त्यसै भनिएको होइन कि नेपाललाई ‘सतीले सरापेको देश’ भनेर । नेपालमा छोटो समयमै ठूला–ठूला राजनीतिक परिवर्तनहरु भए । राजनीतिक परिवर्तन भए तापनि सर्वसाधारण जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । अहिलेसम्म जुनसुकै दलको नेतृत्वमा सरकार बने तापनि ती दलहरुले विधि, पद्दति र सिद्धान्तअनुसार काम गरेको पाइएन । सत्ताबाहिर हुँदा जुनसुकै दलहरुले क्रान्तिकारी भाषण र मिठामिठा नारा दिने गरे । तर, सत्तामा पुगेपछि सरकारको नेतृत्व गरेका दलहरु सिद्धान्त, निष्ठा र आदर्शलाई बिर्सिएर आफ्नो स्वार्थपूर्तिमा लिप्त हुँदै आएका छन् ।
सत्तामा सामेल भएपछि देश र जनताको काम गर्नेभन्दा पनि आफ्ना आसेपासे र परिवारका सदस्यको स्वार्थमा काम गर्ने र भ्रष्टाचारमा लिप्त हुने काम गर्दै आएका छन् । देश भने दिनप्रतिदिन आर्थिकमन्दीले जर्जर भइसकेको छ । राजनीतिक दलहरु भने आफू कसरी हुन्छ आफूहरु सत्तामा पुग्ने, भागबन्डा लगाउने, कार्यकर्ता र परिवारको पालपोषण गर्नेमै व्यस्त छन् । जनताका समसामयिक विषयका बारेमा कुनै सरकारले पनि काम गरेको देखिँदैन । सरकारको नेतृत्व गरेका कपितय दलहरुले बहुमत ल्याएर सरकार चलाइरहँदा पनि आन्तरिक कलहका कारण पाँच वर्ष सरकार टिकाउन सकेका छैनन् ।
२०४८ सालदेखि २०८० सम्म आइपुग्दा कुनै दलको सरकारले पाँच वर्षे कार्यकाल भुक्तान गरेको छैन । अहिलेसम्म नेपालमा बहुमत प्राप्त दलहरुले आन्तरिक झगडाकै काणले कहिले सत्ताबाट बाहिरने त कहिले सत्ता नै दरबारमा लगेर बुझाउने काम गरे । अहिलेसम्म बहुमत प्राप्त कुनै पनि सरकार प्रतिपक्षी दलको कारण ढलेको पनि छैन र पार्टी फुटाउने काम पनि अन्य दलले गरेका छैनन् । खाली सोही पार्टीको आन्तरिक कलहकै कारण सत्ताबाट बाहिरने र दलै फुटाउने काम गर्दै आएका छन् ।
२०४८ सालमा नेपाली कांग्रेसले बहुमत ल्याएर एकमना सरकार बनाएको थियो । त्यसपछि कांग्रेसभित्र आन्तरिक कलह सुरु भयो । कांग्रेसका सांसदहरु ३६ से र ७२ रेमा विभाजित भए । पार्टीभित्रै सत्तापक्ष र प्रतिपक्षको खेल सुरु भयो । दुई खेमाबीच लडाइँ हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालले २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा गरे । त्यो मध्यावली निर्वाचनमा कांग्रेस दोस्रो दलमा खुम्चिन वाध्य भयो । सत्ता पनि कांग्रेसको हातबाट खुस्किएर एमालेको हातमा पुग्यो ।
२०६४ सालमा नेकपा माओवादीले बहुमत ल्याएर एकलौटी सरकार बनायो । त्यो पनि पार्टीभित्रकै झगडाले एक वर्ष नबित्दै ढल्यो । त्यसैगरी २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच गठबन्धन गरेर चुनाव लड्दा झन्डै दुईतिहाई हाराहारी बहुमत ल्याउन सफल भए ।
त्यसपछि ती दुई दल मिलेर नेकपा नामक पार्टी बनाए र एकलौटी सरकार पनि चलाए । त्यो दुईतिहाई बहुमतको सरकार खाली आन्तिक झगडाकै कारण ४१ महिना पनि टिकेन । उल्टै दुईतिहाइ बहुमत ल्याएको नेकपालाई निर्वाचन आयोगले एमाले र माओवादी बनाइदियो । अहिले ती दुई दलका शीर्ष नेताहरु एकले अर्कोलाई दोषारोपण गर्दै सत्तोसराप गरिरहेका छन् । छुट्टिएको एमाले पनि फुटेर दुई फ्याक भयो । यसरी नेपालका दलहरु शीर्ष नेताहरुकै आन्तरिक द्वन्द्व, दम्भ र घण्डले अस्तित्वबिहीन हुँदै गएका छन् । (तामाकोशीसन्देशबाट)