हाम्रा मन्त्री सचिवहरू आफ्नो दिमाग, नीति नियमअनुसार कम र बिचौलियाहरूको प्रभावमा ज्यादा चल्ने गरेका छन् । त्यसको पछिल्ला उदाहरण हुन् स्वास्थ्यमन्त्री विरोध खतिवडा । मकवानपुरबाट लगातार निर्वाचन जितेका तर ओलीका कारण लाभका पद नपाएका उनै खतिवडा अहिले सत्ता र शक्तिमा पुगे पछि बद्नाम हुने सिलसिला जारी छ । अहिले स्वास्थ्यमन्त्रीको हैसियतमा रहेका उनै खतिवडा कहिले स्वकीयका कारण त कहिले बिचौलियाका कारण अनेकन फण्डामा फरिरहन्छन् । लामो समयसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विशाल पण्डितजस्ता स्वास्थ्य क्षेत्रका माफियाहरूको कब्जामा थियो अहिले छायाँ मन्त्रीका रूपमा विशाल पण्डित होइनन् नारायण कार्की हाबी हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । कार्की पेसाले मेडिकल आपूर्तिकर्ता हुन् । उनकै इसारामा स्वास्थ्यमन्त्री खतिवडा हिँड्ने गरेको स्वास्थ्यका कर्मचारीहरू बताउने गर्दछन् । उनी अनुकुल नहुने वित्तिकै स्वास्थ्यका कर्मचारीहरूको सरुवा हुने गरेको स्वास्थ्यका अधिकारीहरूले सुनाएका छन् । स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीको सरुवा, स्वास्थ्य सामग्री र औषधि खरिदमा कांग्रेस नेता ईन्द्र बानियाँ र मेडिकल सामान तथा औषधि आपूर्तिकर्ता कार्कीको स्वार्थमा मिल्ने गरी काम नगर्ने कर्मचारीहरूलाई खतिवडा र बानियाँले अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने र गुणस्तरहीन औषधि खरिदमा दबाब दिने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारी सुनाउँछन । मन्त्री खतिवडाले कर्मचारीहरूलाई नारायण कार्कीले भनेअनुरूप गर्नू भनेर निर्देशन दिने गरेका छन् । उनको फाइल कतै रोकिए वा भनेअनुरूप नभए सिधैँ मन्त्रीको कोठामा फोन गराउने गरेको ती कर्मचारीले सुनाए । पछिल्लो समय खतिवडा मन्त्री बनेसँगै कार्कीको धन्दा गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधि बेचेर नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने र आफूले मोटो कमिसन खाने उनको दैनिकी बनेको छ । स्वास्थ्यसचिव डा. रोशन पोखरेल पनि कार्कीका अगाडि मुकदर्शक बन्ने गरेको स्वास्थ्यका ती अधिकारीले सुनाए ।
