भारतका पूर्वराष्ट्रपति अब्दुल कालामले भनेका छन् की सपना त्यस्तो हो जुन देखे पनि निन्द्रा लाग्दैन । यस लेखमा नेपालका प्रधानमन्त्रीको सपना र कार्यान्वयनको विषयमा चर्चा गर्न लागिएको छ । हुन त हरेक मान्छेले सपना देखेको हुन्छ तर प्रधानमन्त्रीले देखेको नेपालको कार्यकारीको नाइकेको सोच हो । कार्यकारी प्रमुखले बोल्नु भनेको काम हुन्छ भन्ने विश्वास आमजनता हुन्छ । त्यसैले प्रधानमन्त्रीको सोच र बोलीको ठूलो महत्व हुन्छ । यस सन्र्दभा अमेरीकी पूर्वराष्ट्रपतिको प्रसंग सम्झन लायक छ ।
अमेरिकाको ३५औँ राष्ट्रपति जोन एफ केनेडी एक दूरदर्शी नेता थिए । उनी केही न केही काम गर्ने सोचमा तल्लीन भइरहन्थ्ये । अमेरिकासँग कुरो नमिल्ने देशहरुले अन्तरिक्षमा विमान पठाइसकेका थिए । सायद त्यो प्रगतिले केनेडीलाई झन् औडाहा छुटायो होला । उनीले त्यतिखेर चिन्ता लिएनन् बरु चिन्तन गरे । अनी उनले एक महत्वकांक्षी सपना देखेछन्, आफनो नागरिकलाइ चन्द्रमामा पठाउने । सपना जसले उनीलाई रातमा निन्द्रा अनी दिउँसोमा भोक लुट्यो होला । अनी आफ्ना देशका वैज्ञानिकहरुसँग एक बैठक आयोजना गर्न लगाएछन् । राष्ट्रपतिले बैठक आयोजना गरेको भनेपछि एकसे एक वैज्ञानिकहरु सहभागी नहुने कुरै भएन । विज्ञ वैज्ञानिक आए, सभामा बसे । राष्ट्रपति केनेडीले विज्ञ वैज्ञानिकहरुलाई सम्मान र हौसला प्रदान गर्दै आफ्नो महत्वकांक्षी तर अत्यन्त चाहना गरेको सपना बताए । सपना कार्यान्वयन गर्न दत्तचित्त भई लाग्न आग्रह गरे । राष्ट्रपतिको भनाइपछि सभाहलमा सन्नाटा छाएछ । वैज्ञानिकहरु चुप बसेछन् । राष्ट्रपतिको कुरो नमानौँ भने भएन, तर चन्द्रमा रकेट पठाउने कुरा नै पो सोचिएको छैन अब मान्छे नै जाने कुरा आयो । विज्ञ वैज्ञानिकहरुलाई उकुसमुकुस भयो । चुपचाप बसे । केनेडीले केही सोध्नु छ भनेर आग्रह गरे । त्यसपछि एक जना अलि वृद्ध देखिने वैज्ञानिकले उठेर भनेछन् । महामहिम हामीबाट यो काम सम्पादन हुन सम्भव छैन । यती भन्न नपाउँदै राष्ट्रपति कड्किए । असम्भव भन्ने कुरा तपाईहरुको मुखबाट सुन्न खोजेको होइन । त्यो निर्णय तपाईंहरुले गर्ने होइन । आजैबाट काम थाल्नुस्, साधान र स्रोत के चाहिन्छ राज्यले उपलब्ध गराउने छ । उनले थप गरेर भने निश्चित समयभित्र हाम्रो देशको नागरिक चन्द्रमामा पाइला राख्न सक्नु पर्दछ । उनले समय नै किटान गरिदिए । अनि भने काम थालिहाल्नुस् । सम्भव छ भन्ने कुरा राख्दै उत्प्रेरित गर्दै वैज्ञानिकहरुलाई बिदा गरेछन् । वैज्ञानिकहरु राष्ट्रपतिको सपनालाई साकार पार्न काम थाले । नभन्दै सन् १९६९ जुलाइ ११ मा निल आर्मस्ट्रङ चन्द्रमामा टेक्न सफल भए । भलै यो सुखद अवसर जोन एफ केनेडीले यो धर्तीमा रहेर देख्न पाएनन् । सन् १९६३ नोभेम्वर २२ मा राष्ट्रपति पदमा हुँदा कै समयमा गोली हानी उनको हत्या भयो ।
यो प्रसंगका पात्र नाम तिथि, मिति फरक हुन सक्ला तर आशयको बारेमा चर्चा गर्न खोजिएको हो । केनेडीले के गरे के चाहिँ गरेनन् ? नेताको काम के हो ? नेताको सोचलाई कार्यान्वयन गर्ने जिम्मा कस्को हुन्छ ? नेपालमा के भइरहेको छ भन्ने बारेमा यस लेखमा चर्चा गर्ने कोसिस गरिएको छ । केनेडीले महत्वकांक्षी सपना देखे तर उनले रकेट बनाएको होइन । रकेट बनाउने कार्य विज्ञ वैज्ञानिकले नै गरे जुन कुरा विज्ञ आफैँ विश्वस्त हुन सकेका थिएनन् । तर केनेडीले विश्वास भरिदिए । अनी वातावरण तयार गरिदिए । सायद थप बजेट आवश्यक प¥यो होला त्यो जोहो गरिदिए । केनेडीले सायदै वैज्ञानिकले रकेट बनाइरहेको कारखानाको भ्रमण गरे होलान् । न त उन्ले कुनै पेचकिला नै ठोके । तर काम भयो । उनको अत्यन्त महत्वकांक्षी सपना पूरा भएरै छाड्यो । त्यसैले अरुले भन्दा फरक सपना देख्ने मात्र त्यो नेता हो । त्यो बेलामा केनेडीलाई हावाको संज्ञा पनि दिइयो होला ।
अब नेपालतर्फ फर्कौँ । हाम्रा प्रधानमन्त्री केपी ओलीको सपना केनेडीले देखेजस्तै सपना हो । सन्दर्भ फरक होला, केनेडीको सपना चन्द्रमामा मान्छे पठाउने थियो । ओलीको सपना पानीजहाज चलाउने, घरघरमा ग्यासको पाइप पु¥याउने अनी रेल दौडाउने । नेपालको भूमि फिर्ता ल्याउने । यी र यस्ता धेरै सपना छन् । ओलीले पानीजहाज चलाउने होइन, पाइप फिट गर्ने पनि होइनन् । त्यो काम त अमेरिकाका वैज्ञानिकहरुले गरेजस्तै नेपालका विषयतगत विज्ञहरुले गर्नु पर्ने हो । सपना देख्ने नेताले नै हो तर त्यो सपना कार्यान्वयन गर्ने प्रतिवद्ध व्यक्तिसहितको संरचनाहरु नभएको आभास भइरहेको छ । भएका विज्ञहरु हराएका वा ओइलाएकोजस्तो लागिरहेको छ । कि उनीहरु पनि सपना नै देख्न थाले । प्रधानमन्त्री ओली सही छन्, सहि सपना देखेका छन् तर त्यसको कार्यान्वयनमा लाग्ने संयन्त्र र विज्ञहरु सपनाको पछि लाग्न वा लगाउन सकेनन् । ओली आफैँले काम गरेर सम्भवै छैन । गर्ने पनि होइन । महत्वपूर्ण पक्ष भनेको कार्यान्वयनका लागि वातावरण तयार गरियो कि गरिएन भन्ने हो ।
फन्नी (हाँसो) भनेर ओलीका सपनारुपी भाषणलाई भनेझैँ केनेडीको त्यो सोच पनि उनै वैज्ञानिक जस्ले चन्द्रमामा पुग्ने रकेट वनाए उनीहरुले नै फन्नी भनेका थिए होलान् । अहिले पानीजहाजको सन्दर्भमा कागजको वनाएर ओलीलाई हाँसोको पात्र बनाएझैँ केनेडीलाई त्यो बेलामा उडाए होलान् । तर पनि केनेडीको सपना साकार भयो । किनकि त्यो काममा ओहोरात्र खटिने मान्छे थिए । नेपालमा त्यो मात्रै अभाव छ । अहिलेका केही मन्त्रीबाहेक अरु ओइलाएजस्तो देखिन्छ । कर्मचारी संयन्त्र समायोजनका नाममा काममा केन्द्रित हुनै सकेन । सधैँ अस्थिर मनमा गुज्रिरहेको छ । प्रधानमन्त्रीको सपना कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थायी सरकार अर्थात् कर्मचारी संयन्त्रको हो । केही नगरी बसीबसी तलब खाएर बस्दा आनन्द छ, केही गरौँ भनी चुनौती लिन खोज्दा अख्तियारको लाग्छ भन्ने वाहना छ । तोकेको काम नगर्दा पनि अख्तियार लाग्ने कहिले होला ? अख्तियार दुरुपयोग गर्दा र अख्तियारको उपयोग नगर्दा पनि कानुन लाग्ने हुनु पर्दछ । तै पनि केही कर्मचारीले चुनौतीको सामना गरेको पनि देखिन्छ । उनीहरु साह्रै थोरै संख्यामा देखिन्छ । यसका अभियानकै रुपमा माहोल ल्याउन जरुरी छ ।
नेपालमा पनि देखेको सपनामध्ये केही असाध्यै प्रभावकारी भएका छन् । आफ्नो गाउँ आफैँ बनाऔँ एक हो । त्यस्तै कुनै बेला सञ्चारमन्त्री हुँदा निवर्तमान सभामुख कृष्णबहादुर महराले एक सपना बाँडेका थिए । जुन थियो ‘घर घरमा इन्टरनेट, हात हातमा मोबाइल’ । त्यस बेलामा त्यो सपना सुन्दा हामी धेरैलाई पत्यार लागेकै थिएन । यो सम्भव छैन भन्ने लागेको थियो तर केही वर्षमा नै हाम्रा हात हातमा मोबाइल फोन आए, घर घरमा मात्र होइन, औँला औँलामा इन्टरनेटबाट विश्व नियालिरहेका छौँ । महराले हामीलाई फोन तथा सिमकार्ड किनिदिएका होइनन्, अनी कुनै टावर बनाउन पनि उनी हिँडेनन् मात्र उन्ले सपना देखेका थिए । सो सपना अनुसार काम गर्ने वातावरण तयार गरिदिए । त्यो काम गर्ने त टेलिकमका विज्ञहरु छँदै थिए । यहाँ विज्ञ भन्नाले धेरै पढेका लेखेका मात्र नबुझौँ । सम्बन्धित विषयमा दख्खल भएका जो कोही पनि विज्ञ हुन् ।
प्रधानमन्त्री ओलीका सपना महत्वकांक्षी र आवश्यक छन् । सपना महत्वकांक्षी हुनै पर्छ । यसको कार्यान्वयनको वातावरण तयार भइरहेको छैन । सरकारले चाहेमा कर्मचारी संयन्त्रभन्दा बाहिरबाट पनि सम्पादन गर्न सक्नेछ । केही निकायमा पढे लेखेका, विज्ञ, विद्वान्हरुलाई नियुक्ति गरेको पनि पाइन्छ । तर कार्यसम्पादन प्रभाकारी हुन सकेको देखिएन । समग्रतामा प्रधानमन्त्री ओलीको सपनालाई सफल कार्यान्वयन गर्ने संरचना र संयन्त्रको अभाव रहेको छ । सरकारी आफ्ना संरचना पनि प्रभावकारी देखिएन । आफ्नो दलबाट पनि प्रयाप्त सहयोग सहकार्यको अभावै रह्यो । प्रधानमन्त्रीले नियुक्ति गरेकाहरुको पनि प्रभावकारिता देखिएन । कतिपय बेलामा त असजिलो बनाउने गरेको पो भेटियो । नेपालका विषयत विद्वान्को भूमिका खड्किएको छ । नजान्ने होइन नगर्ने समस्या भएको छ । ओलीको सपनाले उत्साहित बनाउँछ तर त्यो अनुसार काम नहुँदा निराशामा परिणत भएको छ । अरुले भन्दा फरक सपना देख्ने नै असल नेता हो । त्यसमा प्रधानमन्त्रीप्रति कसैको शंका छैन तर सपना प्राप्तिका लागि कसरतको कमीले मात्र शंका उब्जाएको छ । ओली मात्र होइन पहिलाका अरु प्रधानमन्त्रीहरु पनि सोचका धनी नै थिए तर ओलीसँग भने अरुको भन्दा फरक चाहिँ आफ्ना सपना अरुले सजिलै बुझ्ने गरी भन्न सक्ने कला रहेको छ । प्रधानमन्त्रीलाई आफूले देखेको सपनाले पक्कै सुत्न दिएको छैन होला तर कार्यान्वयन गर्ने संरचना आनन्द मानेर अझैँ धेरै सुते की भन्ने भान परिरहेको छ । अमेरिकाका राष्ट्रपतिले देखेको सपना कार्यान्वयनमा त्यो बेलाका वैज्ञानिक सुरुमा अलमलिए पनि केही समयमा भाका टिपेका थिए होलान् तर हाम्रा विज्ञ, वैज्ञानिकले त्यो पारा ल्याउँदैनन् की भन्ने शंका बढेको छ । यहि अवस्था रहेमा प्रधानमन्त्रीका सपना निदाएको बेलामा देखेजस्तो हुने हो की भन्ने डर वढेको छ । त्यसतो नहोस्, प्रधानमन्त्रीले देखेको सपना सबै पूरा हुन् अनी भन्न पाइयोेस् ‘समृद्ध नेपाल सुखी नेपाली ।’