ananta gurung

युक्रेन युद्ध विश्व शान्तिको लागि खतरा बन्दै

राजनीति लेख

पहिलो र दोस्रो विश्व युद्धको केन्द्रविन्दु युरोप नै थियो । यतिबेला पूर्वी युरोपियन मुलुक युक्रेनमा रुस र युक्रेनको घमसान युद्ध चलीरहेको छ । अमेरिकी नेतृत्वको सैनिक संगठन “नाटो“ ले बलेको आगोमा घीउ थप्ने काम गर्दै आएको छ । युक्रेनलाई युद्ध गर्न चाहिने आधुनिक हतियारहरुको आपूर्ति नाटो सैनिक संगठनमा सामेल ३१ युरोपियन मुलुकहरुले गर्दै आएका छन ।

अमेरिकाले पनि आफ्ना घातक हतियारहरुका साथै आर्थिक सहायता युक्रेनलाई उपलव्ध गराउँदै आएको छ । नाटो मुलुक मद्धे संयुक्त अधिराज्य बेलायत अमेरिका पछाडि दोस्रो ठुलो युक्रेनको सहयोगी मुलुक बनेको छ । नाटो सैनिक संगठनको सर्त अनुसार सबै नाटो सदस्य मुलुकहरुले अनिवार्य रुपमा युक्रेनलाई सक्दो सैनिक सहयोग उपलव्ध गराउँदै आएका छन । नाटो मुलुकहरुको यस्तो सहयोगमा आर्थिक र हतियारहरु दुबै छन तर बुट आँन ग्राउण्ड सहयोग भने छैन । महाशक्ति राष्ट्र रुसका बिरुद्ध युक्रेन एक्लै युद्ध मैदानमा बितेको १५ महिना देखि घोर लडाई गर्दै आएको छ । दुबै तर्फको धन जनको खती अनगिनत हुँदा पनि दुबै पक्ष वार्ता द्वारा सहमती खोजी युद्ध समाप्त पार्न तयार भएको छैन ।

वास्तविक रुपमा अमेरिका र नाटो मुलुकहरुले युक्रेनलाई कठपुतली जस्तो बनाएर महाशक्ति राष्ट्र रुस बिरुद्ध उक्साएर भिडाउने काम गरेका छन । संयुक्त राज्य अमेरिकाको अगुवाईमा नाटो सैनिक संगठन बिस्तार हुँदै रुसको सीमाना सम्म पुगेपछि रुसले आफ्नो सुरक्षाको सम्वेदनशीलता देखाउँदै प्रतिकारमा उत्रिएको हो । शित युद्धकालमा रुसले आफ्नो नेतृत्वमा वार्सा सैनिक संगठन खडा गरी अमेरिका र नाटोको प्रतिकार गरेको थियो । सोभियत संघको बिगठन संगै वार्सा प्याक्टको पनि बिघटन भयो र त्यस मद्धेका केही मुलुकहरुले नाटो सैनिक संगठनमा नै सामेल भएर अमेरिकी सुरक्षा छातालाई अपनाएका थिए । युक्रेनमा घोर राष्ट्रवादी तप्काका जेलेन्सकी राष्ट्रपति भएपछि बिस्तारै युक्रेनलाई पनि नाटोमा आबद्ध गराएर अमेरिकी सुरक्षा छाता मुनी जाने प्रयासहरु सुरु भयो ।

रुसले आफ्नो सुरक्षाको संवेदनशीलतालाई देखाएर युक्रेनलाई सोकदम रोक्न आग्रह गरेको थियो तर वर्तमान राष्ट्रपति जेलेन्सकीले त्यसको वेवस्ता गर्दै युक्रेनलाई जसरी पनि नाटोको सदस्य बनाएर नै छाड्ने अडिग लियो । युक्रेनी राष्ट्रपति जेलेन्सकीको जसरी पनि युक्रेनलाई नाटोमा प्रवेश गराएर नै छाड्ने कदमलाई रोक्ने उद्देश्यले रुसले युक्रेन बिरुद्ध सैनिक कार्यबाही थालेको थियो । त्यसपछि नाटो मुलुकहरु र अमेरिकाले युक्रेनको पक्षमा लागेर गोला बारुद र आधुनिक घातक हतियारहरु युक्रेनलाई उपलव्ध गराउँदै आएको हुँदा रुस–युक्रेन युद्ध लम्बिदै गयो अनि दुबै तर्फका जनधनको क्षति पनि बढ्दै गयो ।

हार जितको फैसला कहिले र कसरी हुने हो भन्ने बारे अनिश्चिता अझ पनि कायम नै छन । युद्ध चाँडै समाप्त पार्नको लागि रुसले आफु सित भएको परमाणु बमको उपयोग गरेको छैन र परमाणु हतियारलाई अमेरिका र नाटोलाई यक्रेन युद्धमा सामेल हुनबाट रोक्नको लागि मात्रै रुसले धम्काउने गर्दै आएको देखिन्छ । अमेरिका र नाटोले युक्रेन युद्धमा भौतिक रुपले नै हस्तक्षेप गर्न सक्ने संभावना अब छैन ।

आर्थिक संकटले पिरोल्दै लगेको नाटो मुलुकहरु र अमेरिका युक्रेन युद्धमा भौतिक रुपले समेल नभएपछि महाबली राष्ट्र रुसले चाँडै नै युक्रेन माथि बिजय प्राप्त गरी युरोपमा शान्ति बहाल हुने संभावना बढेको छ । युक्रेन युद्धले युरोप र अमेरिकाको मात्र होइन संसारकै अर्थतंत्रलाई प्रभावित तुल्याएको छ । युक्रेनको पक्षमा लागि रुसका बिरुद्ध आर्थिक नाकाबन्दी लगाउने मुलुकहरुको अर्ततन्त्र पनि नराम्रो सित बिग्रेको छ । त्यसको तुलनामा रुसी अर्थतंत्रलाई भने कुनै फरक पारेको छैन । यस्तो हुनुमा संसारकै दोस्रो ठुलो अर्थतंत्र भएको मुलुक चीन र संसारकै चैथो ठुलो अर्थतंत्र भएको मुलुक भारत रुसको पक्षमा दृढताको साथ उभिएकाले नै हो । बिश्वकै नयाँ आर्थिक केन्द्रको रुपमा उदाउँदै गरेका खाडी मुलुकहरुले पनि तठस्त रहेर महाशक्ति राष्ट्र रुसलाई मौन समर्थन दिएका छन ।

तर पश्चिम एशियाली मुलुक ईरानले भने महाबली रुसको पक्षमा मात्र नलागी रुस जस्तो महाशक्ति राष्ट्रलाईआधुनिक घातक ड्रोनहरु उपलव्ध गराएर ठुलो गुण लगाएको छ । अमेरिकाले युरोपमा रुस बिरुद्द खतरनाक र आक्रमक नीति अख्तियार गरेकोछ । तेस्रो विश्वयुद्ध भएको खण्डामा लडाईको केन्द्रविन्दू युरोपलाई नै बनाएर अमेरिका सम्म त्यसको असर पुग्न नदिने निश्चित पारेका छन । बर्लिनको पर्खाल भत्किएपछि र तत्कालिन सोभियत संघको बिगठन भएपछि अमेरिकाले पूर्वी युरोपमा नाटोको बिस्तार गर्दै लगेर रुसलाई चारैतिरबाट घेर्ने नीतिको कार्यान्वन गरेको छ । चर्चा चले अनुसार नाटो र अमेरिका मिलेर रुसी महासंघलाई टुक्रा टुक्रा पार्दैलाने योजना अनुसार नै नाटोको बिस्तार गरिएको र युरोपमा घातक परामाणु बमहरु थुपारेको भन्ने सुनिएको छ ।

ठुलो संख्यामा अमेरिकी सेना र सामरिक अमेरिकी बम बर्षक विमानहरु सोही गद्देश्य परिपूर्तिका लागि युरोपको गौंडा गौंडामा तैनाथ गरिएका छन । अमेरिकी सेनाको युरोपमा व्यापक परिचालन गर्नु शान्तिको लागि हो वा युद्धको लागि हो भन्ने कुरा खुलेको छैन । रुसले नाटो र अमेरिकाको कूटिल चाल थाहा पाएर नै युक्रेनमा आक्रमण गरी नाटोको पूर्व तर्फको बिस्तारलाई रोकेको हो । अमेरिकाबाट परमाणु आक्रमण भए वा गरिएको खण्डमा त्यसको प्रतिकार र जबाफी कार्यबाही गर्नको निमिक्त परमाणु हतियारहरु सहितको पानडुव्बीहरुको सञ्जाल रुसले संसारको कुना कुनामा जरुरी परेको बखत तुरन्तै आक्रमण गर्न सक्ने गरी महासागरको पानीको गहिराई भित्र फैलाएर तैनाथ गरेको छ । परमाणु बमको आक्रमण भएमा वा गरिएमा आक्रमणकारी मुलुक पनि नबच्ने र भष्म हुने प्रत्याभूति निश्चित तुल्याईएका छन । यसरी बिश्वको शान्ति यतिबेला बन्दुकको नोकबाट निश्चित पारिएका छन । हामीलाई पढाउने गुरुजनले बन्दुकको नालबाट शान्तिको सुरुवात हुन्छ भन्दै माओवादी दर्शनको ज्ञान दिने गरेका थिए । त्यो बेला यस्तो कुरा सुन्दा धेरैलाई अचम्म लाग्ने गरेको थियो ।

तर अहिले आएर संसारमा शान्ति कायम परमाणु बमको बिकासले भएको देख्दा माओवादी शिद्धान्त सही भएको प्रमाणीत भएको छ । सोभियत संघको बिघटन हुँदा युक्रेन संसारकै तेस्रो ठुलो परमाणु शक्ति रहेको थियो । अमेरिका र रुसले अश्वासन दिएपछि युक्रेनले सबै परमाणु हतियारहरु रुसलाई बुझाएर निशस्त्रिकरणको अभियानलाई सघाएका थिए । तर समय काल परिस्थिति बदलिए संघै युक्रेनको लागि सोनिर्णय घातक शिद्ध भएकोछ । सानो राष्ट्र ईजरायल शक्तिशाली भएकै हुनाले दुष्मन मुलुकहरुले घेरिएको भएता पनि सुरक्षित र शान्तिको साथ आफ्नो मुलुकको प्रभूत्व संसार भर फैलाएर बसेको छ । नेपालको लागि पनि ईजरायली सफलताको सन्दर्भ प्रेरणादायक र अनुकरणीय छ । नेपालको क्षिमेकी राष्ट्रहरु चीन,भारत र पाकिस्तान परमाणु बम भएको शक्तिराष्ट्र हुन । परमाणु बम भएको हुँदा उक्त शक्तिराष्ट्रहरुले आफैलाई सुरक्षित ठान्ने गरेका छन । उत्तर कोरियाले आफ्नो मुलुकको शान्ति र सुरक्षाको लागि परमाणु बमको बिकास गरी सकेका छन । दक्षिण कोरिया र जापानमा देस्रो विश्वयुद्ध समाप्त भए देखि ने जरा गाडी बसेको अमेरिकी सेना र उसले थुपारी राखेको घातक हतियारहरुबाट चीन र उत्तर कोरियालाई धेरै ठुलो खतरा छ । त्यसकारण चीन र उत्तर कोरियाले परमाणु बम मात्र नबनाएर उक्त बमलाई सत्रु पक्ष माथि प्रहार गर्न सक्ने क्षमताको पनि बिकास गरीसकेको छ । पश्चिम एशियाली मुलुक ईरान पनि परमाणु बम बनाउने दौडमा धेरै अगाडि छ ।

ईरानको लागि अमेरिका र ईजरायलबाट धेरै खतरा भएको हुँदा आफ्नो राष्ट्रको सुरक्षा र शान्तिको लागि परमाणु बमको बिकास गर्न लागीपरेको छ । चाँडै सफलता पाउनेमा ईरानी सरकार निश्चिन्त भएको देखिन्छ । लडाकु ड्रोन बिकासको क्षेत्रमा ईरानले संसारलाई नै चकित तुलाईसकेको कुरा युक्रेन युद्धमा ईरानी लडाकु ड्रोनहरुले देखाएको कमाल बाटै पुष्टी भईसकेको छ । पहिलो र दोस्रो युद्धमा नेपालीले खुकुरी कै भरमा संसारमा तहल्का मचाएर वीर गोर्खाली भनी नाम कमाएको थियो ।

तेस्रो विश्व युद्ध भने खुकुरीको भरमा मात्रै लडेर जित्न नसकिने देखिएको छ । टाढैबाट झट्यारो झै हानेर खाक पारी दिन सक्ने अनेक प्रकारका हतियारहरु बिकास भएकाछन । आधुनिक ज्ञान एआईमा आधारित नयाँ हतियारुहरुले युक्रेनी युद्ध कमाल गरी देखाएको छ । स्वचालित ड्रोनहरुको उपयोगले दुष्मनको अभेद्य किल्ला भित्रै सम्म पुगेर आक्रमण गर्न सजिलो तुल्याएको छ । साना ड्रोनहरुको सामु ठुला घातक हतियारहरु पनि निरिह झै सावित भएकाछन । त्यसकारण नेपाल जस्तो सानो देश ठुला राष्ट्रहरुको पक्ष वा विपक्षमा लाग्नुको कुनै तुक छैन । आधुनिक युद्ध लड्ने क्षमता र तयारी दुबै नेपाल सित छैन । बलबान साँढेहरुको लडांईमा बाछाको मिचाई नहोस भन्ने कुरामा मात्रै नेपाल जस्तो सानो र कमजोर राष्ट्रले ध्यान दिनुपर्छ ।

नेपाल सनातनी हिन्दूधर्मको उद्गमस्थल हो । हिन्दूहरुको आराध्य देवता भगवान पशुपतिनाथको निवास भएको हुँदा नेपाल संसार भर प्रख्यात छ ।विश्वकै उच्चशिखर सगरमाथा नेपालमा भएको हुँदा संसारले नेपाललाई माउण्ट एभरेष्टको देश भनेर पनि चिन्ने गरेकाछन । सनातनी हिन्दूहरुले पवित्र देव भूमी मानेको नेपालमा नै २५०० बर्ष पहिले एशियाको प्रकाशको रुपमा प्रख्यात भएको बिश्वशान्तिका महादुत भगवान गौतम बुद्धको पनि जन्म भएको थियो । भगवान बुद्धले दिनुभएको उपदेशमा उल्लेख भएको पञ्चशीलको शिद्धान्त नै बिश्वाशान्तिको लागि महामंत्र हो । बिश्वाशान्तिको लागि नेपालको सन्दर्भ शक्तिमा आधारित नभएर शान्तिमा आधारित रहेको तथ्य संसारले भगवान बुद्धलाई बिश्वशान्तिको दुत मानेकोबाट नै पुष्टी हुन्छ । नेपालको लुम्बिनीमा जन्मिएर एसियाको उज्यालो बन्न सफल भगवान बुद्धले बिश्वशान्तिमा नेपालको सन्दर्भलाई सदाकालको लागि महत्वपूर्ण र अमर तुल्याएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *