काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको उल्लेख गर्दै आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने बताएका हुन् ।
उनले,‘यसवर्षको खडेरीले अन्नको भण्डार मानिने हाम्रो तराईको खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आयो। जहाँ रोपाइँ भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको छ। किसानका पीर, पसिना र सपना माटोमै सुक्न लागेका बेला म केही समयअघि तराई गएको थिएँ र सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगको विशेष निर्णय गरेको थियो। तत्कालका लागि पाँच सयवटा डीपबोरिङ जडानको काम सुरु गरिएको थियो, र दीर्घकालीन समाधानका लागि सुनकोशी–मरिन डाइभर्सनको काम अघि बढाइरहेको’ जानकारी गराएका छन्।
साथै उनले अगाडि भनेका छन् पछिल्लो साता हामीलाई प्रकृतिले साथ दिएको छ। वर्षाले फेरि हरियाली फर्काउन थालेको छ। यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ, र केही दिनमै सम्पूर्ण खेतबारीमा हरियो सपना लहराउनेछ भन्ने आशा रहेको उल्लेख गरेका छन्।

