ananta gurung

परिवर्तनको चाहाना पुरा गरौं

लेख विविध समाचार

अनन्त गुरुङ

२०८२ साल चैत्र११ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सपताहिकमा प्रकाशित)
नेपाली जनताले आफ्नो परिवर्तनको चाहानालाई पुरा गर्नको निमिक्त राष्ट्रिय स्वतंत्र पार्टीलाई भोट मात्र नहाली लगभग २र३ बहुमत दिएकाछन । चुनाव जितेकै हुनाले राष्ट्रिय स्वतंत्र पार्टी माथि नेपाली जनताको भावना र चाहानालाई पुरा गर्नै पर्ने ठुलो जिम्मेवारी प्राप्त भएकोछ । पुराना दलहरु एमाले, नेपाली काँग्रेस र माओवादीको कुशासनले गर्दा नेपालमा भ्रष्टाचार र अपराधले सबै हद पार गरीसकेको बेलामा चुनाव जितेर सत्तामा आएको राष्ट्रिय स्वतंत्र पार्टीलाई सुशासन गरी देखाउने ठुलो चुनौती आईपरेकोछ । पुराना दलहरु एमाले, नेपाली काँग्रेस र माओवादी दलहरुले तालमेल गरी पालैपालो ३५ बर्ष सम्म नेपालको राजकिय सत्ता निरन्तर चलाउन पाएका थिए । दलहरुले नेपालको सत्ता चलाएको यो ‍अवधिलाई राजनीतिक स्थिरताको दृष्टिकोणले धेरै नै अस्थिर अवधि मानिन्छ ।

यो ३५ बर्षको अवधिमा ३० सौं पटक प्रधानमंत्री बदलिएकाछन । कसैले पनि तोकिएको कार्यकाल पुरा गर्न सकेन भने १ देखि २ बर्ष भित्रको अवधिमा नै दलहरुले मिलीजुली बनाएका नेपाल सरकारहरुको अदलीबदली हुँदै आएका थिए । दलहरुबाट बनेको कुनै पनि नेपाल सरकारले सुशासन कायम गरी नेपाली जनताको भरोषा जित्न कहिले पनि सफल हुन सकेनन् । चरम भ्रष्टाचार र अपराधले आकास नै छोयो भने त्यसको लागि अस्थिर र कमजोर नेपाल सरकारले कसैलाई पनि जबाफदेही बनाउन सकेन । घरजग्गाको दलाली, बिदेशी परियोजनाहरुको दलाली, सुन तस्करी, मानव तस्कारी र बलात्कार जस्ता जघण्य फौजदारी अपराधहरुलाई सत्ताको साझेदार दलहरुले संरक्षण गर्नको साथसाथ बढवा दिए । फलस्वरुप नेपालमा अराजकता छायो र स्वतंत्र कानुनी राज पनि सामाप्त भएर गयो । प्रहरी प्रशासन अड्डा अदालतको व्यापक दलियकरण सत्तामा बसेका दलहरुले थालेको हुँदा नेपालको लोकतंत्र कमजोर भएर गयो र त्यसको ठाउँमा दलतंत्र र नेतातंत्र बलियो हुँदै गयो । सामान्य सरकारी सेवा लिन पनि आम नेपाली जनताको लागि कठिन बन्दै गयो भने घुस खुवाउन पनि नसक्ने र पावर पनि लगाउन नसक्ने आम नेपाली जनताले सरकारी सेवा पाउन नै बन्द भयो ।

नेपाली जनताको गाँस, बास र कपासलाई पुराना दलहरुले नाफाखोर व्यापारीहरु र व्यावसायीहरुको लागि अत्याधिक नाफा कमाउने व्यापार र व्यवसाय तुल्याई दिए । त्यसै गरी मानव जीवन धान्न रअगाडि बढाउन नभईनहुने आधारभूत बिषय वस्तुहरु जस्तो स्वास्थ्य, शिक्षा, रोजगारी र खानेपानीलाई पनि पुराना दलहरुले नाफाखोर व्यापारीहरु र व्यवसायीहरुको लागि अत्याधिक नाफा कमाउने व्यापार व्यवसाय नै बनाई दिए । अति भए पछि नेपाली जनताको धर्यताको बाँध फुट्यो र नेपाली जनता नाफाखोर व्यापारीहरु र व्यवासयीहरु जस्ता स्वार्थ समूहलाई पोष्णे पुराना दलहरु र तिनका नेताहरु बिरुद्ध नै खनिए । पुराना दलका नेताहरु खास गरी तत्कालिन ओली(देउवा सरकारले नेपाली जनताको बिद्रोहलाई रोक्न षडयंत्र गरेका थिए तर सफल भएनन् । जेन जेडका ७७ बालकहरुले आफ्नो वलीदान चढाएर नेपाली जनताको लागि पुराना दलहरुको दासत्व देखि मूक्ती दिलाएर नै छाडे । पुरानो दलहरुले जस्तो कसैको हत्या नगरी शान्तिपूर्ण तरिकाले चुनावको माध्यमबाट नै नेपाली जनताले पुरानो दलहरुको सिकञ्जाबाट आफैलाई मूक्त बनाई छाडेका छन ।

आगामि दिनहरुमा नेपाली जनताको ठुलो वलीदानबाट प्राप्त शान्तिपूर्ण परिवार्तनलाई स्थायी बनाउँदै जानु पर्ने हुन्छ । त्यसको लागि नेपाली जनताले राष्ट्रिय स्वातंत्र पार्टीको नेता रबि र बालेनलाई जिम्मेवारी दिएकाछन । राष्ट्रिय स्वतंत्र पार्टीका शीर्ष नेताहरु रबि र बालेनले पुराना दलहरु र तिनका शीर्ष नेताहरुले गरेको जस्तो गल्तीहरुलाई नदोहर्याई नेपाली जनताले चाहेको र मागेको राजनीतिक व्यवस्था नै परिवर्तन गर्ने चाहानालाई शान्तिपूर्ण तरिका र संबैधानिक बाटो नै अपनाएर पुरा गर्नेछन भन्ने पूर्णबिश्वास नेपाली जनतालाई छ । यतिबेला पुराना दलहरु पनि हातमा दही जमाएर बसेको नहुँदा तिनीहरुबाट हुनसक्ने षडतंत्र प्रति सजग हुँदै नयाँ दलहरुले नेपाली जनताको परिवर्तनको भावना र चाहानालाई मूर्तरुप दिनु पर्ने हुन्छ । पुराना दलका शीर्ष नेताहरु र अन्य नेताहरुले जस्तो मुखमा राम राम वगली छुरा बोकी नेपाली जनताको पिठमा वार गर्ने गल्तीलाई कहिले पनि दोहर्याउनवा दोहरिन दिनु हुँदैन । नेपाली जनताले चाहेको परिवर्तन भने नेपाल राष्ट्रको विद्यमान अवस्थालाई बदल्नको निमिक्त पुराना दलहरुले अहिले सम्म नेपालमा संसार कै उत्कृष्ट भनी चलाउँदै आएको राजनीतिक व्यावस्थालाई बदल्नु नै हो । नयाँ दलहरुले खासगरी राष्ट्रिय स्वतंत्र पार्टीको शीर्ष नेता रबि र बालेनले नेपालको संबिधान २०७२ मा व्यापक संसोधन गरी पुरा गर्नेमा नेपाली जनता विश्वास्थ छन । त्यसको लागि आवश्यक बहुमत नेपाली जनताले राष्ट्रिय स्वतंत्र पार्टीलाईचुनाव जिताएर दिईसकेकाछन ।

अब भकुण्डो नेपाली जनताको कोर्टबाट नयाँ दलहरुको कोर्टमा पुगीसकेको हुँदा त्यसलाई कसरी परिणाममूखि बनाउने भन्ने खेल अगाडि बढाउने जिम्मा नयाँ दलहरु कै हातमा पुगेकोछ । सत्ता पाएको मादमा मौरी झै महमा नै लटपटिए मर्ने कि नेपाली जनताको भावना र चाहानालाई त्यागी बनेर पुरा गर्ने भन्ने जिम्मा नयाँ दलहरुलाई नै छ । बिगतमा पुराना दलहरुले गरेको जस्तो गल्तीहरुलाई दोहर्याई बस्ने छुट नयाँ दलहरुलाई छैन । साथै प्राप्त अवसर र समयलाई खेर फालेर पुराना दलहरुका नेताहरुले जस्तो भ्रष्टाचार र अपराध गर्दै आआफ्नो कुशासनलाई चलाएर बस्ने छुट पनि नयाँ दलहरुलाई छैन । पुरानो दलका शीर्ष नेताहरु र अन्य नेताहरुले रबि र बालेनलाई जेजस्तो आरोपहरु लगाएपनि, गालीगलोच गरेपनि, झुटा मुद्दाहरु लगाएको भएपनि नेपाली जनताको नजरमा उहाँहरु महानायक नै छन र उहाँहरुले नेपाली जनताको भावना र चाहानालाई पुरा गर्न कुनै कसर बाँकी राख्ने छैन भन्ने बिश्वास गरेकाछन । पुराना दलहरु र तिनका शीर्ष नेताहरुले बिगतमा गरेका राजनीतिक भुलहरुलाई सुधार गर्दै लाने र अगाडि बढ्ने जिम्मा शीर्ष नेता रबि र बालेनको हातमा नेपाली जनताले दिएकाछन ।

सबै भन्दा महत्वपूर्ण कुरा के छ भने उहाँहरुले पुरानो दलहरु जस्तो बिदेशीको जालझेल र प्रभावमा नपरी नेपाल राष्ट्र र नेपाली जनताको हित अनुसार र हित हेरी काम गर्नु पर्ने हुन्छ । बिदेशीको ऋण,अनुदान र अन्य आर्थिक सहायताको लोभमा परी पुराना दलहरुले गरेको जस्तो नेपाल राष्ट्र र नेपाली जनता कै अहित हुने काम कदापि गर्नु हुँदैन । त्यस्तो छुट नेपाली जनताले नयाँ दलहरुका शीर्ष नेताहरुलाई दिएको पनि छैन । पुरानो दलहरुको ठुलो भुल भनेको नेपालको इतिहास, धर्म र संस्कारको कदर नगर्नु नै हो । आन्दोलनको मुद्दा नै नभएको बिषय राजतंत्र र वैदिक सनातनी हिन्दूधर्मलाई नेपालको संविधान २०७२ बाट हटाउनु पुरानो दलहरुको सबै भन्दा ठुलो भुल हो । त्यो भन्दा पनि ठुलो भुल पुराना दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको भावना र चाहानाको बिरुद्ध गएर नेपाल राष्ट्र र नेपाली जनताको ईसाइकरण गर्ने कार्यमा बिदेशीलाई सघाएर गरेकाछन । त्यसको लागि नेपाली जनता पुराना दलहरुलाई काहिले पनि माफी दिने छैनन् र उहाँहरु सदाकालको लागि नेपालको इतिहासको पानामा कलंकित भएर नै बस्नु पर्ने हुन्छ ।

नयाँ दलहरुले नेपालको संबिधान २०७२ मा व्यापक संसोधन गरी राजतंत्र र वैदिक सनातनी धर्मलाई पुरानै अवस्थामा फर्काउनु पर्ने हुन्छ । पुराना दलहरुले आफ्ना राजनीतिक सहयोगीहरु र कार्यकर्ताहरुलाई जागिर खुवाउनको लागि बनाईराखेका सबै गलगाँड सरकारी संस्थाहरुलाई खोजी खोजी खारेज गरी हाल्नु पर्छ । ढिलोढालो र अनाकानी गर्ने छुट नेपाली जनताले नयाँ दलहरुलाई दिएका छैनन् । बिदेशी गैरसरकारी संस्थाहरुले मिलेर पुराना दलहरुको संबिधान सभाको नाममा बनाएको नेपालको संबिधान २०७२ नेपालको राजनीतिमा बिदेशीले गरेको हष्तक्षेपको जिताजाग्दा सवुत हो । यसलाई बदल्न वा पुनर लेखन गर्न जरुरी छ किनकि यसमा नेपालको इतिहास र मौलिकतालाई समेटिएको छैन । पुरानो दलहरुका शीर्ष नेताहरु बिदेशीको दलालीवृत्तिबाट पीडित भएकाले स्वतंत्र भएर सोच्नै नसक्ने अवस्थामा छन । नेपालको बिकास लक्ष समृद्ध नेपाल र सुखी नेपाली भएपनि दलहरुले हचुवाको भरमा बनाएका परियोजनाहरु उक्त बिकास लक्ष सित जोडिएर कहिले आउन सकेन ।

बिदेशीहरु र बिदेशी बैंकहरुले बनाएका परियोजनाहरु नेपालको आयात व्यापार सित जोडिएका मात्रै भएकाले त्यस्ता परियोजनाहरुबाट नेपालको बिकास लक्ष पुरा हुने कुरै भएन । नेपाल राष्ट्रलाई आर्थिक हिसाबले कहिले पनि स्वतंत्र नहुने अवस्थामा पुराना दलहरुले ३५ बर्षे आफ्नो कुशासन कालमा नेपाल राष्ट्रलाई पुर्याएकाछन । नीति र शिद्धान्त एउटा र अभ्यास वेग्लै गर्दै हिडेका पुरानो दलहरुले नेपाल राष्ट्रलाई बिदेशीको ऋणमा संधै भरी डुबी बस्ने राम्रै सित व्यवस्था मिलाएकाछन । नयाँ दलहरुको लागि नेपाल राष्ट्रको आर्थिक अवस्थालाई पुनस् सही मार्गमा ल्याउन निकै कठिन छ तैपनि उचित प्रयास गरेमा वा भएमा आगामि केही बर्ष भित्र सुधार्न सकिन्छ । राष्ट्रको चालु खर्च घटाएर नै अप्रत्येक्ष रुपले राष्टको आम्दानी वा बचत बढाउन सकिने छ । सरकारी उद्योगहरुको बिकासमा जोड लगाएर एकातिर स्वादेशमा नै रोजगारी बढाउन सकिन्छ भने अर्को तिर स्वादेशी उत्पादन बढाएर आयात व्यापार घटाउन सकिन्छ । यसरी पुनस् नेपाललाई पहिलेको जस्तै आत्मनिर्भर र स्वावलम्बी मुलुकमा रुपान्तरण गर्न सकिन्छ । रास्वपा सरकारले नेपाल राष्ट्रको गौरव र नेपाली जनताको आत्मसम्मानलाई यसरी नै बढाउदै लाने र जीवितै राख्नेछन भन्ने कामना नेपाली जनताले गरेकाछन जुन कुरा आत्मसम्मान केही नभएका, बिदेशीको प्रभावमा परेका, धर्मको चेस्टा नभएका, नेपालको इतिहास, संस्कार, परम्परा र मौलिकता नबुझेका पुराना दलहरुबाट कहिले पनि संभव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *