प्रचण्ड सरकारले उपलव्धिहिन १०० दिन पुरा गरेको छ । कुनै पनि नयाँ सरकारको पहिलो १०० दिनलाई हनिमुन पिरड भनिन्छ । यो अवधिमा प्रतिपक्षले नयाँ सरकारको ठोश बिरोध गर्दैनन् र उसको गतिविधिलाई नियालेर हेरीबसेको मात्रै हुन्छन् । प्रचण्ड सरकारले यो अवधि कामकाजी नै नबनी गुमाईसकेको छ । अझ पनि प्रचण्ड सरकारको मंत्रीमंण्डल पुरा हुन सकेको छैन । यसै सन्दर्भमा हिजो अस्ति नेपालबाट प्रकाशित हुने केही राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रचण्ड सरकार माथिको आफ्नो समिक्षाहरु छापेका छन् ।
तिनै समिक्षाहरुको आधारमा प्रचण्ड सरकारको १०० दिन उपलव्धिहिन भएको नेपाली जनतालाई जानकारी भएको छ । नेपाल राष्ट्रको अहिलेको जल्दोबल्दो समस्या भनेको आर्थिक संकट नै हो । तर प्रचण्ड सरकारको ध्यान उक्त आर्थिक संकटको समाधान निकाल्ने तिर केन्द्रित भएको नै छैन । पत्रपत्रिकाहरुमा प्रकाशित समचारहरुले नेपाल राष्ट्रको आर्थिक संकट बढाउने प्रचण्ड सरकार भनेर नै किटानीका साथ लेखेका छन । हुनपनि प्रचण्ड सरकारको व्यवहारले त्यस्तै देखिदै र झल्किदै आएको छ ।
नेपाल सरकारको खर्च कटौती गर्ने तिर प्रचण्ड सरकारको ध्यान पटक्कै गएको देखिएको छैन । नेपाल राष्ट्रमा आर्थिक संकट नभएको बेलामा जस्तै प्रचण्ड सरकारको चाल ढाल व्यवहारहरु देखिएका छन । नेपालमा आर्थिक संकटकाल घोषणा गरी मितव्ययिता अपनाउँदै सरकारी फजुल खर्चहरुलाई रोक्नु पर्ने त्यसो नगरी राज्यको ढिकुटीबाट पैसा पहिले कै जस्तो गरी बाँडेको बाँडेकै छन । राष्ट्रको आम्दानीलाई नबढाउने तर राष्ट्रिय खर्चलाई भने बढाउने फजुल बिकास परियोजनाहरुमा हुँदै आएको लगानीलाई रोकी उत्पादन र निर्यातमूखि उद्योगहरुमा लगानी बढाएर लानु पर्नेमा त्यसो गरिएको छैन ।
प्रचण्ड नेतृत्वको नेपाल सरकारले अहिले सम्म नेपाली जनताको सामु १०० दिनमा १०० भन्दा बढी झुट मात्रै बोलिसकेको छ तर सिन्को भाँचेर देखाउन सकेको छैन । नेपाली जनता नयाँ प्रचण्ड सरकारले नयाँ नौलो र क्रमभंग गर्ने खालको नीतिहरु ल्याउने आशावान बन्दाबन्दै १०० दिन बितेपछि निरास भएका छन । नेपाली जनताको भात भन्सा चुलोमा अहिले सम्म आगो बल्दैछ । त्यो सरकारको कारणबाट नभएको भई नेपाली जनताले अपनाएको आफ्नै मितव्ययताको कारण संभव भएको हो । नेपाली जनताले नेपाल राष्ट्रलाई गाँज्दै ल्याएको आर्थिक संकट टार्नको निमिक्त कम उपभोग गर्ने प्रयास थालेका छन ।
भएको पैसाबाट कमै खाएर भएपनि फजुल खर्चलाई रोकी बचाउने तिर प्रयासरत छन । नेपाली जनताले आफ्नो जीवनयापनको लागि चलाउँदै आएको व्यापार व्यवसायहरु आर्थिक मंदीको चपेटामा परी धेरै बन्द भएका छन । जे जति चलेका छन त्यो पनि आफ्नो परम्परागत व्यापार व्यवसायहरुलाई जीवितै राख्ने हिसाबले मात्रै कम खर्चमा सामान्य उत्पादन गर्दै जेनतेन धानेका छन । नेपाल राष्ट्रलाई कुण्डली मारी बसेको आर्थिक संकटले गर्दा नेपालको पुँजी बजार देखि लिएर बैंकहरु र अन्य वित्तिय संस्थाहरु समेत संकटमा परेका छन । बैंकहरुले बिगत देखि घरजग्गाको कारोवारमा गर्दै आएको ऋण लगानी उठाउन सकेको छैन ।
घर बनाउनको लागि ऋण लगानी गरी बिगतमा धेरै कमाएका बैंकहरु अहिले सोही ऋण लगानीबाट लाभ हुन बन्द भएपछि आर्थिक संकटको चपेटामा परेका छन । प्रचण्ड सरकारले राष्ट्रमा आर्थिक बर्कत ल्याउनको लागि नेपाली बजारमा उपभोग बढाउनु पर्छ भन्ने ठानेका छन । तर नेपाली जनता सित पैसा नभएको हुँदा उपभोग बढाउन सक्दैनन् । नेपाली जनताले अपनाएको मितव्ययिता र कम उपभोग कै कारण बिदेशबाट हुने आयातमा कमी आउँदा बिदेशी मुद्राको संचिति राष्ट्रिय ढिकुटीमा बढेको हो भन्ने कुराको जानकारी प्रचण्ड सरकारलाई हुन जरुरी छ । यो संचिति प्रचण्ड सरकारको प्रयासबाट भएको होइन ।
नेपाल राष्ट्रको व्यापार घाटा र बजेट घाटामा कुनै कमी आएको छैन निरन्तर बढेको बढेकै छ । बिदेशी अनुदान र ऋण सहयोग घटेकाले वैदेशिक रोजगारीबाट प्राप्त बिदेशी मुद्रा सबै आयात धान्नकै लागि खर्च गर्नु पर्ने आर्थिक स्थिति नेपालमा बिद्यमान छ । यतिबेला नेपाली जनता धेरैले वैदेशिक रोजगारी नीतिमा परिवर्तन गरी स्वदेशमा नै रोजगारी श्रृजना गर्नु पर्ने जोड दिएका छन । तर दलका नेताहरुले नेपालको आर्थिक अवस्थालाई यस्तो स्थितिमा पुर्याएका छन कि वैदेशिक रोजगार नीतिलाई सजिलै कुनै हालतमा पनि स्वदेशी रोजगार नीतिले प्रतिस्ठापन गर्नै नसकिने भएको छ ।
एकातिर नेपाली जनताले अहिले सम्म कम खाएर कम खर्च गरी आर्थिक संकट टार्दै आएको छन भने प्रचण्ड सरकारले महंगीलाई बढ्नबाट रोक्न नसक्दा नेपाली जनता सित भएको संचित पैसाको खर्च लगातार बढेको बढेकै छ । त्यसकारण एकदिन नेपालमा नराम्रो आर्थिक अवस्था आउने महशुस नेपाली जनतालाई भईसकेको छ । यहि महशुस प्रचण्ड सरकारले नगरेको हुँदा नेपाली जनता चिन्तित भएकाले नेपालको आर्थिक संकट बढाउने प्रधानमंत्री प्रचण्ड नै हुन भन्दैछन ।
प्रचण्ड सरकारको सुरुवाती चरणमा नै शीर्ष नेता प्रचण्डले भागबण्ड नमिल्दा नेपाली काँग्रेस सित भैरहेको गठबन्धनलाई तोडी एमाले सित गठबन्धन बनाएर आफ्नो नेतृत्वमा नेपाल सरकार गठन गरेका थिए । यो घटनाले शीर्ष नेता प्रचण्ड नेपालको राजनीतिका अस्थिर नेता भएको प्रामाणीत भए । त्यसको लगत्तै लगभग २ महिना पछाडि एमाले सितको गठबन्धनलाई पनि तोडी पुरानै गठबन्धनम फर्केको हुँदा अस्थिर प्रचण्ड भन्ने जनमतलाई झन दोहोरो पुष्टी हुन पुग्यो । यहि दौरानमा उहाँले सबै मंत्रालयहरुको भार आफ्नै काँधमा बोकी मंत्रालयहरुको भार बोक्ने प्रचण्ड भनी ख्याती कमाए ।
लगभग १ महिना सम्म एमाले मंत्रीहरुले त्यागेका मंत्रालयहरुमा नयाँ मन्त्रीहरु नियुक्त नगरी आफ्नै हलीमुहाली हुने गरी चलाउँदै रहे । बल्लतल्ल नेपाली काँग्रेस सित भागबन्डा मिलाएर सरकार बनाउन सफल भएका प्रधानमंत्री प्रचण्डको दाँतमा ढुंगा लाग्यो जब नेपाली काँग्रेस भित्रका गुटहरुका बिच कुरा नमिल्दा सरकारले पूर्णता पाउन सकेन ।
प्रचण्ड सरकारले अस्थिर बन्दै १०० दिन पुरा गरेतापनि अझै कामकाजी नेपाल सरकारको रुप ग्रहण गर्न सकेको छैन । नेपाल राष्ट्रमा जताततै लथालिङ्ग र भताभुङ्ग भएको अवस्थामा नै प्रचण्ड सरकारको लुरे ख्याउँटे खुट्टाहरु सुस्तरी अगाडि बढ्ने कोशिस गरेता पनि उल्टो बाटोमा प्रचण्ड सरकार लाग्यो भनी आरोप लगाउनेहरु प्रशस्तै बढेका बढेकै छन । प्रचण्ड सरकारलाई अस्थिर र कमजोर देखेपछि स्थाई नेपाल सरकार मानिने निजामती कर्मचारीहरुले उहाँको निर्देशनलाई टेरपुच्छर लगाएनन् । फलस्वरुप प्रधानमंत्री प्रचण्ड निर्देशन मात्रै दिने नेताको रुपमा स्थापित भए ।
आफ्नो नेतृत्वमा बनेको सरकारले सुशासन र सदाचारिता मुलुकमा कायम गर्न नसकेपछि र बिकास निर्माणको कामहरु पनि निर्देशन दिनेमा मात्रै सीमित हुन पुगेपछि धेरै मन्त्रालयहरुको जिम्मेवारी बोकेका प्रधानमन्त्री प्रचण्ड फजुलको परियोजनाहरुको उद्घाटन गर्नमा लागेर परम्परागत उद्घाटन प्रेमी प्रचण्डको रुपमा नाम कमाए ।
नयाँ सरकार बनेपछि सबै भन्दा पहिले निजामती कर्मचारीहरुको सरुवा गर्ने चलन नेपालमा बसीसकेको छ । यसरी आफ्नो अनुकूलका निजमाती कर्मचारीहरु वा आफ्नालाई पोष्ने गरिन्छ । कती नेताहरुले सलामी लिएर नै आफ्ना नजिकका र भनेको अनुसार काम गर्ने गराउने निजमाती अधिकारीहरुलाई भ्रष्टाचारबाट राम्रो कमाई हुने विभागहरु र कार्यालयहरुमा सरुवा गर्दै आएका पनि छन । बहुमंत्रालयहरुको जिम्मेवारी सम्हालेका शीर्ष नेता प्रचण्ड पनि निजामती कर्मचारीहरुको सरुवा गर्ने कामबाट अछुतो रहन सकेनन् ।
फलस्वरुप उहाँले पनि व्यापक सरुवा गरी कर्मचारीमा चलखेल गर्न रुचाउने प्रचण्डको रुपमा आफैलाई चिनाउनु भयो । पहिले आफै सार्वजनिक बिदा धेरै भयो कम बनाउनु पर्छ भन्दै हिंडेका शीर्ष नेता प्रवण्डले आफ्नै पालामा सार्वजनिक बिदैबिदा दिएपछि बिदैबिदामा रमाउने प्रचण्ड भन्ने नाम पनि पाएका छन । त्यस्तै बिधेयकमा मनमौजी गर्ने प्रचण्ड र न्यायालयलाई नै अन्याय गर्ने प्रचण्ड भन्ने आरोपहरु पनि लागेका छन । आडम्बर र दोहोरो राजनीतिक चरित्र देखाउनेमा शीर्ष नेता प्रचण्डले समकालिन सबै दलका नेताहरुलाई पछाडी पारीसकेका छन । अहिले सम्म उहाँले नेपाली समाजलाई राम्रो सित चिन्न बुझ्न नसकेको भान हुन्छ ।
त्यसैले नेपालको ईतिहास, कला, साँस्कृती, सम्पदा र मौलिकतालाई ख्यालै नगरी राजनीति गर्न खोज्दा उल्टै हुने गरेको छ । नेपाल बिकासको सन्दर्भमा पनि उहाँ सित गम्भीर सोच यबम् ध्यान छैन । त्यसैकारण उहाँले सकुलगुण्डे बिकासलाई जोड दिने गरेका छन अनि बिकासलाई कहिले पनि राष्ट्रको बिकास लक्ष अनुसार सञ्चालन गरी देखाउन सकेका छैनन् । संधै राजनीतिक निर्णयबाट गरिने हचुवाको बिकास परिपाठीलाई बढवा दिने गरेका छन । १०० दिनमा सरकार गठन नै पुरा गर्न नसक्ने प्रचण्ड सरकारको उपलव्धिहरु हावादारी छन र भौतिक रुपमा देखिने वा देख्न सकिने उपलव्धीहरु केही पनि छैन । (तामाकोशीसन्देशबाट)