पञ्चायत कालमा राजनीतिक नेतृत्वको ध्यान राष्ट्रलाई आत्मनिर्भर बनाउनेतिर केन्द्रित थियो त्यसैले उनीहरुले औद्योगिक विकासमा जोड दिएका थिए । उनीहरुको समयमा विदेशी सहायतालाई पनि नेपालमा उत्पादन उद्योग खोलेर चलाउनमा परिचालन गरिएको थियो । फलस्वरुप नेपालमा उद्योग खोल्न र चलाउनका लागि बिभिन्न राष्ट्रले सहयोग दिने गरेको थियो । बाँसबारी छाला जुत्ता कारखाना, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, भृकुटी पेपर मिल, बुटवल धागो कारखाना आदि विदेशी सहायतामा खोलिएका थिए । राणा शासन कालमा पनि रघुपति जुट मिल, बिराटनगर जुट मिल, जुद्ध सलाई कारखाना आदि खोलेर राम्रैसित चलाएका थिए ।
राष्ट्रलाई आत्मनिर्भर बनाउनमा उक्त उत्पादन उद्योगहरुले ठूलो योगदान गरेको थियो । तर नेपालमा राजनीतिक परिवर्तन हुँदै जाँदा औद्योगिक विकासले महत्व पाउन छाड्यो र चल्दै गरेका उद्योगहरुलाई पनि बिस्तारै एकपछि अर्को बन्द गर्दै लगिए । नयाँ नेपालको राजनीतिक नेतृत्वको ध्यान उत्पादन उद्योगको विकास गर्नतिर पटक्कै गएन । सबै विदेशी सहयोगलाई पूर्वाधार विकास गर्नतिर केन्द्रित गर्दै लगियो । आयात व्यापार बढाएर राष्ट्रलाई परनिर्भर बनाउँदै लाने नीतिले प्राथमिकता पायो । आयात व्यापारबाट प्राप्त हुने भन्सार शुल्क नै राष्ट्रको आम्दानीको मुख्य स्रोत बनाइयो । दालभात खानकै लागि पनि भारतबाट आयात गरिने दाल चामलको भरमा राष्ट्र पुग्यो । नेपालमा महँगी बढ्दै गयो तर नेकपा सरकारले त्यसको नियन्त्रण गर्न सकेन किनकि आयात गरिएको सामग्रीको मूल्य तोक्ने पनि विदेशी नै हुने भए ।
दैनिक जीविकाका लागि चाहिने उपभोग्य सामग्री आयात गर्ने विदेशी मुद्राका लागि वैदेशिक रोजगारीमा नयाँ नेपालका सरकारहरुले जोड लगाउँदै गए तर त्यसबाट प्राप्त भएको विदेशी मुद्राको आम्दानीले पनि व्यापार घाटाको खाडल पुर्न धौ धौ भइन रह्यो । नेकपा सरकारले पर्यटन विकासलाई विदेशी मुद्राको अर्को भरपर्दो स्रोत मानेको भए पनि विदेश घुम्न जाने नेपाली पर्यटकहरुले पर्यटनको राष्ट्रिय आम्दानीभन्दा पनि बढी खर्च गर्ने गरेकाले त्यसबाट कुनै ठोस बचत हुन सकेन । अहिले वैदेशिक रोजगारी व्यवसायमा रुपान्तरित भएको छ भने पर्यटन विकास यति समूहजस्ता व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई ठगेर खाने व्यवसाय बनेको छ ।
नेपालको नेताहरुले आयात व्यापारमा जोड लगाएको हुनाले सोहि अनुसार नेपालको पूर्वाधारको विकास गरिएका छन् । चतुर विदेशीदाताहरुले नेपालको पूर्वाधार विकासमा लगानी गर्दा आफ्नो मुलुकको व्यापार बढाउने दृष्टिकोणलाई मूर्तरुप दिएका छन् । नेपाली नेताहरु यसबारे सचेत छैनन् र कमिसनको हिसाब किताबमा नै मस्त भएका छन् । राष्ट्रको हित नहेरी आफ्नै हित हेर्दामा नै नेताहरु लापरबाह र बेफुर्सदिला भएका छन् । नेपालमा अहिलेसम्म जे जति लगानीहरु पूर्वाधार विकासमा भएका वा गरिएका छन् त्यो सबै विदेशीको व्यापार नेपालमा बढाउने दृष्टिकोणमा आधारित छन् । उक्त पूर्वाधारहरुको सक्रिय उपयोग गरी नेपालबाट निकासी व्यापार बढाउनेतिर नेपालको राजनीतिक नेतृत्वको ध्यान गएकै छैन ।
एकतर्फी आयात मात्रै गरी राष्ट्रलाई चलाउँदै गएमा नेपालको व्यापारघाटा पूरा गर्न कै लागि वैदेशिक रोजगारी र पर्यटन विकासमा जोड लगाइरहनु पर्ने हुन्छ जुन राष्ट्रको हितमा छैन । नेपाल अहिले नै नराम्रो आर्थिक विकासको चक्रमा फसिसकेको देखिन्छ । विदेशी सामानको आयात गरी उपभोग गर्ने र त्यसको मोल तिर्नका लागि चाहिने विदेशी मुद्रा वैदेशिक रोजगारी र पर्यटन विकासमा जोड लगाएर आपूर्ति गर्दै लैजाने आर्थिक कुचक्रमा नेपाल परेको छ । वैदेशिक रोजगारी व्यवसाय मानव तस्करीमा रुपान्तरण हुँदै गएको छ भने पर्यटन विकासको आम्दानीले नेपाली पर्यटकको खर्चलाई नै धान्न नसक्ने भएको छ । त्यसकारण नेपालको राजनीतिक नेतृत्वले अब वैदेशिक रोजगारी र पर्यटन विकासको नीतिहरुको पुनरावलोकन गर्नै पर्ने भएको छ ।
विगतमा गरिएको राजनीतिक सतप्रयासले गर्दा नेपाल जलविद्युत् उत्पादनको क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने अवस्थामा पुगेको देखिन्छ । अब नेपालले उत्पादन उद्योगमा जोड लगाउनु पर्ने बेला आएको छ । विदेशीले बेचेको सामग्री खाने र लाउने गरेर नेपालको गुजारा नचल्ने अवस्था बन्दै गएको छ किनकि विदेशीले बेच्ने सामग्रीको मूल्य उनीहरुले नै तोक्छन् र त्यो नेपाली मुद्रामा किन्न पनि सकिन्न । यदि यस्तो अवस्थामा नेपाललाई चलाउँदै लाने हो भने विदेशीको गुलामीमा टिकेको वैदेशिक रोजगारी र पर्यटन विकासलाई नेपालले कहिले पनि त्याग्न सक्ने छैन । एकप्रकारले नेपाल विदेशीको कृपामा बाँच्ने मुलुक बनेर उनीहरुकै खटनपटनमा चल्ने अर्थतन्त्र र विकासमा मात्रै सीमित बन्ने छ । यस्तो हालतमा फस्नबाट राष्ट्रलाई बचाउनका निमिक्त नेपालले तुरुन्तै उत्पादन उद्योगमा न्वारानदेखिको बल निकालेर जोड लगाउनु नै पर्छ ।
सबै विदेशी सहयोगलाई अब उत्पादन उद्योगहरु खोल्नतिर केन्द्रित तुल्याउनु पर्छ । विदेशी सहयोगमा खतरनाक धुलेसडक बनाउने र दुर्घटना बढाएर नेपालीलाई मार्ने जस्ता मूर्खतापूर्ण काम नेपालमा रोकिनु पर्छ । सामाजिक विकासको नाममा विदेशीले नेपालमा गर्दै आएको लगानी उद्योगमा लगाएर नेपाली समाजलाई भाँड्ने होइन जोड्ने काम थाल्नु पर्छ । विभिन्न वादको नाममा नेपालमा अहिले विवादहरु चर्केको छ त्यो वास्तवमा केही पनि होइन नेपालीको अज्ञानता मात्रै हो । नेपालमा यो वादहरु सबै पछाडि आएका विषयहरु हुन त्यो भन्दा पहिले नै नेपाल र नेपालीहरु बलियो र सम्पन्न थिए भन्ने कुरा नेपालको इतिहासले नै पुष्टी गर्दछ ।
एकताका ग्रेटब्रिटेनजस्तो धनी मुलुकलाई पनि नेपालले आर्थिक सहायता दिने हैसियत बनाएको थियो भने अहिले वादहरुको विवादमा परेर नेपाल आर्थिक हिसाबले नै कमजोर मुलुक बनेको छ । नेपालको राजनीतिक नेतृत्वको कमजोर नीतिहरुले गर्दा नै नेपाल यतिबेला विदेशीको व्यापारिक उपनिवेश बनेको हुनाले अब युटर्न तुरुन्तै लिएर नेपाललाई आत्मनिर्भर र आत्मसम्मानको बाटोमा अगाडि बढाइहाल्नु पर्छ । विदेशी दाताहरु यदि नेपालमा लगानी गर्न चाहन्छन् भने उनीहरुलाई नेपालको उत्पादन र निर्यात उद्योगहरुमा लगानी गर्नका लागि प्रेरित गर्नु पर्छ । नेपालको संवेदनशील क्षेत्रमा घुसेर लगानी गर्न खोज्ने विदेशीहरुलाई कुनै संकोच नै नमानी नेपालले दुरुत्साहन गरिहाल्नु पर्छ । विदेशीलाई नेपालको राजनीति र सामाजिक अवस्था भाँड्न सकिने गरी परियोजना चलाउन दिनु हुन्न ।
अहिले विश्वमा खाद्य सुरक्षाको ठूलो महत्व छ किनकि त्योबिना संसारको जीविका चल्दैन । नेपालले पनि विश्वको खाद्य सुरक्षामा योगदान हुने गरी खाद्य उत्पादन गर्ने उद्योगमा जोड लगाउनु पर्छ । नेपालको राम्रो हावापानीले गर्दा बाह्रै महिना नेपालमा कृषि उत्पादन गर्न सकिन्छ र विदेशमा अहिले भौतारिरहेका नेपाली युवाशक्तिलाई यता रोजगारी दिन सकिन्छ । नेपालमा धनी र गरिबको बीचमा ठूलै खाडल बनेको विदेशी सहयोगले नै हो भन्ने देखिन्छ ।
धनी नेपालीहरुले पढ्ने स्कुलहरु र कलेजहरु बेग्लै छन् जहाँ गरिब नेपालीले पढ्न सक्दैनन् । तर तिनै नेपालीहरु अमेरिकालगायत पश्चिमी मुलुकहरु र अस्टे«लिया पुगेपछि सबै बराबर हुन्छन् । उक्त राष्ट्रहरुमा नेपालका गरिबले पढ्ने स्कुलहरु र कलेजहरुबाट पढेर गएकाहरुले झनै राम्रो गरेका छन् । उदाहरणका लागि अस्ट्रेलियमा पुगेर धनी बनेका शेष घलेजस्ता व्यक्तिलाई लिन सकिन्छ । अमेरिका पुगेपछि रातो बंगलामा पढेर गएकाहरुको र पद्मोदय स्कुलमा पढेर गएकाहरुको हैसियत एउटै हुन्छ । हालै सामाजिक सञ्जालमा विकको छोरा र राणाको छोरी बीचको मागी विवाहको ठूलै चर्चा भयो । केटी सेन्टमेरिज स्कुलमा पढेर अमेरिका पुगेकी आइटी इन्जिनियर हुन् भने केटा गाउँको स्कुल पढेर अमेरिका पुगेका दलित हुन् र अमेरिकामा स्नातकोत्तर पढिरहेका छन् ।
त्यसैले धनी र गरिबबीच फरक व्यवहार नेपालमा मात्रै देखिन्छ भने विदेशमा त्यस्तो छैन र त्यता पुगेका सबै नेपाली कहलाइन्छ । गरिब नेपालीले झनै विदेशमा उन्नति गरेको हुनाले उनीहरु दलित भए पनि सम्मानित छन् र नेपालका धनीहरुले पनि त्यसलाई सजिलै स्वीकार गर्ने वातावरण तयार भएको छ । अमेरिका पुगेका धनी नेपालीका सन्तानहरु र त्यहि मुलुक डिभी पारेर पुगेका गरिब दलित नेपालीहरु बीच कुनै भेद्भाव छैन र सबै बराबरी भएका छन् जसरी सागरमा पुगेपछि नदीको पानी मिसिन्छ ।
नेपालका धनी र गरिबको लक्ष्य सबैको अमेरिका नै जाने भएकाले अब नेपालमा दिइने शिक्षामा पनि धनी र गरिबका लागि छुट्टै हुन जरुरी छैन । नेपालको शिक्षालाई गरिब र धनीसित जोड्ने होइन कि विकाससित जोड्न जरुरी भएको छ । नेपालमा उद्योगहरु नभएकाले शिक्षाको पनि महत्व छैन र नेपालमा दिइने शिक्षा कोरा र प्राणहीनजस्तो मात्रै हुन्छ । नेपाल सरकारले अब विकासलाई नेपालको समृद्धि र नेपाली जनताको सुखसित जड्नका लागि उत्पादन उद्योगमा जोड लगाउनु र ध्यान दिनु पर्छ अनि मात्र विकासको चक्र पूरा हुन्छ र नेपाली विश्वविद्यालयको शिक्षालाई अध्ययन र अनुसन्धान वा पठनपाठनसित जोडेर राष्ट्रका लागि बहुउपयोगी बनाउन सकिन्छ ।