काठमाडौं । आदेश दिने अनुगमन नगर्ने, सचिवालय छरितो बनाएको दाबी गर्ने छोरीको भ्रष्टहरुसँगको सम्बन्ध तोड्न नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहालको रहर त पुरा भयो । तर जनताको ढाड सेक्नेगरी चर्किएको महंगी कालोबजारीलाई हस्तक्षेप गर्ने मन्त्रालयमा कांग्रेसका सुस्त मन्त्री रमेश रिजाल छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतजस्तालाई जनताको सरोकार छैन । उनलाई चुनाव जित्न पनि पर्दैन । सभापति देउवाकी पत्नी डा.आरजुको सेवा गर्न पाए पुग्छ ।
दातासँग सम्बन्ध राख्न नसक्ने, सहयोग दिने दाता चिन्न नसक्ने डा.प्रकाशशरणलाई अर्थ मन्त्रालय सुम्पनु नै जनताका लागि काल भयो । कालोबजारले डाँडा काटिसकेको अवस्थामा घरका गृहिणीहरुले प्रधानमन्त्रीलाई धारेहात लगाउन थालेका छन् । महिलाले मासिक रुपमा ३ दिन प्रयोग गर्ने प्याडमै भ्रष्टाचार गर्ने जनप्रतिनिधि र नेपाली उद्योगलाई ७५ प्रतिशत कर लगाएर डा.आरजुको कम्पनीले राजश्व छुट पाउने प्रबन्ध गर्ने जनार्दन शर्माजस्ता महाभ्रष्ट पनि देशको अर्थमन्त्री भएकै थिए ।
स्वास्थ्य मन्त्रीको भ्रष्ट व्यवहार वीर अस्पतालमा रोगीले पाउने खाजा र खानामा छर्लंग भयो । मोहन बस्नेतले वीर अस्पतालमा आतंक मच्चाए । यिनकै कारण धरानको बिपी अस्पताल, चितवनको क्यान्सर अस्पताल, बाँकेको सुशील कोइराला अस्पतालमा भद्रगोल छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको सुस्ताले कालोबजार हट्न सकेको छैन । महंगी र अभाव चर्केको छ । तर सरकार निदाएको छ । परराष्ट्र सम्बन्ध बिग्रेको छ । मन्त्रीले रुस र युक्रेन युद्धको पिडा बुझेकै छैनन् ।
श्रम मन्त्रालयले श्रमिकको शोषण गरेकै छ । संयुक्त सरकारको जुन भावना र कार्यशैली छ, त्यसले जनतालाई चित्त बुझ्दैन । सरकार केवल सरकारको रुपमा खडा भएको छ । कांग्रेसलाई साथ लिएर चलाउने सत्ताको स्वाद एमालेले राम्रै थाहा पाएर लुट्ने काममा बराबरी हक लिएको थियो । ३२ सिटे माओवादीलाई प्रधानमन्त्री दिएर संसदको ठूलो दलले गर्ने धन्दा त यस्तै हुन्छ भने यो गठबन्धनको अर्थ र औचित्य त सकिएन ? कोशी प्रदेशमा माओवादी उम्मेद्वार माथि भएको घात माओवादी नेतृत्वले कहिले बुझ्छ ?