कांग्रेसको घमण्डले सबैतिर समाप्त

राजनीति समाचार

काठमाडांै । गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेश निर्वाचनमा ८९ सिटमा जित हासिल गरेर सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस यतिखेर प्रतिपक्ष दलको सामना गरिरहेको छ । कांग्रेस ठूलो दल हुँदाहुँदै सत्ताको साँचो ३२ सिट हात पारेको नेकपा माओवादी केन्द्रको हातमा पुगेपछि कांग्रेस पार्टीभित्र नेता, कार्यकर्ताबीच एक गुटले अर्को गुटलाई दोषारोपण गर्न थालेका छन् ।

यतिखेर नेपाली कांग्रेसले आफ्नो सबै थोक गुमाएको छ । यसरी मुखैमा आइसकेको सत्ता एकाएक तेस्रो स्थान हासिल गरेको नेकपा माओवादीको हातमा पुगेपछि कतिपय कांग्रेस नेताहरुबीच रुवाबासी चल्न थालेको छ । एकातिर सबै संवैधानिक निकायका नियुक्तिहरु गुमाएको छ भने अर्कोतिर कतिपय देशहरुको राजदूतसमेत गुमाएको अवस्था छ ।

त्यसैगरी कतिपय कांग्रेसी कर्मचारीहरुले मालदार ठाउँहरुबाट हात धुनुपरेको छ भने नेपाली कांग्रेसलाई भविष्यमा पर्ने आर्थिक भार पनि थपिएको छ । उता सातवटा प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा बन्ने थियो भने सभामुख, उपसभामुख, प्रदेश मन्त्री आफ्नै नेतृत्वमा बन्ने थियो ।

तर, कांग्रेसभित्रकै केही नेताहरुको हेलचेक्र्याइँ र पार्टीभित्रको गुटगत दुस्मनीले गर्दा अहिले अधिकांश स्थान नेपाली कांग्रेसले गुमाएको छ । उता, प्रतिपक्ष दल नेकपा एमालेले भने आफूले गुमाउन लागेको विभिन्न निकायको प्रमुखदेखि राष्ट्रपति, सभामुख, विभिन्न संवैधानिक निकायदेखि प्रदेश सरकारका प्रमुख, सभामुख, उपसभामुख, प्रदेश मन्त्री, संघीय मन्त्री, राजनीतिक नियुक्ति, कुटनीतिक नियोगका नियुक्ति, कतिपय राजदूतलगायतका क्षेत्र आफ्नो भाग ल्याउन सफल भएको छ ।

यति मात्रै होइन नेकपा एमालेले राष्ट्रपति र सभामुखसमेत आफ्नो पक्षमा पार्न सफल भएको छ । यसले आगामी दिनमा सरकार चलाउन पनि एमालेलाई सजिलो हुने देखिन्छ । किन कि अहिले नेपालको राजनीति वामपन्थीको पोल्टामा गएको छ भने सरकार बनाउन गैरवामपन्थीदेखि राप्रपा र स्वतन्त्रलेसमेत वामपन्थी सरकारलाई साथ दिएर अगाडि बढेका छन् । (तामाकोशी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *