नेपाल र नेपालीको भविष्य बिगार्दै दलहरू

Uncategorized

दलका नेताहरू बेला बखतमा दिगो विकासको भाषण छाँट्ने गर्दछन्् । नेपालको प्राकृतिक स्रोतसाधनहरूमा भविष्यका नेपाली जनता अर्थात् तपाईं हाम्रै सन्ततीहरूको पनि समान अधिकार हुन्छ । त्यसैले नेपालको प्राकृतिक स्रोत–साधनहरूको उपभोग गर्दा भविष्यका सन्ततीहरूको अधिकारलाई पनि ध्यान दिनुपर्छ । दलका नेताहरूले नेपालको नदीनालाहरू, वनजंगलहरू, जग्गाजमिनहरू र जनशक्तिहरूलाई जथाभावी हिनामिना गर्दै आएका छन्् । नेपाली कांग्रेसले गण्डक र कोशी बेच्यो भनी आरोप लगाउनेहरूले नै सत्तामा पुगेपछि अन्य नदीहरू पनि भटाभट बेचेका छन्् । त्यतिले पनि नपुगेपछि चुरिया शृंखलाको ढुंगामाटोसमेत उत्खनन् गरी बेच्ने काम दलहरू मध्यकाले नै गरेका छन्् । सत्तामा नपुगुन्जेल विदेशी सेनामा नेपालीलाई भर्ती गर्नु हुन्न र नेपालमा सञ्चालित सबै भर्तीकेन्द्रहरू बन्द गरिनुपर्छ भनी माग गर्ने दलहरूले नै सत्तामा पुगेपछि वैदेशिक रोजगारीको नाममा मानवतस्करीको धन्दा नेपालमा चलाएका छन् । यस्ता डबलपाटे नेताहरूकै कारण नेपाल संसारभर भ्रष्टाचारीहरू र अपराधीहरूको मुलुक हो भन्ने नयाँ पहिचान बनेकाले बद्नाम भएको छ । उहिले वीर गोर्खाली र शेर्पाहरूको देश भनेर चिनिएको नेपाललाई दलहरूले भ्रष्टाचारीहरू र अपराधीहरूको मुलुक भन्ने नयाँ पहिचान दिएका छन् । यस्तो स्थितिमा पुगेको नेपालको विकासलाई विकास नभनेर विनास भन्न सुहाउने भएको छ । दलहरूले नेपालमा गरेको भनिएको हालको विकास दिगो विकासको सिद्दान्तअनुसार पटक्कै छैन । यस्तो बिना योजना राजनीतिक निर्णयबाट गरिएको हचुवाको विकास भविष्यको सन्ततीको के कुरा हामीलाई पनि कुनै काम आउने देखिन्न । दलहरूले मनपरी शासन चलाउन थालेको पनि ३० बर्ष भयो । पञ्चहरूले २७ वर्षमा नै अनेक उद्योगहरू खोलेर देश विकासको जग बसाल्ने मौलिक काम गरी देखाएका थिए । दलहरूले भने पञ्चहरूले खोलेको मौलिक उद्योगहरू बन्द गर्ने र नेपाल राष्ट्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन लिएको वाणिज्य र विकासका नीतिहरू उल्टाउने मात्रै गरेका छन् । दलहरूले अहिले खोलेका उद्योगहरू उद्योग नभएर तिनीहरू रिफिलिङ, रिप्याकिङ र एसेम्बली गर्ने प्लान्टहरू मात्रै हुन् । त्यस्ता उद्योगहरूले नेपाल राष्ट्रलाई आत्मनिर्भर होइन झन् परनिर्भर मुलुक बनाएका छन् । दलहरूले विदेशीको हस्तक्षेप नेपालको राजनीतिमा मात्र होइन विकासमा पनि भित्र्याएका छन् । दलहरूले वैदेशिक रोजगार नीतिलाई अचाक्ली जोड दिनु पछाडिको मुख्य कारण पनि विदेशीको हस्तक्षेप नै हो । नेपालको सस्तो जनशक्ति उपयोग गर्नका लागि सबै विदेशी मुलुकहरू लालयित भएको हुनाले दलका नेताहरूलाई कमिसनको लोभलालचमा पारी दलालहरूमार्फत् नेपाली जनशक्तिलाई वैदेशिक रोजगारीको दुष्चक्रमा पारेका छन् । हुँदा–हुँदा अहिले त्यही वैदेशिक रोजगारी मानव तस्करको रुपमा दलहरूकै संरक्षणमा विकसित भएर झांगिन थालेको छ । स्वरोजगारी वा स्वदेशमै रोजगारी दिने वा दिलाउने नीति दलहरूको छैन, त्यसैले दलहरूले नेपालमा उत्पादनमूलक उद्योगहरू खोल्नको लागि कहिले जोड दिएको छैन । जे–जति उद्योगहरू विदेशीको सिधा लगानीमा दलहरूको पालामा खुलेका छन् तिनीहरू सबै अघि नै भनी सकियो रिफिलिङ, रिप्याकिङ वा एसेम्बलिङ प्रकारका मात्रै छन् । नेपालको विकास चक्रलाई हेर्ने हो भने यो अधुरो वा अपुरो देखिन्छ, किनकी नेपालको विकास चक्रमा उद्योग विकास छैन । त्यहाँ ठूलो खाल्डो छ जुन दलका नेताहरूको ३० वर्ष लामो शासनकालमा बनेको हो । यो उद्योग विकासचक्रमा भएको अपूर्णतालाई पूर्ण गर्नको निमित्त दलका नेताहरूले कुनै ठोस चासो देखाएको छैन । नेपालमा उद्योग विकास नहुँदा नेपाली जनशक्तिलाई वैदेशिक रोजगारीमा नै जान पर्ने बाध्यता छ, त्यो बाध्यता दलहरूले नै जानीजानी विदेशीका दलालहरूसित मिलेर उत्पन्न गरेका हुन् । वैदेशिक रोजगारी कै कारण नेपालमा उद्योग विकास भएन, फलस्वरुप नेपालमा स्वरोजगारी वा रोजगारी पाउन सक्ने कुनै संभावना कहिले बनेन । वैदेशिक रोजगारी परनिर्भर विषय भएकाले कोरोना कालमा निकै प्रभावित भएको देखिन्छ । विदेशी मुलुकहरूका बीच हुने युद्धको बेलामा पनि वैदेशिक रोजगारी प्रभावित हुने गरेको छ । विदेशीको खटनपटन र थिचोमिचो पनि वैदेशिक रोजगारीमा गएकाहरूले खेप्नु परेकै छन् । साथ–साथ सस्तोमा श्रम बेच्नु परेकाले नेपालीहरू कठिन काम गरेर पनि भनेजस्तो मनग्गेपुग्ने गरी पैसा कमाउन सकिरहेका छैनन् । दलहरूले अर्को जोड लगाएको व्यवसाय पर्यटन विकास पनि हो । नेपालको पर्यटन व्यवसायी कोभिड १९ ले तहसनहस पारेको भएता पनि दलहरूले अझैं यो व्यवसायलाई नेपालको विकासको लागि अपरिहार्य मानेका छन् । दलहरूले यो व्यवसायलाई पर्यटन विकास कै नाम दिएर छुट्टै मन्त्री र मन्त्रालय मातहत पर्यटन विकास बोर्ड नै गठन गरी धेरै सरकारी लगानी गरेका छन्, तर उक्त लगानीको प्रतिफल भने निरासाजनक निस्केको छ । नेपाली पर्यटकले विदेशमा गएर गरेको खर्च बराबर पनि नेपालको पर्यटन व्यवसाय वा उद्योगबाट आम्दानी हुने गरेको छैन । दलहरूको प्रयासको वास्तविक यथार्थ र तितो सत्य भनेको यही नै हो । दलहरूले सत्ता आउनुभन्दा पहिले राजा र पञ्चायती व्यवस्थालाई बद्नाम गर्न र नेपाली जनतालाई तत्कालीन सत्ताको विरुद्ध भड्काउनको निमित्त गोर्खा भर्ती केन्द्रहरूको जोडतोडले विरोध गर्ने गरेका थिए । तर, तिनै दलका नेताहरू सत्तामा पुग्ने बित्तिकै छेपारोले रंग फेरेको झै बिलकुलै उल्टो काम गर्दैछन् । गोर्खा भर्ती केन्द्र बन्द गर्नु त कता हो कता उल्टै वैदेशिक रोजगारीको विकासमा लागेका छन् । त्यतिले मात्र पनि चित्त नबुझ्दा दलका नेताहरू मानव तस्करीको सञ्जाल भित्रै छिरी आफैँ मानव तस्करहरूसँग मिलेर आफ्नो भाग्य अज्माउँदै आएका छन् । यस्ता दलका नेताहरूको लागि दिगो विकासको कुनै अर्थ छैन त्यसैले नेपाल राष्ट्रलाई लुट्ने र बेच्नेसम्मका सबै व्यवसायहरूलाई उहाँहरूले विकासै ठानेका छन् । नेपालीको भविष्यको सन्ततीका लागि फोहरमैलाले पुरेको सहरहरू, मानव मलमुत्रबाट दुर्गन्धित बनेर बगेको नदीनालाहरू, वनजंगल मासिएर उजाड बनेको मधेश, पहाड, र हिउँ पग्लिएर कालो बनेको हिमालबाहेक अरु बाँकी राख्ने भएन । नेपाली जनताको भविष्यको सन्ततीको लागि सधैं विदेश धाउनुपर्ने र विदेशीको पाउ नमोली खान नपाइने वा पेट भर्न नपाइने हालतमा विस्तारै लाग्दैछन् । दलहरूले भ्रष्टाचार र अपराध गर्नमा भने ठूलो विकास गरेका छन् । तीनवर्ष सत्तामा बसेको निवर्तमान प्रधानमन्त्री ओलीले नेपाली जनतामाथि ८ खर्ब ऋण बोकाएका छन् । दलहरूकै समयमा नेपाली जनताको परक्यापिटा ऋण ५७ हजार नाघेको छ भने राष्ट्रले देशी–विदेशीलाई तिर्नुपर्ने ऋण १७ खर्ब नाघेको छ । दलहरूले राष्ट्रको नाममा लिएको यत्रो ऋण कता खर्च वा कता लगानी गरेको हो भन्ने कुरा राष्ट्रको आम्दानी वृद्धिबाट पुष्टि हुन सकेको छैन । नेपाल जहिले पनि अल्पविकसित मुलुकमा नै सीमित रहेको छ भने नेपाली जनताको परक्यापिटा आम्दानी पनि बढेको छैन । राष्ट्रले ऋणमा लिएको पैसा सबै भ्रष्टाचारी दलका नेताहरू र कर्मचारीहरूले मिलेर खाएको देखिन्छ । अहिले निवर्तमान प्रधानमन्त्री ओलीको नेतृत्वमा भएको एमाले दल सत्ताबाट बाहिरिएका छन् भने पाँचदलहरूको गठबन्धन सत्तासिन भएका छन् । निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकालमा भएको भ्रष्टाचारलाई देखेपछि पाँचदलका शीर्ष नेताहरू नै चकित भएका छन् । यसै सिलसिला पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आश्चर्य जनाएका छन् । उहाँले भन्नुभएको छ कि उहाँ प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भन्नेहरूले ओलीकालमा भएको भ्रष्टाचारलाई हेरेपछि मात्रै भ्रष्टाचार के हो भनी बुझ्ने छन् । ओली सरकारको ३ बर्षे कार्यकालमा धेरै भ्रष्टाचार भएको विवरणले पूर्व प्रधानमन्त्रीहरू नै चकित भएबाटै प्रष्ट हुन्छ । नेपाली जनताले पूर्व प्रधानमन्त्रीहरूलाई पनि भ्रष्टाचारी मान्छन् त्यसैले उहाँहरूसमेत चकित हुने गरी ओली सरकारको पालामा भ्रष्टाचार भएको कुरा अब दिनको उज्यालोजस्तै प्रकाशित भएको छ । दलका नेताहरू त्यसमा पनि कम्युनिस्ट दलका नेताहरू धेरै बिलासी हुन्छन् भन्नुपर्दा धेरैले चेकस्लोभाकियाका पूर्वराष्ट्रपति चाउचेसकोलाई उदाहरणको रुपमा पेस गर्दछन् । नेपालमा पनि कम्युनिस्ट प्रधानमन्त्री र कम्युनिस्ट राष्ट्रपति अतिबिलासी भएको कुरा प्रकाशमा आएको छ । निवर्तमान प्रधानमन्त्री ओलीको सरकारी निवासमा गरेको वा भएको साजसज्जालाई देखेपछि प्रधानमन्त्री देउवा नै चकित भएका छन् । संसारैबाट डलर खर्च गरी झिकाएर फिटिङ गरिएको साजसज्जालाई देखेर ५ पटक प्रधानमन्त्री भइसकेका शीर्ष नेता देउवाले त्यस्तो के देखेपछि आश्चर्यमा परेका हुन् ? राष्ट्रपति र प्रधानमन्त्रीको लागि करोडौँ बजेट खर्च गरी हेलिप्याड बनाएको देख्दा उहाँहरू गरिब देश नेपालको नेताहरू होइन भन्ने भान पर्नु स्वाभाविक नै हो । राष्टपतिलाई थप हेलिप्याड बनाउनको निमित्त नेपाल प्रहरीको एकेडमीलाई समेत त्यहाँबाट हटाउने प्रयास गरिएको छ । जुन सर्वसाधरणको नजरमा कदापि उचित छैन । १५ मिनटको दूरीमा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानको लागि हेलिकप्टरको सेवा नै किन कम्युनिस्ट राष्ट्रपति र प्रधानमन्त्रीलाई जरुरत परेको हो आम नेपाली जनताले बुझेको छैन वा जानकारी पाएको छैन । प्रधानमन्त्री देउवाले कम्युनिस्ट प्रधानमन्त्री र राष्ट्रपतिको बिलासी जीवनको विरोध भने गरेको छैन । तर, उहाँले त्यस्तो सुविधाको उपयोग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानको लागि उपयोग गर्नु भएको छैन । उहाँले सबैलाई अचम्म पार्दै हालैको विदेश भ्रमण जाने क्रममा भिआइपी पम्प एण्ड सो नगरी सुटुक्क सर्वसाधारण सरह नै निस्केर सबैलाई चकित पार्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारलाई निवर्तमान प्रधानमन्त्री ओलीले पार्टीको कामकाजी कार्यालय पनि बनाउनु भएको थियो भने हाल प्रधानमन्त्री देउवाले पार्टीको कामकाज र भोजभत्तेर बालुवाटारमा नगर्ने प्रतिबद्धता दिनु भएको छ र अहिलेसम्म आफ्नो प्रतिबद्धताअनुसार गर्दै पनि आउनु भएको छ । नेपालमा ‘घाँटी हेरी हाड निल्नुपर्छ’ भन्ने उखान प्रचलित छ । अंग्रेजीमा पनि त्यस्तै ‘मिल्दोजुल्दो कपडा हेरी कोट काट्नुपर्छ’ भन्ने उखान प्रचलित छ । सत्तामा बसेका दलहरूले यही कुरालाई ध्यानमा राखेर राज्यको खर्च वा लगानी गर्नुपर्छ । ‘आफू छ छारोमा खुट्टा छ भाडो’मा दलका नेताहरूले कहिले गर्नु हुन्न । संघीयताको राजनीतिक संरचना राष्ट्रको आयस्रोतले नभ्याउने बनाएको हुँदा नेपाल आन्तरिक वा विदेशी ऋणमा डुब्दै जाने खतरा छ । भविष्यको सन्ततीको अधिकारलाई ध्यानमा राखेर सफा नदीनाला, हराभरा मधेश, पहाड र सेताम्मे हिमाल सदाबहार कायम राख्नुपर्ने हुन्छ । वैदेशिक रोजगारी वा पर्यटनजस्ता परनिर्भर विकासलाई त्यागेर आत्मनिर्भर विकासततिर राज्यले पहिला बढाउनु पर्छ । राष्ट्रको युवा शक्तिलाई विदेशिनबाट रोक्नको निमित्त सरकारले नेपालमा रोजगारी पाउने वातावरण तयार गर्नुपर्छ । भारतले जस्तो ब्रेनड्रेनलाई रोक्न नसकेमा विदेशी लगानी जतिसुकै आए पनि गरिबी घट्दैन त्यो भारतमा जस्तै निरन्तर कायम रहन्छ । पुँजीवादी अर्थतन्त्रले भारतमा गरिबी बढाएको छ किनकि विदेशी लगानीको फाइदा मुठीभरका केही धनीहरूलाई मात्र भएको छ । नेपालमा त्यस्तो नहोस् भन्ने हेक्का राख्दै दलका नेताहरूले समाजवादी अर्थतन्त्रतिर कदम बढाउन तयार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *