कोरोना फैलिँदै, भिडभाड बढ्दै

राजनीति

काठमाडौं– छिमेकी देश भारतमा कोरोना तीव्र गतिमा बढेसँगै नेपालमा पनि यसको असर नपर्ला भन्न सकिँदैन । दिन प्रतिदिन कोरोना रोगले धेरै नेपालीहरू बिरामी भएको समाचारहरू पत्रपत्रिका र टेलिभिजनहरूमा हामी देख्न र सुन्न सक्छौँ । वास्तवमा कोरोना रोगले नेपालमा पनि बढी संकमण फैलिएला भन्ने आम नेपाली जनताहरूमा त्रास फैलिएको छ र अहिले सहरको गतिविधि र भिडभाड हेर्दा कोरोना नफैँलिएला भन्न सकिँदैन ।
अहिले सार्वजनिक यातायातमा यात्रुहरू बिहान–बेलुका कोचाकोच गरेर यात्रा गरिरहेका छन् । कतिपय नागरिकले मुखमा मास्क पनि लगाएको देखिँदैन । अहिले विभिन्न सार्वजनिक स्थलहरूमा पनि भिडभाड बढेकै देखिन्छ । मठमन्दिर, पाटीपौँवा, चिया पसल, साना भट्टीदेखि ठूला–ठूला बार, रेस्टुरेन्टहरूमा पनि मान्छेहरूको बाक्लो भीड लागेको देखिन्छ ।
यी सबै दृश्यले नेपालीहरूले पनि कोरोनाको वास्ता नगरेको देखिन्छ । विभिन्न कलेजका छात्र–छात्राहरूले मास्क लगाएको देखिँदैन, यस कारणले गर्दा आम नेपालीलाई कोरोना नलाग्ला भन्न सकिँदैन । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेबाट लकडाउन गरिएको थियो । लकडाउनको कारणले गर्दा आम नेपालीहरूले रोजगारी गुमाउनु परेको थियो । यसैको कारणले गर्दा मानिसहरूले कोरोनाको बारेमा ध्यान नदिएको देखिन्छ । बल्ल–बल्ल खोलिएका प्राइभेट बैंक, सहकारी संस्थाहरू, होटलहरू, पर्यटक क्षेत्र, लाखौँ–लाखको क्षति ब्यहोरेपछि बल्ल खुलेर बामे सर्न लागेका उद्योग, कारखानाहरू फेरि बन्द हुने हो कि? भन्ने त्रासमा नेपाली बसेका छन् ।
आम नेपाली जनताहरूमा यसरी हेर्दा कोरोनाले तहसनहस पार्ने हो कि भन्ने त्रास पनि फैलिएको छ । सरकार र स्वास्थ्य मन्त्रालयले एक–आपसमा समन्वयकारी भूमिका खेल्न सकेको छैन । सरकार भन्छ फेरि लकडाउन गर्ने बारेमा केही सोचेको छैन, अनि स्वास्थ्य मन्त्रालयले भने फेरि कोरोना फैलिँदै छ, नयाँ जातको कोरोनाले अहिले विद्यार्थीहरूलाई असर पार्ने भन्दै केही दिन विद्यालय, कलेज, मठ–मन्दिर, सभा–सम्मेलन गर्न नपाइने निर्णय गरेको छ । विद्यालय, कलेज, यही बैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ । सार्वजनिक यातायातदेखि लिएर सहरको विभिन्न क्षेत्रहरूमा भीड अहिले पनि उस्तै छ ।
धेरै नेपालीहरूले पहिलो लकडाउनका बेलामा रोजगारी गुमाएका थिए । अहिले पनि फेरि आफ्नो रोजगारी गुम्ने हो कि ? भन्दै छट्पटाइरहेका छन् । तर, यातायात व्यावसायीले यात्रुहरू कोचाकाच गरेको देखिन्छ । रेस्टुरेन्टमा पनि भिडभाड उस्तै छ । तरकारी पसलदेखि फलफूल पसल, कपडा पसल, बर्गर हाउस, क्याफे, रेस्टुरेन्टहरू, मम पसलहरू, चिया पसल, न्युरोड, असन, इन्द्रचोक, बानेश्वर चोक, चाबहिल चोक, गौशाला, कोटेश्वरजस्ता घना बस्तीहरूमा भिडभाड कायम नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *