गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

राजनीति समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो ।

गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ । यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो ।

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए । ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन् । नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उनले भने ।

उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन् । आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन्। उनीहरूले एक घन्टा धर्ना दिने जनाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *