काठमाडौं । आगामी आमनिर्वाचनको मितिलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ गठबन्धनका दुई शीर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाबीच मतभद सुरु भएको छ ।
यही कारणले गर्दा सरकारले आमनिर्वाचनको मिति टुंगो लगाउन सकिरहेको छैन । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रदेश र संघीय निर्वाचनलाई आगामी फागुनको अन्तिम साता मात्रै गर्ने पक्षमा देखिएका छन् । पार्टी संगठनको अवस्थालाई लिएर माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आमनिर्वाचनलाई सकेसम्म पछाडि धकेल्ने पक्षमा रहेका हुन् ।
गत वैशाख ३० सम्पन्न स्थानीय निर्वाचनलाई पनि एकीकृत समाजवादीका अध्यक्ष नेपाल आगामी फागुनमा मात्रै गर्ने गरी एकसाथ स्थानीय, प्रदेश र संघीय निर्वाचन गर्ने प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्री देउवाको जोडबलमा गत वैशाख ३० गते नै स्थानीय निर्वाचन सम्पन्न भएको छ ।
सरकारका दुई घटक माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आमनिर्वाचनलाई आगामी फागुनको अन्तिमसम्मका लागि पछाडि धकेल्ने पक्षमा रहेका भएपनि प्रधानमन्त्री देउवा यही मंसिर ४ गते एकैचरणमा प्रदेश र संघीय निर्वाचन गर्ने पक्षमा छन् ।
आमनिर्वाचनका सम्बन्धमा गत असार २२ गते निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित टोलीसँग प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । उक्त छलफलमा निर्वाचन आयोगको तर्पmबाट प्रमुख आयुक्त थपलियाले आगामी मंसिर ४ गते एकैचरणमा प्रदेश र संघीय निर्वाचन गर्न सुझाव दिँदै त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी अगाडि बढाएको पनि प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको मितिलाई लिएर आगामी मंसिर ४ गते उपयुक्त हुने भनेर दिएको सुझावपछि प्रधानमन्त्री देउवा सहमत भएका थिए । र, प्रधानमन्त्री देउवाले तत्काल बस्ने मन्त्रिपरिषद्को बैठकबाट आमनिर्वाचनको मिति आगामी मंसिर ४ गर्ने गरी निर्णय गर्ने उल्लेख गर्दै आवश्यक तयारी अगाडि बढाउन प्रमुख आयुक्त थपलियासहितको निर्वाचन आयोगको टोलीलाई निर्देशन दिएका थिए ।
तर, अहिले साउनको १५ गते लाग्न सुरु हुँदा पनि मन्त्रिपरिषद्को आमनिर्वाचनको मितिका सम्बन्धमा निर्णय गर्न सकेको छैन । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बीचमा सहमति हुन नसकेकै कारणले गर्दा निर्वाचनको मिति तय नभएको हो भनिन्छ ।
तर, निर्वाचन आयोगले गरेको तयारी र मुलुकमा बनेको वातावरण तथा पार्टीभित्रैबाट आएको दबाबलाई ध्यानमा राखेर प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट आगामी मंसिर ४ गते संघीय र प्रदेश निर्वाचन एकैचरणमा गर्ने निर्णय गर्न सक्ने देखिएको छ । यस सम्बन्धमा कांग्रेस प्रवक्ता प्रकाश शरण महतले पनि सार्वजनिक रुपमै आगामी मंसिर ४ गतेका लागि मन्त्रिपरिषद्ले निर्णय गर्ने टिप्पणी गरिसकेका छन् ।