अहिले नेपालको परिस्थिति काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरजस्तो देखिएको छ । नेकपा सरकारको नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने सोच राम्रो भए पनि त्यहाँसम्म पुग्न हिँड्दै गरेको बाटो गलत छ । त्यो बाटोबाट गएर कहिले पनि नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी तुल्याउने लक्ष पूरा गर्न सकिन्न । भ्रष्टाचार र अपराधको बाटोबाट नेपाल राष्ट्रको अस्तित्व चाँडै नै समाप्त पार्न सकिन्छ तर समृद्ध राष्ट्र बनाउन भने सकिन्न । नेपाललाई समृद्ध राष्ट्र र नेपाली जनतालाई सुखी बनाउन सक्ने बाटो सरकारले पहिले नै त्यागिसकेको देखिन्छ । अहिले नेपाल कुहिरोमा उडेको कागझैँ ठूलो अलमल र गोलमालमा परेको छ । राष्ट्रको नेताहरु धेरै छन् र गाउँदेखि सहरसम्मै सरकारै सरकार छन् तर कतै समृद्धि देखिएको छैन । कर्म अनुसारको फल लाग्छ भन्छन् त्यसैले होला नेपालमा भ्रष्टाचार र अपराधको फल लागेको लागेकै छ । खाने मुखहरु धेरै भएका छन् भने काम गर्ने हातहरुको कमी देखिएको छ । केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरु सबैले पूर्वाधार विकासमा जोड दिएका छन् तर कसैले पनि भएका पूर्वाधारको कसरी अधिकतम् उपयोग गर्ने भन्नेतिर जोड लगाएको छैन । उपयोगविहीन पूर्वाधार विकासमा राष्ट्रको अनावश्यक खर्च मात्रै बढाएर कहिले पनि समृद्धिको लक्षसम्म पुग्न सकिन्न भन्ने कुरा सबै नेताहरुले भुलेका छन् । घर जग्गाको बिचौलियाहरु र नाफाखोर व्यापारीहरुमाथि राजनेताहरुलाई ठूलो भरोसा छ भने मेहेनती ज्ञानी जनतामाथि कुनै भरोसा छैन । भ्युटावरहरु, स्मारकहरु र गेटहरु बनाउँदै धेरै नेताहरुले राष्ट्रको महत्वपूर्ण लगानी र समय बर्बाद पारिदिएका छन् । समयले पहिले परीक्षा लिन्छ र त्यसपछि मात्रै पाठ सिकाउँछ त्यसैले समय अरु गुरूहरुले जस्तो पहिले शिक्षा दिने र पछाडि परीक्षा लिने गर्दैन । नेपालका नेताहरुले तीनदशकको राजनीतिक संक्रमण कालबाट केही पनि शिक्षा लिन सकेको देखिएन । राज नेताहरुले राष्ट्रले गर्व गर्नु पर्ने महत्वपूर्ण पहिचानहरु नै मेटाउने काम गरेका छन् । धराहराजस्तो नेपाल राष्ट्रको महत्वपूर्ण र इतिहासिक पहिचानलाई मेटाएर भ्युटावरमा रुपान्तरण गरिदिएका छन् त्यो पनि ४ अर्बको लगानीमा । नेपालका लागि विकासको मोडेल खोज्न नेपालको केन्द्रदेखि स्थानीय तहसम्म छरिएका नेताहरु कमिलाको ताँती लागेझैँ गरी विदेश धाएको धाएकै छन् । कति मेयरहरुको त बासै विदेशी मुलुकमा हुने गरेको छ र नेपालमा फाटफुट आएर काम गरेको जस्तो मात्र गर्छन् । उनीहरुले विदेशमा पुग्नेबित्तिकै झट्ट देखिने भनेको अग्ला आग्ला व्यापारिक भ्युटावरहरु नै हुन्, त्यसैलाई नेपालका विदेशमुखी घुमक्कड नेताहरुले विदेशीले प्राप्त गरेको समृद्धिको मानंक मानेका छन् । नेपालको पूर्वाधार विकासमा भ्युटावरले महत्व पाउनु पछाडिको कारण विदेशीको सुप्रभाव होइन कुप्रभाव नै हो । अब केहि वर्ष म्म यस्तै टुप्पाबाट पलाएको विदेशमुखी नेताहरुले नेपाल राष्ट्र चलाउने हो भने नेपाललाई समृद्ध राष्ट्र बनाउने होइन कि नेपाल राष्ट्रको पहिचान नै मेटाइदिने छन् । राष्ट्रको मौलिक पहिचान यसरी मेटाउँदै लाने हो भने नेपाल राष्ट्र एकदिन सजिलै पराधिन बन्नेमा कुनै शंका गर्नै पर्दैन । अहिलेको राजनीतिक संरचना संघीयता पनि राष्ट्रको आयस्रोतले धान्नै नसक्ने गरी नेताहरुले निर्माण गरेका छन् । यो संघीयता कुनै पनि बेला आफ्नै तौलको भारी धान्नै नसकेर गल्र्याम्म ढल्नेवाला छ । विदेशीको सहायताले यो राजनीतिक व्यव्यस्था लामो चल्न सक्ने छाँटकाँट देखिन्न किनकि एकातिर विदेशीलाई कम्युनिस्ट नामको एलर्जी छ भने अर्काेतर उनीहरु पनि भ्रष्टाचारी भएकाले सहायताको धेरै रकम आफैँले झ्वाम पार्ने गरेका छन् । नेपालमा आइएनजिओको भेषमा छिरेका विदेशीहरुले नेपालका दलाल एनजिओहरुको प्रयोग गरी लुट्नु लुटेका छन् र तिनीहरुमाथि कारबाही कूटनीतिक संरक्षणले गर्दा गर्नै सकिन्न । यिनै विदेशीहरुले नेपालमा आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक भेद्भाव फैलाउने र नेपाली नेपालीलाई विभाजन गरी आफ्नो स्वार्थ पूरा गर्दै छन् । अहिले पनि नेपालमा काम गर्ने विदेशीको नीति उहिले अंग्रेजको नीतिजस्तै डिभाइड एन्ड रुल नै रहेको छ । नेपालका नेताहरुले यहि विदेशीको वास्तविकता र कुरा नबुझ्दा लगातार विदेशीको नीतिको सिकार नेपाल बनिरहनु परेको छ र नेपाली नेपालीको बीच एमसिसी परियोजनाजस्ता मामुली हड्डी फालेर भिडन्त गराएर विदेशी आफैँले अप्रत्यक्ष रुपमा शासन सत्ता आफ्ना नेपाली एजेन्ट नेताहरुमार्फत चलाउने गरेका छन् । सर्वप्रथम नेपालका राजनेताहरुले नेपाल राष्ट्रलाई परनिरर्भर राष्ट्रबाट आत्मनिर्भर राष्ट्रमा रुपान्तरण गरेर देखाउन सक्नु पर्छ । आयातमुखी व्यापारमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गरेर देखाउनु पर्छ । नेपाल राष्ट्रलाई व्यापारघाटा र वैदेशिक रोजगारीको आर्थिक कुचक्रबाट मुक्त तुल्याउने प्रयत्न थाल्नु पर्छ । त्यसका लागि नेपालमा औद्योगिक विकास गर्न जरुरी भएकाले सरकारले युद्धस्तरमा नै जोड लगाउनु पर्छ । यो मामलामा नेपाल पछाडि परिसकेको हुनाले सडक पूर्वाधार पुगेको सबै ठाउँमा उक्त सडक करिडोरलाई अधिकतम् उपयोग गर्ने लक्ष्यका साथ उद्योगहरु खोलेर चलाउने नीति लागू गरिहाल्नु पर्छ । पूर्वाधार विकासमा मात्रै खर्च गरेर बसेमा राष्ट्रको लगानी निष्क्रिय हुन्छ त्यसैले उक्त पूर्वाधारलाई उत्पादनसित जेड्नका निमित्त उद्योग नखोली सुखै छैन अनि मात्र लगानीको चक्र पूरा हुन्छ र राष्ट्रको उत्पादन बढेर समृद्ध बन्छ । अहिले नेपालमा विकास गरिएको पूर्वाधारहरु नेपालको राष्ट्रिय शिक्षासित पनि जोडिएको छैन । नेपालमा उद्योगको विकास नगरिएको हुनाले पूर्वाधार विकासमा गरिएको लगानी शिक्षा र आर्थिक उत्पादन दुवैसित जोडिएको छैन । त्यसैले लगानीको चक्रलाई पूरा गरी उत्पादन बढाएर राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउनको निमित्त उद्योग विकासमा जोड नलगाई धरै छैन । जतिसुकै र जुनसुकै पूर्वाधारहरुको विकास गरे पनि त्यसलाई उत्पादनसित जोड्न सकिएन भने त्यो लगानी त्यसै खेर फाले बराबर नै हुन्छ । अहिले नेपालको शिक्षा र पूर्वाधार विकासमा गरेको लगानी त्यसै खेर गइरहेको छ । नेपाल सरकारले जतिसुकै अग्लो भ्युटावरहरु बनाए पनि त्यसलाई उत्पादनसित जोड्न सकिएन भने बेकारको लगानी मात्रै ठहर्छ । अहिले नेपालमा यस्तै विकास मात्र भएकाले आर्थिक उन्नति हुन सकेको छैन र राष्ट्र जहिले पनि अल्प विकसित मुलुकमै सदासर्वदा कायम भएर नै रहेको छ । नेपालसित जमिन, जल, जंगल र जनशक्ति सबैथोक छ तर त्यसको परिचालन गरी आर्थिक उत्पादन गर्ने सोच छैन त्यहि भएको हुनाले नेपाल राष्ट्र पछाडि परेको हो । पञ्चायत कालका राजनीतिक नेतृत्वले औद्योगिक विकासमा निकै जोड दिएको थियो । उनीहरुसित राष्ट्रलाई स्वावलम्वी र आत्मनिर्भर राष्ट्र बनाउने योजना थियो त्यसैले उनीहरुले औद्योगिक विकास निगम खोलेर राष्ट्रको कदम उद्योगतिर अगाडि बढाएका थिए । उहाँहरुको समयमा राष्ट्रको नाक ठाडो पार्न सक्ने धेरै ठूला उद्योगहरु नेपालमा खोलेर चलाएका थिए । विदेशी सहयोग समेत नेपालको औद्योगिकीकरणकै निमित्त परिचालित गरिएका थिए । अहिलेका लोकतान्त्रिक नेताहरुले त्यसरी सोच्नै सकेको छैनन् र जे गरेका छन् सबै उल्टै गरेका छन् त्यसबारे सबैलाई थाहा भएकै कुरा हो बताईरहनु नै पर्दैन । अहिलेका लोकतान्त्रिक नेताहरुले औद्योगिक विकास निगमलाई बन्द गरेर विदेशीलाई खुशी पार्ने हिसाबले परियोजना विकास बोर्ड खोलेका छन् र परियोजना बैंक बनाउँछौं भन्छन् । उनीहरुसित कति घटिया सोच छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । पूर्वाधार विकास गर्ने उनीहरुको सोच पनि पराधिन छन् र विदेशीको दलाली गर्ने उद्देश्यले प्रेरित छन् । नेपालको पूर्वाधार विकास गर्नका लागि यसरी विदेशीसित गुहार माग्दै हिँड्दा एकातिर नेपालको इज्जत रहेने छैन भने अर्कातिर नेपालको उन्नती पनि हुने छैन । नेपालमा राष्ट्रिय उद्योग विकास गर्न अब ढिलो गर्नु हुन्न यदि ढिलो गरेमा पूर्वाधार विकासमा अहिलेसम्म गरेको सारा लगानी खेर जाने देखिन्छ । त्यति मात्र होइन शिक्षामा राष्ट्रले गरेको लगानी पनि राष्ट्रको आर्थिक उन्नतिसित नजोडिने भएकाले खेर जान्छ । पूर्वाधार विकास राष्ट्रको आर्थिक उन्नतिको साधन मात्रै हो साध्य होइन त्यसैले यो विकासलाई उपयोगी बनाउनका निमित्त उद्योग विकास पनि साथसाथै अगाडि बढाउन अनिबार्य छ । पूर्वाधार विकास एक महत्वपूर्ण विकास भए तापनि यसले मात्र लगानी र उत्पादनको चक्र पूर्ण पार्न सक्दैन त्यसका लागि उद्योगको विकास साथसाथै बढाउन आवश्यक पर्दछ । पञ्चायत कालका नेताहरुले यो कुरा बुझेका थिए । त्यसैले उद्योग विकासमा जोड लगाएका थिए भने अहिले लोकतान्त्रिक कालका नेताहरुले त्यसलाई उल्टाएका छन् र राष्ट्रलाई निष्क्रिय लगानीको भारी बोकाउने काम मात्रै गरेका छन् । लोकतान्त्रिक नेताहरुको यस्तो चालामाला देख्दा बुझ्ने सबैले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्न करै लाग्छ ।