लापरबाही र स्वार्थको कारण भयावह हुँदै कोरोना महामारी

सम्पादकीय

सम्पादकीय

कोरोना भाइरसले स्वरूप परिवर्तन गरेसँगै कोरोना महामारीले विश्वव्यापी रूपमा भयावह रूप धारण गर्दै गएको छ । कोरोना महामारीले भयावह रूप धारण गरेसँगै यो महामारीको गम्भीर चपेटामा छिमेकी भारत परिराखेको छ र भारतमा अहिले कोरोना महामारीबाट संक्रमित भएका बिरामीहरू अक्सिजनको अभावले समेत ठूलो संख्यामा मरिराखेका छन् । कोरोना महामारीले भारतलाई खतरनाक हैसियतमा पुगेर आफ्नो चपेटामा लिइरहँदा सम्पूर्ण सीमा खुला भएको नेपालमा पनि त्यसको असर त्यही अनुपातमा परिराखेको छ । खास गरेर कामका लागि भारत जाने पश्चिमका नेपाली जनताको प्रमुख नाका रहेको नेपालगञ्ज र भैरहवा क्षेत्रलाई अहिले कोरोना महामारीले अत्यन्त खतरनाक ढंगले गाँजिराखेको छ । सिमानामा यो महामारीका सम्बन्धमा सरकारी सुरक्षाकर्मीले गम्भीर परीक्षण नगरी निर्वाध रूपमा नागरिक नेपाल प्रवेश गर्न दिएको कारणले गर्दा कोरोना महामारी यो क्षेत्रमा भयावह रूपमा फैलिराखेको हो र यसरी फैलिएको कोरोना महामारीले सम्पूर्ण मुलुकलाई नै आफ्नो चपेटामा लिने खतरा बढिराखेको छ । तर, यो गम्भीर खतराप्रति न त राज्य गम्भीर भएको देखिएको छ । न त जनता नै । सुदूरपश्चिममा महामारी बढेसँगै नेपालगञ्जको सुशील कोइराला अस्पतालका ९० प्रतिशतभन्दा बढी चिकित्सक यो महामारीको संक्रमणमा परिसकेका छन् भने नेपालगञ्जका सबै अस्पतालका चिकित्सकले यसैगरी कोरोना संक्रमितको संख्या बढिरहे अस्पतालले थाम्न नसक्ने चेतावनी पनि दिएका छन् ।
दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिँदा गत वर्षको चैत ११ गतेबाट सरकारले मुलुकलाई नै लकडाउन गरेको थियो । र, लकडाउन गरेसँगै सबैतिरका सीमासमेत सिल गर्दै हवाई यातायातलाई समेत बन्द गरेको थियो । तर, अहिले यो महामारीबाट ३२ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसक्दा पनि र हजारौं व्यक्ति संक्रमित भइसक्दा पनि तथा आगामी दुई महिना यो महामारीको कारण थप भयावह स्थिति आउने चिकित्सकले चेतावनी दिँदा पनि सरकारसँगै आम जनताले समेत यो महामारीप्रति गम्भीरतापूर्वक लिएको अहिलेसम्म देखिएको छैन । यो महामारीलाई ध्यानमा राखेर सरकारले २५ जनाभन्दा बढी व्यक्तिलाई भेला नहुन निर्देशन दिएको छ । तर, प्रधानमन्त्री स्वयं नै ठूलो भिडभाड गरेर राम–सीताको मूर्तिलाई बिदाई गर्नेदेखि धरहराको उद्घाटनसमेत गरिराखेका छन् । यसैगरी यो महामारी खतरनाक ढंगले अगाडि बढिराखेको अवस्थालाई नजरअन्दाज गर्दै क्रिकेट र फुटबल प्रतियोगिताको नाममा मानिसहरू भेला पारेर तमासा देखाउने काम पनि भइराखेको छ ।
निरन्तर रूपमा बढी राखेको कोरोना महामारी आगामी दुई महिनामा थप भयावह हुने चेतावनी स्वास्थ्य विशेषज्ञले दिइराखेका छन् । तर, यो चेतावनीलाई गम्भीरतापूर्वक लिएर कोरोना नियन्त्रण गर्ने गरी सरकारबाट कुनै पहल अहिलेसम्म भएको छैन । यसैगरी यो महामारीप्रति आम जनताले समेत गम्भीरतापूर्वक लिएको देखिँदैन । कोरोना महामारी नियन्त्रण गर्ने ठोस औषधि र खोपको निर्माण भइनसकेको अवस्थामा यो महामारीलाई नियन्त्रण गर्न सामाजिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने अनिवार्य अवस्था रहेको विश्व स्वास्थ्य संगठनले समेत आफ्नो निर्देशनमा उल्लेख गरेको छ । तर, विश्व स्वाथ्य संगठनले यो महामारी नियन्त्रण गर्न जारी गरेको निर्देशनलाई नेपाल सरकारले भने केही व्यापारी र व्यवसायीको स्वार्थमा परेर लागू गर्नेतिर अहिलेसम्म गम्भीरता देखाएको छैन । स्वास्थ्य मन्त्रालय र सिसिएमसीले कोरोना महामारीको उच्च चपेटामा परेको भन्दै १४ वटा जिल्लाका शैक्षिक संस्थालाई बन्द गर्न सुझाव दिँदा पनि निजी क्षेत्रका विद्यालय सञ्चालकहरूको दबाबको कारण ती जिल्लाहरूमा ठूलो दबाबपछि अनिच्छापूर्वक मात्र सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो भने कोरोना महामारीलाई नियन्त्रण गर्न व्यापारी र व्यवसायीको स्वार्थकै कारण सरकारले थप कदम चाल्न आनाकानी गरिराखेको छ । सरकारको यो आनाकानी र आम जनताको लापरबाहीको कारण आगामी दिनमा कोरोना महामारी नेपालमा भयावह रूपमा फैलिने खतरा देखिन थालेको छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *