कांग्रेस उम्मेदवारीमा देखिन थाल्यो प्यानल

राजनीति

सरकारको नेतृत्व गरी राखेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन अब आगामी मंसिर ९ गतेबाट हुने निश्चित भएको छ । आगामी मंसिर ९ गतेबाट हुने महाधिवेशनका लागि तय भएको समयतालिकाअनुसार वडा तहको कमिटीको गठन केही जिल्लामा छोडेर निर्वाचन प्रक्रियामार्फत गठन भइसकेको छ । यसरी महाधिवेशनको प्रक्रिया अगाडि बढेसँगै केन्द्रीय नेताहरुको बीचमा नेतृत्वमा पुग्ने होडबाजीसमेत चल्न थालेको छ । केही दिन अगाडिसम्म १४औँ महाधिवेशनबाट पार्टीलाई नेतृत्व दिन सभापति हुने आकांक्षा राखेर आधा दर्जनजति कांग्रेसी नेताहरुले चुनावी मैदानमा उत्रने उद्घोष गरेका थिए भने महाधिवेशनको प्रारम्भका रूपमा वडा तहको कमिटी गठनका लागि निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै युवा पुस्ताबाट महामन्त्रीको लागि उम्मेदवारी दिनेको होड पनि लाग्न थालेको छ ।
यस क्रममा गगन थापाले सबभन्दा पहिले औपचारिक रूपमा आगामी महाधिवेशनमा महमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । यसैगरी सहायक महामन्त्री प्रकाश शरण महतले उपाध्यक्ष अथवा महामन्त्रीमा उम्मेदवारी दिने उद्घोष गरिसकेका छन् । कांग्रेसमा अहिले प्रवक्ताको जिम्मेवारी सम्हालिराखेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसमा युवा पुस्ताको नेता भनेर परिचय बनाएका प्रदीप पौडेलले पनि आगामी मंसिरमा हुने १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको छन् । यसैगरी डा. मिनेन्द्र रिजालले पनि आगामी महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने दाबी पहिले नै गरेका छन् । समाचार सूत्रका अनुसार १३औँ महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा यो पटक भने गुट परिवर्तन गर्दै रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् भनिन्छ । यसैगरी प्रवक्ता विश्वप्रकाश शर्मा भने शेरबहादुर देउवा प्यानलबाट नै महामन्त्रीमा उम्मेदवारी दिँदैछन् भनिन्छ । तर, यस सम्बन्धमा सभापति देउवाबाट भने कुनै प्रतिक्रिया सार्वजनिक रूपमा आएको छैन । प्रदीप पौडेल भने कृष्ण सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा लागेको बताइन्छ । यसैगरी मिनेन्द्र रिजालले भने शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिराखेका छन् भनिन्छ ।
अहिलेसम्म मौन बसेका र १३औँ महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका कृष्ण सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको संशोधित विधानअनुसार कोषाध्यक्षबाहेकका सबै पदाधिकारीको चयन निर्वाचन प्रणालीबाट हुने व्यवस्था भएको छ । र, अहिलेसम्म संस्थापना पक्षबाट सभापतिमा प्रधानमन्त्री देउवासँगै उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने निश्चित भएको मानिन्छ । यसैगरी देउवा पक्षकै अर्का नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने दाबी गर्दै आएका छन् । संस्थापनइतर पक्षबाट भने सभापतिमा उम्मेदवारी दिनका लागि भनेर रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह उत्सुक रहेका छन् । सभापतिका लागि पहिलो चरणमा उम्मेदवार जति जना भए पनि निर्णय भने दोस्रो चरणको निर्वाचनले मात्र गर्ने स्थिति रहेको छ । किनभने नेपाली कांग्रेसको विधानअनुसार कांग्रेसको सभापतिमा विजयी हुनका लागि ५० प्रतिशत मत कटाउनु पर्दछ । र, धेरै जना उम्मेदवार हुँदा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउने सम्भावना देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *