कर्मचारीको डेटिङ काण्ड घ्याम्पेडाँडाको लाई मुद्दा, स्वयम्भूवालालाई छुट

प्रशासन

काठमाडौं । काण्ड उही, ठूलालाई उन्मुक्ति, सानालाई मुद्दा । प्रसंग हो सरकारी नम्बर प्लेटको गाडीमा चढेर मस्ती गर्ने कर्मचारीहरूको ।
गत जेठमा लकडाउन र निषेधाज्ञा चलिरहँदा सरकारी गाडी चढेर स्वयम्भू पुगेर डेटिङमा लिप्त थिए रोशन श्रेष्ठ । उनी सहरी विकास विभागअन्तर्गतको नयाँ सहर आयोजना प्रमुख, सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग निषेधाज्ञा उल्ल्घन गर्दै सरकारी गाडी चढेर स्वयम्भूमा प्रेमालाप गर्न पुगेका । उनी प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर स्वयम्भूमा युवतीसँग ‘डेटिङमा पुगेका थिए । उनै उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले कारबाही प्रक्रिया अघि बढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्यो । गृहको पत्रअनुसार सिडियो कार्यालय काठमाडौंले यो घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समिति बन्यो । समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलायो र सोधपुछ ग¥यो । गृहले निषेधाज्ञा उल्लंघन भए वा नभएको जाँचबुझ गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको थियो र उल्लंघन भएको भए सोहीअनुसार कारबाही गर्न भनेको थियो । तर, छानबिन समितिले जाँचबुझ गर्दा उनीहरूले पास लिएरै हिँडेको देखिएको हुँदा निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष निकालेको छ । सो समितिका सदस्यका अनुसार, श्रेष्ठले चलाएको सो प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास सहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएका कारण निषेधाज्ञा भने उल्लंघन नभएको निष्कर्षमा समिति पुगेको हो । उनीहरूले दुवैले समितिलाई बयान दिए स्वयम्भूमा पूजा गर्न गएको । स्वास्थ्य संस्थाको इस्टिमेट तयार पार्न गएको र काम सकिएपछि स्वयम्भू दर्शन गर्न र मन्दिरमा पूजा सामग्री चढाउन गएको बयान दिएका थिए । गृहका उपसचिवलाई प्रभावमा पारेर उनीहरू दुवैले यो प्रकरणमा उन्मुक्ति पाए । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन गर्न समितिले उनीहरूलाई उन्मुक्ति दियो । त्यसपछि त्यो घटना त्यत्तिकै सामसुम भयो ।
सहरी मन्त्रालयका विवादास्पद सचिव रमेश सिंहलाई प्रयोग गरेर उनी सो कार्यालयका हाकिम बन्न पुगेका हुन् । सह सचिवको पोष्टिङ हुने ठाउँ भए पनि त्यहाँ उपसचिवलाई खटाइएको छ ।
यो घटना सेलाउन नपाउँदै भक्तपुरको घ्याम्पेडाँडामा उस्तै प्रकृतिको नयाँ काण्ड आएको छ । सरकारी गाडी लिएर महिला बालबालिका मन्त्रालयका एक ड्राइभर मध्यराति घ्याम्पेडाँडामा सरकारी गाडीभित्रै यौन क्रियाकलापमा लिप्त रहेको अवस्थामा रंगेहात पक्राउ परे । उनीसँगै गाडी चालक पनि पक्राउ परे । दुवैले एक युवतीमाथि यौन गतिविधि गरिरहेको अवस्थमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि छानबिन सुरु भयो । छानबिनका क्रममा सेतो नम्बर प्लेटको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको खुल्यो । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक र खरिदार रहेछन् । पक्राउ पर्नेमा मन्त्रालयका खरिदार ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय चालक शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला रहेकी छन् । अनुसन्धानका क्रममा युवतीले आफूले राति ११ बजे लिफ्ट मागेको । र, लिफ्ट पाएपछि गाडी चढेको अनि गाडीमा सवार हुने क्रममा सहमतिमै दुवैजनासँग यौनसम्बन्ध राखेको बयान दिएकी छन् । सहमतिमै यौनसम्बन्ध भएको बयान दिए पनि उनीहरू उपर जिल्ला अदालतमा मुद्दा चलाइएको छ । दुवैमाथि मुलुकी अपराध संहिता ऐन, ०७४ को दफा १२३ अनुसार सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने महल (१) नम्बरको कसुर चलाइने भनिएको छ । स्वयम्भू र घ्याम्पेडाँडाको उक्त गतिविधिमा संलग्नमध्ये निषेधाज्ञा उल्लंघन गर्ने उपसचिव रोशन श्रेष्ठलाई छुट दिइएको छ भने मध्यरातमा यौन क्रियाकलापमा सरकारी गाडीभित्र लिप्त खरिदारलाई मात्रै मुद्दा चलाइनुले ‘नेपालको कानुन दैव जानुन’, ‘ठूलालाई चैन सानालाई ऐन’ भने झैं भएन र ? भन्दैछन् कर्मचारीहरू चाहिँ
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *