sampadakiya

सरकार भागबण्डामा व्यस्त, बजार अनुगमन शून्य

लेख विविध

सम्पादकीय
सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि सरकारले कुनै उपलब्धीमूलक काम गर्न सकेको छैन । हालै सरकारले बजेटको अर्थवार्षिक समीक्षा पनि गरेको छ । अर्थतन्त्र कमजोर बनिरहेको अवस्थामा बजारमा लुटतन्त्र पनि उत्तिकै चलिरहेको छ । सरकारले बजार अनुगमन गर्न सकेको छैन । सरकार राजनीतिक भागवण्डामै रमाउन व्यस्त छ ।

सरकार निर्माण भएको दुई महिना बित्दा पनि कुनै काम नगरी भागवण्डा र सत्तामा रमाउनुले मुलुकको समृद्धि र विकासलाई कुनै फाइदा पुग्दैन् । उल्टै सरकारी कोषमाथि लुटतन्त्र चल्ने गर्दछ । अहिले खाद्यान्नको मूल्य आकाशिएको अवस्था छ । सरकारले अनुगमन गर्न सकेको छैन । अधिकाशं खाद्यान्न बजारमा गुणस्तरहीन बिक्री भइरहेका छन् । राजनीतिको बेथिती व्यापारमा पनि उत्तिकै देखिएको छ । व्यापारीहरुले गुणस्तरहीन सामानहरु विक्री गरेर सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र मुलुकको कानूनमाथि नै खेलवाड गरेका छन् ।

उद्योगी व्यापारीको अहिलेको मेलो भनेको रकम बढाउने र तौल घटाउने रहेको छ । कृषकले तरकारीको मूल्य नपाएर सडकमा जात्रा देखाएका छन् । सरकार भने दिनप्रतिदित विवादमा फस्दैछ । सरकारले अनेक नाममा विदा गरेर मुलुकको अर्थतन्त्रलाई नै कमजोर बनाउँदै गएको छ । सरकारले जनयुद्धको विदा दिने सुरुवात गर्नु यो सरकारको अर्काे कमजोरी हो । यसैकारण पनि सरकारमा सहभागी दलहरुबिच मनमुटाव सुरु भएको छ । त्यस्तै भीआईपी सवारीमा पनि विवाद चलिरहेको छ ।

त्यसतर्फ सरकारले खबरदारी गर्न सकेको छैन । कमजोर नीति र अव्यवहारिक अभ्यासका कारण नेतृत्व जहिले पनि कमजोर हुने गरेको पाइन्छ । अहिले सरकार सञ्चालन दलभित्रै भाँडभैलो मच्चिएको छ । जनता महंगीको मारमा पिल्सिएका छन् । सरकारको ध्यान जनताको पीडामा भन्दा राजनीतिक पद र सुविधामा गएको छ ।

सत्ता गठबन्धन दलहरुले नै जनयुद्ध दिवसमा दिएको विदाको खेद व्यक्त गरेका छन् । सरकारमा सहभागी भएको राष्ट्रि स्वतन्त्र पार्टीले सरकार छाडेपछि रिक्त रहेका मन्त्रालयहरु मन्त्रीविहीन छन् । सरकार गठन भएको दुईमहिनासम्म पनि पदको लोभका कारण पूर्णता नपाउनुले राजनीतिक दल र नेताहरुको स्वार्थलाई उदांगो पारिदिएको छ । अब पनि सरकारले यस्तै हर्कत देखाउने हो भने जनता सडकमा ओर्लिएर सरकार र नेतृत्वलाई श्रीलंकाको जनताले जस्तै लखेट्ने सम्भावना निकट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *