राजस्व मारा र ठगको पक्षमा उत्रिए यी व्यवसायिक संगठन

समाचार

उद्योगी व्यवसयीको खोल ओढेर राजस्व मार्ने तथा ठगी गर्ने धन्दा एकपछि अर्को गरेर सार्वजनिक भई रहँदा यस्ता ठग तथा राजस्वमाराको प्रतिरक्षमा उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य परिषद र चेम्बर अफ कमर्ससमेत अगाडि आएका छन् । नारायणहिटी दरबारको मूल्यवान जग्गा सेटिङमा लिएको र यसैगरी भारत सरकारले निर्माण गरिदिएको तिलगंगास्थित नेपाल–भारतमैत्री धर्मशाला पनि कौडीको भाउमा करारमा लिएको घटना भण्डाफोर भएपछि चर्चा र विवादमा आएका आनन्द राज बतासको प्रतिरक्षामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छादेखि मोरङ उद्योग वाणिज्य संघसमेत उनको प्रतिरक्षामा आएको थियो । अहिले अख्तियार दुरूपयोेग अनुसन्धान आयोगले १ अर्ब २५ करोड रूपैयाँभन्दा बढी राजस्व छलेको भनेर आधा दर्जनभन्दा बढी सिमेण्ट कारखानासमेत गरी खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे तथा उपमहानिर्देशक जयराज घिमिरेलगायतका खानी विभागका आधा दर्जन कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी चलाएको मुद्दालाई लिएर उद्योग वाणिज्य महासंघदेखि उद्योग वाणिज्य परिषर तथा नेपाल चेम्बर अफ कमर्स यी राजस्वमारा व्यवसायीको प्रतिरक्षामा अगाडि आएका छन् । अख्तियारले राजस्व ठगी गरेवापत मुद्दा चलाउँदा निजी क्षेत्रको व्यवसायलाई निरुत्साहित गर्ने काम अख्तियार गरेको टिप्पणी गर्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य परिषरका अध्यक्ष विष्णु अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त विज्ञप्ति प्रकाशित गरेर यी राजस्वमाराहरूको प्रतिरक्षा गर्ने काम गरेका छन् । उद्योग वाणिज्य महासंघदेखि उद्योग वाणिज्य परिषद र चेम्बर अफ कमर्ससमेत यसरी सिमेण्ट कारखाना सञ्चालनको नाममा अत्यन्त ठूलो रकम बराबरको राजस्व ठगी गरेका यी व्यवसायीहरूको पक्षमा उत्रिएर विचित्रको स्थिति उत्पन्न गरेका छन् र उद्योगी तथा व्यापारीहरूको यी छाता संगठनले नै राजस्वमाराको पक्षमा वक्तव्य निकालेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि समेत दबाब दिन थालेपछि नेपालका उद्योग व्यवसायीको धन्दा के रहेछ र उनीहरूको छाता संगठनको नियत पनि के रहेछ भन्ने अहिले प्रष्ट हुन थालेको छ । र, यी तीन वटा छाता संगठनको नेतृत्वहरू पनि यसैगरी राजस्वमारा धन्दामा संलग्न भएको आशंकासमेत हुन थालेको छ । त्यस कारण अहिले उद्योग व्यवसायीको नेताको परिचय बनाएका शेखर गोल्छा, विष्णु अग्रवाल र राजेन्द्र मल्लको धन्दामाथि समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिहिन अनुसन्धान गर्न जरुरी भएको छ भन्ने टिप्पणी व्यवसायिक क्षेत्रमा नै आउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *