कारण विश्व बजारमा ऊर्जा आपूर्ति घट्न थालेको छ । मध्यपूर्व क्षेत्रबाट धेरै तेल र ग्यास समुद्री मार्गबाट अन्य देशहरूमा पठाइने गरिन्छ । विशेषगरी फारसको खाडी क्षेत्र र होर्मुज जलडमरूबाट ठूलो मात्रामा तेल र ग्यासको ढुवानी हुने गर्दछ । अहिले भइरहेको यद्धले जहाजहरूलाई आक्रमणको खतरा बढेको छ । जसले गर्दा यसले विश्व बजारमा तेल र ग्यासको आपूर्तिमा असर पारेको छ ।

दोस्रो प्रभाव ऊर्जा उत्पादनमा कमी आउनु हो। इरान र अमेरिकाको युद्धको असर तेल उत्पादन केन्द्रहरू, पाइपलाइनहरू वा भण्डारण केन्द्रहरूमा आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा असर परेको छ । इरान र अमेरिका युद्धका कारण नेपालजस्ता देशहरू पूर्ण रूपमा आयातमा निर्भर भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यहाँ ग्यासको अभाव देखिन थालेको छ । ग्यासको अभावको अर्को कारण मूल्यवृद्धि हो । जब युद्धका कारण तेल र ग्यासको आपूर्ति कम हुन्छ, तब अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढ्छ। महँगो भएपछि धेरै विकासशील देशहरूलाई पर्याप्त मात्रामा ग्यास आयात गर्न कठिन हुन्छ ।

युद्धको असर मानसिक डर र अनिश्चितता मार्फत पनि देखिन्छ । जब मानिसहरूले समाचारमा युद्धको कुरा सुन्छन्, उनीहरूलाई भविष्यमा ग्यास अभाव हुन सक्छ भन्ने डर लाग्छ। त्यसपछि मानिसहरू आवश्यक भन्दा धेरै ग्यास किनेर घरमा राख्न थाल्छन्। यसलाई प्यानिक बाइङ भनिन्छ। यसले बजारमा माग अचानक बढाउँछ र अभाव झन् बढ्न सक्छ । यसका साथै युद्धका कारण ढुवानी लागत पनि बढ्छ। जहाज, बीमा र सुरक्षा खर्च बढ्ने भएकाले तेल र ग्यास ढुवानी महँगो हुन्छ। यो खर्च अन्ततः उपभोक्तामा पर्छ। जब लागत बढ्छ, केही देशहरूले आयात कम गर्न सक्छन्, जसले गर्दा ग्यासको उपलब्धता घट्छ ।

नेपालजस्तो देशमा ग्यासको अभाव हुनुको मुख्य कारण भनेको आयातमा निर्भरता हो। नेपालमा प्रयोग हुने अधिकांश एलपीजी ग्यास भारतबाट आयात हुन्छ, र भारतले पनि धेरै कच्चा तेल तथा ग्यास मध्यपूर्वबाट ल्याउँछ। यदि मध्यपूर्व क्षेत्रमा युद्ध भयो भने भारतमा पनि आपूर्ति प्रभावित हुन सक्छ। त्यसको प्रभाव नेपालमा पनि देखिन्छ । युद्धका कारण केवल ग्यास मात्र होइन, पेट्रोल, डिजेल र अन्य ऊर्जा स्रोतहरूमा पनि समस्या आउन सक्छ। ऊर्जा संकटले उद्योग, यातायात, व्यापार र दैनिक जीवन सबै क्षेत्रमा असर पार्छ। उदाहरणका लागि, ग्यास अभाव हुँदा मानिसहरूले दाउरा, कोइला वा अन्य इन्धन प्रयोग गर्न थाल्न सक्छन्, जसले वातावरणमा पनि नकारात्मक असर पार्छ ।

त्यस्ता समस्याबाट बच्नका लागि दीर्घकालीन उपायहरू आवश्यक छन्। देशहरूले वैकल्पिक ऊर्जा स्रोतहरू जस्तै जलविद्युत, सौर्य ऊर्जा र बायोग्यासको विकास गर्नुपर्छ। यदि देशहरू वैकल्पिक ऊर्जामा आत्मनिर्भर भए भने अन्तर्राष्ट्रिय युद्ध वा संकटको प्रभाव कम हुन्छ। साथै ऊर्जा बचत गर्ने बानी पनि विकास गर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *