नेपालको सीमा मिचिनुमा दलहरु नै दोषी

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलहरु सधैं सत्तामा लुछाचुँडी गरिराखेका छन् । दलहरुले सत्ताको लुछाचुँडी गरिरहँदा छिमेकी देशहरुले फाइदा लिइरहेका छन् । नेपाल दुई छिमेकी मुलुक भारत र चीनको चेपुवामा परिराखेको छ । नेपालका राजनीतिक दलहरुलाई कहिले भारतले त कहिले चीनले खेलाइरहेका छन् । राजनीतिक दलका शीर्ष नेताहरुलाई त्यसप्रति चेतना भएर पनि बुझपचाइरहेका छन् । उता, छिमेकी मुलुक भारतले नेपालका विभिन्न भू–भागहरुमा सीमाना मिचिरहेको समाचार सञ्चारमाध्यममा आइरहेका छन् । त्यसप्रति दलका नेताहरुले ध्यान दिएका छैनन् ।

त्यसले गर्दा पनि छिमेकी मुलुकहरुले सीमाना मिचेको हुनुपर्छ । सीमाना मिचिनुको मुख्य कारण राजनीतिक देखासेकी, सीमा क्षेत्रमा हुने पानीको बाडफाड, एकआएपसमा को ठूलो को सानो भन्नु, छिमेकी देशले अन्तर्राष्ट्रिय सीमा सुरक्षा सम्बन्धी ऐननियमको पालना नगर्नु, सीमांकनको पुरानो नक्सा र प्रमाणहरु नष्ट गरिँदै जानु, सीमा सुरक्षामा लापरवाही हुनु, नेपालका राजनीतिक दलहरुले पटक–पटक सीमा सुरक्षाजस्तो सम्वेदनशील विषयमा राजनीतिक पूर्वाग्रहको आधारमा हल्का टिकाटिप्पणी गर्नु, सीमा सुरक्षाविज्ञहरुले गम्भीर भएर नसोच्नु, पत्रकारहरुले सीमा विवाद सम्बन्धी समाचार सम्प्रेषण गर्न नसक्नलगायत हुन् । त्यसकारणले पनि छिमेकी मुलुकहरुले सीमाना मिचिरहेका छन् ।

बढी मात्रामा भारतले सीमा मिचेको छ भने केही मात्रामा उत्तरी छिमेकी मुलुक चीनले अधिकार जमाइरहेको छ । भारतमा जस्तै चीनमा पनि नेपाली र चिनियाँ नागरिकहरु खुलमखुला ओहरदोर गर्न पाउने भएका छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारसँग भारतमा जस्तै चीनमा पनि बिना पासपोर्ट नेपाली नागरिकहरु आवतजावत गर्न पाउने सम्झौता गरेका थिए । त्योसँगै चीनले पनि नेपालको लागि १५ वटा नाका खुलाउने भएको छ । त्यसको असर कस्तो पर्ने हो त्यो निश्चित छैन । सीमा सुरक्षाजस्तो सम्वेदनशील विषयमा बिना अध्ययन जुन नेता र मन्त्रीलाई जे मन लाग्छ त्यहीं सम्झौता गर्दा राष्ट्रिय सुरक्षामा कस्तो असर पर्छ त्यसको बारेमा कसैले ध्यान दिएका छैनन् ।

भारतसँगको खुला सीमानाले गर्दा विभिन्न चोरीतस्करीदेखि कोभिड महामारीलगायत विभिन्न सरुवा रोगको मारमा नेपालीहरु परिरहनुपरेको छ । भोलिका दिनमा चीनसँग पनि विभिन्न नाका खुल्ला गरिएपछि त्यसबाट नेपाल र नेपाली जनतालाई के÷कस्तो असर पर्छ त्यसप्रति सम्बन्धित निकायले ध्यान दिएका छैनन् । नेपाल सरकारले सयको नोटमा लिम्पिया धुराको चुच्चे नक्सा राख्ने भनेपछि भारत सरकार चिडियको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेपालको चुच्चे नक्सा मौखिक रुपमा सार्वजनिक गरे तापनि कुनै सरकारी निकाय र पुस्तकहरुमा त्यो नक्सा राख्न सकेका छैनन् । र, राजनीतिक दलका नेताहरुले त्यसलाई आधिकारिकता दिनको लागि कुनै पहल पनि गरेका छैनन् । त्यो चुच्चे नक्सालाई सरकारी कार्यालय र पुस्तकहरुमा ल्याएर आधिकारिकता नदिनु भनेको जनताको आँखामा राष्ट्रियताको नाममा छारो हाल्ने शिवाय केही भएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *