प्रथम नेपाल, श्रेष्ठ नेपाल

समाचार

संसार भर अहिले राष्ट्रवादको सिद्धान्तले जोड पक्रेको छ । सर्वप्रथम अमेरिकी राष्ट्रपतिको चुनावमा पूर्व राष्ट्रपति ट्रम्पले अमेरिका प्रथम भन्ने राष्ट्रवादी नारालाई अगाडि सारी चुनाव जित्न सफल भएका थिए । यो नाराले अमेरिकी गोरा नागरिकहरुको मनमा राष्ट्रवादलाई जगाउन सफल भएको हुँदा राष्ट्रपतिको चुनाव जित्नको लागि सबै भन्दा प्रभावकारी रह्यो । त्यसैगरी भारतमा पनि प्रधानमन्त्री मोदीले प्रथम भारत श्रेष्ठ भारतको नीति अगाडि सार्दै भारतलाई आत्मनिर्भर मुलुकमा रुपान्तरण गर्नको लागि जोड लगाएका छन । भारतमा सबै प्रकारको उत्पादन बढाएर निर्यात गरी भारतलाई आर्थिक महाशक्ति राष्ट्र बनाउने वैश्चिक होडमा भारत अगाडि बढिसकेको छ ।

भारतको रक्षाको निमिक्त आवश्यक सैनिक उपकरणहरु, हातहतियारहरु र बन्दोवस्तीका सैनिक सामग्री यबम् साधनहरु भारतमा नै उत्पादन गरी परनिर्भरता हटाउने अभियानले भारतमा प्रथमिकता पाएको छ । भारतको आत्मसम्मानलाई बढाउँदै स्वावलम्बी राष्ट्र बनाउन हेतु प्रथम भारत श्रेष्ट भारत सिद्धान्तअनुसार रुपान्तरण अभियान चलाएका छन । भारतमा उत्पादित वस्तुहरुको महत्व बढेको छ भने राष्ट्रको उन्नतीको लागि भारतीय उत्पादनको उपयोग गर्न सबै भारतीय जनता एक ढिक्का भएर लागेकाछन । नेपालको ईतिहासमा उल्लेख भए अनुसार नेपालको एकिकरण गर्नुको पछाडिको मुख्य उद्देश्य पनि नेपाललाई प्रथम नेपाल श्रेष्ट नेपाल बनाउनु नै थियो । तत्कालिन परिस्थितमा भारतमा सम्राज्य फैलाएर बसेको अंग्रेज देखि नेपालको रक्षा गर्नु थियो । त्यसको लागि साना साना राज्यहरुमा विभक्त नेपाललाई एक ढिक्का बनाएर शक्तिसाली अंग्रेज सेनालाई नेपाल तिर अगाडि बढ्न रोक्नु थियो । सोही काम नेपाल एकिकरणको नायक शाह बंशिया राजा श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहले गर्नु भएको थियो ।

फलस्वरुप नेपाल विदेशी अतिक्रमणबाट संधै कञ्चन भएर एक स्वाभिमान राष्ट्रको रुपमा बिश्वमानचित्रमा उदय भएको थियो । नेपाली जनताका पूर्खाले अतिक्रमणकारी मुसलमान राजाहरु देखि लिएर भारतमा २०० बर्ष हुकुमत चलाएर बसेका अंग्रेज सम्मलाई युद्धको मैदानबाट पिठ फर्काएर भाग्न बाध्य तुल्याएका थिए । श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहका दिव्य उपदेशहरु अहिले पनि नेपाल राष्ट्रको रक्षाको निमिक्त महत्वपूर्ण छन । उक्त दिव्य उपदेशको मार्गचित्र अनुसार चलेमा नेपाललाई सजिलै प्रथम नेपाल श्रेष्ट नेपाल बनाउन सकिन्छ । नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको उन्नतीको निमिक्त नेपाली जनताको पूर्खाले बनाएको ईतिहासलाई मेटाएर होइन त्यसबाट पाठ ग्रहणगरी अगाडि बढ्नु पर्छ । नेपालको परराष्ट्रनीतिलाई पनि दिव्य उपदेशकै मार्ग निर्देशन अनुसार नै चलाईनु पर्छ । राजतन्त्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायतकालमा स्वर्गिय राजा महेन्द्रले सोही अनुसार नै नेपालको लागि असंलग्न परराष्ट्रनीतिको निव राख्नु भएको थियो । अहिले नेपालका सत्तामा पुगेका दलहरुले कुनै ठोश परराष्ट्रनीति बनाएका छैनन् । दलहरुले मिलीजुली बनाएका सरकारको नेतृत्व गर्ने नेता अनुसार नेपालको परराष्ट्रनीति हुने गरेको छ । दलका नेताहरु अति नै ढुलमुले छन कहिले उत्तर, कहिले दक्षिण र कहिले पश्चिम तिरको प्रभाव अनुसार नेपालको परराष्ट्रनीतिलाई चलाउँदै आएका छन । यस्तो ढुलमुले र पैसाको लागि विदेशीको गुलामी गर्ने परराष्ट्रनीतिले नेपाल राष्ट्रलाई कहिले पनि प्रथम नेपाल र श्रेष्ट नेपाल बनाउन सकीदैन ।

दलका नेताहरु खर्चालु छन र फजुल खर्च गरी नेपाललाई टाट पल्टाउने तिर अग्रसर छन । दलका नेताहरुले बनाएका नेपालको संबिधान २०७२ अनुसार त नेपाल कहिले पनि प्रथम नेपाल श्रेष्ट नेपाल बन्नै सक्दैन । उक्त संबिधान बनाउँदा दलहरुले दलका राजनीतिक कार्यकर्ताहरुलाई जगिर खुवाउने हिसाबले मात्रै सोचेका छन । नेपालको आर्थिक स्रोतहरुले धान्न सक्छ वा सक्दैन भनी सोचबिचार गरिएको छैन । भारत र पश्चिमेली राष्ट्रहरुको संयोजनमा भएको १२ बुँदे दिल्ली सम्झौता अनुसार नेपालको राजकिय सत्ता प्राप्त गरेका दलहरुले अहिले सम्म आफनो प्रभूभक्ति देखाउन छाडेका छैनन् । उहाँहरु नेपाली जनताको आत्मसम्मानलाई बढाउने भन्दा पनि नेपाल राष्ट्रलाई परनिर्भर तुल्याएर नेपाल राष्ट्रको अस्तित्व नै मेटाउने तिर अग्रसर छन । विदेशीको पाउँमा गुलाम झै समर्पित भएपछि विदेशीले नेपाल राष्ट्रलाई जतिपनि ऋण अनुदान सहायता दिन्छन र मोजमस्ती गर्न पाईन्छ भन्ने भ्रम दलका नेताहरुलाई परेको छ । तर त्यस्तो कुरा सत्य होइन किनकि आत्मसम्मान भन्दा अरु ठुलो यो संसारमा केही छैन ।

नेपाली जनता आत्मसम्मानको साथ अगाडि बढ्न चाहन्छन् भने दलका नेताहरु त्यसको ठिक विपरीत दिशामा अगाडि बढेका छन । नेपाली जनता र दलका नेताहरुको सोचमा फरक आएको हुनाले आपसी टकराव बढेको छ । यसले चाँडै नै द्वन्द्वको रुप लिने कुरामा अब लामो कुर्नु पर्दैन । दलका नेताहरुले विदेशीको प्रभावमा परी लिएका नीतिहरुकै कारण नेपाल राष्ट्र आर्थिक संकटको चपेटामा पर्दै गएको छ । दलका नेताहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई भन्दा पनि विदेशीलाई ज्यादा महत्व दिएर राष्ट्रको नीतिहरु ल्याएको हुँदा नेपाल राष्ट्रको दुर्गति भएको छ । राष्ट्रको नाममा ऋण काढेर घिउ खान पल्केका दलका नेताहरुले महान र बिशाल राष्ट्र नेपाललाई कंगाल राष्ट्रमा रुपान्तरण गर्दै लगेका छन । नेपालको अर्थतन्त्रलाई मोटाएको भन्न मिल्दैन किनकि यो दलहरुको कारणले सुन्निएको मात्रै हो ।
दलहरुको दाबी अनुसार नेपालको अर्थतन्त्र ५० खर्ब नाघेको छ । यसैलाई सही मान्ने हो भने नेपालको राष्ट्रिय ऋण ४२ प्रतिशत नाघेको पुष्टी हुन्छ । संसारको स्थापित मान्यता अनुसार यस्तो राष्ट्रिय ऋणको मात्रा समग्र अर्थयन्त्रको ३३ प्रतिशत नाघ्नु हुँदैन । यसैबाट प्रष्ट हुन्छकि नेपालको अर्थतन्त्र दलहरुको नियन्त्रणमा छैन र विदेशीको नियन्त्रणमा गईसकेको छ । यो दलहरुले नेपाल राष्ट्रलाई दिएको ठुलो धोका हो । दलका नेताहरु राष्ट्रको नाममा विदेशी सित ऋण लिएर खाँदै पीउँदै मोटाएका छन भने नेपाली जनतालाई ऋणमा डुबाएका छन । बचेखुचेको पैसा हचुवाको परियोजनाहरुमा लगानी गरी खेर फालेका छन । दलहरु सत्तामा पुगेपछि थप बिकास केही नगरी पुरानै बिकास पूर्वाधारहरुलाई भत्काउने र बनाउने मात्रै गरेकाछन । विदेशी प्रभूको निर्देशन अनुसार चल्ने दलका नेताहरुले नेपाल राष्ट्रको बिकासलाई बिनास नै गरीसकेका छन ।

यस्ता बाँदरे स्वभाव भएका दलका नेताहरुले नेपाल राष्ट्रलाई प्रथम नेपाल श्रेष्ट नेपाल बनाउन सक्दैन । तोकिएको समय र लगानीमा परियोजनाहरु पुरा गर्न सक्ने क्षमता दलहरुको छैन । परियोजनाहरु पनि हचुवाको भरमा कमिसन खाने हिसाबले राजनीतिक निर्णय गरी छान्ने गरेका छन । नेपाल राष्ट्रको बिकास गरी समृद्ध तुल्याएर नेपाली जनतालाई सुखी बनाउने लक्ष राखेको दाबी गर्दै आएका दलहरुले हचुवा र फजुल परियोजनाहरुमा खरबौंको लगानी गरी उत्पादनहिन तुल्याएर राखेका छन । यस्ता दलका नेताहरुले नेपाल राष्ट्रलाई प्रथम नेपाल र श्रेष्ट नेपाल कुनै हालतमा पनि बनाउन सक्दैन । दलका नेताहरु भ्रष्टाचार र कमिसनखोर मात्र छैन विदेशीका घोर दलाल पनि छन । दलहरुलाई १२ बुँदे दिल्ली सम्झौता गरी विदेशीले नै जन्माएर नेपालको शासक बनाएका हुँदा दलका नेताहरुको विदेशी प्रभूको भक्ति अपरम्पारको छ ।

नेपालमा जेजति बिकास परियोजनाहरुको काम दलहरुले अहिले सम्म गरेका छन सबै विदेशी प्रभूलाई नै प्रसन्न बनाउने हिसबाका छन । विदेशीको बजारबाट आयात गरिने मालसामन सजिलै नेपाली जनताले महंगोमा उपभोग गर्न सकुन भन्ने कुरालाई महत्वका साथ ध्यान दिएका छन । उच्च मुल्यमा स्वदेशी होइन विदेशी नै उपभोग नेपाली जनताले गरुन भन्ने कुरालाई अत्यन्त ध्यानमा राखिएका छन । परियोजनाहरु लगेर जुनभेगको बिकास गर्नु पर्ने हो त्यसमा परियोजनाहरु अहिले सम्म पुगेको छैन तर काठमण्डौ जस्तो पहिले नै बिकसित भईसकेको सहरी ईलाकामा भने खापको खाप परियोजनाहरु त्यो पनि विदेशीको सहयोगमा चलाएको चलाएकै छन । पुरानो पूर्वाधारहरुलाई धमाधम भत्काएर बनाउने बाहेक अन्य बिकास परियोजनाहरु दलहरुको राज चलेको नेपालमा बिरलै देख्न पाईन्छ । यस्तो किन भईरहेको छ नेपालमा भन्ने कुरालाई खोजतलास गर्दा नेपाल सित लगानी फालाफाल भएकाले नभई विदेशी बैंकहरुको दबाबमा भएको देखिन्छ ।

जहाँ नेपाललाई लगानी र परियोजनाहरुको जरुरत छ त्यहाँ विदेशी बैंकहरु लगानी गर्न तयार नभएको देखियो । विदेशी बैंकहरुमा विदेशी प्रभूकै चल्ने हुँदा नेपालका राजनीतिक दलहरुले चाहेको जस्तो कहिलै हुन सक्दैन । त्यसो भए राष्ट्रिय ऋण स्वीकार नगर्दापनि हुने थियो तर दलका नेताहरुको भ्रष्टाचार र कमिसन खान पाउने लालचले गर्दा जे पनि स्वीकार गर्दै आएका छन । राजतन्त्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायत कालमा यस्तो विदेशीले बाँडेको घाँसपात आँखा चिम्लेर खाने गरेका थिएनन् । त्यति बेला राष्ट्रको आवश्यकतालाई हेरी विज्ञहरुको सुझाव अनुसार मात्रै विदेशी ऋण नेपाललाई आत्मनिर्भर मुलुक बनाउने हिसाबले मात्रै स्वीकार गर्ने गरिएको थियो । त्यो बेला नेपालमा घरेलु उद्योगको बिकास राम्रो भएको थियो ।
नेपाली लत्ताकपडा लगाउँदा नेपाली जनतालाई गर्व महशुस हुने गरेको थियो । अहिले घरेलु गद्योगहरुको नामनिसाना नरहेको हुँदा सिला खुज्नु पर्ने अवस्थामा छ । दलका नेताहरु जन्मजात विदेशीहरुका दलाल भएको हुँदा तिनै विदेशी प्रभूको नीतिहरु र निर्देशन अनुसार मात्रै चल्ने गरेका छन । यस्ता विदेशीका दलाल नेताहरुको कुनै भर हुँदैन त्यसैले नेपाललाई प्रथम नेपाल र श्रेष्ट नेपाल बनाउने नै हो भने सर्वप्रथम दलका नेताहरुबाटै छुटकारा पाउनेको लागि नेपाली जनताले प्रयास थाल्नु पर्छ । विदेशीका दलाल दुष्ट नेताहरुको विकल्प खोजिनु पर्छ अनि मात्र नेपाललाई आत्मनिर्भर स्वावलम्बी मुलुक बनाउँदै नेपाली जनतालाई आत्मसममान भएको स्वाभीमानी नागरिकको हैषियतमा उकास्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *