यसरी चौपट भयो गच्छदारको राजनीतिक भविष्य

राजनीति

नेपाली कांग्रेसको सम्पन्न महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा लडेका विजय गच्छदार दुई मतले पराजित भएसँगै उनको राजनीतिक भविष्य पनि लगभग समाप्त भएको छ । २०४८ सालमा सम्पन्न भएको पहिलो आम निर्वाचनदेखि यताका सबै आम निर्वाचन र दुई वटा संविधानसभा निर्वाचनमा विजय प्राप्त गरेर शेरबहादुर देउवासँगै सबै आम निर्वाचनमा विजयी भएको र्कीतिमान बनाउन सफल भएका विजय गच्छदार भने राजनीतिक रूपले अस्ताउने स्थितिमा पुगेका छन् ।
नेपालको कानुनअनुसार अख्तियार दुरूपयोग आयोगले भ्रष्टाचारमा मुद्दा चलाएपछि कुनै पनि सार्वजनिक पदका लागि उम्मेदवारी दिन त्यो व्यक्ति अयोग्य सावित हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेको भनेर विजय गच्छदारसहित विशेष अदालतमा मुद्दा चलाएको अवस्था छ । यो अवस्थाबाट उन्मुक्ति पाउन नसके विजय गच्छदारको राजनीति नेपाली कांग्रेसका तत्कालीन नेताहरू चिरजीवी वाग्ले, गोविन्दराज जोशी, र जयप्रकाश आनन्दको जस्तै सदाका लागि समाप्त हुनेछ । तर, अख्तियारले कुनै पनि नेतालाई भ्रष्टाचारको मामिलामा अदालतमा मुद्दा चलाएको स्थितिले पार्टी गतिविधिमा प्रभाव पार्न नसक्ने अवस्था भएको कारण विजय गच्छदार कांग्रेसको सम्पन्न महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा उपसभापतिमा उम्मेदवार भएका थिए । र, उनलाई संस्थापनाइतर पक्षका उम्मेदवार धनराज जोशीले दुई मत अन्तरले हराएसँगै उनको राजनीतिक भविष्य अन्योलमा पर्न गएको हो र अब उनको राजनीतिक भविष्य न्यायालयले मात्र तय गर्ने अवस्था बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *