काठमाडौं । अहिले दिनप्रतिदिन कर्मचारीहरुको भीड सिंहदरबारमा लाग्ने गरेको छ । कतिपय कर्मचारीहरु त राजनीतिक दलको क्लबमा नछिर्दा बरन्डामा बस्ने र हाजिर मात्रै गरेर हिड्ने गरेका छन् । राजनीतिक क्लबमा छिरेका कर्मचारीहरु मालदार ठाउँमा जानको लागि लबिङ गरिराखेका छन् । अधिकांश कर्मचारीहरु राम्रो कमाइ हुने ठाउँ खोज्दै हिड्न थालेका छन् ।
कतिपय स्थानीय तहका प्रशासकीय अधिकृतहरु त मालदार स्थानीय तहमा जानको लागि विभिन्न सोर्सफोर्स र पैसा खर्च गर्ने गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभागमा जानको लागि मरिहत्ते गर्ने गर्दछन् । आर्थिक वर्ष सकिएसँगै उद्योग वाणिज्य तथा आपूर्ति विभागमा सरुवा भएर जानको लागि मरिमेट्ने गरेका छन् ।
किन भने अधिकांश विभिन्न साना उद्योगी व्यवसायी देखि ठुल घरानाका उद्योगी व्यवसायीसँग सोझै पहुँच हुने भएकाले कर्मचारीहरु यस्ता ठाउँमा जान मरिहत्ते गर्ने गर्दछन् । यस्ता ठाउँमा पुगेपछि उद्योगहरुमा अनुगमन गर्ने, दर्ता नविकरण गर्ने, नयाँ उद्योग दर्ता गर्ने, पुराना उद्योगहरुलाई सहजीकरण गर्नेलगायतका काम गर्दा उद्योगी, व्यवसायीसँग प्रत्यक्ष संलग्नता हुने भएकाले पनि त्यस्ता ठाउँमा जान कर्मचारी रुचाउँछन् । त्यस्तै स्थानीय तहअन्तर्गत शिक्षा शाखामा बस्नको लागि पनि कर्मचारीहरु विभिन्न शक्तिकेन्द्र धाउने गर्दछन् । हुन त नजाउन् पनि किन ? अहिले महंगीले आकास छोइसकेको छ ।
सरकारले तोकेको तलब सुविधाले बिहानबेलुकाको छाक टार्न पनि धौधौ पर्दछ । कृषिजन्य उत्पादन ठप्प छ । गाउँमा पनि खेती कमाई गर्न छोडिसकेका छन् । एकजनाको जागिरको भरमा परिवारका सम्पूर्ण सदस्य धान्नुपर्ने हुन्छ । त्यस्ता कर्मचारीहरु राम्रो कमाइ हुने ठाउँमा जान पनि पाउँदैनन् । अधिकांश कर्मचारीहरु राजनीतिक दल निकट भएर पनि पीडित बन्ने गरेका छन् ।
कुनै कर्मचारी भने वर्षौंसम्म मालदार अड्डामा मात्रै रमाउने गरेका छन् । त्यसरी मालदार ठाउँमा जाने कर्मचारी सीप, क्षमता र इमानदारी भन्दा पनि चाकडी, चाप्लुसी, पैसा र पहुँचको भरमा मात्रै जाने गर्दछन् । त्यसले गर्दा कतिपय कर्मचारीहरु राम्रो ठाउँ पाउनको लागि काम भन्दा पनि राजनीतिक शक्तिकेन्द्र धाउन वाध्य छन् । (तामाकोशीसन्देशबाट)