यस्तो छ एनसेल कम्पनी खरिद विक्री गर्नेसम्बन्धी विवरण :

अर्थ/वाणिज्य राजनीति समाचार

२०७२ चैत ३० एनसेलमा ८० प्रतिशत शेयर रहेको स्वीडिस कम्पनी टेलिया सोनेराको होल्डिङ्ग कम्पनी रिनोल्ड होल्डिङ्ग मलेसियामा मुख्य कार्यालय रहेको आजियाटाले १ अर्ब ३६ करोड ५० लाखमा खरिद गरेको सार्वजनिक भएको थियो । तत्कालीन अवस्थामा १० करोड चुक्ता पुँजी रहेको सेयरको मुल्य १ हजार ७०६ अमेरिकी डलरका दरले विक्री गरेको देखाइएको थियो । यसरी खरिद गर्दाको लाभकर नेपाल सरकारले पाउनुपर्ने दावी नेपाली पक्षको रहे तापनि नेपाल बाहिर भएको कारोबारको लाभकरमा नेपालको दावी नरहने तर्क आजियाटाले गरेको थियो । आजियाटाले त्यस्तो दावी गरेपछि सवोच्च अदालतमा मुद्दा प¥यो । सर्वोच्च अदालतको आदेश अनुसार नेपालको पक्षमा फैसाला भएपछि लाभ कर अशुल गरेको थियो ।

यस विषयलाई लिएर आजियटा अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा गयो । सो अदालतले पनि नेपालको पक्षमा फैसला गरेपछि लाभकरको विषय टुंगिएको थियो । त्यसपछि २०८० असोज १३ गते आजियटाले नेपालबाट बाहिरिने निर्णय गरेको देखिन्छ । आजियटाले नेपालबाट बाहिरिने निर्णय गर्दा एनसेल आजियटाको ८० प्रतिशत सेयर जम्मा ५ करोड अमेरिकी डलरमा बिक्री गरेको उल्लेख गरिएको छ ।
उता २०२३ नोभेम्बर २९ को त्रैमासिक रुपमा सार्वजनिक वित्तीय विवरण हेर्दा आजियटाले एनसेलको सेयर विक्रीमा राखेको र सतीशलाल आचार्यको बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइट युके नामक कम्पनीसँग उक्त शेयर खरिद गरेको प्रकाशनमा आएको छ ।

सो विवरण प्रकाशमा आइसकेपछि २०८० मंसिर १५ गते प्राधिकरणले पत्राचार गरी सूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद विक्री गर्नुअगाडि प्रधिकरणको स्वीकृती लिनुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था बमोजिम पहिला प्राधिकरणको स्वीकृती लिनुपर्ने भएकोले सो लिएर सेयर खरिद विक्रीको नामसारी गर्नु सो अनुरुप गर्न÷गराउन पत्राचार गरेको थियो ।

त्यसपछि २०८० मंसिर १९ गते यसको प्रतिक्रिया स्वरुप शेयर धनी रिनोल्ड्स होल्डिङ्गको शतप्रतिशत शेयर आजियटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच किनबेचको सम्झौता भएको थियो । त्यो शेयर किनबेच सम्झौतामा दूरसञ्चार नियमावली र शेयर खरिद विक्री बिनियमावलीको प्रयोजनार्थ शेयर खरिद विक्री गर्नको लागि भएको द्विपक्षीय सम्झौता भएको थियो । सो सम्झौतामा समेत कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने क्रममा रहेको पाइन्छ । उक्त कागजात प्राप्त हुना साथ दूरसञ्चारको नियम अनुसार प्राधिकरण समक्ष शेयर खरिद विक्री गर्न स्वीकृतिका लागि निवेदन पेश गरिने जानकारी गराइएको छ ।

यस्तो रहेको छ स्वीकृति प्राप्त गर्दा दूरसञ्चार ऐन २०५३ मा व्यवस्था :
दफा २७ को अनुमतिपत्रमा संशोधन : (१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले प्राप्त गरेको अनुमतिपत्रमा उल्लेखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा त्यसको कारणसमेत खुलाई प्राधिकरण समक्ष निवेदन दिनुपर्नेछ । (२) उपदफा (१) बमोजिमको निवेदनमा अनुमतिपत्रमा संशोधनको लागि दिइएको कारण मनासिब र उचित भएमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको तीस दिनभित्र अनुमतिपत्रमा मुलभूत कुरामा फरक नपर्ने भए संशोधन गरिदिनुपर्ने छ । र, अनुमतिपत्रमा त्यसरी संशोधन गर्न उपयुक्त नदेखेमा कारण सहितको सूचना निवेदकलाई दिनुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम अनुमतिपत्रमा संशोधन गर्न तोकिए बमोजिमको दस्तुर प्राधिकरणमा बुझाउनुपर्ने छ । (४) प्राधिकरणले कुनै अनुमतिपत्रमा उल्लेखित कुनै कुरा संशोधन गर्न आवश्यक देखेमा त्यसको कारणसहितको सूचना सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिन सक्नेछ । (५) उपदफा (४) बमोजिम सूचना प्राप्त भएपछि अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्रमा त्यसरी संशोधन गर्न आवश्यक नदेखेमा त्यसको कारण समेत खुलाई त्यस्तो सूचना प्राप्त भएको पन्ध्र दिनभित्र प्राधिकरणमा निवेदन दिने व्यवस्था छ । (६) उपदफा (५) बमोजिमको निवेदन प्राप्त भएपछि वा सो म्याद समाप्त भएपछि प्राधिकरणले अनुमतिपत्रमा संशोधन गर्ने वा नगर्ने कुराको निर्णय गरी त्यसको सूचना अनुमतिपत्र प्राप्त व्यक्तिलाई दिनुपर्नेछ ।

यस्तो छ अनुमतिपत्रको विक्री हस्तान्तरण :
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो अनुमतिपत्र कसैलाई बिक्री गरी वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन चाहेमा त्यसको कारण सहित निजले र अनुमतिपत्र किन्ने वा हक हस्तान्तरण गरी लिन चाहने व्यक्तिले आपसमा निर्धारित तत्सम्बन्धी शर्त बन्देज समेत उल्लेख गरी स्वीकृतिको लागि प्राधिकरण समक्ष संयुक्त निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै निवेदन प्राप्त हुन आएको खण्डमा प्राधिकरणले आवश्यक छानविन गर्दा निवेदनमा उल्लेखित व्यक्तिलाई अनुमतिपत्र विक्री गरी वा हक हस्तान्तरण गरिदिन उचित देखेमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको तीस दिनभित्र अनुमतिपत्र विक्री गरी वा हक हस्तान्तरण गरिदिन स्वीकृति दिनुपर्ने छ । त्यस्तो स्वीकृति दिन उचित नहुने देखेमा कारण सहितको सूचना निवेदकलाई दिनुपर्नेछ । (३) अनुमतिपत्र विक्री वा हक हस्तान्तरण गर्ने स्वीकृतिको लागि तोकिए बमोजिमको दस्तुर प्राधिकरणलाई बुझाउनुपर्ने छ । यस अनुसार स्वीकृति प्राप्त गर्दा दूरसञ्चार नियमावली २०५४ मा तपशिल बमोजिमको व्यवस्था रहेको छ :

नियम १४ अनुमतिपत्रको विक्री वा हस्तान्तरण ः (१) ऐनको दफा २७ बमोजिम अनुमतिपत्र विक्री वा अन्य तवरले हक हस्तान्तरण गरी लिन दिन चाहने व्यक्तिले आपसमा निर्धारित शर्त बन्देज समेत उल्लेख गरी स्वीकृतिको लागि अनुसूची–९, बमोजिमको ढाँचामा प्राधिकरण समक्ष संयुक्त निवेदन दिनुपर्नेछ । (२) उपनियम (१) बमोजिम कुनै निवेदन पर्न आएमा प्राधिकरणले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखिएमा प्राधिकरणले त्यसरी निवेदन दिने व्यक्तिसँग थप विवरण वा जानकारी माग गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन र निवेदन साथ संलग्न कागजात तथा उपनियम (२) बमोजिम माग गरिएको थप जानकराी वा विवरण समेतबाट अनुमतिपत्र विक्री वा अन्य तवरले हक हस्तान्तरण गरी दिन उचित देखेमा प्राधिकरणले निवेदकहरुसँग अनुमतिपत्र दस्तुरको पाँच प्रतिशतले हुने रकम लिई अनुमतिपत्र विक्री वा अन्य तवरले हक हस्तान्तरण गर्न स्वीकृति दिनुपर्ने व्यवस्था छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *