नेपालका स्वास्थ्य क्षेत्रप्रति किन हुँदैन विश्वास ?

राजनीति समाचार

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रलाई राज्यले ठूलो लगानी गरिरहेको छ । यसरी राज्यले ठूलो लगानी गरेर खोलेका अस्पतालहरुमा नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले विश्वास गरेको पाइँदैन । किन भने अहिलेसम्म अधिकांश राजनीतिक दलका शीर्ष नेताहरुले नेपालमा उपचार गरेको इतिहास छैन ।

अधिकांश शीर्ष नेतादेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदहरुले सामान्य रोग लाग्दा पनि उपचार गराउन विदेश जाने गरेका छन् । यसले के देखाउँछ भने नेपालमा खोलिएका सरकारी अस्पतालदेखि प्राइभेट रुपमा खोलिएका ठूला–ठूला अस्पतालहरुलाई पनि यहाँका नेताहरुले विश्वास नगरेको पाइन्छ । त्यति मात्रै होइन उच्च ओहोदामा बसेका कर्मचारीहरु पनि राज्यको पैसामा विदेश गएर उपचार गर्ने गरेका थुप्रै उदाहरण छन् । राजनीतिक दलका नेताहरु मध्येमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले विदेशमा पहिला उपचार गराए तापनि पछिल्लो समयमा नेपालमै उपचार गरेका थिए । त्यसबाहेक सबै राजनीतिक दलका शीर्ष नेताहरु विदेश गएर उपचार गराउने गरेका छन् ।

नेताहरुले भन्नको लागि नेपालमै स्वास्थ्य उपचार राम्रो हुन्छ भन्ने तर आफू विरामी भएपछि ती स्वास्थ्य संस्थालाई विश्वास नगरी विदेशमा उपचार गर्न जाने परम्परा चलिरहेको छ । यसरी २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनादेखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा अधिकांश शीर्ष नेता, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, केही मन्त्री र उच्च पदस्थ कर्मचारीहरु नेपालमा उपचार नगरी विदेश जाने गरेका छन् । विदेशमा गएर उपचार गर्ने उच्च पदस्थ व्यक्तिहरुले उपचार गराउने नाममा राज्यको ढुकुटी दोहन गर्ने गरेका छन् ।

यसरी अधिकांश राजनीतिक दलका नेताहरुले विदेशमा गएर उपचार गरी राज्यलाई कंगाल बनाउने काम गर्दै आएका छन् भने सर्वसाधारण जनताले सामान्य उपचार गर्न पनि पैसा नभएर ज्यान गुमाउन वाध्य हुनुपरेको छ । अधिकांश राजनीतिक दलको सरकार फेरिएसँगै स्वास्थ्य मन्त्री बनेकाहरुले पनि उच्च तहका व्यक्तिहरुले नेपालमै उपचार गर्नुपर्ने भनेर नीति नियम बनाउन सकेका छैनन् । त्यो त परै जाओस् कतिपय सरकारी अस्पतालहरुमा त फोहोरले दूर्गन्धित हुँदासमेत स्वास्थ्य मन्त्रीहरुले ध्यान दिने गरेका छैनन् ।

त्योसँगै स्वास्थ्य सचिव, कर्मचारी र अस्पतालका निर्देशकहरु परिवर्तन गर्ने काम गर्दै आएका छन् । त्यसकारणले पनि अधिकांश सरकारी अस्पतालमा सर्वसाधारण जनताले सेवा लिनसमेत पाएका छैनन् । त्यसैगरी सरकारी अस्पतालमा डाक्टरहरु समयमा नआउँदा पनि विरामीहरु अन्यत्र जाने गरेका छन् । त्यसरी विरामीलाई अन्यत्र जान वाध्य बनाउने काम सरकारी अस्पतालका कर्मचारीको मिलेमतोमा प्राइभेट अस्पताललाई पोषाउने र कमिसन खाने काम भइरहेको छ ।

सरकारी अस्पतालमा जागिर खाएर निजी अस्पतालसँग मिलेमतो गरी सरकारी अस्पतालमा यो सुविधा छैन, यो औषधि पाइँदैन, यो रोगको उपचार गर्ने उपकरण छैन भनेर बिरामीहरु बाहिर पठाउने गरिन्छ । सरकारी अस्पतालको सुविधा, साधन, स्रोतको दूरुपयोग गरी कर्मचारीहरुले यस्तो लापरवाहीपूर्व काम गरिरहँदा स्वास्थ्य मन्त्रीहरुले अहिलेसम्म ध्यान दिएको पाइँदैन । त्योसँगै विगत लामो समयदेखि स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य बीमा बोर्डले नेपाली जनताहरुलाई स्वास्थ्य बीमाको नाममा ठगी गर्दै आएको छ ।

अधिकांश सर्वसाधारण जनतालाई विभिन्न आश्वासन देखाएर स्वास्थ्य बीमा गर्न लगाउने गरेको छ । त्यसरी स्वास्थ्य बीमा गरेका सर्वसाधारणले सर्वसुलभ ढंगले उपचार भने पाउन सकेका छैनन् । स्वास्थ्य बीमा गरेका सर्वसारणलाई उपचारको लागि निश्चित अस्पताल तोकिएको हुन्छ । त्यो तोकिएको अस्पतालमा प्रति व्यक्ति एक लाखसम्मको वार्षिक उपचार सुविधा पाउने भनिएको छ । तर, त्यसरी स्वास्थय बीमा गरेका सर्वसाधारणले भनेअनुसारको सुविधा भने पाउन सकेका छैनन् ।

कहिले तपाईंको उपचार यस अस्पतालमा हुँदैन अन्यत्र जानु भनेर पन्छाइन्छ । यदि उपचार भइहाले पनि औषधि छैन भनेर टार्ने गरेका थुप्रै उदाहरण छन् । स्वास्थ्य बीमा गरेका सर्वसाधारणले पाइक पर्ने जुनसुकै सरकारी अस्पतालमा उपचार पाउने गरी व्यवस्था गर्नुपर्नेमा त्यो गरिएको पाइँदैन । किन भने बीमा गरेका सर्वसाधारणको सबै सरकारी अस्पतालमा रेकर्ड हुनुपर्ने हो । तर, बीरमा आउँदा धुलिखेल जानु भन्ने, धुलिखेल गयो बीर अस्पताल भन्ने गरेर बिरामीहरुलाई दुःख दिने काम गरिएको पाइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *