वरियता क्रमले जन्मायो कांग्रेसमा गुटको राजनीति

राजनीति

काठमाडौं । १४औँ महाधिवेशन सम्पन्न भएर दोस्रो चरणको सभापति निर्वाचनमा शेखर कोइरालालाई पराजित गरेर दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा निर्वाचित भए । महाधिवेशनलगत्तै शेखर कोइराला र उनको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापाले अब पार्टीमा गुट समाप्त भएको भन्दै पराजित पक्षले संस्थापना पक्षसँग अबका दिनमा भागबण्डा नखोज्ने बताएका थिए । उनीहरूले दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवा पनि गुटभन्दा माथि उठ्ने गरी आफ्नो कार्यशैली परिवर्तन गर्नु पर्ने, पार्टीलाई विधानसम्मत रूपमा अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए । दोस्रो चरणको निर्वाचनमा सभापतिमा पराजित भएका शेखर कोइरालाले पनि सार्वजनिक रूपमा यही मत व्यक्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मत पाएका कोइराला र उनकै प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापाबाट पार्टीलाई सञ्चालन गर्ने सम्बन्धमा यस्तो विचार सार्वजनिक भएपछि अब वर्षौदेखि कायम रहेको गुटको विकृति नेपाली कांग्रेसमा समाप्त हुने अनुमान गरिएको थियो ।
तर, गत शनिबार वर्तमान कार्य समितिको पहिलो बैठक बस्नु आधाघन्टा अगाडि नवनिर्वाचित सभापति शेरबहादुर देउवाले नेताको वरियता क्रमका सम्बन्धमा गरेको निर्णयले नेपाली कांग्रेसमा नयाँ विवाद जन्माई दिएको छ । र, यही विवादको कारण नेपाली कांग्रेसमा फेरि संस्थापनाइतर पक्ष अस्तित्वमा आउन थालेका छन् । सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूको वरियताक्रम निश्चित गर्दै आफूसँग दोस्रो चरणको निर्वाचनमा सभापतिमा पराजित भएका शेखर कोइरालालाई वरियताक्रममा २०औँ स्थानमा राखेपछि नयाँ विवाद सुरु भएको हो । १३औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा सदस्यतर्फ सर्वाधिक मत ल्याएका शेखर कोइराला १४औँ महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि सम्पन्न भएको निर्वाचनमा पार्टी विधानअनुसार भएको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित भएका थिए । दोस्रो चरणमा सभापतिमा पराजित भएका उम्मेदवारलाई वरियताक्रम दोस्रो स्थान दिने परम्परा नेपाली कांग्रेसमा कायम रहेको थियो । ११औँ महाविधेशनमा स्व. गिरिजाप्रसाद कोइरालासँग पराजित भएका शेरबहादुर देउवालाई सभापतिका विजयी नेता स्व.गिरिजाप्रसाद कोइरालाले पार्टी वरियताक्रममा स्व. कृष्णप्रसाद भट्टराईपछि राखेका थिए । यसैगरी ११औँ महाविधेशनमा शेखर कोइरालासँग सभापतिमा पराजित भएका शेरबहादुर देउवालाई पनि पार्टी वरियताक्रममा दोस्रो स्थानमा राखिएको थियो । २०७४ साल फाल्गुणमा सम्पन्न भएको १३औँ महाधिवेशनमा देउवासँग सभापतिको पराजित भएका रामचन्द्र पौडेललाई पनि पार्टी वरियताक्रममा दोस्रो स्थानमा राखिएको थियो । तर, अहिले देउवाले यो परम्परालाई तोड्दै आफ्ना निकतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई निर्वाचित पदाधिकारी र पूर्वपदाधिकारी पछि २०औँ स्थानमा राखेका छन् । यही कारणले गर्दा अहिले नेपाली कांग्रेसमा अहिले फेरि संस्थापना पक्ष र इतर पक्ष भन्ने गुटले टाउको उठाउन थालेको छ । पूर्व पदाधिकारीभन्दा पछाडि राख्ने सभापति देउवाको यो मापदण्डअनुसार आगामी दिनमा शेखर कोइरालाको वरियता २५औँ स्थानभन्दा पछाडि पुग्ने सम्भावना रहेको छ । किनभने सभापति देउवाले पार्टी विधानअनुसार १ जना कोषाध्यक्ष र ३४ जना केन्द्रीय सदस्य मनोनयत गर्न पाउने छन् । समाचार सूत्रका अनुसार शेरबहादुर देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने लगभग निश्चित छ । विगतमा उपसभापति रहेका पौडेल महामन्त्री रहेका सिंह र यसैगरी देउवाको पछिल्लो कार्यकालमा उपसभापति रहेका विमलेन्द्र निधि केन्द्रीय कार्य समितिमा मनोनित भएपछि अहिलेको मापदण्डअनुसार शेखर कोइरालाको वरियता अरु पछाडि धकेलिने निश्चित छ ।
वरियता सम्बन्धी देउवाले निर्धारण गरेको कारणले मात्र होइन उनको व्यवहारले समेत नेपाली कांग्रेसमा कोइराला पक्षको गुट सक्रिय हुनुपर्ने अवस्था सिर्जना हुन थालेको देखिन्छ । केही दिन अगाडि नेपाली कांग्रेस समावेश हुने गरी वाग्मती प्रदेशमा मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री तथा कांग्रेस सभपाति देउवाले रामचन्द्र पौडेल र प्रकाशमान सिंहनिकटका दुई जना प्रदेश सांसदलाई समेत सहमति गरेर मन्त्री बनाउन सिफारिस गरेका थिए । तर, यस सम्बन्धमा सभापति देउवाले आफ्ना निकतम प्रतिद्वन्द्वी शेखर कोइरालासँग सामान्य छलफल समेत गरेनन् । समाचार सूत्रका अनुसार देउवालाई निर्वाचित भएपछि टेलिफोनमार्फत शेखर कोइरालाले बधाइ दिएका थिए । तर, त्यसपछि कांग्रेस सभापति देउवा र उनका निकतम प्रतिद्वन्द्वी कोइरालाका बीचमा टेलिफोन वार्तासमेत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *