ananta gurung

भ्रष्टाचार दलहरुको जीवनपद्धति नै बन्यो

राजनीति

राजतन्त्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाका नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाउँदै बदनाम तुल्याएर सत्तामा पुगेका दलहरु आफै महाभ्रष्टाचारी निस्केका छन् । पहिले टेबल मुनी गुपचुमका साथ हुने गरेको भ्रष्टाचारका प्रकरणहरु अहिले टेबल माथि नै खुल्लमखुला बढीबढाउको साथ हुने गरेका छन् । भ्रष्टाचार अब एकथरी कमाउधन्दामा लागेका नाफाखोर दलाल तस्कर बिचौलिया माफियाहरुको रोजगारी पेशा नै बनीसकेको छ ।

दलका शीर्ष नेताहरुलाई प्रभावमा पारी राज्यको ऐन नियम कानुन नै बदलेर भ्रष्टाचार गर्ने र गराउने धन्दामा दलाल बिचौलियाहरु लागेका छन् । यस्तो व्यवसायहरु चम्केको हुँदा नेपालमा दण्डहिनता बढ्नुका साथै कानुनी राज नै समाप्त भएको छ । नेपालमा मानव तस्करी, सुन तस्करी, मुद्रा तस्करी, ड्रग तस्करी जस्ता गैरकानुनी धन्दाहरु खुबै मौलाएका छन । घरजग्गाको दलाली देखि लिएर मिटरव्याजी सम्मका बिकराल समस्याहरुले गर्दा नेपाली जनताको जीबन झनझन कस्टर बन्दै गएको छ ।

हालै नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठुलो गिरोहको भण्डाफोर भएको छ । उल्लेखित सबै समस्याहरु राजनीतिक दलका नेताहरु र कार्यकर्ताहरु कै हात रहेको भेटिएका छन । दलका ठुला नेताहरु पनि यस्तो धन्दामा लागेको हुँदा राज्यका सबै नियमनकारी निकायहरु प्रभावित भएर पंगु सावित भईसकेको अवस्था नेपालमा विद्यमान छ । नेपालको न्यायपालिका समेत प्रभावित भएको हुँदा नेपालमा कानुनी राज समाप्त भएको महशुस नेपाली जनतालाई भईसकेको छ ।

कार्यापालिकाको दण्डाधिकारीहरु देखि लिएर न्यायपालिकाको श्रीमानहरु समेत भ्रष्ट दलका नेताहरुको स्वार्थी प्रवृत्तिको सिकार भएका छन । हितको टकराव हुने अवस्था आउँदा सर्बोच्चका प्रधानन्यायाधिश जस्तालाई समेत महाअभियोग लगाउने काम गरेका छन । यस्ता अनुशासनहिन र दिशाहिन स्वार्थी दलका नेताहरुले राष्ट्र र जनताको हितमा काम गर्न सक्दैन भन्ने कुरा लगातार प्रकाशमा आएका भ्रष्टाचारका प्रकरणहरुबाटै पुष्टी भएका छन् ।

नेपालमा ३३ बर्ष देखि चल्दै आएको दलहरुको नेतृत्वमा बनेको सरकारहरु वास्तवमा दलहरुको नभएर दलहरु भित्र घुसेका नव साम्राज्यवादी दलालहरुको भएको घटनाक्रमहरुले देखाएका छन । नेपालको राजनीति, बिकास र अर्थतन्त्रमा लगातार बिदेशी नवसाम्राज्यवादीका दलालहरुबाट लगातार गरेको हष्तक्षेप कै कारण नेपालको बिकास लथालिङ्ग र भताभुङ्गको अवस्थामा पुगेको छ भने नेपाल राष्ट्रलाई जटिल आर्थिक संकटले गाँज्दै पनि लागेको छ ।

विदेशीका दलालहरुले जसरी पनि आफ्नो आर्थिक साम्राज्यलाई संसार भर फैलाएर व्यापार गर्दै नाफा कमाउन चाहेकाछन । संसार भर फैलिएको आशान्ति, युद्ध र मानवाताको संहार गर्ने हतियारहरुको होडबाजी र व्यापारले यो तितो सत्य भनौ वा यथार्थ जगजाहेर भईनैरहेका छन । एशिया, अफ्रिका र मध्य युरोपमा फैलिएको युद्धहरु र अशान्तिले यहि कुरालाई नै उजागर तुल्याएका छन । नेपालमा पनि त्यहि कुराको त्रास बढेको छ । दलहरुको कमजोर र स्वार्थी राजनीतिक नेतृत्वको कारणले नेपाल राष्ट्र र नेपाली जनतालाई वैश्चिक द्वन्द्वको घनचक्करमा पार्दै लगेको छ ।

नव साम्राज्यवादीहरुले नेपालको पूर्वाधार बिकास गर्नको लागि वित्तिय लगानी गर्ने नाममा नेपाललाई मकैको घानमा परेको घुन झै पिस्दै लगेका छन । यस्तो जटिल अवस्थाबाट नेपाल राष्ट्र गुज्री रहेको हुँदा नेपाली जनताले आर्थिक संकटको पीडा भोग्दैछन । दलका राजनीतिक नेतृत्वले भ्रष्टाचार बढाएर झन बलेको आगोमा घीउहाल्ने काम गर्दैछन् । एकथरी दलका नेताहरु नेपालको अबिकासको कारण पुरानो राजतन्त्रको नेतृत्वमा चलेको पञ्चायती व्यवस्थालाई लगाएर अहिलेको अराजक लोकतन्त्र, संघियता र गणतन्त्रलाई सर्वश्रेष्ट भन्न खोज्दैछन् ।

यो कुरामा कुनै ठुलो दम छैन किनकि नेपाललाई परनिर्भर राष्ट्रमा रुपान्तरण पहिलेको राजनीतिक व्यवस्थाले गरेको होइन । पहिले त नेपाल राष्ट्र स्वावलम्बी र आत्मनिर्भर मुलुक थियो । दलको राजनीतिक नेतृत्वले ल्याएको नीतिगत परिवर्तन कै कारण नेपाल राष्ट्रको ओरालो लाग्ने गति सुरु भएको हो र यो आर्थिक संकटको चट्टानमा ठोकिएर चकनाचुर हुने अवस्थामा पुगेको छ । दलको राजनीतिक नेतृत्वले नेपालको इतिहासको राम्रो पक्षलाई भुलेकाले नेपालको दुर्गति तुल्याएका छन । नेपालको स्थापित पहिचानहरुलाई मेटाउने प्रयास दलका राजनीतिक नेतृत्वले लगातार गर्दै आएको हुँदा पुराना पहिचानहरु मेटिने अवस्थामा पुगेका छन भने नयाँ पहिचान बनेको अवस्था आएको छैन ।

भ्रष्ट मुलुक भन्ने नयाँ पहिचान नेपालको बनाउनको लागि दलको राजनीतिक नेतृत्वले जोड लगाएका छन् । यस्तो अवस्थामा दलहरुले रुपान्तरण गरीसकेको मुलुक नेपालमा नेपाली जनताले इमान्दारी पूर्वक काम गरी खान पाउने र शान्तिका सात बस्न पाउने अवस्था समाप्त भएको छ । नेपालमा नैराष्यताको वातावरण फैलिएको हुँदा नेपाली जनता उत्साहित छैनन् । जसरी पनि नेपाली जनता बिदेश भाग्ने र नेपालमा फैलिएको उकुसमुकुसको वातावरणबाट उनमुक्ती पाउने दाउमा मात्रै छन् । नेपाली जनताको त्यहि मानसिकताको लाभ उठाउँदै दलका राजनीतिक नेतृत्वले नक्कली भूटानी शरणार्थी काण्ड घटाएका छन ।

यो प्रकरणले दलका नेताहरुलाई रातारात करोड पति बनाएका छन भने नेपाली जनतालाई थप एक कदम अगाडि आर्थिक संकटको नजिक तुल्याएको छ । त्यसकारण दलका नेताहरुले भनेको जस्तो अहिले चलेको यो राजनीतिक व्यवस्थामा सुधारगरी नेपाल राष्ट्रलाई अगाडि बढाउन सकिने संभावना न्युन छ । दलका नेताहरु पतित र गलित भईसकेको हुँदा उहाँहरुको नेतृत्वमा नयाँ चमत्कार केही होला जस्तो देखिएको छैन । पहिले देखि नै दलका नेताहरुले चमत्कारी बिकास गरी देखाएर नयाँ नेपाल बनाउँछौ भनेका नै हुन ।

चिप्ला कुरा गरी गरी भ्रान्ति फैलाएकै भरमा दलका नेताहरुले ३३ बर्ष कटाईसकेका छन् । यो अवधिमा गर्वको साथ दाबी गर्न सकिने नेपाल राष्ट्र बिकासको ठोश काम केही हुन सकेको छैन भने चप्पल पड्काउँदै काठमाण्डौ खाल्डोमा छिरेका दलका नेताहरुको भने कायपलट नै भएका छन । यस्तो अवस्था देखेपछि नेपाली जनताको मनमा उत्साह जाग्ने कुरा नै भएन ।

सबै नेपाली जनता उत्साहहिन र निरास भएका छन त्यसैले नेपालबाट जसरी तसरी स्वार्थी दलका नेताहरुलाई घुष खुवाएर नै भएपनि बिदेश पलायन हुने निरन्तर प्रयासमा छन । त्यसैको फाइदा उठाएर नवसाम्राज्यवादको जालोको रुपमा बिकसित भएको मानवतस्करीको सञ्जाल वैदेशिक राजगार व्यवसायीहरुले कुस्त फाइदा लुटेका छन् । यो मानव तस्करीको सञ्जालमा नेपालका दलका ठुला नेताहरु नै संलग्न रहेको कुरा नेपालमा घटित काण्डै काण्डको श्रृङ्खलाहरुबाट प्रमाणित भएसकेका छन ।

नेपालको सन्दर्भमा कुरा चल्दा घरजग्गाको दलालहरु, मानव तस्करहरु, मुद्रा तस्करहरु, ड्रग तस्करहरु, मिटरव्याजीहरु , नाफाखोर माफिया व्यापारी र व्यवसायीहरु सबै दलका नेताहरु र कार्यकर्ताहरु नै हुन । त्यहि भएको हुँदा अपराधीहरु सजिलै र सहजै कानुनको फन्दामा पर्न सक्दैन । दलका राजनीतिक नेतृत्वले नै नेपालमा कानुनको लामो हातलाई ठुटे पारीदिएका हुँदा नियम कानुन नमान्ने माफियाहरुको वर्चस्व बढेको बढेकै छन । माफियाहरुले आफ्नै कानुन बनाउने र चलाउने भएको हुँदा नेपालमा कानुनी राज समाप्त भएको छ र दण्डहिनताले जताततै प्रस्रय पाएको छ ।

नेपालमा सक्रिय दलाल बिचौलियाहरुले दलका नेताहरु देखि लिएर न्यायालयका श्रीमानहरु र निजामतीका हाकिमहरुलाई समेत लोभ लालचमा पारी प्रभावित तुल्याएर आफ्नो माफियगिरीको वर्चस्व नेपालम स्थापित गरीसकेका छन । नेपालको हरेक कुरा बिकाउ भएकाले त्यसको व्यापारीकरण गरी कुस्त नाफा कमाउन सकिन्छ भन्ने माफीयाको शिद्धान्तलाई नेपालको राजनीतिक वृत्त भित्र घुसाउने सफलता पाएका छन । दलहरुले दलका नेताहरु र कार्यकर्ताहरु संलग्न भएका भ्रष्टाचारका मुद्दाहरु त्यसै थन्काउने पद्धति बिकास गरेका छन ।

जुन सुकै दलका भएपनि यदि ठुला नेताको संलग्नता भएको भ्रष्टाचार काण्ड छन भने त्यो नेतालाई बचाउने प्रयास सत्तामा भएका दलका नेताहरुले गर्ने गरेको उदाहरणहरु धेरै छन । ललितानिवास बालुवाटारको सरकारी जग्गा अपचलन प्रकरणमा मुछिएको ठोस प्रमाण हुँदाहुँदै पनि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई छानबिनको दायराबाट हटाएर ठाडै उन्मूक्ति दिने काम तत्कालिन प्रमं केपी ओलीले गर्नु भएको थियो ।

उहाँले भ्रष्टाचारीको मुखै नहेर्ने र कार्यबाही गरी छाड्ने कसम सार्वजनिक रुपमा नै बारबार खानु भएपनि उहाँको कार्यकालमा जतिको व्यापक भ्रष्टाचार अन्य प्रधानमंत्रीहरुको कार्यकालमा भएको छैन । उहाँले ऐन नियम कानुन नै परिवर्तन गरी गरी भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेका थिए । नीतिगत भ्रष्टाचार उहाँकै पालामा अत्याधिक भएका छन भने धेरै भ्रष्टाचारका काण्डहरुलाई थाती राख्न लगाएका छन । उहाँको पालाम अख्तियार लगायत नेपाल प्रहरीले स्वतन्त्ररुपमा भ्रष्टाचार काण्डहरुको छानबिन गर्न पाएको छैन ।

तर सबै द्वोष एमाले माथि मात्रै थुपारी अन्य दलहरु चोखा छन भन्दा अर्थको अनर्थ पनि लाग्न सक्छ । दलका नेताहरु कोही भन्दा कोही घटी बढी छैन सबै एकै ड्याङको मूला झै छन । सबैले भ्रष्टाचारलाई आफ्नो राजनीतिक दलको जीवन पद्धति नै बनाईसकेका छन । मिलेरै भ्रष्टाचार गरी राष्ट्रलाई लुट्ने अभ्यासमा सबै दलका नेताहरु अभ्यस्त बनीसकेका छन । यस्ता दलहरु सुध्रिने वा सुधार्न सकिने भन्ने हुँदैन त्यसकारण व्यवस्था नै बदल्नको लागि नेपाली जनता कम्मरै कसेर अगाडि बढ्न जरुरी भएको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *