मुख्यसचिव बन्न दौडधुप

प्रशासन समाचार

काठमाडौं । भावी मुख्यसचिव को हुन्छन् ? त्यो त अहिलेका मुख्य सचिव लोकदर्शन रेग्मीकै हातमा छ । उनले पूरै कार्यकाल अर्थात् ४ कात्तिकसम्म काम गर्दा र त्यसका दुई साता अघि राजीनामा दिँदा फरक व्यक्ति मुख्यसचिव बन्नेछन् ।
मुख्यसचिव रेग्मी घर जाने दिन जति जति नजिकिँदै छ नयाँ मुख्य सचिव को होला भन्ने चर्चा र परिचर्चा पनि प्रशासन वृत्तमा उत्ति नै हुन थालेको छ । मुख्य सचिवको दौडमा अहिले ६ जना सचिव छन् । यदि प्रक्रिया नमिची प्रहरीमा झैँ सिनियर सहसचिवलाई मुख्य सचिवको जिम्मेवारी दिएको खण्डमा अहिलेका उद्योग, बाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे मुख्यसचिवमा बाजी मार्नेछन् । तर प्रक्रिया मिची लोकदर्शनलाई राजीनामा दिन लगाएको खण्डमा हालका परराष्ट्र सचिव शंकरदास वैरागीले बाजी मार्नेछन् ।
आगामी २२ असोजमा परराष्ट्र सचिव वैरागीसँगै अनिवार्य अवकाश लिने पर्यटन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा छन् । यदि कथंकदाचित लोकदर्शन रेग्मीले त्यो अघि नै राजीनामा दिएको खण्डमा आफ्नो क्लासमेट शंकरदास बैरागी मुख्यसचिव बन्नेछन् । रेग्मीले बीचमा कुनै नियुक्ति पाएनन् र उनले पूरै कार्यकाल अर्थात् ४ कात्तिकसम्म काम गरेको खण्डमा सचिवहरुमध्ये पनि वरिष्ठ सचिव चन्द्रकुमार घिमिरेले बाजी मार्नेछन् । तर वालुवाटारले समेत मुख्यसचिव रेग्मीले १५ गते नै पदबाट राजीनामा दिने र १८ गते उनलाई बेलायतको राजदूतमा सिफारिस गरी त्यहाँ शंकरदास बैरागीलाई लैजाने गरी सेटिङ मिलाइसकेको चर्चा सिंहदरबारतिर सुन्न पाइन्छ । वैरागीलाई नै मुख्यसचिव बनाउन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको जोड बल रहेको चर्चा यसअघि नै बाहिर आइसकेको छ ।
परराष्ट्र सचिव घिमिरको आफ्नो ग्याङ छैन, कुन आइडोलोजी हो भन्ने खुलाउँदैनन् । उनलाई एकदमै नजिकबाट चिन्ने एक समकक्षीका अनुसार घिमिरे ठोस निर्णयमै तत्काल पुगी हाल्न सक्दैनन् । तर कुनै प्रस्तावहरू ल्याउँदा भने कैयन् पटक प्रश्न गर्छन् । उनी सुरुदेखि नै परराष्ट्र सेवाका कर्मचारी भएकाले उनीसँग फराकिलो ढंगले काम गरेको अनुभव छैन । प्रशासन, प्राविधिक, जिल्ला, तल्लो तहमा बसेको, प्रशासन सेवाजस्तो फराकिलो हिसाबले काम उनले गरेका छैनन्, जसले गर्दा स्थानीय तथा प्रदेशलगायत निकायका जनप्रतिनिधिहरूसँगको सम्बन्ध धेरै छैन, उनीसँग धेरै चिनजान, सम्पर्क र सम्बन्ध पनि छैन भन्छन्, उनलाई चिन्ने जान्नेहरु ।
असफल मुख्यसचिव रेग्मी
प्रधानमन्त्री केपी ओलीका प्यारा बनेर रहेका मुख्यसचिव रेग्मी प्राय? हरेक कुरामा असफल देखिए । विवादित पनि बने । जस्तो निजामती कर्मचारीहरुको मूल कानुन संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा होस वा कर्मचारी समायोजन नै । यी दुवै कुरामा मुख्यसचिव रेग्मी पूर्ण असफल रहे । अझै पनि कर्मचारी समायोजन पूर्णरुपमा टुंगिन सकेको छैन । संघकै निजामती सेवा ऐन (कानुन) नआउँदा प्रदेश र स्थानीय तह कानुनविहीन अवस्थामा चलिरहेका छन् । लाखौँ कर्मचारीहरुको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने मुख्यसचिवले अभिभावकको भूमिका दिन नसकेको आम कर्मचारीहरुको बुझाइ छ । रेग्मी आफूभन्दा सानालाई नगन्ने तर ठूलाका चाकडी गर्ने स्वभाव र शैलीका कर्मचारी हुन् । यसअघि शेरबहादुर देउवाको अतिनिकट भएर काम गरेका उनी अहिले प्रधानमन्त्री ओलीको विश्वाशपात्र भएरै साढे दुई वर्ष बिताए । यसअघिका मुख्यसचिव सोमलाल सुवेदीलाई मनिला पठाएर आफू मुख्य सचिव हुने बाटो बनाएका उनलाई नजिकबाट चिन्ने जान्ने एक सचिवले सुनाए ।
उनी तिनै कर्मचारी हुन् जस्ले आफू गृृहसचिव हुँदा आफ्नै बाबुलाई पुरस्कृत गरेका थिए । उनी गृहसचिव हुँदा आफ्ना बाबु लक्ष्मीकान्त रेग्मीलाई सुप्रबल जनसेवा श्री पदक दिलाएका थिए । लोकदर्शनका पिता लक्ष्मीकान्त पञ्चायतकालमा प्रधानपञ्च थिए भने पछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । यसपटक निजामती सेवा दिवसका दिन आफ्नै निजी सवारी चालक धनबहादुर लामालाई एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार दिलाएका छन् । तामाकोशीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *