सशस्त्र प्रहरीमा भ्रष्टाचार काण्ड, मायाको चिनो दिँदै, सफाई पाउँदै

समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलभित्रको अनियमितताको बयान गरेर साध्य छैन । दिनप्रतिदिन सशस्त्र प्रहरी बलभित्रको समाचार सञ्चारमाध्यमले उजागर गरे पनि ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने नेपाली उखान झै भएको छ । सञ्चारमाध्यमले सशस्त्र प्रहरी बलको भ्रष्टाचार उजागर गरे पनि कारबाहीको दायरामा ल्याउन सकेको अवस्था छैन । कारबाही गर्ने निकाय पनि तैंचुप–मैचुप भएर बसेको छ । सशस्त्र प्रहरी बलभित्रको फेहरिस्त बाहिर आए पनि सम्बन्धित निकायले छानबिन गरेर कारबाही गर्न सकेको छैन । सशस्त्र प्रहरी बलभित्रको बेथिति देखे पनि नदेखको झैं गर्ने बानी परेका आइजिपी शैलेन्द्र खनाल र लेखा शाखाका गणेश मल्लको रामकहानी तामाकोशी सन्देश साप्ताहिकले बारम्बार उजागर गर्दै आएको छ । शैलेन्द्र खनाल आगामी चैत २८ गते घर जाँदैछन् । तर, घर जनाभन्दा पनि जागिर अवधि ३२ वर्ष लागू गर्न न्वारानदेखिको बल निकालेर शक्ति केन्द्र धाइरहेका छन् । सशस्त्र प्रहरीभित्र संगठन विस्तार गर्ने नाममा व्यापक भ्रष्टाचार गरेका छन् । २०७६ सालदेखि २०७८ सालसम्म आइपुग्दा सशस्त्र प्रहरीलाई नेपाल सरकारले कोभिडको लागि भवन निर्माण गर्न दिएको बजेट पुरानो निलबाराही गणले प्रयोग गरेको भवन देखाएर बजेट सिध्याएका छन् ।
यस्तै, सशस्त्र प्रहरीका डाक्टरहरूलाई ‘प्रोमोसन गराइदिन्छु’ भन्दै मोटो रकम असुलेको पाइएको छ । सशस्त्र प्रहरीभित्रको भ्रष्टाचार हेरेर साध्य नहुने पीडित व्यक्तिको गुनासो छ । सशस्त्र प्रहरीका आइजिपी खनालले भए, नभएको आश्वासन दिएर संगठनलाई पीडित बनाएको बताइन्छ । संगठनमा जागिर खाने राजनीतिक दलको नजिक भएका, आफ्नो भनसुन गरेका व्यक्तिलाई बढुवा गराउनको लागि तल्लो दर्जाको सिपाही कर्मचारीको दरबन्दी कटौती गरेको अवस्था छ । तल्लो दर्जाका कर्मचारी एकै दर्जामा १२ वर्षसम्म रहँदा पनि यस्ता कर्मचारीको बारेमा संगठनले बोलेको छैन । उल्टै संगठनमा रातदिन नभनी डिउटीमा खटिने प्रहरी जवानलाई गाली दिएर हैरान पारेको अवस्था छ । सशस्त्र प्रहरीले यो भन्दा राम्रो काम गर्न नसकेको गुनासो सशस्त्रभित्र नै चल्ने गरेको छ । सशस्त्रमा प्रहरी संगठनलाई व्यवस्थापन गर्न नसकने सबैभन्दा बेकामे आइजिपी साप रहेको र लेखाका गणेश मल्लको कुरा सुन्ने, अन्य प्रहरीको केही जानकारी नराख्ने, दाम कताबाट आउँछ भन्दै विभिन्न जिल्ला प्रदेशमा घुम्ने काम आइजिपीले गर्न थालेका छन् । आइजिपी घर जान लाग्दा विभिन्न कार्यालयमा भ्रमणको निहुँ बनाएर विभिन्न गण गुल्मको लेखा प्रमुख कर्मचारीलाई संगठन निर्माण गर्ने काम गर्नुप¥यो बजेट कति छ भन्दै रकम असुलिराखेका छन् । यतिमात्र नभई विभिन्न जिल्ला प्रदेशमा कार्यरत प्रहरीका हवल्दारदेखि डिएसपी, एसपी, डिआइजी तथा एआइजीसम्मका कर्मचारीलाई आफ्नो प्रभावमा पारेर बढुवा गराइदिने बचन दिएर उठौती धन्दा चलाएको आरोप छ ।
आइजिपी खनालले लेखा प्रमुख गणेश मल्लको सहयोग लिँदै पैसा असुल्दै आएका छन् । यस्तै गणेश मल्ल र आइजिपीका पीए नारायण गुरुङले खुलेआम रकम उठाएका छन् । यसरी रकम उठाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । नेपालीको एउटा उखान छ, ‘आफैं धामी आफैं बोक्सी’ । सशस्त्र प्रहरीमा त्यही उखान लागू भएको छ । सशस्त्र प्रहरीभित्र आवश्यक पर्ने सामान, लत्ताकपडा, रासन खरिद तथा ठेक्कापट्टा, तालिम, सेमिनारजस्ता ठाउँमा आवश्यक पर्ने सामानको भन्दा बढी मूल्य बनाएर नक्कली बिल पेस गरी भ्रष्टाचार हुँदै आएको छ । यस्तो विषयमा सरकार र अख्तियारले समेत ध्यान दिएको छैन ।
अख्तियारका कर्मचारी पनि कम छैनन् । अन्य स्थानमा बसेर अकुत सम्पत्ति कमाएपछि त्यसलाई शुद्धीकरण गर्न अख्तियार जाने गरेका छन् । अख्तियारमा जानका लागि विभिन्न शक्ति केन्द्र धाउने, नेताहरूको चाकडी गरेर रिझाउने गरेको पाइन्छ । सरुवा भएर अख्तियारमा जाने र सकभर अख्तियारबाटै अवकाश पाएर घरजाने उच्च कर्मचारीको चाहना छ । अख्तियारमा जागिर खाने कर्मचारीले अन्य स्थानमा कार्यरत रहने कर्मचारीलाई अफिसियल कामको सिलसिलामा अख्तियारबाट फोन गरे पनि जी–हजुरी गरी अख्तियारका कर्मचारीको घर–घरमा आवश्यक परेको सामान अन्य कार्यालयका प्रशासन शाखाका कर्मचारी र लेखा आयोजना प्रमुख, उपप्रमुखले अख्तियारका आयुक्तदेखि उच्च तहका कर्मचारीलाई मायाको चिनो अथवा सम्झनाको लागि भनेर घरमा चाहिने सामान पुरस्कारस्वरूप दिने गरेका छन् । सो दिएवापत उच्च निकायका कर्मचारीले भ्रष्टाचार गरे पनि नगरेझैं गरेर कारबाहीबाट बचाउने गरेका छन् । यस्तै उदाहरण सशस्त्र प्रहरीका आइजिपी खनालले मायाको चिनो दिएपछि जतिसुकै भ्रष्टाचार गरे पनि खनालले सफाइ पाइराखेको समाचार स्रोतले बताएको छ ।
सशस्त्र प्रहरीको लेखामा कार्यरत गणेश मल्लले विभिन्न जिल्ला, गुल्म, प्रदेश, स्थानीय तहस्तरका लेखामा कार्यरत सशस्त्र प्रहरी कर्मचारीले मासिक रूपमा भेटी नचढाए वर्षदिन नपुग्दै काम नलाग्ने स्थानमा सरुवा गरिदिने काम गर्दै आएका छन् । मल्लको बारेमा अख्तियारदेखि उच्च तहको नेतासम्म उजुरी पुगे पनि नेतादेखि अन्य तहका व्यक्तिहरूलाई समेत रिझाएका कारणले जति भ्रष्टाचार गरे पनि उनी उम्किँदै आएका छन् । भ्रष्टाचारबाट बचाएबापत नेतादेखि अख्तियारको पदाधिकारी र कर्मचारीहरूको घर–घरमा मायाको चिनो पठाउने गरेको आरोप उनीमाथि लागेको छ । जति भ्रष्टाचार गरे पनि मल्ल बच्ने गरेको पीडित प्रहरीदेखि उच्च कर्मचारीहरूको समेत प्रहरी हलचोकमा गुनासो रहने गरेको छ ।
आजको १९ दिनपछि सशस्त्र प्रहरीभित्र खेलाफड्को हुँदैछ । चैत २० गते आइजिपी शैलेन्द्र खनालको अवकाशसँगै पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना आइजिपी बन्ने छन् । आइजिपी बन्नका लागि उनीहरूले कांग्रेसी नेताको घरदैलो गर्दैछन् । पुष्पराम केसीले नेकपाकै सरकारको बेला आफू आइजिपी बन्न तत्कालीन प्रधानमन्त्री केपी ओली र राजनीतिक सल्लाहार राजन भट्टराईलाई प्रयोग गरेका थिए । पैसा र चाकडी नै ठूलो ठान्ने केसीले २१ दिने आइजिपी बन्ने निश्चित गर्न आफ्नो प्रतिस्पर्धी रामशरण पौडेलको गत साता राम्रै प्रचार गराएका थिए ।
सशस्त्रभित्र एआइजीको एक दरबन्दी थप गर्न आइओएम बन्यो । तर, डिआइजीको दुई दरबन्दी थप भएको छ । आइजिपी बन्नलाई प्रतिस्पर्धीको तेजोबध गर्न एआइजी पुष्पराम सफल भए भने उनीहरूपछि एआइजी बन्न लागेका राजु अर्याल, नारायणदत्त पौडेलको वरिष्ठतामाथि कैंची लगाउने काम सेनाबाट आएका चन्द्रप्रकाश गौतमले गर्दै आएका छन् । कांग्रेसका नेता कृष्ण सिटौलाको चाकडी गर्दैमा सफल होलान् त उनी ? नेपाल प्रहरीभित्र वरिष्ठताको हिसाब नहुँदा ‘नवराज सिलवाल काण्ड’ मच्चिएको थियो । त्यो काण्डका चर्चित नवराज सिलवाल एमालेबाट ललितपुरमा सांसदसम्म भए । जयबहादुर चन्दलाई शेरबहादुरले अख्तियारको आयुक्त बनाइएका छन् ।
त्यो बेला प्रहरीमा डिआइजीमा चन्द तेस्रो थिए । तर, भीडन्तले चौँथो नम्बरका प्रकाश अर्याल आइजिपी भएका थिए । सशस्त्रमा अर्याल र पौडेल एसपीदेखि नै समान रूपका हुन् भनिन्छ । प्रहरी सेवामा प्रवेश गर्दा यी दुवै सँगै थिए । तर, गौतम सेनाबाट आएका हुन् । डिआइजी बढुवा हुँदा अर्याल, पौडेलको डिआइजी भएको समय ९ महिना कटेको थियो ।
फौजमा हस्तक्षेप गर्दा के हुन्छ प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले विगतमा निम्त्याएको रोग साक्षी छ । वरिष्ठता मिच्ने हो भने संगठनको नीति नियम नमाने हुन्छ । अहिलेको समय भनेको योग्यता, क्षमता र कार्यकुशलता हेर्ने हो । गौतम प्रदेश २ को काण्ड चर्काउँदा आलु प्याज, छोकडा, सुपारी, मरिच, पेस्ताको राजस्व छलेको आरोप छ । उनीहरूले एकअर्काको पोल खोलाखोल गरिरहेका छन् । तस्करी छुट दिएको हलचोकले जानकारी नपाएको हो र ? एसपी हुँदा युवती काण्ड लागेका डिआइजी वंशी दाहाल छटपटाएका छैनन् । किनकी यो ब्याचमा दाहाल कान्छा डिआइजी हुन भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *