पत्रकारिता कि पार्टीकारिता ?

प्रमुख बिबिध लेख

 

कमलराज राई

केही दिनदेखि पत्रकारिताको मर्ममाथि प्रहार भइहेको देखिन्छ । राजनीतिक दल, व्यापारी, अभियानकर्ता, अन्य केही समूहहरुले पत्रकारितालाई आफ्नो पक्षमा प्रयोग गरेको पाइन्छ । अनेकौँ घटनाहरु सम्प्रेण गरेर आफूलाई पत्रकार भन्दै हिँड्नेहरुबाट पत्रकारिताको मर्ममाथि प्रहार भइरहेको छ । पत्रकारिताको वास्तविक अर्थ नबुझी हल्लाको भरमा समाचार प्रशारण÷ सम्प्रेषण गर्नेहरुबाट पत्रकारितामाथि हमला भएको हो । समाचार नै चिन्न नसक्ने तर आफूलाई पत्रकार भनेर चिनाउन खोज्नेबाट पत्रकारिता निक्कै प्रताडित भएको अवस्था छ । त्यसो त समाचार नचिन्ने मात्र होइन, समाचार लेख्नै नजान्नेहरु पनि अहिले पत्रकारको बिल्ला भिडेर हिँडिरहेको देखिएको छ ।

पत्रकारितालाई पार्टीकारितामा ढाल्ने काम राजनीतिक दलबाट भइरहेको भनेर प्रचार गरिँदै आइएको छ । वास्तवमा त्यसो होइन, राजनीतिक दलहरुको भक्ति गाउनेहरुले आफूलाई पत्रकार भनेर चिनाउँदा समस्या उत्पन्न भएको हो । वास्तवमा उनीहरु राजनीतिक दलहरुको कार्यकर्ता हुन् । उनीहरुले पार्टीको प्रचार गर्ने काम मात्र गरेका हुन् तर आफूलाई पार्टीको कार्यकर्ता भन्दा उनीहरुलाई अप्ठ्यारो परेकाले उनीहरुले आफूलाई पत्रकार भनेर भनिरहँदा साँच्चिकै पत्रकारिता गर्नेहरुलाई भने समस्या उत्पन्न भएकै हो ।

अहिले पत्रकारितालाई हल्का रुपमा लिइन थालिएको छ । यसमा केही सत्यता पनि छ । किनभने कुनै एक व्यक्तिले पेसाका सबै स्थानहरुमा पुगेर सबै ठाउँमा असफल भएपछि पत्रकार बन्ने जुन संस्कार छ, त्यहि कारण पत्रकारितामाथि धब्बा लागेको हो । अधिकांश पेसाका सबैतिर असफल भएपछि अन्तमा आएर पत्रकारितामा अडिने चलन अहिले छ । त्यसै कारण नै पत्रकारितामाथि प्रश्न उठेको हो । तर, अबको केही वर्षमा भने पत्रकारिता आफैँ शुद्धीकरण हुन्छ किनभने अब भने पत्रकार बन्नका लागि अध्ययन गर्नुपर्छ, त्यो पनि पत्रकारिता विषय नै अध्ययन गर्नुपर्छ अन्यथा पत्रकार भन्न नमिल्ने चेत सबैमा खुलेको छ । अध्ययनबिनाको पत्रकारिताका कारण पत्रकारितालाई हल्का रुपमा लिइएको हो । अहिलेका पत्रकारमा अध्ययन छैन, न त शैक्षिक, न त व्यवहारिक । आफूलाई पत्रकार भनेर चिनाएपछि केही बार्गेनिङ गर्न पाइने, केहीको भोजमा सम्मिलत भएर पेट भर्न पाइने भएपछि आफूलाई पत्रकारको लाइनमा राख्नेहरु अधिकांश भेटिन्छन् । तर, अब भने शैक्षिक योग्ताका साथ पत्रकारितामा छिर्नेहरुको संख्या बढेको छ । यो पुस्तापछि शैक्षिक योग्यता पुगेपछि मात्र पत्रकार बन्ने शैली बन्छ, त्यसपछि पत्रकारितामा शुद्धीकरण हुन्छ । अहिले पनि हेर्ने हो भने अब आधाभन्दा बढी पत्रकारहरुले पत्रकारिता अध्ययन गरेकै हुन्छ । अर्को दशकदेखि भने पत्रकारिता अध्ययन गर्नेहरु मात्र पत्रकार बन्छन् । पत्रकारिता अध्ययनपश्चात कुनै न कुनै रुपमा नैतिकता पालना गर्छन् । पत्रकारिता बुझ्छन् । उनीहरुबाट पत्रकारितालाई कमाउने थलोका रुपमा नभएर बौद्धिककारिताका रुपमा विकास गर्न उनीहरुबाट नै प्रयास हुन्छ । त्यसबेला पत्रकारितामाथि हाइहाई हुन्छ ।

अहिले राजनीतिक कार्यकर्ताहरुले पत्रकारिता गरेकाले अहिले पत्रकारितामा रस देखिएको छैन । अखबारमा पत्रकारहरुको मत पढ्न सकिन्छ । उनीहरुले नै पार्टीको कार्यकर्तादेखि अन्तिम व्यक्तिका रुपमा समेत आफूले नै फैसला गरेको समाचार पढ्न पाइन्छ । समाचारको न्यूनतम् सर्तहरु नै पूरा नभएको सूचनालाई समाचारका रुपमा पस्केको पाइन्छ । समाचार चिन्ने मात्र होइन, समाचार लेख्ने शैलीको विकास गर्न नसक्नेहरु नै पत्रकार भएपछि पत्रकारिता विकासको सपना देख्नै नसकिने भएको छ ।

भन्दाभन्दै अहिले ठूला राजनीतिक दलहरुले पत्रकारलाई आफ्नो भ्रातृ संगठनको रुपमा विकास गरेका छन् । आफूले गरेका नराम्रा कुराहरुलाई राम्रोसँग पाठकसमक्ष पस्कनका लागि नेताहरुले पत्रकारहरुलाई उपयोग गरिरहेका छन् । यसको सट्टा सो पार्टी सरकारमा गएपछि कुनै न कुनै लाभको पद दिने सर्तमा । यसरी बार्टर प्रणालीमा पत्रकार र राजनीतिक दल उत्रेपछि अब समाचारको मर्म मर्छ । सो पार्टीले गरेको नराम्रो कुरालाई राम्रो गरी लेख्ने र अरु पार्टीले गरेको राम्रो कामलाई पनि गलत तरिकाले पस्केर जनतालाई भ्रममा पार्ने काम भइरहेको छ । यहाँ नै पत्रकारिता मरिसकेको छ । जुन दिनदेखि पत्रकारले पार्टीको कसम खायो त्यहि दिनदेखि पत्रकार मर्छ । र, अरु केही भयो । पत्रकारिता भनेको भक्तिगान होइन आलोचनात्मक चेत हो । भन्ने कुरा पत्रकारहरुमा चेता नखुलेसम्म पत्रकारिताको विकास सम्भव छैन । पार्टीको नेता वा अध्यक्षले पत्रकारलाई शपथ खुवाएपछि उक्त पत्रकारबाट जनताले के आसा गर्ने ? उ पत्रकारको नाममा राजनीतिक कार्यकर्ता भएको देखिन्छ ।

राजनीतिक दलको भक्तिगान गाउनकै लागि त पत्रकार नै हुनुपर्दैन तर त्यत्ति पनि पत्रकारलाई थाहा नहुनु भनेको सबैभन्दा ठूलो कमजोरी हो । पत्रकार सधैँ प्रतिपक्षी बन्नुपर्छ । पत्रकारले जनताको पक्षमा लड्नुपर्छ । यो विश्वव्यापी मान्यता हो । नेताहरु जब सरकारमा पुग्छन्, उनीहरुले जनतालाई सेवा दिनै छाड्छन् । उनीहरु निर्वाचित भएपछि जनतालाई बिर्सन्छन् । त्यसबेल पत्रकारले जनप्रतिनिधिहरुलाई आफ्नो वाचा सम्झाउने, जनताको पक्षमा काम गर्न सरकारलाई बाध्य बनाउने भनेकै पत्रकार हुन् । त्यसैले पत्रकार भन्नु नै स्थायी प्रतिपक्षी बन्नु सक्नुपर्छ । तर, व्यक्तिगत स्वार्थमा डुबेर जब पत्रकारले पार्टीको पक्षमा समाचार लेख्छ, त्यसदिनबाट उसको पत्रकारिता म¥यो र उसमा कार्यकर्ताको गन्ध आउँछ । जनताको पक्षमा बोल्नुपर्ने पत्रकारले नै पार्टीका नेताबाट शपथ खान्छन् भने अब उसबाट केही आसा नगर्दा हुन्छ ।

त्यसमाथि अहिले सत्तारुढ दलबाट सरकारी भवनको दुरुपयोग भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई बोलाएर पार्टीको शपथ खुवाउनु सरासर गलत हो । त्यसमाथि सरकारले ल्याएको सूचना प्रविधि विधेयकले आमजनतालाई सशंकित बनाएको छ । यो विधेयकले संविधानमा भएको वाक स्वतन्त्रतामाथि धावा बोलिएको छ । अहिले सरकारले वाक स्वतन्त्रमाथि धावा बोल्नु सरासर गलत हो । यसको अर्थ के हुन्छ भने सामाजिक सञ्जालमा केही प्रतिक्रिया जाहेर गर्नेबित्तिकै उसलाई भारी जरिवाना र अधिकतम् कैदको व्यवस्था गर्नु अधिनायकवादभन्दा अरु केही होइन । सरकार कम्युनिस्ट हो । शासन नै कम्युनिस्टको भएको छैन । नेपालको संविधान, ०७२ लाई टेकेर बनेको सरकारले संविधानविरुद्ध विभिन्न कानुन ल्याएर आफूलाई अधिनायकवादको शैली अपनाउने कुनै अधिकार छैन । व्यवस्था परिवर्तन नभएको कुरा सरकारले जान्नुपर्छ । सरकारले अहिले आफ्नो शासन व्यवस्था भएको भान पालेको छ, जुन अत्याधिक गलत सोचाइ हो । सरकारले मुख्य रुपमा आफ्नो विपक्षीलाई सिध्याउनका लागि यो विधेयक ल्याएको देखिन्छ । भन्ने बेला सरकारले कोही प्रति लक्षित नहुने भन्दै आए पनि यो विधेयकको प्रयोग गर्ने व्यक्तिमा भर पर्ने कुरा हो । बन्दुक आफैँ गलत होइन तर गलत व्यक्तिको हातमा पुग्नेबित्तिकै यसले विनाश गर्छ । यो विधेयक पनि कुनै गलत सरकारको हातमा पुग्नेबित्तिकै यसले अधिनायकवाद जन्माउँछ । अहिलेको सरकार चलाउनेहरुले जीवनभर अधिनायकवादको विरुद्ध लडेको भन्दै आएका थिए तर अहिले उनीहरुले नै नयाँ अधिनायकवादको सपना देखेको देखिन्छ । यसका लागि पत्रकारलाई आफ्नो भ्रातृ संगठनमा राखेर उनीहरुको मुख थुन्ने काम सरकारबाट भइरहेको छ ।
पत्रकारले भन्ने बेलामा स्वतन्त्रता भन्ने तर राजनीतिक दलहरुको अधीनमा रहेर पत्रकारिता गर्नु कतिसम्म उचित र अनुचित ? यो सबैले बुझ्नु पर्ने कुरा हो । पत्रकारिताको स्वतन्त्रताको शब्दलाई राजनीतिक दलहरुले कुल्चँदै गर्दा पनि पत्रकारहरुले भने आनन्द मानेर सहने हो भने पत्रकारिता कहिल्यै पनि शुद्धीकरण हुनै सक्दैन । पत्रकारले आफ्नो मालिकको नियन्त्रणमा बस्नु हुँदैन भनेर अध्ययन गरेकै हुनुपर्छ । तर, अब पत्रकारितामा पढिएको सिद्धान्त अन्ततः राजनीतिक दलहरुको भट्टीमा जलाइएको छ । अब दलहरुको अधीनमा रहेर पत्रकारिता गर्नुपर्ने युगको सुरुवात भएको छ । स्वतन्त्रताको पक्षमा कलम चलाउनेहरु नै अब राजनीतिक दलहरुको दास बनेपछि पत्रकारको नाम र परिचय कहाँ खोज्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *