अलोकप्रिय पथमा एमाले

लेख

कमलराज राई
कुनै बेला सत्ताको बागडोर सम्हाल्दै आएको एमालेले पछिल्लो समय आफ्नै नेतृत्वका कारण सत्ताबाट बाहिरिनु परेको कोहीबाट छिप्दैन । कुनै बेला एमालेलाई भालेपोथी नछुटिने पार्टीका रुपमा चित्रण गरिन्थ्यो तर जब नेतृत्वमा केपी ओली आए, तब पार्टीको रुप, रंग फेरिन थाल्यो । हरेक मुद्दामा स्पष्ट विचार राख्न नसक्ने पार्टीले भारतद्वारा नेपालमाथि नाकाबन्दी गर्नेबित्तिकै यत्ति विरोध ग¥यो कि साँच्चै राष्ट्रवादी देखिने काम ग¥यो । जनताले यहि राष्ट्रवादी भाषणको आधारमा पुरस्कृत गर्ने काम गरे । एमाले राष्ट्रवादी थियो कि थिएन ? आजको बहस त्यता होइन । यसबारे पछि कुनै अंकमा विस्तृत लेखिएला नै । तर, अहिले भने एमालेका अध्यक्ष केपी ओलीको पछिल्लो गतिविधि र यसबाट पर्न सक्ने असरका बारेमा थोरै भए पनि बहस गर्नु आवश्यक देखिन्छ ।
यो आलेख पाठकहरुको हातमा आइपुग्दा एमालेको दशौँ महाधिवेशनको परिणाम पनि आइसक्ने छ । यस बेलासम्ममा सम्भवतः ओली पुनः अध्यक्षमा निर्वाचित भएको समाचारले पूरै मुलुक छाउने छ नै । तर, यो दशौँ महाधिवेशनलाई ओलीले भागबन्डाको महाधिवेशन बनाउन चाहेका थिए । यदि भीम रावल र घनश्याम भुषालहरु नभएको भए अहिलेसम्म एमालेको दशौँ महाधिवेशन ऐतिहासिक भएको र यसले ओली टिमलाई निर्वाचित गरेको भनेर अनेकौँ रंगमा समाचार आइसकेका हुन्थे । ओलीमा यत्ति दम्भ विकास भएको छ कि पूरै लोकतन्त्र नै उनको इच्छामा भर पर्नेजस्तै भएको छ । अहिले उनको यत्ति देवत्वकरण गरिएको छ कि उनी साक्षत् भगवान्का अवतार हुन् । उनी नहुने हो भने सो पार्टीको कुरै छाडौँ, मुलुकको भविष्य नै नभएजसरी प्रचार गरिँदै छ ।
ओलीलाई जे जस्तो गरी प्रचार गरिएको भए पनि दशौँ महाधिवेशनबाट फर्कँदै गर्दा एमालेले अर्को गुट पनि लिएर फर्कने छ । ओलीले आफ्ना भनाउँदाहरुलाई समेट्न नसक्दा अब त्यहि आफ्नाहरुको अर्को खेमा बन्ने छ । ‘म आफ्नो शत्रुदेखि बच्न सक्षम छु, तर मेरा आफन्तबाट भने बचाऊ, प्रभु’ भनेर भनिएझैँ अरुबाट बच्न ओली सक्षम छन् तर अब उनकै आफ्ना भनाउँदाहरु व्यवस्थापनले उनलाई निक्कै सकस पर्ने भएको छ । आफ्नालाई समेट्न नसक्दा उनीहरुबाट नै अब ओलीमाथि खतरा उत्पन्न हुने देखिन्छ । सुरुमा कोही कसैले प्यानल बनाएर चुनाव लड्न नपाउने भन्दै गर्दा ओलीकै पक्षबाट कतिपयको पक्षमा प्यानल बनाउने मात्र नभएर कतिपयलाई भोट नदिने उर्दी जारी गरेपछि ओलीले चितवनबाट फर्कँदै गर्दा आफ्नाहरुलाई पनि चिढाएर फर्कने भएका छन् ।
महाधिवेशन भन्नेबित्तिकै विचारको माझामाझ हो । महाधिवेशनको चर्काचर्कीबाट निस्कने निष्कर्षले नेता, कार्यकर्ता मात्र नभएर यसले देश र जनताको आवाज उठाउने विश्वास गरिन्छ । महाधिवेशन भनेकै असन्तुष्टहरुको विचारलाई पनि सम्बोधन गर्ने मात्र नभएर उनीहरुको विचार उचित छ भने यसलाई स्थान दिएर त्यसलाई व्यवहारमा लागू गर्ने हो । तर, यहि महाधिवेशनमा पनि कुनै एक व्यक्तिको विचारमा सहीछाप लगाउने हो भने लाखौँको उपस्थिति देखाउनु आवश्यक छैन । यत्ति मात्र होइन, कि यदि यसो हो भने त शीर्ष नेताहरुले दिएको भाग खाएर बसे भइहाल्छ । यसका लागि यत्तिको खर्च गर्नै पर्दैन । बरु यो रकम कुनै एक विकासको काममा लगाउने हो भने यसको प्रतिफलले देश र जनता सिञ्चित हुनेछन् ।
अहिले नेकपा एमालेको महाधिवेशनले मुलुक तातिरहेकोे छ । मंसिरको चिसोमा पनि गर्माइलो छलफल, विवादले जाडोलाई बेवास्ता गरिएको छ । अहिले एमाले मात्र होइन, अब कांग्रेस, त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रको महाधिवेशन हुँदै छ । सम्भवतः यहि वर्ष निक्कै पर गयो भने बैशाख÷जेठमा स्थानीय, प्रदेश र संघीय चुनाव हुने निश्चितजस्तै भएकाले यसअघि नै महाधिवेशन टुंग्याउने तरखरमा राजनीतिक दलहरु लागेको देखिन्छ । तर, महाधिवेशन निक्कै चोटिलो बन्दै आएको छ । सर्वहारा जनताको पार्टी भनेर चिनाउने कम्युनिस्ट पार्टीहरुको महाधिवेशनको खर्च कुनै पुँजीवादी पार्टीको भन्दा कम छैन । महाधिवेशननमा उनीहरुले करोडौँ रुपैयाँ खर्च गरेका छन् । नजिकै चेपाङ बस्तीले जाडोमा न्यानो नपाएर कठंग्रिइरहेका छन्, छेउमा मंगलग्रहमा गएर राज गर्ने भाषण गरेर जनताको ताली खाइरहेका छन् र भन्छन्, हामी जनताको सेवक हौँ । तर, जनताको भोट पाएपछि पाँच वर्षसम्म हराउने नेता यिनै हुन् ।
अहिले आएर महाधिवेशनको नाममा आफ्नो विचार लाद्ने योजना दखिन्छ । एमाले महाधिवेशनमा केन्द्रीय कमिटीको नामावली ताली बजाएर अनुमोदन गर्ने योजनाले पार्टीलाई अरु गुटबन्दीतिर लैजान्छ । यत्ति मात्र नभएर आफ्नो विपक्षलाई बोल्नै नदिने गरी अघि बढ्दा पनि महाधिवेशन प्रतिनिधिहरुले स्वीकृत जनाउनु अचम्मै हुने भएको छ । बन्दसत्रमा आफू पक्षधरहरुको नामावली पेस पेस गरी ताली बजाएर अनुमोदन गर्ने तयारी गर्नु महाधिवेशनको दुरुपयोग मान्नुपर्छ । अध्यक्षमा दाबेदारी पेश गरेकालाई आफ्नो मत राख्ने मौका नदिएरै आफ्ना नजिकका आफ्ना टहलदारहरुको नाम अनुमोदन गरेर गलत नजिर बसाउन लागिएको थियो, धन्न रावल र भुषालको हिम्मतका कारण एमालेको महाधिवेशन चर्चामा पुगेको छ । महाधिवेशनमा सबै सदस्य एकै हैसियतमा हुन्छन् । कुनै पनि पदमा दाबी गर्ने हैसियत राख्छ तर अहिले आफूले चाहेको व्यक्तिहरुको समूह बनाउने काम हुँदा पनि त्यसको प्रतिकार गर्न नसक्ने महाधिवेशन प्रतिनिधिहरु भेडासरह भएका छन् ।
एमाले महाधिवेशनमा एक जनालाई देवत्वकरण गर्न लागिपरिरहेको देखिन्छ भने उता कांग्रेसका जिल्ला अधिवेशनमा नै गोली चलेको समाचारले जनता हैरान भएका छन् । पदाधिकारी छनोट विषयमा सहमति जुटाउने नाममा आफूनिकटलाई मात्र माथिल्लो तहमा ल्याउनु लोकतन्त्र हुँदै होइन । भन्ने बेलामा लोकतान्त्रिक पार्टी भन्ने तर व्यवहारमा भने व्यक्तिको इच्छातन्त्र देखाउने संस्कारले राजनीतिक दलहरु आफ्नो बोलीमा प्रतिबद्ध छैनन् भन्ने देखिन्छ । यस हिसाबले हेर्ने हो भने अब राजनीतिमा धनवाद, डनवादले प्रमुखता पाउने देखिएको छ । राजनीति गर्नका लागि धन नै चाहिने भएको छ । धनको साहारामा राजनीति गर्ने गरी विकास भएको संस्कारले भोलिको नेपाल कस्तो होला ? यो कल्पनाभन्दा बाहिरको कुरा भएको छ । महाधिवेशनमा सहमति भन्दै आफ्नो विचार लाद्ने र आफूनिकटलाई पदमा पु¥याउने हो भने यत्तिको खर्चिलो महाधिवेशन आवश्यक छैन । बरु यहि बजेट ग्रामीण भेगमा लगानी गर्ने हो भने जनताले सुविधा पाउने हुनाले यस्तो महाविधेशनको औचित्य देखिँदैन ।
एमालेको महाधिवेशन भागबन्डाको तानाबानामा अल्झिइरहेको थियो । नेतृत्वको इच्छामा पद बाँडफाँड हुने हो भने त यो यत्तिको तामझामको आवश्यक थिएन । यत्ति मात्र होइन, कि महाधिवेशनको आयोजना गर्नु नै आवश्यक थिएन । शीर्ष नेताले पदको भागबन्डा गरेर चित्त बुझाउने हो भने भने करिब २ हजार १ सय महाधिवेशन प्रतिनिधिहरुको चयन आवश्यक थिएन । यो त कर्मकाण्डीका लागि मात्र थियो भने यो देखावटी तामझाम किन गर्नु परेको थियो ? यदि शीर्ष नेताको भागबन्डामा चित्र बुझाउनु नै थियो भने नारायणी किनारमा यत्तिको जनसागर देखाउनु आवश्यक थिएन । अहिले शीर्ष नेताहरुले महाधिवेशन प्रतिनिधिहरुलाई भेडा बनाउने काममा उद्यत् थिए । माथिल्लो तहबाट पद बाँडफाँट गर्नु नै थियो भने यो महाधिवेशन नामको कर्मकाण्डीको औचित्य प्रमाणित गर्नुपर्छ ।
शीर्ष नेताहरुको पछिल्लो गतिविधिले महाधिवेशन प्रतिनिधिहरुमा देखिएको उत्साहमा एकाएक चिसोपानी छ्यापिएको छ । नेताहरूको व्यवस्थापकीय कमजोरीका कारण लम्बिइसकेको छ । उद्घाटन कार्यक्रममा नेताहरूमा जुन उत्साह र विजयभाव देखिएको थियो, बन्दसत्र सञ्चालन गर्न नसकेर प्रतिनिधिहरूको बिल्लीबाठ भएसँगै नेतृत्वको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । नेतृत्वको कार्यक्षमतामा मात्र होइन, आफ्ना विरोधीको घाँटी ङ्याक्ने कामबाट यो महाधिवेशनमा लोकतन्त्रको चीरहरण भएको र जबज एवं पार्टीको आन्तरिक लोकतन्त्रको खिल्ली उठेको निष्कर्ष निकालिएको छ । खासमा रावल र भुषालको हिम्मतका कारण भागबन्डाको राजनीतिमा पूर्णविराम लागेको छ । महाधिवेशनमा सबै प्रतिनिधिहरुले आफूले चाहेको नेतृत्व छान्ने अधिकार हुन्छ । उनीहरुका लागि यस्तो मौका पनि दिनुपर्छ । तर, अहिले एमालेको महाधिवेशनमा गरिएको यो भागबन्डाले भावी दिनमा निक्कै समस्या पार्ने देखिन्छ । नेतृत्वमा पुग्नका लागि नेताकै पुच्छर समाउनुपर्ने बाध्यताको सिर्जना गरिएकाले यो संस्कारले लोकतन्त्रको खिल्ली उडाएको छ । यत्ति मात्र होइन, कि अब भोलि नेतृत्वमा पुग्नका लागि नेताको पुच्छर बन्नै पर्ने संस्कार बस्ने हुनाले यस्तो महाधिवेशनबाट आएको नेतृत्वले देश र जनताको पक्षमा वकालत गर्ला भनेर विश्वास गर्ने कुनै ठाउँ देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *