छोटेराजाहरुको मनपरीतन्त्र

Uncategorized

गणतन्त्र कि गणतन्त्र भन्दै हिँडेका नेताहरु आज उनीहरु नै छोटेराजा बनेर बसेका छन् । हिजो राजा कानुनभन्दा माथि भए भन्दै कराउन नथाक्नेहरु आज जब उनीहरु सत्तामा पुगे तब उनीहरुको जग्जगी चलेको छ । हिजो राजा रहँदा आफू खुसी गर्न नपाएपछि उनीहरु गणतन्त्रको माग गर्दै आएको देखिन्छ । आज मुलुकमा गणतन्त्र आइसकेपछि नेताहरु नै अहिले राजाभन्दा माथिल्लो तहमा पुगेका छन् । मुलुकमा उनीहरुको मनलाग्दी चल्न थालेको छ । हिजो पाँच वर्षसम्म शासन गर्ने कसम खाएकाहरुले आज ताजा जनादेशभन्दै चुनावको माग गर्न थालेका छन् । खासगरी, सरकारले ताजा जनादेश भन्दै चुनावको तानाबाना गरिरहेको छ । जनताले पाँच वर्षका लागि भनेर भनेर पठाएका दलहरुले ताजा जनादेश भन्दै कुर्लनुको कुनै औचित्य छैन । गठबन्धन सरकार भएको बेला विकास निर्माण मात्र नभएर सरकारको अन्य काममा पनि अवरोध आउने भनेपछि जनताले कुनै एक दललाई बहुमत पनि दिए तर यहि बहुमतलाई जोगाउन नसक्नेले ताजा जनादेशको गुड्डी हाँक्नुको कुनै अर्थ छैन । आफ्नै दलका नेताहरुको चित्त बुझाउन नसक्नेले जनताको चित्त बुझाउन नसकेकै हुन् । नेताहरुले आफू असफल भएको महसुस गर्नुको सट्टा जनादेशको खिल्ली उडाउने हो भने योभन्दा अर्को दुर्भाग्य खोज्नै पर्दैन । एकमना सरकारको कल्पना गरेको जनताले एक दललाई बहुमत दिँदा पनि उनीहरुको किचलो मिलाउनु नसक्नु नेताहरुको बेकम्मापन हो ।
वास्तवमा भन्ने हो भने सरकारले मनपरीतन्त्र चलाएपछि दलभित्र नै यसको विरोध भएको थियो । सरकारबाट भएको गलत कामहरुको विरोध गर्दा संसद नै विघटन गर्ने काम भएको छ । साँच्चै भन्ने हो भने मनपरीतन्त्र चलाउन पाइनँ भनेर नयाँ जनादेश भन्नु कुनै पनि हालतमा हुँदैन । जनताले प्रचलित कानुन र संविधानको परिधिभित्र रहेर शासन सत्ता सञ्चालन गर्न भनेका हुन् । तर, मनपरीतन्त्र चलाउन पाइनँ भनेर प्रधानमन्त्रीले नयाँ जनादेशका कुरा गरिरहेको देखिन्छ । जनताले गाँस काटेर तिरेको करबाट तलब भत्ता खाने र फेरि जनताको प्रतिकूल काम गर्ने हो भने यो भन्दा अर्को बेइमानीको उदाहरण पाउन गाह्रो छ । राष्ट्रपतिद्वारा बोलाइएको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीले नयाँ जनादेशको कुरा उठान गरेर देश र जनतमाथि कुठाराघात गरेका छन् । जनताको करबाट तलब भत्ता खाने अनि फेरि जनताको इच्छाविपरीत काम गर्ने हो भने यो त सरासर बेइमान हो ।
नयाँ जनादेशमा जानुपर्ने प्रधानमन्त्रीको कुरामा राष्ट्रपतिले समेत समर्थन जनाएको समाचार बाहिर आएको छ । ठीक छ, दुवै जनाले भनेको नयाँ जनादेशमा सहमत हुन सकिन्छ तर नयाँ जनादेशपछि अहिलेको जस्तो उपद्रो हुँदैन भन्ने के ग्यारेन्टी छ ? नयाँ जनादेशको नाममा प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दै व्यवस्था नै फाल्न खोजेको देखिन्छ । आफ्नो पार्टीभित्र कुरा नमिल्दा प्रतिनिधि सभा विघटन गरेर संविधानमाथि प्रहार गर्दा पनि आज उनकै स्वर ठूलो हुनु विडम्बना नै हो । प्रधानमन्त्रीजस्तो पदमा आसिन व्यक्तित्वले सत्ताभन्दा पनि व्यवस्था महत्वपूर्ण हो भन्ने महसुस गर्नुपर्छ । प्रधानमन्त्रीको सनकका कारण विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना भए पनि आज व्यवस्थामाथि उनीबाट नै अझै संकटमा छ । प्रधानमन्त्रीको नयाँ जनादेशको कुरा गर्ने राष्ट्रपतिले समर्थन गर्नु उचित छैन । नयाँ जनादेशको नाममा जनतालाई उल्लु बनाउन पाइँदैन । मनपरी तन्त्र चलाउन पाइनँ भनेर नयाँ जनादेश भन्ने प्रधानमन्त्रीबाट मुलुकले निकास पाउनै सक्दैन । वास्तवमा भन्ने हो भने अहिलेको समस्या नै स्वयं सरकार हो । प्रधानमन्त्रीबाट संसदीय प्रणालीमाथि खतरा रहेकाले नयाँ जनादेशभन्दा पनि इमानदारिताको आवश्यकता देखिएको छ ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केही नेताहरुले सरकारमा जानका लागि हतार गरिरहेका छन् । लोकतन्त्र भन्नेबित्तिकै जनताको म्यान्डेटअनुसार चल्ने शासन व्यवस्था हो । जनादेशको अपहेलना गर्ने काम भयो भने यसबाट निस्कने फलले देश र जनताको भलो गर्दैन । तर, अहिले जनादेशको अपमान गर्ने काम भइरहेको छ । जनताले पाँच वर्षका लागि भनेर पठाए पनि दलहरुले आफ्नो आन्तरिक कलहका कारण संसद विघटन गरेर मध्यावधि गर्ने काम भइरहेको छ । जनताले पाँच वर्ष शासन सत्ता सञ्चालन गर्न भने पनि जनताको म्यान्डेटलाई बिर्सेर मनपरी गर्ने काम नेताहरुबाट भएको छ । आफू मात्र ठीक, अरु सबै गलत भन्ने अहंता नेताहरुमा पलाएको छ । त्यत्ति मात्र होइन, कि सरकारमा गएपछि नैतिकतालाई नै गिराएर टिक्नुपर्छ भन्ने सोचाइ नेताहरुमा देखिन्छ । नेताले देशै बेचे पनि चुनावको बेला नेताको जयजयकार गर्न छाड्दैन भन्ने उखान अहिले नेपालमा चरितार्थ भएको छ ।
नेता भएपछि सरकारमा जानै पर्ने र कमाउनै पर्ने सोचाइ विकसित भएको छ । यहि कारण नेताहरुले सरकारमा जानका लागि अनेकौँ हथ्कण्डा मच्चाइरहेका छन् । जनताले नेपाली कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्नू भनेर आदेश दिएका छन् । तर, राजनीतिक तरलताको फाइदा उठाउँदै सरकारमा जाने हतारो गरिरहेको छ । प्रधानमन्त्री बन्नका लागि जनादेशको ख्याल नगर्दा आगामी दिनमा कांग्रेसका लागि चुनौती हुन सक्छ । त्यसैले प्रधानमन्त्रीका लागि दौरा–सुरुवालमा आइरन गर्ने यो बेला होइन भनेर कांग्रेसले बुझ्नुपर्छ । वास्तवमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने वातावरण बनिसकेको छैन । यस्तो बेला पनि कांग्रेसका केही नेताहरु सरकारमा जानका लागि लालायित देखिएका छन् । वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहे पनि यो कांग्रेसले हतार गर्नु हुँदैन । परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि कांग्रेस पछि हट्न नहुने भए पनि यो बेला यसका लागि हामफाल्नु पर्ने समय आएको छैन ।
जनताले प्रतिपक्षको जिम्मेवारी दिइसकेको हुनाले वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस अघि बढ्नु अनुत्पादशील हुन सक्छ । नयाँ सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण गरेर मात्र होइन, जनताको भावना बुझेर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । जनताले दिएको प्रतिपक्षको जिम्मेवारी पूरा गरेपछि मात्र उ जनतामा जानुपर्छ । सत्ता चलाउन नेपाली जनताले एमाले र माओवादीको गठबन्धनलाई दिएको भए पनि त्यो म्यान्डेट खण्डित भइसकेको अवस्था छ । अहिले नै कांग्रेस सत्तामा गयो भने अबको चुनावमा जनताको अगाडि कुन मुद्दा लिएर जाने ? यसबारे कांग्रेसले गम्भीर भएर सोच्नुपर्छ । यो हतारोका कारण चुनावी मुद्दा नै भएन भने देश र जनताका लागि निक्कै घाटा हुन्छ । अबको चुनावमा कांग्रेसले बहुमत ल्याएर पूरै पाँचवर्ष शासन सत्ता चलाएर देश र जनताको पक्षमा काम गर्ने सपना देख्नुपर्छ ।
तर, सरकारको पछिल्लो हैकमवादीलाई अन्त्य गर्नका लागि भए पनि सरकार परिवर्तन आवश्यक देखिएको छ । सत्तारुढ दलका अध्यक्षले आफ्नै पार्टीभित्र अराजकता निम्त्याउन थालेको देखिन्छ । उनका वरिपरि बस्नेहरुले अध्यक्षलाई देवत्वकरण गर्नेभन्दा अरु केही गरेका छैनन् । अध्यक्ष नै प्रधानमन्त्री भएपछि सत्ताको केही न केही भाग आफ्नो हातमा लाग्ने भएपछि उनीहरुले अध्यक्षलाई यत्ति उचालेको देखिन्छ कि भोलि केही गरी खस्यो भने टिप्ने पनि रहने देखिएको छैन । उनले वास्तवमा आफूलाई हिटलर प्रमाणित गर्न खोजेको देखिन्छ । उनी पार्टीमा सर्वैसर्वा भएका छन् । यत्तिसम्म पनि अब आफ्नो पार्टीमा हिटलर बनेको झोँकमा मुलुकमाथि पनि जाइलग्दैनन् भन्ने केही छैन । हुन त उनले राज्यको हरेक तह र तप्कामा उनको आक्रमण सजिलै देख्न सकिन्छ । विवादस्पद काम गर्नेहरुलाई आफ्नै पक्षबाट तुरुन्तै सफाइ दिने काम गरेका छन् । यत्तिसम्म कि संवैधानिक निकायमा आफूखुसी नियुक्ति गरेर देश र जनतामाथि कुठाराघात गरेका छन् ।
सत्तारुढ दलका अध्यक्ष नै प्रधानमन्त्री भएकाले उनले कुनै पनि दिन राज्यमाथि नै धावा बोल्ने सम्भावना बढेर गएको छ । त्यसैले कांग्रेसले अरुलाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि प्रधानमन्त्रीको विकल्प खोज्नुपने देखिएको छ । उनकै कारण देशमा राजनीतिक अन्योलता बढेको देखिएको छ । आफैँ संसद विघटन गर्ने र पछि त्यहि संसदमा प्रधानमन्त्रीकै हैसियतमा जाँदा लाज नलाग्ने व्यक्ति खतरापूर्ण हुन सक्छ । आफूले विघटन गरेको संसद पुनस्र्थापना हुँदा आफैँ बलियो भएँ भनेर अघि बढ्नेबाट जे पनि हुन सक्ने हुनाले अब अनय दलहरुले उनको विकल्प खोज्नुपर्ने देखिन्छ । अन्यथा उनको दलभित्र देखाएको हिटलर शैली यता पनि पोखाउन सक्छन् । त्यसलाई अन्त्य गर्न सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने भएको छ । खासगरी यो काममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अघि बढ्नुपर्ने भएको छ । उनको शैलीलाई रोक्नका लागि नेतृत्व जो जस्ले लिएरै भए पनि उनको विकल्प दिनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *