दलहरुको विदेशी प्रभूभक्ति र भतुवागिरी नेपाल राष्ट्रको अस्तित्वको लागि खतरा बनेको छ । नेपाली जनताले चुनेका दलका नेताहरुबाटै राष्ट्रघात हुने संभावना उहाँहरुले बेलाबेलामा देखाउनु भएको विदेशी प्रभूभक्ति र भतुवागिरीले नै पुष्टी भएकाछन । दुई ठुला क्षिमेकी देशहरु चीन र भारत सित मिलेरै बस्नु पर्ने नेपाल राष्ट्रको बाध्यता छ । नेपाल राष्ट्रको भूगोलले गर्दा क्षिमेकी देश चीन र भारत सित स्वर्गिय राजा महेन्द्रले प्रतिवादन गरेको असंलग्न परराष्ट्रनीति अपनाउँदै तठस्त भएर बसेमा नेपाल राष्ट्रलाई कतैबाट कुनै खतरा छैन । तर हालैका दिनहरुमा नेपालको राजनीतिमा सक्रिय प्रोअमेरिकन लबीका केही राजनीतिक दलहरुले असंलग्न परराष्ट्रनीतिको बिरुद्धमा गएर अमेरिकाको चीनलाई घेर्ने सामरिक नीतिलाई सघाउन अमेरिकी परियोजनाहरु जस्तो एमसीसी, एसपीपी आदि नेपाली जनताले धेरै बिरोध गर्दागर्दै पनि स्वीकार गरी कार्यन्वयनमा चरणमा लगेका छन । भारत लगायत जापान र आस्ट्रलिया पनि संलग्न भएको चीनलाई घेर्ने अमेरिकी नीति आन्तर्गतको ईन्डो–अमेरिकी शैनिक प्याक्टमा नेपाललाई पनि सामेल गराउदै लगेका छन् ।
नेपालको परराष्ट्रनीतिको सन्दर्भमा कुरा गर्दा राजा महेन्द्रको योगदान ठुलो छ । उहाँले नै नेपाल राष्ट्रलाई एक राष्ट्रको रुपमा विश्वलाई चिनाएका हुन । हालसालै केही प्रबुद्ध लेखक वर्गले स्वर्गिय राजा महेन्द्रले प्रतिपादन गरेको असंलग्न परराष्ट्र नीतिलाई महेन्द्र पथ पनि भन्न थालेका छन । नेपालमा हाल सक्रिय राजनीतिक दलहरु कुनै न कुनै विदेशी प्रभू सित आबद्ध छन र तिनै विदेशी प्रभूले बेलाबेलामा फाल्ने गरेको भत्ता खाएर तिनैको भतुवागिरी गर्दै बस्ने गरेका छन । नेपाली काँग्रेस लामो इतिहास बोकेको नेपालको राजनीतिक दल भएता पनि उक्त पार्टीको बर्तमान नेतृत्व अमेरिकन लबीमा संलग्न भएर अमेरिकी प्रभूबाटै नेपालमा परिचालित र निर्देशित छन । नेपालका केही वामपंथी कम्युनिष्ट नामधारी राजनीतिक दलहरु पनि काँग्रेस पार्टीको नेतृत्वमा नेपाल सरकार बनाएर त्यसमा समेल हुँदै ईन्डो–अमेरिकन लव्बीमा लामबद्ध भएका छन् । स्वर्गिय राजा महेन्द्रले नेपालको अस्तित्व रक्षाको निमिक्त प्रतिपादन गरेको असंलग्न परराष्ट्रनीति नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारले त्याग्दै लगेको हुँदा राष्ट्रको अस्तित्व नै मेटिन सक्ने खतरा बढेको छ । अहिले पनि दलका ठुला नेताहरु भारतिय राजदुतावास भित्र सुटुक्क छिरेर प्रत्येक महिना भत्ता थाप्छन भन्ने समचार प्रकाशित भईरहेका छन् ।
नेपालका ठुला नेताहरुले त्यसरी बुझ्दै आएको भत्तालाई भारतिय राजदुतावासले कुत्ताको चारो शीर्षक अन्तर्गत बाँड्ने गरेका छन भनिन्छ । यसबारे विदेशीको भतुवागिरीमा संलग्न दलका ठुला नेताहरुले नै सत्यतथ्य माथि प्रकाशित पारेमा सुनमा सुगन्ध थपे झै हुने थियो । विदेशीहरु नेपालमा अनेक रुपमा घुसी सक्रिय रहेका छन । खासगरी विदेशी बैंकहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु नेपालमा लामो समय देखि सक्रिय छन । उक्त विदेशीले चलाएको संस्थाहरुले नेपाल भित्र आफ्नो कार्यालयहरु नै खोली नेपालको बिकास र राजनीतिमा हस्तक्षेप गर्दै आएका छन । विदेशीहरु सबैको लक्ष नेपाललाई परनिर्भर मुलुक बनाएर उनीहरु माथि निर्भर हुने मुलुक बनाउँदै आफ्नो मुलुकको व्यापार नेपालमा बढाउनु नै हो । साथै नेपालमा परपूर्व काल देखि चल्दै आएको धर्म साँस्कृतिहरुलाई मेटाएर बिस्तारै इसाई धर्म र संस्कृतिले प्रतिस्थापन गर्नु नै हो ।
राजनीतिक दलहरु र त्यसका नेताहरुलाई झाँसामा पारी नेपालको बिकासमा सहयोग गर्ने बाहाना बनाउदै नेपालको गउँगाउँमा पुगेर विदेशीले अबिकास र अधर्मको बीउ रोप्दै हिडेका छन । दलका नेताहरु भन्छन उहाँहरुको लक्ष नेपालको बिकास र समृद्धि हो र नेपाली जनतालाई सुखी बनाउनु हो । यसको उल्टो नेपाली जनता झनझन दुखी बन्दै गएका छन भने नेपाल फजुल पूर्वाधार बिकासको खण्डहर बन्दै गएको छ । दलका नेताहरुले घोषणा गरेको बिकास लक्ष सित उहाँहरुले बनाएका बिकास पूर्वाधारहरु कतैबाट पनि जोडिएका छैनन् । विदेशीको भरमा परी तिनीहरुले नै बनाएको योजना अनुसार दलका नेताहरु चल्दै जाँदा आज आएर नेपाल राष्ट्र आर्थिक संकटको भुँमरीमा जाकिन पुगेको छ । दलहरुले सत्तामा बसेर लागु गरेका सबै नीतिहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई विदेशीको गुलाम बनाउँदै लेगेको देखिन्छ ।
अब त्यसबाट उम्किन वा बच्नको लागि निकै कठिन हुँदै गएको छ । नेपाल राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दलका नेताहरुले ३३ बर्षे शासनकालमा सिन्को भाँचेका छैनन् । राजतन्त्र कालमा नेपाललाई आत्मनिर्भर बनाउने योजनाको साथ खोलिएका सबै मौलिक उद्योगहरुलाई दलहरुले खण्डहर बनाईसकेका छन । दलका नेताहरुले विदेशी सित साँठगाँठ गरी अपनाएका नीतिहरु कै कारण आज नेपाल राष्ट्र न घर न घाटको अवस्थामा पगेको छ । अझ पनि देलका नेताहरुको मनमा चेतना पलाएको छैन । तिनै विदेशीलाई हरगुहार माग्दै हिडेका छन । नेपालको व्यवस्थापिका संसदमा सुधारकार्य गर्नु भनी तिनै विदेशीलाई गुहार्छन र सहयोग लिन्छन । त्यसैगरी नेपालको न्यायपालिकामा सुधार गर्नु भनी तिनै विदेशीलाई गुहार्छन र सहयोग लिन्छन । त्यसको परिणाम के निस्कियो भन्ने कुरा लेखीराख्नु पर्दैन जगजाहेर नै भएका छन । नेपालको कार्यपालिकाको कुरागरी साध्य नै छैन सबै पहिले नै लथालिङ्ग र भताभुङ्गको अवस्थामा परिणत भईसकेको छ । तैपनि दलका नेताहरु गर्वको साथ भन्छन र दाबी पनि गर्दछन कि उहाँहरुले नेपालमा चमत्कारिक बिकास गरेका छौं । दलका नेताहरुले घरजग्गाका नाफाखोर दलाल माफियाहरुको चक्करमा परी बालुवाटार जस्तो केन्द्रमा रहेको ललितानिवासको सरकारी धरजग्गाको समेत अपचलन गराएका छन । यसै काण्डबाट थप के प्रकाशित हुन्छ भने नेपालको अन्य भेगमा भएका मठमन्दिरको जग्गाहरु, प्रतिजग्गाहरु, सरकारी जग्गाहरु सबै दलहरुले स्वाहा पारिसकेका छन् ।
यस्ता राष्ट्रको बहुमूल्य सम्पतिहरुको रक्षा गर्नुको साटो उल्दै अपचलन गर्न सघाउने दलका नेताहरु विदेशीको निर्देशनमा नेपालको बिनास गर्न सक्रिय छन । नेपालमा परपूर्वकाल देखि चल्दै आएको धर्म, संस्कार र स्थापित परम्पराहरुले नेपाली जनतालाई जोडेर राखेको हुन्छ । त्यसकारण यदि दलका नेताहरुले त्यसैको बिनास गर्दै गएमा नेपालको बिनास हुन्छ र नेपाल राष्ट्र नेपाल जस्तो कतै रहने छैन । दलका नेताहरुले विदेशीलाई खुशी पार्नको निमिक्त अनेक सहुलियत विदेशीलाई उपलव्ध गराएका छन तर नेपाली जनतालाई खुशी पार्नको लागि सिन्को भाँचेका छैनन् । चुनावको मुखमा यो गर्छौ र त्यो गर्छौ भनी प्रतिबद्धतापत्र छापेर बाँड्छन अनि चुनाव जितीसकेपछि तिनै भोट हालेर जिताउने जनतालाई पटक्कै बिर्सेर गाउँघर तिर पाँचबर्ष सम्म देखा सम्म पनि पर्दैनन् ।
अहिले सम्म दलका नेताहरुले भ्रान्ति मात्रै फैलाएका छन क्रान्ति केही कतै गरी देखाउन सकेका छैनन् ।भ्रान्ति फैलाएकै भरमा राजालाई सत्ताबाट दलहरुले सहजै सजिलै हटाए भने ३३ बर्ष देखि नेपालको राजकिय सत्तामा पनि बिकासको भ्रम फैलाएकै भरमा टिकी बसेका छन । यसरी दलहरुको भ्रमको खेती कहिले सम्म चल्ने हो र बिकासको भ्रम फैलाएकै भरमा कती सम्म सत्तामा दलहरु टिकी बस्न सक्ने हुन भन्ने बारे नेपाली जनतालाई सुसूचित पार्नै पर्छ । नेपाली जनता सुसूचित भएपछि दलहरुले फैलाएको भ्रमजालमा सजिलै पर्ने छैनन् । नेपाली जनतालाई दलका नेताहरुले अहिले भेडाको रुपमा प्रयोग गरेका छन । कसैलाई पेटभर मासुभात खान दिएर, कसैलाई पैसाले किनेर र कसैलाई डरत्रास देखाएर राजनीतिक दलका नेताहरुको भेडा बनेका नेपाली जनताहरुबाट भोट आफ्नो पक्षमा लिने गरेकाछन । नेपालमा चुनावको बुथहरु कब्जा भएका घटनाहरुले पनि नेपालका राजनीतिक दलका नेताहरु सबै अपराधिक मनोवृत्ति भएका छन् भन्ने कुरा प्रमाणित हुन्छ ।
यस्ता अपराधिक मनोवृत्ति भएका नेताहरुबाट नेपालको विकास हुन्छ भन्ने कुरामा विश्वास गर्ने कुनै ठोश आधार नै छैन । त्यसकारण नेपाली जनता दलहरुले फैलाएको भ्रमजालमा नराम्रो सित परेका छन् । दलहरुले अहिले सम्म नेपाल राष्ट्रको भाग्य बदल्न सक्ने कुनै ठोस क्रन्तिकारी काम गरी देखाउन सकेको छैनन् । जे जति गरी देखाएका छन सबै भ्रमजाल मात्रै हुन जसको सिकार नेपाली जनता र नेपालको विकास भएका छन् । राजनीतिक दलहरु नेपालको बिकास गरी आर्थिक उन्नती गर्न नराम्रो सित असफल भएका छन । यसको मुख्य कारण दलका नेताहरुको विदेशी प्रभू पर्तिको भक्ति नै हो । विदेशीले नेपालको राजनीति र विकासमा गर्दै आएको हस्तक्षेपलाई दलका नेताहरुले राम्रो सित बुझ्न सकेनन् । फलस्वारुप तिनै विदेशीको भतुवागिरी गर्न व्यस्त भएर नै दलका नेताहरुले महत्व समय ३३ बर्ष गुजारेका छन । दलका नेताहरुको यस्तो हर्कतले गर्दा नेपाल राष्ट्र झन कमजोर भएको हुँदा नेपालको अस्तित्व नै गुम्ने खतरा उत्पन्न भएको छ जसको प्रतिकार गर्न सक्ने अवस्थामा नेपाल छैन ।