दसैँः लुटको अवसर बनाउन व्यापारीलाई छुट

लेख

हिन्दूको सबभन्दा ठूलो पर्व दसैँ संघारमै आइपुगेको छ । कोरोना महामारीले आक्रान्त भएका जनता यो पर्वलाई कसरी मनाउने भन्नेमा चिन्तित भइराखेको वर्तमान अवस्थामा केही व्यापारी भने हिन्दूको सबभन्दा ठूलो पर्व दसैँलाई जनता लुट्ने अवसरको रूपमा उपयोग गरिराखेको विभिन्न घटनाले देखाई राखेको छ । कोरोना महामारीको कारण लामो समयदेखि आर्थिक गतिविधि प्रभावित हुँदै आएको भए पनि वर्षमा एकपटक आउने यो सबभन्दा ठूलो पर्व मनाउन नेपाली जनताले कुनै कन्जुस्याईं गर्दैनन् । जनताको यही भावनालाई कमजोरीको रूपमा बुझेका केही व्यापारीहरूले भने यही कारणले गर्दा नै दसैँलाई लुट्ने अवसरको रूपमा उपयोग गरिराखेका छन् भने सरकारको सरोकारवाला निकायले यस्ता व्यापारीहरूलाई कारबाही नगरी संरक्षण गरिराखेको स्थितिसमेत रहेको छ ।
दसैँ सघारमै आइपुग्दा दैनिक उपयोग हुने खाद्य वस्तुमा अचाक्ली मूल्य वृद्धि भइराखेको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत प्रतिकिलो ७२ रूपैयाँ मूल्य तोकेको चिनी अहिले बजारमा निर्वाध रूपमा ९० रूपैयाँ प्रतिकिलोमा बिक्री भइराखेको छ । यसैगरी भारतले निर्यात गर्न प्रतिबन्ध लगाएको बहानामा प्याजको मूल्यलाई कृत्रिम रूपमा बढाएर १ सय २० रूपैयाँ प्रतिकिलो पु¥याइएको छ । यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन प्रतिप्याकेट २० रूपैयाँमा बिक्री गरी रहँदा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मोतीलाल दुगडले भने साल्ट ट्रेडिङको त्यही नुनलाई अलग प्याकिङ गरेर प्रतिप्याकेट ३५ रूपैयाँमा बिक्री गरिराखेका छन् । मन्त्रिपरिषद्कै एउटा सदस्यले यसरी मनपरी मूल्यमा भान्छामा दैनिक उपयोग हुने नुनको मनपरी मूल्य राखेर बिक्री वितरण गर्दा पनि सरकारको कुनै निकायले कारबाही गर्ने कष्ट गरेको छैन ।
यसरी एकातिर दसैँ संघारमै आइपुग्दा आमजनताले समेत दैनिक उपयोग गर्ने चिनी, प्याज, नुनजस्ता खाद्य सामग्रीमा अचाक्ली मूल्य वृद्धि भइरहँदा उपयोग गर्ने समय सकिएको विभिन्न खाद्य पदार्थहरूको प्याकिङमा नयाँ मिति टाँसेर बिक्री वितरण गर्ने धन्दा पनि व्यवसायीहरूले निर्वाध रूपमा संचालन गरिराखेका छन् । केही दिन अगाडि म्याद गुज्रिएका करोडौँ मूल्य बराबरको खाद्य पदार्थमा नयाँ मितिको स्टिकर टाँसिराखेको अवस्थामा रंगेहात पक्राउ परेका सात जना व्यक्तिलाई उपभोक्ता हित संरक्षण विभागले नियन्त्रणमा राखेर कारबाही अगाडि बढाउनु पर्नेमा सामान्य तारिखमा छाड्ने उदारता देखाएर समय गुज्रिएको खाद्य सामग्रीको प्याकिङमा नयाँ मितिको स्टिकर टाँसेर उपभोक्तालाई ठग्ने तथा उनीहरूको स्वास्थ्यमा खेलवाड गर्नेजस्तो गम्भीर अपराध गर्ने व्यापारीप्रति सद्भाव देखाउने काम उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तेजप्रसाद सुवेदीबाट नै भएको छ । जनतालाई मिति नाघेको खाद्य पदार्थ ख्वाउने कसरतमा लागेका व्यापारीलाई कडा कारबाही गर्नु पर्नेमा उदारता देखाउने काम सम्बन्धित निकायबाट नै हुँदा यस्ता व्यापारीहरू यस्तो बदमासी गरेर जनताको स्वास्थ्यसँग खेलबाड गर्न उत्साहित भइराखेका छन् ।
अहिले संघारमा आइपुगेको दसैँ यो कोरोना महामारीसँग कसरी मनाउने भन्ने चिन्तामा एकातिर नेपाली जनता छन् भने अर्कातिर सरकारी कर्मचारीको संरक्षण र सहयोग प्राप्त गर्ने निश्चित व्यापारीहरू भने दसैँजस्तो पर्वलाई कसरी जनता लुट्ने अवसरमा रूपान्तरण गर्ने भन्ने कसरतमा लागिपरिराखेका छन् । यही कारणले गर्दा नै बदमासी गर्ने तथा मनपरी मूल्यमा सामग्री बिक्री गर्ने व्यापारीमाथि कुनै कारबाही भइराखेको छैन भने त्यसको मूल्य भने जनताले चुकाउनु परिराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *