दलका नेताहरु गत ३० वर्षदेखि सत्तामा छन् तर यति लामो अवधिसम्म सत्तामा बस्दा पनि केही ठोस फरक काम गरी देखाउन सकेको छैन । यो भन्दा पहिले राजाको सक्रिय नेतृत्वमा २७ वर्ष जति पञ्चहरुले सत्ता चलाउन पाएका थिए । यति छोटो अवधि मात्रै सत्तामा बसेका पञ्चहरुले नेपालमा अनेक उद्योगहरु खोलेर सफलतापूर्वक चलाएर पनि देखाएका थिए । राजा र पञ्चहरुले राम्रो काम गरेन भन्दै दुष्प्रचार गरी सत्ता हत्याउन सफल भएका दलहरु आज आएर राष्ट्रका लागि बाँदरको पुच्छर लौरो न हतियार सावित भएका छन् । पञ्चहरुले ठूलाठूला उद्योगहरु खोलेर राष्ट्रलाई आफ्नै खुट्टामा उभिन सक्ने र विदेशी उत्पादनको भरमा रहनु नपर्ने तुल्याएका थिए । तर पञ्चहरुको खोट देखाएर जनताको नजरमा आफूलाई राम्रो पारी नेपाल राष्ट्रको सत्ता कब्जा गर्न सफल दलहरु सबै विदेशीका दलाल निस्किएका छन् । दलहरु सबै कुनै न कुनै विदेशी राष्ट्रको हितमा काम गर्ने र आफ्नो राष्ट्रको हितमा कहिले नसोच्ने कमिसनखोरहरु निस्केका छन् । दलका शीर्ष नेताहरु कुनै न कुनै नाफाखोर विदेशीका दलाल व्यापारीहरुको पाल्तु जनावर बनेको देखिन्छ । दलका नेताहरुले आयात व्यापारलाई ठूलो महत्व दिएका छन् । सोही सिद्धान्तअनुसार दलहरुको नीतिगत सहयोगमा नाफाखोर व्यापारीहरुले निजी बैंकहरु खोलेका छन् । जनताले निजी बैंकहरुमा जम्मा गरेको पैसा नाफाखोर व्यापारीहरुले आयात व्यापारमा लगानी गरी प्रतिवर्ष दश दोब्बर नाफा कमाएर दलका नेताहरुलाई केही चटाएर बाँकी आफैँले खाने गरेका छन् । राष्ट्रलाई आत्मनिर्भर बनाउने उद्योगहरुमा लगानी गर्नका लागि पैसा छैन भन्छन् तर नाफाखोर व्यापारीहरुलाई भने लगानीको अभाव छैन । आफ्नै बैंकमा जनताले थुपारेको पैसा आफ्नै निजी व्यापारमा लगानी गरी नाफाखोर केही व्यापारीहरुले भने अकुत कमाएको कमाएकै छन् । सहयोग गर्ने दलका नेताहरुलाई केही मन्साएर बाँकी खाएको खाएकै पारेका छन् । विदेशी उद्योगहरुको उत्पादनलाई नेपालमा मार्केटिङ गर्ने जिम्मा नेपालका राजनीतिक दलहरुले लिएका छन् । त्यहि विदेशीहरुकै इशारामा नेपालको पूर्वाधार विकास पनि आयात व्यापार बढाउने हिसाबले गर्दै लगेका छन् । नेपालबाट निर्यात गर्नुपर्ने वस्तुहरुको उत्पादन नगन्य छन् त्यसैले दलहरुले विदेशीसित ऋण लिएर विदेशीकै सल्लाह र सहयोगमा बनाएका व्यापारीक मार्गहरुलगायत अन्य सिमानाका व्यापारिक सुविधाहरुको फाइदा नेपालको पक्षमा छैन । दलहरु विदेशीको प्रभावमा परेकाले विदेशीकै सोचअनुसार चल्ने गरेका छन् । नेपालको विकास र आर्थिक उन्नतिबारे दलहरुको आफ्नै मौलिक सोच केही झल्किएको छैन । दलहरुले पुँजीवादी मुलुकहरुको नीति अनुसार वैदेशिक रोजगारी र मानव तस्कारीलाई वैदेशिक मुद्राको आय स्रोत बनाएका छन् । अदक्ष कामदारहरु र महिलाहरुलाई विदेशमा रोजगारी गर्न पठाएर उनीहरुबाट राष्ट्रले प्राप्त गर्ने विदेशी मुद्राबाट विलासिताको सामग्रीहरु आयात गरी दलका नेताहरुले मोजमस्ती गर्दै हिँडेका छन् । नेपाल विगतमा भाडाका सिपाही उत्पादन गर्ने मुलुक भनेर संसारभर प्रख्यात थियो भने आहिले आएर कामदार र यौनकर्मीहरु उत्पादन गर्ने मुलुक भनी संसारभर प्रख्यात भइसकेको छ । दलहरुले पञ्चहरुले जस्तो राम्रो काम गर्न नसके पनि नराम्रो काम भने नगरेको भए राष्ट्रका लागि राम्रो हुने थियो । दलहरुले उँधो गति र उँधै मति देखाएको हुनाले नेपाल राष्ट्रको संसारभर बद्नाम भएको छ । राजा र पञ्चहरु बराबरको राष्ट्रवादी दलहरु छैनन्, त्यसैले दलहरुले नेपालको विकास गर्ला र राष्ट्रलाई समृद्ध बनाउँला भन्नेमा ठूलो शंका छ । दलहरु नेपालको समृद्धि र सुखी नेपाली जनताको नारा घन्काउँछन् तर विकासलाई राष्ट्रको समृद्धिसित जोड्ने औद्योगिक क्रान्तिको बारेमा वास्ता नै गर्दैनन् । राष्ट्र धनी भएमा शक्तिशाली भएमा जनता पनि सुखी हुने छन् जसका लागि नेपालमा उत्पादन गर्ने उद्योगहरुको विकास गर्न नितान्त जरुरी छ जुन कुरा पञ्चहरुले उहिले नै महसुस गरेका थिए भने दलहरुले अहिलेसम्म पनि सो कुराको महसुससम्म पनि गर्न सकेका छैनन् । अन्धोलाई हात्तीजस्तै दलहरुका लागि नेपालको विकास भएको छ । दलका नेताहरु हचुवाको भरमा नेपालको पूर्वाधार विकास गर्न व्यस्त छन् । त्यसको आवश्यकता किन भयो र बनाइसकेको पूर्वाधार के को लागि र कसरी उपयोग गर्ने भन्नेबारे दलका नेताहरुका लागि कालो अक्षेर भैँसी बराबर भएको छ । एसियाली विकास बैंक र विश्व बैंकका एजेन्टहरुले भनेकै भरमा कमिसन खान पाउने लोभमा ऋण स्वीकृत गर्दै दलका नेताहरु हिँडेका छन् । राष्ट्रको नाममा विदेशी बैंकहरुसित लिएको ऋण निष्क्रिय लगानी बनाएर फालेका छन् र त्यसबाट प्रतिफल आउने कहिले हो कहिले कुनै निश्चित छैन । विदेशी बैंकहरुले दिने प्राविधिक सहयोग र अनुदान सहयोगको लोभमा राष्ट्रको हितमा नभएका पूर्वाधार परियोजनाहरु बनाउन ऋण लिने काम पछाडि राष्ट्रियताका लागि घातक पनि हुन सक्ने देखिन्छ । यसरी गरिएको लगानीबाट दुई पैसा प्रतिफल नआउने भएपछि विस्तारै राष्ट्र कांगल बन्दै जाने निश्चित प्राय हुन्छ । नेपालमा भ्रष्टाचार र अपराध धेरै बढेको हुँदा दलका राजनीतिक कार्यकर्ताहरु पनि जीवनयापन गर्नका लागि भ्रष्टाचरी र अपराधीहरुलाई दलका नेताहरुसित जोड्ने कडी बनेका छन् । यसैबाट प्राप्त हुने केही हुन्डीबाट आफ्नो गुजारा चलाएका छन् । दलका नेताहरुले ३० वर्ष लामो समय त्यसै आपसमा हानाथाप गरेरै बिताएका छन् । नेपालको सन्दर्भमा विकास भनेको के हो भन्ने कुरा दलका नेताहरुले बुझ्ने प्रयास कहिले पनि गरेन र उनीहरुको सबै ध्यान बजेट कसरी मिलीभगतमा बाँडेर खाने र सक्ने भन्नेतिर मात्रै केन्द्रित हुँदै गयो । अहिले कोरोनाको आक्रमणमा पर्दा राष्ट्रलाई काम लाग्ने एउटा गतिलो अस्पताल पनि दलहरुले बनाउन सकेको रहेनछ भन्ने कुरा प्रष्ट भएको छ । नाफाखोर, दलाल, व्यपारीहरुको काम गर्दागर्दै दलका नेताहरु दलाल सरहनै भएका छन् र संसारभर राष्ट्रलाई बद्नाम तुल्याएका छन् । अहिले कोरोना रोगले गर्दा विदेशमा काम गर्न गएका नेपालीहरु धेरै मरेका छन् । उनीहरुको लास नेपाल ल्याउनका लागि पनि सरकारले नै सहयोग गर्नुपर्ने स्थिति पैदा भएको छ । कोरोना रोग कै कारणबाट धेरै नेपाली कामदारहरुको रोजीरोटी पनि गुमेको छ । उनीहरुले काम गर्दै आएको कम्पनीले तलब नदिएकाले उनीहरुका लागि खाने, बस्ने र नेपाल फर्किने खर्चसम्म पनि नभएको सुनिएको छ । सरकारलाई यो कुरालेभन्दा पनि विदेशी मुद्राको आम्दानीको स्रोत घटेको कुराले भने निकै चिन्तित तुल्याएको देखिन्छ । दलहरुको पराधीन नीतिले गर्दा नेपालको औद्योगिक विकास रोकिएको छ । नेपाली जनतालाई अन्न आयात गरी सरकारले खुवाएको भए तापनि अन्न कसरी आफ्नै देशमा उत्पादन गर्न सकिन्छ र विदेशी आयातमा भर पर्नु पर्दैन भनी सिकाउने काम दलहरुले कहिले गरेका छैनन् । नेपाली जनता माछा खान जान्ने तर माछा पालन गर्न नजान्ने भएका छन् । दलहरु विदेशीको गुलाम बन्नुमा गर्व महसुस गर्ने भएकाले उनीहरुले नेपाल राष्ट्रलाई कमजोर तुल्याउने काम मात्रै गरेका छन् । नेपाली पोसाक दौरा, सुरुवाल र कोट नलगाएर राष्ट्रियता देखाउनेहरुले नै नेपाल राष्ट्रलाई परनिर्भर राष्ट्र बनाएर कमजोर तुल्याएका छन् । इजरायलजस्तै शक्तिशाली राष्ट्र बन्न सक्ने सम्भावना भएको विशाल मुलुक नेपालमा राजा र पञ्चहरुको उच्चकोटीको राष्ट्रियतालाई नेपाली पोसाक दौरा, सुरुवाल र कोटसँग दाँज्नेहरुले नै नेपालमा औद्योगिक क्रान्तिको विरोध गरी राष्ट्रलाई पराधिन मुलुकतर्फ धकेलेका हुन । राजा र पञ्चहरुको राष्ट्रप्रेमले नेपाललाई औद्योगिक विकासको आधार खडा गरेको थियो भने दलहरुको राष्ट्रप्रेमले नेपाललाई विपन्न र कंगाल मुलुकमा रुपान्तरण गर्दै छन् । दलका नेताहरु र राजनीतिक कार्यकर्ताहरु राष्ट्रलाई लुटेरै धनी बन्दै गएका छन् भने नेपाल राष्ट्र र नेपाली जनता विदेशी ऋण, सरकारी करको भारी र महँगीको भारी बोक्नै नसक्ने अवस्थामा स्थापित गरेका छन् । मुद्रास्फिति, महँगी र करको भारी बढाउने दलहरुको ठूलो बजेटकै कारण नेपाली मुद्रा झन् कमजोर र कम क्रयशक्ति भएको देखिन्छ । सुनको भाउ आकाशिनु र तस्करी बढ्नुमा पनि नेकपा सरकारको नै कमजोरी आर्थिक नीतिले हो । बजेट आउनु अघि ६० हजारको रेन्जमा भएको सुनको भाउ बजेटलगत्तै एकलाखको नजिक पुग्नुमा सरकारको कर नीतिनै मुख्य रुपले जिम्मेवार भएको देखिन्छ । बजेट पछाडि बढेको बजार भाउ नेपाली जनताको आम्दानीले थेग्नै नसक्ने भएको छ । नेपाली जनताको आर्थिक हालत कोरनाले भन्दा पनि सरकारको बजेटले ज्याद बिगारेको देखिन्छ । भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले खिसामा च्यापेर हिँड्ने र तिनीहरुलाई कुनै कारबाही नगर्ने हो भने आगामी दिनहरुमा दलहरुलाई नै बाहिरको बाटो देखाउन नेपाली जनता बाध्य हुनेछन् । नेकपा कम्युनिस्ट सरकार भए पनि यसका नीतिहरु पुँजीवादी छन् । यसले बिगतका सरकारहरुबाट ग्रहण गरेको वैदेशिक रोजगारी नीति, पर्यटन विकास नीति, पूर्वाधार विकास नीतिजस्ता पुँजीवादी नीतिहरुलाई बदल्न सकेन र खुलाबजार अर्थतन्त्र अपनाएर नेपालको औद्योगिक विकासलाई रोकेको छ । नेकपा सरकारले चुनाव जितेपछि गर्छु भनेको कामहरु पनि अहिलेसम्म गर्न सकेको छैन । चुनावमा भोट हाली नेपाली जनताले दलका नेताहरुलाई जिताएको होला पनि त्यसको वास्तविक फल खानेहरु भने भ्रष्टाचारी र अपराधीहरु नै अगाडि देखिएका छन् । नेपाली जनता चुप लागे नेकपा सरकारले बिस्तारै घरजग्गाको दलालहरु, भूमाफियाहरु, नाफाखोर, दलाल, व्यापारीहरु, मुद्रा र सुन तस्करहरुलाई पनि अपराधी रञ्जन कोइरालालाई जस्तै मुद्दा जिताएर चोखाउने षड्यन्त्रमा लगेको हो की भन्ने त्रास बढेको छ ।