नेपाल प्रहरीका नयाँ आइजीपीले ल्याउने फन्डा कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र लामो समय अगाडि हुँदै आएको विकृति, विसंगती र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेको अवस्था छैन । राजनीतिक दलबाट गृहमन्त्री बन्ने नेताहरुले पनि प्रहरी संगठनभित्र हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारलाई न्यूनिकरण गर्न सकेका छैनन् । प्रहरी संगठनभित्र जब नयाँ आइजीपी नियुक्ति गर्ने बेला हुन्छ अनि राजनीतिक दलहरुले त्यसमा खेलेर पैसा र पावर भिडाउने गर्दछन् । पैसा र पावरको आडमा बनेका आइजीपीहरुले पदमा पुगिसकेपछि एउटा न एउटा फन्डा पच्छाएर चर्चा कमाउने गर्दछन् ।

कुनै आईजीपीले मिसनमा जाने प्रहरीलाई विभिन्न सुविधायुक्त नियम बनाएर लागु गर्ने भन्छन् । कुनै आइजीपीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउने फन्डा ल्याउँछन् । कुनै आइजीपीले प्रहरी संगठनलाई चलायमान र चुस्तदुरुस्त बनाइ सुशासन कायम गर्ने भन्छन् । कुनै आइजीपीले राजनीतिक दलहरुको छत्रछायाँमा नबसी स्वतन्त्र ढंगले जनताको सेवा गर्ने भन्छन् । अहिलेसम्म नेपाल प्रहरीभित्र जुनसुकै आइजीपी बनेपनि प्रहरी संगठनलाई चुस्तदुस्त बनाउन सकेको पाइँदैन ।

उल्टै प्रहरीहरुको रासनदेखि लत्ताकपडा, हातहतियार खरिदमा कमिसन खाने र मालदार ठाउँमा आफ्ना आसेपासेलाई खटाउने र त्यसमा पनि कमिसन खाने काममा लिप्त हुने गरेका छन् । उच्च तहका प्रहरीहरुले पनि आफ्ना आसेपासेलाई घुमुवा राखेर विभिन्न व्यापारी व्यवसायीहरुसँग सुरक्षा दिने नाममा महिनावारी असुली धन्दा चलाउने गरेकै छन् । खासगरी एयरपोर्ट भन्सार, तातोपानी भन्सार, रक्सौल भन्सार, सुनौली भन्सार, जोगवनी भन्सारलगायतका ठाउँमा जाने प्रहरीहरुले आईजीपीलाई भाग पु¥याउने गरेका छन् । त्यस्तै अन्य महत्वपूर्ण नाकाहरु पनि प्रहरीका आइजीपीको आम्दानीका स्रोत हुने गरेका छन् ।

जस्तो उपत्यका आसपासका चेकपोष्टहरु, ठूला व्यापारी, ठमेलका डान्सवारहरु, नयाँ बसपार्क आसपका होटेल, रेष्टुरेन्टहरु, लागुपद्धार्थ लगायत विभिन्न केसका मुद्दाहरु प्रहरीहरुको प्रमुख आयस्रोत बन्ने गरेका छन् । त्यसको अलावा अन्य प्रहरी अधिकृतहरुले पनि अवैध कमाउधन्दा मच्चाउने गरेका छन् । त्यस्ता अवैध कमाउधन्दा चलाउन प्रहरी अधिकृतहरुले हुन्डीतस्करी, सुनतस्करी, लागुपदार्थ ओसारपसार गर्नेहरुसँग मिलेमतो गर्ने गर्दछन् । त्यसमा उनीहरुले आफ्नो जिम्मेवारी र पद अनुसार कमाउधन्दा चलाउने गरेकै हुन्छन् ।

तर, राजनीतिक पावर, पैसा र सोर्सफोर्स नहुने इमानदार प्रहरीहरु भने सधैं कमाइ नहुने ठाउँमा सरुवा हुने र विवादमा फस्ने गर्दछन् । तर, सोर्सफोर्स, पैसा, पावर हुने प्रहरीहरु भने सधैं मालदार ठाउँमा बस्न सफल हुन्छन् । उनीहरु विदेश घुम्ने, स्वदेशको मालदार ठाउँमा सरुवा हुने, सेवासुविधा लिने गर्दछन् । त्यसकारणले पनि नेपाल प्रहरीभित्र सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ भएको छ । नेपाल प्रहरीभित्र योग्यता, क्षमता र दक्षताको आधारमा नभएर नातागोता, आसेपासे, सोर्सफोर्स र पैसाको चलखेलमा सरुवा, बढुवा हुने भएकाले पनि विभिन्न कालखण्डमा प्रहरीले विवादको सामना गर्नुपर्ने हुन्छ ।

त्यसको उदाहरणको रुपमा ललिपुरको सातदोबाटोस्थित इपीएस कार्यालय अगाडिको घटनालाई लिन सकिन्छ । त्यो घटनामा ड्युटिमा खटिएका प्रहरीले विवेक नपु¥याउँदा प्रधानमन्त्रीसँगै गृहमन्त्रीले समेत माफी माग्नुपरेको थियो । तर, नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरले भने यस घटनाको बारेमा केही बोल्न सकेका छैनन् । त्यो घटनालाई हेर्दा नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर हुन् कि होइनन् भन्ने प्रश्न सर्वत्र खडा हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *