भ्रष्टाचारको विरोध गर्दै दलहरु सत्तामा पुगेका थिए भने सत्तामा पुगेपछि तीनदशक भ्रष्टाचार गर्दै बिताएका छन् । नेपाली जनताको सामु दलहरुले आफूहरुलाई पञ्चहरुभन्दा बढी राष्ट्रवादी, बढी विकासवादी र घोर भ्रष्टाचार विरोधी भएको झुटो प्रचार गरी भ्रममा पारेर आफ्नो पक्षमा ठूलो जनसमर्थन ल्याएका थिए । त्यहि जनसमर्थनको बलमा राजा र राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थालाई हटाएर दलहरुले आफ्नै नेतृत्वमा नेपालको सत्ताको बागडोर लिएका थिए । त्यसबखत नेपाली जनताले दलहरुको राजनीतिक प्रतिबद्धतामाथि गहिरो र अटुट विश्वास देखाएका थिए । सत्तामा पुगेपछि दलहरुले नेपाली जनतालाई स्वतन्त्र नागरिक बनाउने छन् र नेपाल राष्ट्रलाई महान्् राष्ट्रमा रुपान्तरण गर्न सक्ने पूर्णविश्वास नेपाली जनताले गरेका थिए । तर, दलहरुले ३० वर्ष लगाएर सबै उल्टै गरेका छन् । नेपाललाई उनीहरुले महान् राष्ट्र बनाउन नसके पनि बद्नाम राष्ट्र बनाउनमा भने केही केसर बाँकी राखेका छैनन् । वीर गोर्खालीको राष्ट्र भनेर विगतमा नाम चलेको नेपाललाई अहिले कच्चा कामदार आपूर्ति गर्ने मुलुक भनेर चिनाएका छन् । मानव तस्करी, सुन तस्करी, मुद्रा तस्करी , भ्रष्टाचारी र अपराधीहरुको मुलुक भनेर संसारभर प्रख्यात तुल्याएका छन् । यस्तो कारनामा गरी देखाउने दलहरु दिनदिनै राजनीतिक सत्ता बनाउने र ढाल्ने अनि एकले अर्काको खुट्टा तान्ने खेलमा तीसौँ वर्षदेखि व्यस्त भएर लागेका छन् । देश विकासको कुरा पनि दलहरुले नगर्ने होइनन् तर यस्तो कुरा चुनाव ताका मात्रै निकाल्छन् र मीठो गुलियो कुरा जनताको सामु गरी भोट बटुल्छन् अनि अर्को चुनाव नआएसम्मका लागि चुनाव क्षेत्रबाट गायब हुन्छन् । दलहरुले समृद्ध नेपाल र सुखी नेपालीको मीठो कर्णप्रिय कुरा गरी नेपाली जनतालाई झुक्याउँदै दुई तिहाई मत लिएर सरकार पनि बनाएका छन् । तर त्यस्तो बलियो कम्युनिस्ट पार्टीको सरकारले पूर्वसरकारहरुले ल्याएको पुँजीवादी नीतिहरुलाई नै निरन्तरता दिएको छ र कम्युनिस्ट पार्टीको मौलिक नीतिहरु केही पनि लागू गरेको छैन । उही वैदेशिक रोजगार नीति, उही पर्यटन विकास नीति, उही पुँजीवबादी मुलुकहरुले चलाएको उदार अर्थनीति नेपालको दुई तिहाई मत पाएको कम्युनिस्ट सरकारले शीरोधारण गरी नतमस्तक भएर बसेका छन् । यस्तो बलियो सरकारको नेता सत्ता चलाउनमा कठोर छैन र नेपाली जनताको माझमा जलजस्तो निर्मल, स्वच्छ र पारदर्शी पनि छैन । सदाचारिता कायम गर्नु त कता हो कता ? आफैँ भ्रष्टाचार र अपराधका काण्डैकाण्डहरुमा लतपत भएका छन् । नेकपा सरकारको प्रतिबद्धता ठूलो भए पनि व्यवहारमा उल्टो गर्दै गएकाले नेपाली जनताको नजरमा अब यो गिरिसकेको छ । भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई निमिट्यान्नै पार्छु भनी नेकपा सरकारको प्रधानमन्त्रीले कति चोटी बोली सके त्यसको हेक्का पनि नेपाली जनतालाई छैन तर जो चोर उसको ठूलो स्वर भनेझैँ नेपाली जनतालाई अब नेपालमा चल्दै आएको भ्रष्टाचार र अपराधको नाइके को हुन् भनी अनुमान लगाउन कुनै कठिन छैन । नेकपा सरकारले भ्रष्टाचार र अपराधलाई नेपालबाट हटाउन सक्दैन किनकि भ्रष्टाचारबाट कमाएको आय नै उनीहरुको लुटको राजनीति नेपालमा चलाउनका लागि आटुट आर्थिक स्रोत बनिरहेको छ । नाफाखोर व्यपारीहरु, बिचौलियाहरु, माफिया व्यवसायीहरुले आफ्नो आकुत नाफा कमाउने स्वार्थ पूरा गर्नका लागि नेकपा सरकारकै काँधमा बुइ चढेर हिँडेका छन् । नेपालका भ्रष्टाचारी र अपराधीहरु दलहरुको प्राणवायु बनेर राजकीय सत्ताभित्र बाहिर गर्दै छन् । दलहरुले नेपालको विकासबारे जतिसुकै ठूलो कुरा गर्दै आएको भए तापनि यथार्थमा दलहरुले तीनदशक लामो शासन चलाइसक्दा पनि नेपालको सन्दर्भमा विकास के हो भन्नेसम्म पनि खुट्ट्याउन सकेको छैन । दलहरुले हचुवाको भरमा धेरै कमिसन खानकै लागि मात्र विदेशी दलालहरुको प्रभावमा परी ठूला परियोजनाहरु स्वीकृत गरी अगाडि बढाएका छन् । दलहरुले अगाडि बढाएका विकासे परियोजनाहरु नेपालको जरुरत हो कि होइन भन्नेबारे दलका नेताहरुलाई ठोस ज्ञानै छैन । दलका नेताहरुले रेल परियोजनाहरु अगाडि बढाएका छन् । त्यसैगरी दुई अन्तर्राष्ट्रिय हवाई अड्डा बनाउने परियोजनाहरु पनि बनाइरहेका नै छन् । नेपालको हालको अवस्था अनुसार त्यस्ता परियोजनाहरुको जरुरत कति छ ? भन्ने कुराको पक्का गरेको भने छैन । परियोजनाहरुको छनोट गर्दा अपनाउने प्राविधिक र अर्थिक विधि विधानहरु र प्रणालीहरुलाई दलहरुले पूरै भत्काएका छन् र राजनीतिक निर्णयको आधारमा परियोजनाहरुको छनोट गरी राष्ट्रलाई डुबाउने काम गर्दै भ्रष्टाचार गर्न सजिलो तुल्याएका छन् । राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाले तयार पारेको नेपालको मौलिक विकासको जग भताभुंग पार्ने दलहरुले तीन दशकसम्म नेपालको वैकल्पिक विकासको रुप नै तयार पार्न सकेको छैन । अहिलेसम्म सबै हचुवाको भरमा नै चल्दै र चलाउँदै आएका छन् । नेपालको विकास दलहरुका लागि अन्धोलाई हात्ती बराबार नै भएको छ । नेपालका इन्जिनियरहरुलाई यति बेला आफूले लामो समय अध्ययन गरी पाएको ज्ञान र विदेशमा गएर सिकेको सीपलाई उपयोग गर्ने कुनै अवसर नेपालमा छैन । इन्जिनियरहरुलाई नै बिचौलियाको रुपमा सरकारले प्रयोग गर्ने गरेका छन् । नेपालमा ज्ञान र विज्ञानको यति नराम्रो दूरदशा भएको देख्दा जो कोहीको मन पनि कुटुक्क दुख्न सक्छ । नेपालमा राजनीति गर्ने उद्देश्यले इन्जिनियरिङ शिक्षा दुःख गरी पढेको होइन, राष्ट्रका लागि केही गरौँ भन्ने उद्देश्यले नै दुःख कष्ट उठाएका छन् तर नेपाल फर्केपछि केही पनि गर्न नपाउँदा विदेशिन बाध्य भएका छन् । राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती कालमा यस्तो थिएन किनकि त्यो बेला ज्ञान र विज्ञानको ठूलो सम्मान हुने गरेको थियो । त्यसैले राजा र पञ्चहरुले नेपालबाट छानीछानी विदेशमा नेपालमा नभएको शिक्षा लिन पठाउने गरेका थिए । यसको उदाहरण स्व.डा. हर्कबहादुर गुरुङलाई लिन सकिन्छ सत्तामा बसेका कसैसित नाता नपर्ने र कसैलाई नचिनेका भारतीय गोर्खा सैनिकका छोरालाई अहिले भएको भए त्यस्तो अवसर कुनै हालतमा पनि पाउन सक्ने थिएन । स्व.डा. गुरुङ असाधारण क्षमता भएका व्यक्ति थिए त्यसैले उनी स्नातकबाट सोझै बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा प्रवेश पाएर भूगोल विषयमा विद्यावारिधि पूरा गरी नेपाल फर्केका थिए र त्यसपछि नेपालको राष्ट्रको सेवा सरकारको मन्त्रीसम्मको पदमा बसी गर्न पाएका थिए । अहिले नेपालमा त्यस्तो अवस्था छैन किनकि नेपालमा अब ज्ञान र विज्ञानको सम्मान गर्ने चलन छैन । राजा जनक पनि नेपाली नै थिए र उनको समयमा ज्ञानीहरुको ठूलो सम्मान हुने गरेको थियो । त्यो बेला स्वदेशमा मात्रै राजालाई पुजिन्छ भने विद्वान्लाई संसारमा पुजिन्छ भन्ने कहावत नै चलेको थियो । जनक राजाले चलाएको विद्वान्हरुको सभाले रावणलाई विद्वान् पण्डितको उपाधि नदिएको हुनाले रावणले जनकपुरमा नाकाबन्दी नै लगाएका थिए र पछाडि त्यहि कारणबाट रावणको अन्त्यको सुरुवात पनि भयो । यस्तो विद्वान्हरुलाई सम्मान गर्ने देश नेपालमा अहिले ज्ञानीहरु भिखारी र अज्ञानीहरु अधिकारी बनेका छन् । नेपाल परापूर्वकालदेखि नै पूण्य भूमि भएको हुनाले यहाँ दानवहरु र मानवहरुका बीच सधैँ संघर्ष चलिरहने गरेको थियो । दानव र मानव दुवैले नेपालको भूमिमा तप गरी केहीले पूण्य कमाउन सफल भएका थिए भने केही बद्नाम पनि भएका थिए । अहिले दलहरु नेपालमा बद्नाम भएका छन् किनकि दलहरुले नेपालमा अहिले राम्रो काम गर्न सकेको छैन । दलहरु इन्जिनियरिङ योजना बनाएर लक्ष निर्धारण गरी सोहीअनुसार काम गर्न सक्तैनन् । त्यसैले दलहरुको लागि खरिद ऐन नियम कानुनहरु घाँडो भएका छन् र आफ्नो फाइदा हेरी संसोधन गर्दै जान्छन् । उदाहरणका लागि आफ्नो सन्तानलाई काम दिनकै लागि सरकारले एकै महिनामा १० चोटी खरिद ऐन संसोधन गरी रेकर्ड नै कायम गरिसकेको छ । नेकपा सरकार भनेको के हो भन्ने कुरा यस्तै उसले गरेका बेनियमका कामहरुबाट छर्लंग हुन्छ । दलहरु अनुशासित छैनन् र आफ्नो फाइदा हेरी नियम कानुन बनाउँदै जान्छन् । उनीहरुले आफैँ सरकार, आफैँ ठेकदार र आफैँ कन्सल्टैन्ट भएर काम गर्ने गरेको हुनाले प्रणालीभित्र रहेर काम गर्न सक्दैनन् र पहिले स्थापित भएका कार्य प्रणालीहरु आफ्नो सुविधा हेरी भत्काउँदै परिवर्तन गर्दै जान्छन् । दलहरुको यस्तो विकास विरोधी गतिविधिहरुले गर्दा नेपाल सात दशकदेखि अल्पविकसित मुलुकमा कायम भएको भएकै छ । दलहरुले गरेको विकास हिमाल पहाडमा पहिरो चलाउन र तराईमा डुबाउन बढाउन मात्रै काम लागेको छ । दलहरुको मनमौजी विकासले कति नेपालीको ज्यान लिने हो अनुमान नै गर्न सकिन्न । दलहरुका लागि सिर्फ आफूले किनेको डोजरहरुलाई काम भए पुग्छ । विकास गर्ने भनेको केवल वाहनाबाजी मात्रै हो । दलहरु तीन दशकसम्म भत्काउने काम मात्रै गरेका छन् र बनाउने काम गरेकै छैनन् । धमिलो पानीमा माछा मार्न पल्केका दलहरु विकासे तमासा खडा गरी निजी फाइदा उठाउने गरेका छन् । भ्रष्टाचार र अपराधहरु रोक्न होइन, फैल्याएर त्यसबाट फाइदा उठाउन दलहरुले जति अरु कसैले जानेका छैनन् । दलहरु जसरी सत्तामा पुग्न सफल भए, उसरी नै दलहरुलाई बाहिरको बाटो देखाउनका निमित्त अब नेपाली जनता तयार हुनुपर्छ नत्र दलहरुबाट राष्ट्र पीडित हुनबाट कसैले पनि जोगाउन सक्दैन ।