नेपालमा विकासका लागि रेल सेवाको विकास हुनु अनिवार्य छ

अन्तरवार्ता

पछिल्लो समय नेपालमा सर्वाधिक चर्चा र चासोको विषय बनेको छ रेल। सरकारले उत्तर र दक्षिणका दुवै छिमेकीसँग रेलमार्ग जोडिने बताउँदै आएको छ। देशभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माण जारी छ। जनकपुर–जयनगर रुटका लागि नेपालले दुईवटा आफ्नै रेल किनिसकेको छ भने भारतको रक्सौल र चीनको केरुङबाट काठमाडौंलाई जोड्ने गरी दुई ठूला रेल मार्ग परियोजनाको प्रारम्भिक अध्ययन सुरु भएका छन्। औद्योगीकरणका लागि सबैभन्दा ठूलो मास ट्रान्सपोर्ट चाहिन्छ । रेलभन्दा ठूलो मास ट्रान्सफोर्टेसनको अर्को साधन छैन, जुन सस्तो, सुलभ, सहज, छिटो, छरितो सुरक्षित साधन हो । रेलको विकास जति चाँडो भयो, देश विकसित हुँदै जाने बताउँछन् रेल विभागका पूर्व प्रशासक तथा रेल विज्ञ बलराम मिश्र । मिश्रले लामो समय देखि विभागको नेतृत्व गर्दै हाल विज्ञको रुपमा कार्यरत छन् । नेपालमा रेल सञ्चालनका लागि भइरहेको कार्य प्रगति, रेल सञ्चालनको चुनौतीलगायतका विषयमा केन्द्रित रहेर उनीसँग तामाकोशी सन्देश साप्ताहिकका प्रतिनिधिले गरेको कुराकानीको अंशः

० लामो समय देखि रेल विभागमा आवद्ध हुनुहुन्छ । महानिर्देशक हुदैं हाल रेल विज्ञको रुपमा हुनुहुन्छ । रेल विभागमा के कस्ता काम भइरहेका छन् बताइदिनुहोस न् ।
रेल यातायातको विकासको क्रममा संसारभर हेर्दा पनि लामो समयमा भएको देखिन्छ । नेपालका सन्दर्भमा पनि विगत १३ वर्षदेखि छलफल भएर अध्ययनहरू भएका छन् । केही कामहरू अगाडि बढाइएको छ । विशेषगरी अध्ययनको कामहरू भइरहेका छन् । नेपाललाई आवश्यक पर्ने रेल कस्तो हो भनेर अहिले अध्ययन र योजनाकै अवस्थामै हो । तथापी केही देखिनेगरी काम पनि भएका छन् । सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमणमा जाँदा एउटा रेलसम्बन्धी सम्झौता भयो । क्रस बोर्डर रेलवे नेपाल र भारतमा विस्तार गर्ने महत्वपूर्ण सम्झौता भयो । सोही सम्झौतापछि नेपालमा रेलसम्बन्धी कामहरू केही अगाडि बढेको हो । नेपालमा पनि रेलको चासो सोही क्रस बोर्डर रेल सम्झौताले बढाएको हो । सम्झौतापछि नेपालले भन्दा पनि भारतले सोही सम्झौताअनुसार अध्ययन गर्न थालेका थिए । पाँचवटा क्रस बोर्डरमा रेलवे सञ्चालनको अध्ययन र निर्माण गर्ने सम्झौता भएको थियो । सोहीअनुसार दुईवटामा अध्ययन भएर काम समेत अगाडि बढेका छन् भने तीनवटा रेलवेको काम अध्ययनकै चरणमा रहेको छ । त्यसको साथसाथै पूर्वपश्चिम रेल मार्ग, ट्रान्स एसिया रेलवेको पनि सन् २००६ मा सम्झौता भएको छ । ट्रान्स एसिया रेलवे भनेको एसियाभरी सञ्जाल विस्तार गर्ने र सोही रेलवेमा नेपाल पनि जोडिने विषयहरू रहेका छन् । एसियन रेलमार्ग नेपाल पनि जोडिने र सोही खण्डमा नेपालको पूर्वपश्चिम रेलमार्गको अध्ययन सुरु भएको हो । पूर्वपश्चिम रेल मार्गको विस्तृत अध्ययन अहिले भइरहेको छ । निजगढदेखि चितवन खण्डको बाहेकको खण्डको अध्ययनसमेत सकिएको छ । ९४६ किलोमिटरमध्ये १३६ किलोमिटर बाहेकको डिडिआर तयार भइसकेको छ । यसमा लगानीको हिसाब हेर्ने हो भने एकदमै ठूलो रकम आवश्यक पर्दछ । रेल सिधा निजी क्षेत्रले चलाउने अवस्था पनि छैन । केही देशमा केही मेट्रो रेलबाहेकमा निजी क्षेत्रले लगानी गर्ने अवस्था पनि छैन । समान्यत भारतमै हेर्दा पनि आफै निर्माण र सञ्चालन गरेका छन् । लगानी र प्रतिफलको हिसाबले एकदमै लामो समय लाग्ने भएकोले निजी क्षेत्र लगानी गर्न आइहाल्ने अवस्था छैन । भविष्यमा प्रतिफल दिन्छ सोही कारण पनि अध्ययन राम्ररी गर्न आवश्यक छ । १५ औँ योजनामा पनि केही रेल मार्गहरू विकास गरिने कुरा राखेका छौँ । सोहीअनुसार योजनाहरू पनि बनेका छन् । अहिले संसारभरि नै हेर्ने हो भने रेल यतायात त्यो पनि द्रुत गतिको रेल नै भविष्यको यातायातको साधन हुने प्रक्षेपणहरू भइरहेका छन् । सोहीअनुसार काम पनि विश्वभर भइरहेका छन् । सडक यातायातभन्दा धेरै द्रुत गतिमा गुड्ने भएकोले अहिले चीनकै कुरा गर्दा ४० हजार किलोमिटर द्रुतगतिको रेल सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । संसारभर नै सोही अनुसार काम पनि भइरहेको छ । त्यसैले नेपाल पनि रेलसञ्जालबाट अब टाढा बस्न सक्दैन । सोही कारण पनि नेपालले लगानी योजना र अध्ययन गरिरहेको छ ।
० नेपालका दुवै छेमेकी मुलुकहरू चीन र भारतले नेपाललाई रेलमार्गसँग जोड्नको लागि तीव्ररूपमा प्रतिस्पर्धा गरिरहेका छन् । यसलाई हामीले कसरी र कुन रूपमा बुझ्न आवश्यक छ ?
हाम्रा दुईवटै छिमेकी मुलुकहरूले रेलवे मर्गको प्रारम्भिक अध्ययनको कामको साथसाथै विस्तृत अध्ययनको काम पनि छिटै थाल्ने तयारी गरिरहेका छन । हामीले संघीय राजधानी काठमाडौँमा ट्राफिक जामको सहजीकरणको लागि मेट्रो रेल सञ्चालन गर्ने विषयमा पनि अध्ययन गरिरहेका छौँ । त्यसको लागि सुरुमा ५ स्थानका लागि पूर्वसम्भाव्यता अध्ययनको काम भएको छ । त्यसमध्ये अहिले दुईवटा स्थानको लागि डीपीआर अध्ययनको काम भइरहेको त्यसमध्ये एउटा खण्डको कामको काम लगानी बोर्डमार्फत भइरहेको छ । जस्तो, काठमाडौँको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको काम उसले गरिरहेको छ । यस्तै काठमाडौँकै बुढानिलकण्ठदेखि चोभारसम्मको काम रेल विभागमार्फत अगाडि बढिरहेको अवस्था छ । यी ठाउँको केही भागको कामका बारेमा सम्झौता भइसकेको पनि छ । चाइनिज परामर्शदातामार्फत यो काम भइरहेको थियो । तीन बर्ष अगाडि चीनमा फैलिएको कोरोना भाइरसले काममा केही बाधा पु¥याएकोले काममा केही ढिला हुने अवस्था देखिएको छ । यसैगरी पोखरादेखि काठमाडौँ जोडने रेलमार्गबारे अध्ययन गर्ने काम पनि रेल विभागमार्फत भइरहेको छ । यसैगरी पोखरा लुम्बिनी सम्भाव्यता अध्ययनको काम सकिएको छ । मुख्यगरी अहिले निजगढदेखि बर्दिबाससम्मको कन्ट्रक्सनको काम रेल विभागले अनुभवको लागि भनेर पनि केही काम गरिरहेको छ । भारतीय रेल नआउञ्जेलसम्म प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्म जोडने गरी काम अगाडि बढाएका छौँ ।
० अहिले चर्चामा रहेको केरुङ–काठमाडौं रेलमार्ग निर्माणको अध्ययन–अनुसन्धान कहाँ पुगेको छ ?
केरुङ–काठमाडौं नेपाल–चीन सरकारले मुख्य प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । दुई देशले नै यसलाई मुख्य परियोजनाका रूपमा अगाडि बढाउने गरी काम थाल्न निर्देशनसमेत जारी भएको सर्वविदितै छ । हालसम्म कार्यान्वयन तहमा भने सम्झौताबमोजिम प्रफिजिबिलिटीको काम सकेर रिपोर्ट प्राप्त भइसकेको छ । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा छुट्टै सम्झौता भएको छ । चीन सरकारकै सहयोगमा प्रफिजिबिलिटी अध्ययन भएको हो । नेपाल सरकारको सहयोगमै तयार हुने हो । चिनियाँ प्राविधिक टोली नेपाल भ्रमण गरेर सम्पूर्ण अध्ययन छलफल गरी प्रस्ट भएर जानुभएको छ । हामी अहिले भने चिनियाँ पक्षको प्रतीक्षामा छौं ।
० भौगोलिक अवस्थाले रेलमार्ग निर्माण गर्न तुलनात्मक रुपमा कठिनाई देखिएको हो ?
नेपालको भौगोलिक अवस्था नै अलिक कठिन छ । हामीले यो अवस्था परिवर्तन गर्न सक्दैनौं । सोहि बमोजिमको पूर्वाधार निर्माण गर्ने हो । विश्वका कठिन भौगोलिक अवस्था रहेका स्थानहरुमा पनि ठूला ठूला पूर्वाधारहरु निर्माण भैरहेका छन्, भैसकेका छन् । अहिले सबै प्रविधिको विकास भैसकेको छ । हामीले त्यसलाई प्रयोग मात्र गर्ने हो । यो मात्र फरक पर्छ कि आर्थिक रुपमा धेरै खर्च पर्न सक्छ ।
० रेलमार्गबाटै नेपाल तेस्रो मुलुकसँग जोडिने सम्भावना कस्तो रहेको छ ?
अवस्य पनि रेलमार्गले नेपाल भारत चीन बाहेक तेस्रो मुलुकमा पनि यातायात सञ्जाल जोड्छ । हाम्रो रेलमार्ग जोगवनिमा जोडिने बित्तिकै हामी तेस्रो मुलुकमा जोडिन सक्छौं । तर भारतले यसमा अनुमति दिनु पर्नेछ । यसैगरी काठमाडौंदेखि केरुङ रेलमार्ग जोड्न सक्यौं भने हामी पुरै चीन घुम्न सक्छौं । हाम्रो रेलले सिधै चीनबाट सामान उठाएर नेपाल ल्याउन सक्छ । सिधैं भारतबाट सामान बोकेर ल्याउन सक्छ । तर यसमा समस्या के आउन सक्छ भन्दा हाम्रो रेललाई भारतले अनुमति दिन्छ वा दिदैंन । चीनले हालसम्म नेपाली एयरलाइन्सलाई समेत अनुमति दिएको छैन । यसमा पनि नेपाली रेललाई भारत पस्न दिन्छ दिदैंन भन्ने कुरा हो । यदि स्वीकृति दियो भने नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्नेछ ।
० नेपालमा रेलको विकास गर्न समस्याचाहिँ के छन् ?
अध्ययन गराउनु सजिलो छ, बनाउन अप्ठेरो । हामीसँग दक्ष जनशक्ति छैन । हाम्रा केही इन्जिनियर चीनबाट पढेर पनि आइसक्नुभएको छ । बल्ल जनशक्ति तयार गर्छाैं ।
समस्याका बाबजुद सरकार जसरी पनि रेल सञ्चालन गर्न लागिपरेको छ। हामीले यससम्बन्धी कामलाई अगाडि बढाइरहेकै छौँ । मित्रराष्ट्रहरुसँग सहकार्य गरिरहेका छौँ ।
० काठमाडौंमा मेट्रोरेलको कुरा कहाँ पुग्यो?
यसको काम पनि हामीले गरिरहेका छौँ । कन्सल्ट्यान्ट छनोटको काम अन्तिम चरणमा छ । यो लामो प्रक्रिया हुन्छ । यसमा एक दुई चरण बढी छ। यसमा कम बोलपत्रदाताले पाउँछ भन्ने हुँदैन ।
० नेपालमा समृद्धि भनेकै रेल हो भनेजसरी चर्चा गरिएको छ । तर, सरकारको कामको गति भने ढिला छ । त्यसमा सरकार चुकेको हो ?
त्यस्तो होइन । रेल विभागको इतिहास हेर्नुस्, मन्त्रालयले पहिले नै एउटा सेल खडा गरेर पूर्वसम्भाव्यता अध्ययन गरेको हो। काठमाडौं–पोखरा, पूर्व–पश्चिम रेलमार्गको अध्ययन पहिले नै गराएको हो। समृद्धि ल्याउने हो भने रेल ल्याउनै पर्छ। एकपटक धेरै मानिस र सामान ओसारपसार गर्न सक्ने यातायात सेवा रेल नै हो। विश्वमा कम दुर्घटना हुने अर्थात् सुरक्षित यात्राको भरपर्दो साधन रेल नै हो। हल्लामात्रै होइन, सरकारले नै गरिरहेको छ। तर, हामी सुरुवाती चरणमा छौँ। मध्यमखालको रेल चलाउने योजना बल्ल सुरु गर्दै छौँ। विश्वमा अनेक प्रविधि भित्रिसके। सरकार चुकेको म भन्दिनँ। किनकि म यो कुर्सीमा बसेर त्यसो भन्न मिल्दैन। काम नभएको होइन। नेपालले आफ्नै रेल खरिद गरेर रेल चलाउने कुरा गरिसक्यो। यसलाई गम्भीर नभएको भन्न मिल्दैन।
० रेल सञ्चालनमा आएपछिका समस्या र चुनौतीहरू के–के हुन् ?
सबै निकायलाई बुझाउन के सकिएको छैन भने यो पूर्वाधार हो । पूर्वाधारको व्यापारिक मूल्यांकन मात्र गरेर मात्र हुँदैन, यसको प्रतिफल आजको भोलि प्राप्त हुँदैन पूर्वाधारमा लगानी गर्दै लानुपर्छ । पूर्वाधारको लगानी अप्रत्यक्ष आम्दानी भइरहेको हुन्छ । रेलको विकाससँगै व्यापार देशको औद्योगीकरणको विकास हुन्छ । विकसित देशमा रेलको विकाससँगै देशले आर्थिक उन्नति गरेका छन् । रेल सुरक्षित यात्राको साधन हो, यसले समयमै गन्तव्यमा पुर्याउँछ । साथै, मास ट्रान्सफोर्सको साधन हो, जुन अरू साधनभन्दा सस्तो हुन्छ । भोलिका दिनमा विद्युतीय रेलको पनि उत्तिकै सम्भावना छ । रेल सञ्चालन भएमा स्वदेशकै विद्युत् खपत गर्न सकिन्छ भने व्यापारघाटा समेत कम गर्न सकिन्छ । रेलले गन्तव्यको दूरीसमेत घटाउनेछ । रेलको माध्यबाट देशले आर्थिक विकासको गति लिनेछ ।
अन्त्यमा, काठमाडौंमा मेट्रो रेलको धेरै अध्ययन भएको छ । काठमाडौंको विकास र विस्तारको सीमा भएकाले अन्तिम विकल्प भनेको मेट्रो रेल नै भएको विभिन्न अध्ययन–अनुसन्धानले देखाएको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधानका लागि मेट्रो रेल नै भएको अध्ययनले सुझाउँदै आएको छ । देशको आर्थिक विकास र सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारा सफल पार्न रेलको सञ्जाल विस्तार नगरी सम्भव छैन । औद्योगीकरणका लागि सबैभन्दा ठूलो मास ट्रान्सपोर्ट चाहिन्छ, रेलभन्दा ठूलो मास ट्रान्सपोर्टको अर्काे साधन छैन । रेल वास्तवमा सस्तो, सुलभ, सहज, छिटो, छरितो सुरक्षित साधन हो । रेलको विकास जति चाँडो भयो देश त्यति चाँडै विकसित हुँदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *