जमिन, जंगल र जल प्राणीको जीवनको् लागि महत्वपूर्ण प्राकृतिक स्रोतहरु हुन् । योविना प्राणीहरुको जीवन चल्न सक्दैन । मानवीय विकासको निमित्त यो नभई नहुने आधारहरु हुन् । जसरी हावाविना प्राणी सास फेर्न सक्दैन । जनशक्तिको उत्पत्ति र विकास पनि यिनै प्राकृतिक स्रोतहरुको उपलब्धतामाथि नै निर्भर हुन्छ । नेपाल राष्ट्रलाई प्राकृतिले नै अति सुन्दर मुलुक वनाएको हुँदा नेपालमा धेरै खेतीयोग्य जमिन, महत्वपूर्ण जीवजन्तुहरुले भरिएको जंगलहरु र जलैजलले भरिएका तालहरु, हिमतालहरु र हिमालयबाट बग्दै तल झर्ने अनेक नदीहरु छन् । तिनै तालहरु र नदीहरुको चिसो पानी पिएका नेपालीहरुले संसारभर वीरता देखाउँदै वीर गोर्खालीको नामले प्रख्यात भएका छन् । अहिले तिनै वीर गोर्खालीहरुले खाडी मुलुकको प्रचण्ड गर्मीलाई पनि चिरी ठूला ठूला पूर्वाधारहरु निर्माण गर्न सघाएका छन् भने बालुवाले पुरिएको खाडी मुलुकहरुका सुख्खा जमिनलाई सिंचाई गरी हराभरा तुल्याएका छन् । यस्ता नेपालीका सपुतहरुको जति बर्णन गरे पनि कमै हुन्छ । वीर गोर्खालीहरु र शेर्पाहरुको थातथलो भनेर नेपाललाई संसारभर उहाँहरुले नै चिनाएका छन् र नेपाललाई प्रख्यात तुल्याएका छन् । नेपालीका पूर्खा वीर गोर्खालीले खुकुरीको भरमा अनेक महायुद्धहरु जितेर संसारलाई चकित तुल्याएका छन् भने नेपाल कै हिमाली भेगमा बस्दै आएका शेर्पाहरुले डोरीकै भरमा सगरमाथा चढेर नाम कमाएका छन् । त्यसैले नेपालका शेर्पाहरु हिमचितुवा आदि नामबाट संसारले चिनेका छन् । नेपाल राष्ट्रलाई प्राकृतिले नै अनेक घनाजंगलहरु, पिउने जलले भरिएका अनेक तालहरु र हिमालयको हिउँ पग्लिएर निस्केका अनेक नदीहरुले सिंगारेर अति सुन्दर वनाएकी छिन् । सेतो टोपी लगाएको र सेतै घुम्टो ओढेका अनेक हिमचुचुराहरु उतरको सीमाना वनेर उभिएका छन् । तिनीहरुकै बीचबीचमा दूधझैँ सेतो देखिने जलले भरिएका अनेक हिमतालहरु नदीको मुहान वनेर युगौ देखि निरन्तर जलप्रवाह गर्दै बसेका छन् । नेपालको उच्चपहाडी भेग, मध्यपहाडी भेग र तल्लो पहाडी भेगका विभिन्न प्रकारका वनस्पतिहरु, वन्यजन्तुहरु र पन्छीहरुको प्राकृतिक बासस्थान वनेका छन् । पौराणिक वेदहरुमा उल्लेखित जीवन दायनी औषधिहरुको स्रोत पनि यिनै हिमाल, पहाड र तराईका जंगलहरु नै हुन् । तराईको घनाजंगलहरुलाई आफ्नो बासस्थान वनाएर बसेका एकसिंगे गैँडाहरु, हात्तीहरु, अर्नाहरु, हरिण र मृगहरु संसारमै प्रख्यात छन् । जलजन्तुहरुमा बबई नदीमा पाइने गोहीहरु र कर्णाली नदीमा पाइने डल्फिन माछा धेरै प्रख्यात छन् । माछा र अन्य पानीमा पाइने जीवहरुको कुनै साँधी नै छैन, यति धेरै प्रजातिका छन् कि नेपालमा अझै अनुसन्धान गर्न पुगेको छैन । नेपाललाई प्राकृतिले नै यति धेरै सुन्दर, शान्त र विशाल वनाएको छ कि संसारका पर्यटकहरु नेपालको दृश्यावलोकन गरेर मन्त्रमुग्ध हुन्छन् । कति ठाउँहरुमा विदेशी पर्यटकहरुको मुख खुलाको खुलै हुन्छन् र आँखा खोलेको खोलेकै रहन्छन् । अनेक प्रजातिका जानवरहरुले आफ्नो बासस्थान वनाएको यस्तो सुन्दर वन जंगललाई नेपाल सरकारले जोगाउन सकेको छैन । विगतको तीन दशकभित्र चारकोशे झाडीको नामले प्रख्यात जंगल सखाप भएको छ । तराईको घना जंगललाई काटेर मानिसहरुले बसोबास गरेका छन् र खेतीपातीदेखि लिएर उद्योगधन्दा चलाएका छन् । तराईमा भएको तीव्र सहरीकरणले खेतीपातीका लागि योग्य जमिन र वन्यजन्तुले आफ्नो बासस्थान बनाएको जंगलहरु मासिएका छन् । नेपाल सरकारले घना जंगलको केही भागलाई वन्यजन्तु आरक्षणहरु वनाएर वन्यजन्तुहरुको बासस्थानहरु र उनीहरुले पिउने पानी र घाँसको खोजीमा यात्रा गर्ने मार्गहरुलाई संरक्षण गरेको छ । कोशीटापु, पर्सा वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, इत्यादि तराइका संरक्षित जंगलहरु हुन् । त्यस्तै गरी हिमाल पहाडमा पनि राष्ट्रिय निकुञ्जहरु छन् जसबाट जमिन, जंगल र जन्तुहरुको संरक्षण भएका छन् । कञ्चनजंघा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, ढोरपटन सिकार आरक्षण आदि पर्दछन् । केही वर्षअगाडि मात्रै गौरीशंकर हिमाल आसपासको क्षेत्रलाई समेटेर नयाँ निकुञ्ज बनाइएको छ । हिमाली भेगमा कस्तुरी मृगहरु र रेडपान्डाहरु पाइन्छन् । ढोरपाटनको जंगलमा नाउरको सिकार खेल्नका लागि विदेशीहरु नेपाल आउने गरेका छन् । प्रकृतिको सुन्दर रचना नेपाल राष्ट्रको केही नेपाली जनता र नेपाली जनताकै माझबाट निस्केका नेताहरुले विकासको नाममा विनास गर्दै लगेका छन् । वन्यजन्तु आरक्षणका लागि बनेका राष्ट्रिय निकुञ्जभित्रै पसेर खागका लागि गैँडाहरु मार्ने, दाँतका लागि हात्तीहरु मार्नेदेखि लिएर मासुका लागि अन्य जन्तुहरुको चोरी सिकारी गर्नेसम्मका घिनलाग्दो गतिविधिहरु हुने गरेका छन् र त्यस्ता गतिविधिहरुलाई नेपाली सेनाको निगरानीबाट समेत रोक्न सकिएको छैन ।
सुन्दर सात तालहरुको पोखरा उपत्यकामा जलले भरिएका केही तालहरु अहिले मानिसहरुको अतिक्रमणले गर्दा नामनिशाना छैन भने पोखरा सहरको मुटुमै बसेका फेवातालको समेत मानवीय अतिक्रमणले गर्दा बिजोग भइसकेको छ । उता रुपाताल र बेगनासतालको दुर्गति पनि नराम्रोसित बढेको छ । नेपाल राष्ट्रको संघीय राजधानी काठमाडौंमा नै उहिले कञ्चन पानीले भरिएर बग्ने नदीहरुको अहिले नाम निशाना छैन । साना सामाकोसी र टुकुचा खोलाजस्ता नदीहरु मानवीय अतिक्रमणमा परी सहरी ढलमा परिवर्तन भइसकेका छन् भने वागमती, विष्णुमती, रुद्रमती अर्थात धोबी खोला, मनहराजस्ता नदीहरु काठमाडौं उपत्यकाका तीन सहरहरुको ढल र मानव मलले भरिएर पुरिएका छन् । प्रकृतिले गरगहनाको रुपमा दिएकी नदीहरुको यो गति भएको छ भने सुन्दर टीकाझैँ देखिने कञ्चन पिउने पानीले भरिएका तालहरुको दुर्गति दिनदिनै बढेको बढेकै छ । अहिले चर्चा चलेको रारा ताल र त्यसको वरिपरि भएका जंगल र जमिनहरुको पनि उचित संरक्षण गर्न अहिलेबाट सुरु गरिएन भने निकटभविष्यमा नै नेपालका अन्य तालहरुको जस्तै दुर्गति भोग्नु पर्ने निश्चित भएको देखिन्छ । जुन जंगलहरु, तालहरु र नदीहरु अनि त्यसलाई आफ्नो बासस्थान बनाएर बसेका जन्तुहरु हेर्नकै लागि संसारभरबाट पर्यटकहरु नेपाल आउने गरेका छन् त्यसलाई नै मूर्ख बुद्धि भएका केही नेपालीहरुले विनाश गर्ने काम गरेका छन् । घरजग्गाका दलालहरुले नदीहरुका किनारमा भएका जग्गाजमिनहरु, तालहरुका वरिपरि भएका जमिन र जंगलहरु दर्ता गरी बेचेर खाने वा मास्ने धन्दालाई आफ्नो नाफाखोर व्यवसाय बनाएका छन् । जसको कारणबाट सुन्दर, शान्त र विशाल नेपाल झन्झन कुरुप बन्दै गएको छ ।
नेपालमा धर्मको खम्बा र आस्थाको केन्द्रको रुपमा रहेका धेरै मठमन्दिरहरुका जग्गाजमिनहरु पनि तिनै नाफाखोर घरजग्गाका बिचौलियाहरुको चपेटामा परी मासिँदै गएका छन् । यस्तो राष्ट्रकै विनास गर्ने व्यवसायमा दलहरुका राजनीतिक कार्यकर्तादेखि लिएर नेताहरुसमेत लागेका छन् । तीन दशकदेखि दलहरुको नेतृत्वमा बनेको र चलेको नेपाल सरकारले टाढाको के कुरा संघीय राजधानीको मुटुमा नै रहेको बालाजुको रानीवनको जंगल र जमिनको समेत संरक्षण गर्न सकेको छैन । त्यो रानीवन आजभोलि ओशो तपोवनदेखि लिएर स्थानीय घरजग्गाका नाफखोर दलालहरुको अतिक्रमणमा परी सानो भएर खुम्चिँदै गएको छ । नेपाल सरकारले काठमाडौं सहरको छातीबाटै बग्ने उहिलेका सुन्दर नदीहरुको संरक्षण गर्न सकेको छैन भने उक्त नदीहरुलाई अतिक्रमण मुक्त पार्नका लागि कुनै सरकारी नीति वा कार्ययोजना बनाएर अगाडि बढाउने कामसमेत भएको छैन । नेपालमा नाफाखोर दलाल व्यापारीहरु र व्यवसायीहरुले आकाश र पातलको पनि अतिक्रमण गर्न थालेका छन् । छिमेकीहरुको घाम, पानी र हावा नै थुन्ने गरी नेपालका सहरहरुमा अग्ला भवनहरु बनाउनका लागि नेपाल सरकारका निकायहरुले अनुमति दिएका छन् । सहरमा कति माथिसम्म आग्लो घर बनाउन सकिने भन्नेबारे वैज्ञानिक मापदण्ड निर्धारण गरी तोकिएको छैन । जसलाई जति मन लाग्छ निर्माण स्थल वरपरको वातावरणलाई ख्यालै नगरी उत्ति नै अग्लो घर बनाउन सकिने गरी अनुमति दिन्छन् । आकाशमा यस्तो अतिक्रमण बढेको छ भने पातलको पनि अतिक्रमण बढाएका छन् । जमिन मुनीको पानी प्रवाह र अवस्थामा दूरगामी र परिपूर्ति गर्न नसकिने खालको प्रभाव पर्ने गरी पातालमा निर्माण गर्न सकिने गरी अनुमति सरकारी निकायहरुले दिएका छन् । उदाहरणका लागि नक्सालमा हाल निर्माणको अन्तिम चरणमा पुगेको अग्लो पाँचतारे होटललाई लिन सकिन्छ । वरिपरि खाली जग्गा केही पनि नराखेको यो होटलले सडक नै ढाकेर नक्साल भगवतीजस्तो पौराणिक मन्दिरलाई प्रभावित तुल्याएको छ । उक्त होटेलले जमिनमुनी पनि तीन तला बनाएको छ जसले गर्दा जमिन मुनीको वातावरणमा पूर्ति गर्न नसकिने दीर्घकालिन असर परेको छ । नेपालमा हाल बनेका अग्ला घरहरुमा आगो लागेमा उक्त आगो समन गर्नका लागि अग्नी नियन्त्रण क्षमता विकास गरिएको छैन । पाँचतारे होटलहरुको लागि आवश्यक खानेपानीदेखि लिएर ढल निकासको समेत उचित व्यवस्था गरिएको छैन । भिडभाड बस्तीहरु भएको आवसीय क्षेत्रमा वनेका यस्ता पाँचतारे होटेलहरुले सहरको वातावरणीय समस्यलाई झनै चर्काइदिएका छन् । यस्ता नीतिगत गल्तीहरुले गर्दा नेपालमा मानवीय जोखिम बढेको छ । नेपाललाई प्राकृतिले सुन्दर, शान्त र विशाल बनाएको भए पनि मानव निर्मित संरचनाहरुले कुरुप बनाउँदै लगेको छ । त्यसैले प्राकृतिमाथिको मानवीय हस्तक्षेपलाई वातावारणमैत्री बनाउन सकिएन भने मानवीय जोखिम बढ्दै जाँदा त्यसको रोकथाम गर्न नसकिने भएकाले समय नघर्किँदै सावधानी अपनाउन नेपाली जनता र नेपाल सरकार सजग हुनु जरुरी छ ।