‘मीत’ भन्ने शब्दावलीको प्रयोग हराउँदै गइरहेको छ । पछिल्लो पुस्ता विच मीत भन्ने नाता सम्वन्ध अनौठो लाग्ने भैसक्यो । हामी भन्दा अघिल्लो पुस्ताहरुमा मीतको ठुलो महत्व र अर्थ हुने गर्दथ्यो । सवै भन्दा नजिकको सम्वन्धलाई मीत मानिन्छ । हाम्रो बुबा ८८ वर्ष हुनु भयो । उहाँले २ जनासँग मीत लगाउनु भएको थियो । एक मीतबा हाम्रो घर नजिकै जोगीरुम्टा भन्ने स्थानको हुनुहुन्छ । मीतबाका घरमा धेरै पटक गएको खाना तथा अम्बा खाएको संझना ताजै छ । उहाँ मितबाको नाम बम बहादुर कार्की हो । हाम्रो बुबाको अर्को मीत हुनुहुन्छ भन्ने सुनेको थिएँ । देखेको पनि हो तर खासै भेटघाट थिएन । मौका जु¥यो । मीत मीतको भेट भयो । हाम्रो मितबासँग गफ भयो ।
रहरका मीत
नेपालीको मौलिक संस्कृती हो ‘मीत’ । हाम्रो संस्कृती अनुसार मीत लगाउँदा जातजाती, धनको, अनुहारको, शैक्षिक अवस्थाको कुनै तगारो हुँदैन । हित र चित्त मिलेकोसँग नैं मीत लगाउने चलन थियो । मीत लगाउँदा टाउको ठोकेर विभिन्न सामाग्री साटासाट गरेर गर्ने चलन छ । मीतको नाम लिएर सम्वोधन गर्ने चलन पनि छैन । नातामा सवै भन्दा वढि सम्मान गर्नेमा मीत पर्ने गर्दछ ।
बि.सं. १९९१ साल मंसीर महिनामा दोलखा जिल्लाको बोचमा जन्मनु भएका रामचन्द्र नेपाल अहिले ९१ बर्षको हुनु भयो । उहाँ मेरो मितबा हुनुहुन्छ । मेरो बुवा (चन्द्र प्रसाद खतिवडा) १९९४ साल जेठमा हालको भीमेश्वर नगरपालिका वडा नं. ६ ओडारेमा जन्म भएको रहेछ । उहाँहरुको सानै देखि एक समानता रहेछ । दुवै जना पुरेत । तन्नेरी उमेरमा पुरेत्याँइ पेशाले भेट गराएछ । पुरेत्याई गर्ने क्रममा कुनै यजमानको घरमा मित लगाउने कुरा भएछ । केही समय पछि दोलखाको भीमसेन मन्दिरमा औपचारिकता पाएको रहेछ मितको ढोगभेट गरेर ।
समय वित्दै गयो । मितबा पुरेत पेशाको साथमा शिक्षण पेशा पनि अँगाल्नुु भएछ । शिक्षण पेशावाट अलग भए पछि काठमाडौं तिर अलि वढि बसोवास गर्न थाल्नु भएछ । हाम्रो बुबा चरिकोट तिरको पुरेत्यांइ काममै लागि रहनु भयो । विगत ३ वर्ष देखि दुवै जनाले पुरेत्याई काम छाड्नु भएछ । अहिले मितबा रामचन्द्र नेपाल काठमाडौं तिरै बस्ने अनी हाम्रो बुवा पनि काठमाडौं आएको मौकामा उहाँहरुको भेट हुने अबसर मिल्यो । अनी हामीलाई उहाँहरुको जीवनका कहानी र किस्सा सुन्ने अबसर जुट्यो । दुबै जना कान कम सुन्ने । तर दुवै जना गफ गर्न उत्साही हुने । पालो आयो मितबाको जिन्दगीमा के के गरियो भनेर सुनाउने । उहाँहरुको भनाई उहाँहरुको भाषामा ।
मीत बा रामचन्द्र नेपाल
मेरा बुबा गाउँका केटाकेटीहरु जम्मा गरि पठाउनु हुन्थ्यो । पढाउँदा कुनै पैसा पाइदैनथ्यो तैपनि नियमित पठाउनु हुन्थ्यो । किन सित्तै पठाएको भन्दा गाउँलेले पैसा दिन सक्ने अवस्था छैन । आफुले पढेको कुरा अरुलाई सिकाउनु पनि एक धर्म हो । म धर्म कमाउँदै छु भन्ने जवाफ दिनु हुन्थ्यो । म बुबाको संगतमा लागेर २००३ साल तिरबाट नैं बुबालाई शिक्षण कार्यमा सहयोग गर्न लागें । बुबा र म पालैपालो पढाउने गर्दथ्यौं । २०१२ सालमा बोच ठुलनागीमा (अहिलेको भीमेश्वर नगरपालिका वडा नं. ८) गाउँलेहरु समेतको सहयोगमा एक छाप्रो बनाएर विद्यालयको आकार दिने काम भयो । अनी पठनपाठन अलि व्यवस्थीत भयो तर तलबको प्रसँग नैं थिएन ।
२०१३ सालमा तत्कालिन राजा महेन्द्र दोलखा भ्रमण जाँदा त्यहि विद्यालयको आकार दिएको छाप्रो आसपास बास बसे । राजा महेन्द्रलाई परबाट देख्नसम्म पाइयो भेट्न पाइएन । तथापी सिपाहीहरुले विद्यालयको कुरा सुने त्यो कुरा राजालाई भनेछन् क्यार । चरिकोटमा रहेको सरकारी कार्यालयमा रिपोर्ट दिनु भनि राजाको टोली चरिकोट तिर लाग्यो । चरिकोटको कार्यालयबाट अनुगमनकोलागि आयो तर विद्यार्थी १३ जना मात्र भएकोले तत्कालै विद्यालय स्विकृत भएन । १ शिक्षक राख्न २५ जना विधार्थी चाहिंदो रहेछ । पढाउन छाडिएन । किनकी मैले पनि वुबाको भनाई अनुशरण गर्दै धर्म कमाउनु पर्दछ भन्ने मानसिकता वोकी रहें ।
२०१८ सालमा विद्यालय स्वीकृत भएछ । पत्र बोकेर रामकोटका निलकण्ठ न्यौपाने आउनु भएछ । बोचका हर्ताकर्ताले ठुलनागीमा विद्यालय नराखी अर्कै ठाउँमा पठनपाठन गराउन लगाएछन् । मलाइ त्यो कुरा थाहा नैं भएन । मैले नियमित पढाउने काम गरिरहें । किनकी मेरो धर्म कमाउने कामको रुपमा लिएको थिएँ । मेरो जीवन निर्वाहको पेशा पुरेत्याई छँदै थियो । विहान विहान पुरेत्याई गरिरहन्थ्यें ।
२०२५ सालमा ठुलनागीमा पनि विद्यालय स्वीकृत भएर आयो । तर पनि तलबी शिक्षकको कुनै कुरा थिएन । २०२९ सालमा जिल्लाबाट विद्यालय सर्भेक्षणकोलागि आयो । त्यो बेलामा ८२ जना विद्यार्थी थिए । दरबन्दी सहितको शिक्षक राख्ने र त्यो म हुने कुरा करिब करिव पक्का भयो । तर पनि तलब पाउन २०३१ सालनैं पर्खनु प¥यो । पहिलो तलब १ सय ३५ रुपैया थियो । सित्तै पढाइरहेको मान्छेलाई त्यत्रो तलब आउँदा असाध्यै खुसी लाग्यो । पहिलो महिनाको तलबले १ देखि ३ कक्षासम्मको विद्यार्थीहरुकोलागि फर्निचरको व्यवस्था गरिदिएँ । फर्निचर त के भन्नु फलेकहरुको प्रवन्ध गरिदिएँ । त्यो बेला त्यही चलन थियो । अनी त्यो स्कुलमा त्यती बेला १ कक्षा देखि ३ सम्ममात्र पठनपाठनको स्वीकृत पाएको थियो । अहिले त्यो विद्यालय ‘पृथ्वी नारायण आधारभुत विद्यालय’ नामाकरण भएको छ ।
२०३८ सालमा स्थायी नियूक्ति पाइयो । अझै खुसीको सिमा नैं रहेन । स्थायी शिक्षक भए पछि विभिन्न ठाउँमा सरुवा गरिदिए । गौरीशंकरमा पनि पुगें । काटाकुटीको वोत्लेको विद्यालयमा पनि पठाएँ । दोलखाका ९ वटा विद्यालयमा पठनपाठन गराएँ । उमेरको हदले अवकाश पाउने बेला आयो । विडम्वना स्थायी शिक्षक भएको २० बर्ष पुगे पछि पेन्सन पाइने रहेछ । मेरो ६ महिना अवधी पुगेन । अनी उपदानमा मैले चित्त वुझाउनु पर्ने अवस्था आयो । २०५९ बैसाख १ गते मैले उमेर हदको कारणले अनिवार्य अवकाश पाएँ । त्यो बेलामा उपादान १ लाख २५ हजार पाएको थिएँ ।
मैले कुनै विद्यालय गएर पढेको हैन । पठाउन थाले पछि पुस्तक ल्याएर घरमै पढें । टेष्ट पाससम्म गरें । त्यो बेलाको एसएलसी पास गर्न सकिन तर जीवनको धेरै परिक्षाहरु भने पास गरें । नेपाल राष्ट्रिय शिक्षक संगठनको इलाका अध्यक्ष भएँ । गौरीशंकरमा त हेडमास्टर नैं चलाएँ । केही समय आइएचडिपी तिर पनि काम गरें । भित्तेरी पाखा सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष पनि भएँ । काठमाडौं आएर पनि ३ वर्षसम्म अद्धैत संस्था नामक धार्मिक कर्म गर्ने संस्थाको शाखा प्रमुखको भुमिका पनि निर्वाह गरें ।
२०११ सालमा ८ बर्षको केटीसँग विवाह गरे । म भनें २० बर्षको थिएँ । ४ छोरी २ छोरा भए । पनाती पुस्तासम्म भैसके । सन्तान देश विदेश छरिएका छन् । जिन्दगी प्रति कुनै गुनासो छैन । खुसी नैं छु । पछिल्लो पुस्तालाई मेरो अनुभव सुनाउने उनीहरुको प्रगतीमा रमाउने अनी उनीहरुको प्रगतीको उपयोग गरिरहेको छु ।
बा चन्द्र प्रसाद खतिवडा
मेरा बा आमाका सन्तान धेरै भए पनि छोरा मध्ये म कान्छो मात्र बाँच्न सफल भएको रहेछु । ३ जना दिदीहरुको पनि विहेवारी भयो । उनीहरुका सन्तान छरिएर रहेका छन् । म ११ वर्षको हुँदा ६ बर्षको केटीसँग विवहा गरे । दोस्रो विवहा पनि १७ बर्षमा गरें । मेरा ५ छोरा र ३ छोरी विभिन्न ठाउँमा विभिन्न पेशा व्यबसाय गरी बसेका छन् । यी सबै छोरा छोरी जेठी तिरका हुन् । नाती नातीनी र पनाती पनातीनी सहित ५० जना भन्दा वढि भैसके होलान् । सन्तानहरु चरिकोट, काठमाडौं देखि जापान र अमेरिका तिर पनि पुगि सके । आफ्नै सन्तान सबै चिन्न नसक्ने भैसकें । पुरेत्याई नैं मेरो प्रमुख पेशा हो । तर ग्रामिण क्षेत्रमा त्यो बेलामा जीउन आवश्यक पर्ने प्रायः सीपहरु सिकें । त्यसैले जिउन सजिलै बनायो ।
पाकाको व्यवहार
८८ वर्षका हाम्रा बा र ९१ वर्षका मितबासँग ४ घण्टा जती सँगै विताउने मौका पाइयो । २ जना बाका भलाकुसारी सुनें । उहाँहरुका तन्नेरी बेलाका कुरा सुुन्न पाइयो । शताब्दीको छेउछाउ पुग्न लागेका २ जना बाहरुको कुरा सुन्दा ज्यान वुढो भए पनि मन वुढो हुँदो रहेनछ जस्तो लाग्यो । उहीलेका कुरा संझी दुबै जना खुसी हुनु भयो । दुवै जनाका वाहिरी अङ्गहरुले काम गर्दो रहेनछ । दुवै जनाले कान कम सुन्नु हुन्छ, आँखाले ठम्माउन मुस्कील पर्दो रहेछ । जीवन जिउने कलाका खानी हुनुहुन्छ । कल्पना गरिहेरौं त हामीलाइ २ सन्तान हुर्काउन कति मुस्कील परेको छ । उहाँहरुले त्यती धेरैलाई कसरी लाइनमा लगाउनु भयो होला । हो, उहाँहरुसँग जीउने कला थियो । अनुभवका खानी हुनुहुन्छ । ‘आगो ताप्नु मुढाको कुरा सुन्नु वुढाको’ भन्ने भनाई त्यतीकै पक्कै चलेको हैन ।