यस पत्रिकाकोलागि ‘सामुदायिक’ स्तम्भ लेख्न थालेको १३ वर्ष पुगि सके छ । यस अवधीमा थोरै राजनीतिक धेरै सामाजिक न्यायसँग सम्वन्धीत सवालमा आधारित विषयमा लेख्ने कोशिस गरें । पाठकको के प्रतिकृया आयो मलाइ धेरै मेसो भएन । अनलाईनमा कतिले पढ्छन् । त्यो पनि थाहा भएन । आफैंले शेयर गर्दा अनलाइनबाटै, फोनबाट र भेट्दा विभिन्न प्रतिकृया आउने गरेका छन् । ति प्रतिकृयाले मलाई लेख्नकालागि प्रेरणा नैं दिने गरेको छ । लेखनमा बानी पार्ने तामाकोशी सन्देश प्रति आभार व्यक्त गर्दछु । अबका केही श्रृखलाहरुमा विगतमा विभिन्न समयमा लेखिएका र आफुलाई मन परेको केही लेख वा संस्मरणहरुलाई पुर्नलेखनको कसरत गर्दछु ।
डोल्पाका हिरो
डोल्पामा थिन्ले मात्र भन्दा नाम जुध्न सक्ला तर “हिरो” भन्दा डोल्पामा नचिन्ने कोही छैनन् । चलचित्रमा अभियन गर्दा उनी वृद्ध नैं देखिन्थ्ये । तर पनि सवैले हिरो भनेर चिन्थ्ये । हिरो वा नायक भन्नासाथ ठिटो जिउडाल हुनुपर्दछ भन्ने मान्यता थिन्लेले खारेज नैं गरिदिए।
थिन्लेको घर डोल्पा जिल्लाको साविक सालदाङ गाविस वडा नं. ५ पर्दछ । कुनै बेला त्यो ठाउँले विश्वको ध्यान तानेको थियो । ओस्कार जस्तो प्रतिष्ठित पुरस्कारका लागि मनोनयनमा परेको क्याराभान चलचित्र मार्फत नेपाल, डोल्पा र सालदाङको पहिचान ह्वात्तै वढ्यो । यसमा सवैभन्दा ठुलो योगदान थिन्लेको थियो भन्दा गफ छाँटेको पक्कै मानिन्न ।
पहिला डोल्पावासी अनी राजनीतिकर्मी र पछि हिरो भएका थिन्ले पञ्चायतकाल सकिने वेलामा प्रधानपञ्च थिए । २०५४ मा नेकपा एमालेवाट निर्वाचित जिविस सदस्य भए । पछि शाहीकालमा पनि सोही पदमा मनोनीत समेत भएका थिए । न्यायोचित विकास, प्राकृतिक स्रोत माथि जनअधिकारका वारेमा पैरवीमुखी सोचका धनी थिन्लेसँगको कुराकानी र भेटघाटको प्रसङ्ग यस आलेखमा समेट्ने कोशिस गरिएको छ ।
डरलाग्दो विमानस्थल जुफाल र ढलान गरेको घर
नेपालको सवै भन्दा ठुलो जिल्ला डोल्पा भनेको सुने देखिनैं त्यहाँ पुग्ने सपना मनभरी सजाएको थिएँ । सामुदायिक वन अभियानको सिलसिलामा वि.सं. २०६३ असारको महिनामा त्यहाँ पुग्ने मौका मिलेको थियो । डोल्पा पुग्नु पैदलको विकल्प हवाइजहाज नैं थियो । पैदल त कल्पना गर्न पनि सकिन्नथ्यो । सायद सुर्खेतवाटै पैदल हिड्नु पर्दथ्यो होला । अनी पैदल जाँदा आधा महिना भन्दा वढि लाग्न सक्थ्यो । त्यसैले नेपालगञ्जको राँझा विमानस्थलवाट डोल्पाको जुफालसम्म हवाइयात्राको विकल्प रोजियो । टिकट पाउन मुस्किल थियो । अहिलेका नेकपाका केन्द्रीय सदस्य तत्कालिन फेकोफन डोल्पाका अध्यक्ष एवं नेकपा एमाले डोल्पाका प्रमुख हंसवहादुर शाहीको पहुँच र पहलले टिकट मिल्यो ।
मन भरी कौतुहलता र रहर वोकेर जुफाल विमानस्थलमा ओर्लिएँ । पहाडको चेप रहेको विमानस्थल यती साँघुरो थियो कि जहाजको गती नियन्त्रण गर्न रनवेमा खाल्डो पारे जस्तो लाग्दथ्यो । अन्यत्रका विमानस्थलमा हवाइजहाज आउँदैछ भनेर पहिला नैं सुनिन्थ्यो । आवाज आउँथ्यो । परैवाट विमानस्थल र विमानस्थलवाट प्लेन देखिन्थ्यो तर जुफालमा त फुत्त पुगे पछि मात्र थाहा हुने रहेछ । दुई पहाडको चेपवाट फ्याट्ट ठुलो खाल्को चरो जसो गरी हजाइजहाज निस्केको जस्तो लाग्दछ ।
सामान्यतय, असारको महिनामा नेपालभर धेरथोर पानी पर्दछ । प्रायः डाँडापाखामा हरियाली देखिन थालेको हुन्छ तर जुफालमा त्यस्तो देखिएन । घरहरु वाक्ला रहेछन् । करिव करिव असनको जस्तो टाँसिएका घरहरु देखिए । झट्ट हेर्दा ढलान गरेका जस्ता घर देखें । यति टाढा गाडी नपुगेको ठाउँमा पनि घर पक्की रहेछन् भन्ने मनमा लागेको मात्र थियो । कुरो फरक परि गयो । त्यो त माटाले छाएको घर पो रहेछन् ।
हाम्रा तिरका जस्तो करालो छानो हाल्ने चलन रहेनछ । सिमेन्ट ढलान गरेका जस्ता छानो ।
तर माटोले छापेको । पानी कम पर्ने, हिउँ मात्र पर्ने भएकोले चिसो पस्दो रहेनछ । त्यो माटाको छत भनेको आँगन पनि हो । विस्कुन सुकाउने, लुगा धोएर टाँग्ने अनी घाम ताप्ने त्यही ठाउँ हो । प्रायः घर अगाडी आँगन देख्न पाइन्न । जुफाल एयरपोर्टको नजिकै झुरुप्प घरहरुको भएको मन नैं लोभ्याउने एक गाउँ रहेछ ।
जुफाल विमानस्थलको गेटकै छेउको होटलमा खाना खायौं । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जका तत्कालिन प्रमुख वोर्ण वहादुर थापासँग मौकावस सहयात्री हुने मौका मिलेको थियो । उहाँ नेपालगञ्ज विमान स्थलमा नैं भेट हुनुभएको थियो । चिनजान पनि त्यही भयो । त्यसैले मलाई कता जाने के गर्ने कुनै अलमलमा पर्नु परेन ।
जुफाल देखि दुनैं पुग्न सायद २ घण्टा जती हिड्नु परेको थियो होला । डोल्पाको सदरमुकाम दुनैं ठुलो भेरी नदीको किनारमा अवस्थीत थियो । दुनैंमा होटलको मेसो हंशवहादुर शाहीले गरिदिनु भएको थियो । सायद एक हप्ताको वसाई भयो होला दुनैमा । डोल्पाका धेरै विशेषताहरु छन् । पहिल्यै सुनेका नैं केही थिए । जस्तो सवै भन्दा ठुलो जिल्ला । नेकपा माओवादीले पहिलो पटक सदरमुकाम आक्रमण गरेको जिल्ला । शेफोक्सुन्डो ताल भएको जिल्ला । ओस्कार पुरस्कारको लागि मनोनयन परेको क्याराभान सिनेमा छायाँकन भएको जिल्ला । सोही सिनेमाका नायक थिन्लेको जिल्ला । यी विशेषता भन्दा फरक के के होलान् भन्ने खोजनीति गर्ने रहर थियो ।
थिन्लेसँग भलाकुसारी
क्याराभानको नायक थिन्लेलाई भेट्ने ठुलो रहर थियो । यो रहर हंशवहादुर शाहीसँग पोखें । उहाँले आश्वासन दिनु भयो । त्यो आश्वासन पूरा हुने भयो । भेट्ने निर्धारण भएको दिन विहान देखि नैं छटपटी भयो । विश्वमा नैं चर्चित सिनेमाको नायकसँग भेट्ने मौका मिल्दै थियो । त्यो छटपटीलाई म वसेको होटलवालाले नियालेछन् । अनी उनले सोधे “किन तपाइ आज छटपटाइरहनु भएको छ ?” मैले खुसी हुँदै भनें म आज थिन्लेलाई भेट्दैछु । उसँग गफ गर्नु छ, फोटो खिच्नुछ ।
उनले नाक खुम्च्याउँदै भने “त्यो हिरो ? खै भेट्ला र ? उससँग फोटो खिच्दा पनि पैसा तिर्नु पर्छ भन्छन् ।” मैले ए होर भनें तर म ढुक्क थिएँ । उनका पनि नेताले भेटाउने चाँजो मिलाएका थिए । मलाइ थाहा थियो थिन्ले २०५४ सालका स्थानीय निकायको निर्वाचनमा जिविस सदस्य भएका थिए । उनलाई एमालेले टिकट दिएको थियो । नेकपा एमाले डोल्पाको प्रमुखको पहलमा थिन्ले र मेरो भेट हुँदै थियो । यदी पैसा मागेछन भने पनि रु. पाँचसय दिन्छु । वुझेको भरपाइ लिन्छु । थिन्लेलाई पैसा दिएको भनेर फुर्ति लगाउन मिलिहाल्छ भन्ने कुरा मनमनमा गमी रह्यें । क्रमसः